निशाना १:
अहिलेको समयमा मेरा दुवै दाजुहरू उच्च तहका सरकारी कर्मचारी हुन्। उनीहरूले गाउँमा दुःख गरेर पढे, मुखियादेखि सरकारी सेवामा छिरेका दाइहरू अहिले उच्च तहमा छन्।
आजसम्म उनीहरूको नाम गलत तरिकाले कहीँकतै उल्लेख भएको छैन।
हाम्रो गाउँमा इमानदारिताको नाम कसैले लिन्छ भने मेरै दाइको लिन्छन्, यो कुरा मैले मेरा दाइ भनेर मात्रै भनेकी होइन, उनीहरूको इमानदारिताको कदर गरेरै भनेको हुँ।
सधैँ इमानदारिताका कुरा सिकाउने, अरूलाई पढ्न प्रेरित गर्ने, युवापुस्तालाई हौसला दिने मेरा दाइहरूले मिलेर सहरमा एउटा घर बनाएका थिए, त्यो घरमा मेरा वृद्ध बाआमा र दाइका छोराछोरी बस्थे।
दाइभाउजूहरू बिदाको बेलामा मात्रै सँगै हुने हो, फरकफरक ठाउँमा सरुवा हुन्थ्यो, एकै ठाउँमा चाडपर्व या त बिदाको दिनमा मात्रै भेटघाट हुन्थ्यो। पोहोर साल जेनजी आन्दोलन भयो, दाजुभाउजू आ–आफ्नो ड्युटीमा हुनुहुन्थ्यो। घरमा वृद्ध बाआमा र साना केटाकेटी मात्रै थिए। देशैभरि आन्दोलनको डढेलो फैलिरहेको थियो, टिभीमा समाचार हेर्दै जीउ जिरिङ्ग भइरहेको थियो। ठूलाठूला नेता, मन्त्री, सांसद, ठूलाठूला सरकारी भवन सबैतिर आगोको ज्वाला दन्किरहेको थियो। सिंहदरबारमा पनि आगो लागेपछि अब देश सकियो भन्ने लाग्यो, त्यत्तिकैमा दाइको छोराले फोन गर्यो,
'फुपू हाम्रो घरमा पनि आगो लगाउने मान्छे आए ?'
'हाम्रो घर फुटाउन खोज्दै छन्,
हजुरबुवालाई त कति धेरै गाली गरे,
हजुरआमाले यसो नगर बाबु हो भन्दा पनि उल्टै गाली गरे ....'
बाबामम्मीको फोन लागेन फुपू म लुकेर फोन गरेको! अब हामी कहाँ जाने ? म ५ महिनाको सुत्केरी थिएँ, गाडीमा आधा घण्टाको दूरी थियो घर माइतीको। दाजुभाउजू बाहिर भएपछि भाइबहिनीहरू मसँग धेरै नजिक हुन्थेँ। म एक्ली छोरी भएका कारण पनि माइतीमा सबैकी प्रिय थिएँ र छु पनि। काखमा सानो बच्चा छ, उता भदा भाइले रोएर फोन गरेको छ, सासू आमालाई बच्चा जिम्मा लगाएर हतारहतार माइतीमा पुगेँ। बाआमा घरबाट तल बाटोमा आएर मलिन अनुहारमा बसेको देखेँ। मलाई देख्नासाथ बाआमा रूनुभयो।
'नानी के भयो यस्तो?
हाम्रो घर फुटाए ..?
दाइभाउजू पनि घरमा छैनन्, अब के गर्ने?
त्यतिबेला मैले बाआमासँग भन्ने खालको कुनै शब्द थिएन।
तपाईंहरू यहीँ बस्नु है भनेर घरभित्र छिरेँ, कोही मुखमा पट्टी बाँधेका, कोही रक्सीको नशामा चुर भएका, गन्धले नजिक जान नसक्ने अवस्थाका करिब बीस जना जति केटाहरूले मेरो माइतीघर आगो लगाउन भनेर गएका रहेछन्। उमेरले पचासी वर्ष पुग्नुभएका बा र बयासी वर्षकी आमा अनि दश/एघार वर्षका भाइबहिनीहरूले हारगुहार गरेछन्, आन्दोलनकारीको पाउ समाएछन्, हाम्रो घर नजलाइदिनु भन्दै बिन्ती गरेछन् अनि बाआमालाई गाली गर्दै तल भुइँमा ओरालेछन् अनि आगो नलगाइकन घर फुटाउन लागेछन्।
घरमा फुट्ने चिज म जाँदासम्म कुनै पनि बाँकी थिएन। म घर पुग्दा पन्ध्र जना जति तल उभिएका थिए, हातमा फलामका रडजस्ता सामान बोकेर, चार पाँच जना माथिल्लो तलामा थिए, बाँकी रहेका सामान फुटाउँदै।
हेर्दै डरलाग्दा, गन्धले नजिक पर्न नसक्ने, केही नबोली माथिल्लो तलामा पुगेँ, मेरा बाको चौरासी पूजाको फोटो भित्तामा ठूलो बनाएर झुन्ड्याइएको थियो, त्यो फोटो आधिमात्रै थियो। दाइभाउजूका सम्मानपत्र, पुरस्कार, साना भाइबहिनीका स्कुलका मेडल, बाआमाका फोटो कुनै सग्ला थिएनन्। बाआमाले दिउँसोभरि हेर्ने टिभी भुइँमा लडिरहेको थियो, वासिङ मेसिन, फ्रिज छतबाट उचालेर भुइँमा फालेका रहेछन्, सिसा कुनै झ्यालमा बाँकी थिएनन्, घरैभरि सिसाका टुक्राटुक्रा। अब अर्को हाकिमको घर कता हो? अर्कातिर निशाना गर्दै उनीहरू हिँडे।
मैले मेरो श्रीमानलाई फोन गरेँ, उहाँ पनि बाहिरै हुनुहुन्थ्यो, ज्यान जोगियो त्यही ठूलो कुरा हो। धन्न बाआमा घरभित्रै माथि नै भएको बेलामा आगो लगाएनछन् भन्नुभयो।
दाइभाउजूलाई फोन गरेँ, उहाँहरू न आउन सक्ने अवस्थामा न पीडा सुन्न सक्ने अवस्थामा हुनुहुन्थ्यो। देशै जलेको छ, बाआमाको ख्याल गर्नु पछि कुरा गरौँला भन्दै दाइको फोन काटियो।
छिमेकी बोलाएर घर सफा गर्यौँ। मेरो नन्द आएर बाआमा र भाइबहिनीलाई मेरो घरमा लगेर जानुभयो। त्यो घरको हालत देखेर बाआमा कसरी निदाउन सक्नुहोला भन्ने पीडा भयो।
मेरा दाइभाउजूले कतिधेरै रगतपसिना बगाएर बनाएको घर, मेरा बाआमाको सपनाको घर .... दाइभाउजूलाई भन्दा बढी माया बाआमालाई छ त्यो घरको।
सहरमा घर बना अनि मात्रै गाउँ छोडेर हामी आउँछौं, अर्काको घरमा बस्दैनौँ भनेपछि ऋणधन गरेर चारजना दाइभाउजू मिलेर बनाएको घरको ऋण अझै बाँकी छ तर क्षणभरमा घरको हालत हेरिनसक्नु भयो।
जति सिसाका टुक्रा जम्मा हुन्थे, त्योभन्दा बढी आँसुका थुप्रा जम्मा हुन्थे।
एकथान सरकारी कर्मचारी भएकै कारण मेरो माइती क्षणभरमा खरानी त भएन, हेर्न लायक पनि भएन।
भाउजूको माइतीबाट राती आफन्तहरू आउनुभयो, एकैछिन त सबैजना रूनुभयो, नेता, मन्त्री, सांसदसँग त आन्दोलनकारीको रिस थियो होला, एउटा कर्मचारी जो हरेक रहर मारेर करिअरको पछाडि दौडियो, उसको घरले यिनीहरूलाई के गरेको रहेछ? भाउजूको दाइले भनेको प्रश्नको जबाफ मसँग थिएन।
आफ्नो घर ध्वस्त हुँदा पनि मेरा दाइभाउजू राष्ट्रसेवामा खटिएका छन्, उद्धारमा खटिएका छन्। आफ्नो घर भत्किँदा, आफ्ना बाआमा मृत्युको मुखबाट उम्किँदा मेरा दाइभाउजू कार्यालयमा नियमित ड्युटीमा थिए। रातदिन नसुती लोक सेवा पढेर पाएको पदमा आन्दोलनकारीको निशाना बन्नुपर्ने?
मेरा दाइको कुनै राजनीतिक नियुक्ति थिएन, कसैको चाकडी गरेका कारण यो पद पाएका थिएनन्। रातदिन गरेको मेहनतले पाएको पद थियो तर आन्दोलनकारीले एक निमेषमा सबै कुरा ध्वस्त बनाइदिए। मेरो नजिकको साथीले सुनाएको यो पीडा मेरा आफ्नै आफन्तसँग मिल्दोजुल्दो थियो। मेरै आफन्त सरकारी कर्मचारी भएकै कारण यस्तै निशानामा परेका थिए। यस्तै निशानामा धेरै कर्मचारी उपल्लो तहका मात्रै होइन, तल्लो तहका कर्मचारी पनि परेका छन्।
निशाना नं. २
आफ्नै कार्यालयको हाकिम साबको पीडा झनै पीडादायी थियो। तत्कालीन सरकार प्रमुख व्यक्तिका ससुरालीसँग थर मिलेकै कारण उहाँको घर निशानामा परेको रहेछ। भिडिओमा पनि प्रस्टसँग देखिन्थ्यो, सुनिन्थ्यो। आफू कार्यरत कार्यालयमा तत्कालीन कार्यकारी प्रमुख सर नेपालबाहिर भएको बेलामा उहाँको घर जलाइयो, घरमा म्याम घाइते हुनुभयो रे भन्ने सुनियो। पछि सरको घर पनि हेर्न गयौँ। कार्यकारी प्रमुखमा नियुक्तिको दिनदेखि उहाँको नामको पछाडि जोडिएको थरका कारण उहाँ सबैको निशानामा पर्नुभयो। पटकपटक म फलानो ठाउँको हुँ, मेरो सात पुस्ताको साइनो छैन भन्दा पनि भिडले उहाँलाई निशाना बनाइदियो। एकथान कार्यकारी प्रमुख भएका सरको घर जलाइयो।
निशाना नं. ३
अहिले अफिस ९ बजे पुग्नुपर्छ। घरबाट हिँडेपछि सास पनि हतारहतार फेर्दै
हाजिर छुट्ला कि?
छड्केमा परिएला कि?
कारबाही पो हुने हो कि?
जाममा परियो भने....?
अफिसको डिभाइसले हाजिर लिएन भने?
अफिसको गेटमा विभिन्न युट्युबरहरू कति सेकेन्ड ढिलो कर्मचारी आउँछन्, कन्टेन्ट पाऊँ भनेर मुख बाएर बसेका हुन्छन्, त्यसबाट पनि सकेसम्म छलिएर हिँड्नुपरेको छ। यस्तै सोचेर हिँड्नुपर्छ। बाटोमा कोही आफन्त, चिनजानका व्यक्ति भेटिहाले पनि उनीहरूसँग बोल्ने फुर्सद हुँदैन। कर्मचारी भएकोले पीडा बुझ्छ, जो कर्मचारीको सर्कलबाहिर छ, उसले यो कुरा बुझ्दैन। उसको दिमागमा के हुन्छ?
कसैले नखाएको जागिर यसैले खाएकी?
एकछिन कुरा गर्न पनि फुर्सद छैन, पछि कुरा गरौँला रे.....
कति न देशै यिनीहरूले बनाएका जस्तो .....
अनि फुर्सदमा भएका छिमेकीहरू बस्छन् र गफ गर्छन्। आफू बिहान पनि हतारहतार गरी हिँड्यो, बेलुका घर पुग्दा साँझ पर्छ। दिनभरि अफिसमा काम, फेरि घरमा सबै काम गर्नै छ, बालबच्चा आफैँलाई कुरेर बसेका हुन्छन्।
बिहान हतारमा हिँडेर बेसिनमा थुपारेका भाँडाले आफ्नै प्रतीक्षा गरेका हुन्छन्। बिहान सुकाएका लुगाले उठाउने प्रतीक्षा गरिरहेका हुन्छन्। भान्सामा रित्तिएका बट्टाहरूले कतिखेर के सामान राखेपछि आफू भरिन पाउने हो प्रतीक्षा गरिरहेका हुन्छन्, आज तरकारी के खाने हो?
जिब्रोले स्वाद खोजिरहेको हुन्छ। यी माग सम्झेपछि आफन्त, छिमेकीहरूसँग एकैछिन बसेर कुरा गर्न भ्याइँदैन। अनि छिमेकीको गुनासो हुन्छ,
के हो? आजकाल त तपाईंको नाकमुख देख्न पनि पाइँदैन?
यस्तो जागिर त कसैले खाँदैन। होइन तपाईँले जागिर खाएको हो कि जागिरले तपाईंलाई खाएको?
बिदाको दिनबाहेक अरू दिन त बोलचाल केही हुँदैन त ......?
अनि आफूजस्तै कर्मचारीको ट्रोल बनाइएका भिडियो भाइरल हुन्छन्। छिमेकी, आफन्त, चिनजानका व्यक्तिहरूबाट त्यही कुराले पिरोलिरहेको हुन्छ।
के हो सरकारले ड्रेस लगाऊ भनेर कर्मचारीलाई भत्ता दिने अनि तपाईंहरू त्यही पनि नलगाउने?
आफ्ना बच्चालाई आइडी कार्ड झुन्ड्याएर स्कुल पठाउने तपाईंहरू चाहिँ आइडी कार्ड लाउन नपर्ने?
अफिस टाइममा कर्मचारी कार्यालयमा हुँदारहेनछन् त कसरी चल्छ अफिस?
आफूले लगाएको लुगाको कलर पनि कर्मचारीले ठम्याउन सक्दैनन् र? केही क्लिपका भरमा पूरै कर्मचारी संयन्त्रको मूल्यांकन भइरहेको छ टोलसमाजमा।
कर्मचारीप्रति यति नराम्रो छाप विस्तार गरिएको छ कि यो देश आजसम्म यस्तो हुनुमा केवल कर्मचारी सिवाय कोही दोषी छैन जसरी। कर्मचारी पनि मान्छे हुन् भन्ने मानक हराउन थालेको छ।
ठूलो हावाहुरी लागेको छ, मुसलधारे पानी परेको छ, घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर पाँच मिनेट कुनै प्राविधिक कारणले बत्ती गयो भने विद्युत् प्राधिकरणका कर्मचारीलाई सराप्न थालिन्छ।
अफिसमा फोन आउँछ, बत्ती के भएर गयो? कतिबेला आउँछ? कर्मचारीले परिस्थितिको अवगत गराउँछन् तर सेवाग्राही शान्त हुँदैनन्। फोन गर्ने व्यक्ति आफ्नै घरको आँगनमा जान सकेको छैन, उसलाई ५ मिनेट धैर्य गर्ने फुर्सद छैन।
गैरकानुनी रूपमा विद्युत्को प्रयोग भएको थाहा पाएपछि फिल्डमा खटिने कर्मचारी उल्टै कुटिन्छन्। भोलि बिजुली हुक गरेकै कारण करेन्ट लाग्छ र व्यक्तिको मृत्यु हुन्छ अनि क्षतिपूर्ति र रोजगारीको लागि आन्दोलन गर्न गाउँ उल्टेर आउँछ। हिजो गैरकानुनी प्रयोग गर्दा जोगाउने गाउँ आज गैरकानुनी उपयोगबाट मृत्यु हुँदा पनि रक्षार्थ फेरि जुट्छ तर कर्मचारी सधैं निशानामा हुन्छ।
सरकारी कर्मचारीका आफन्त कहिले अस्पतालमा हुन्छन्, कोही किरियापुत्री भवनमा हुन्छन्, कोही अन्तिम संस्कारको लागि घाटमा ल्याइपुर्याइएको हुन्छ। कोही विवाहमण्डपमा हुन्छन्, कोही व्रतबन्धमा हुन्छन्। कर्मचारीको अनुकूलतामा साइतहरू पक्कै तय हुँदैनन्।
मेरा आफन्त सरकारी कर्मचारी छन्, कार्यालय समयपछि भनेर कसैले कुरेर बस्दा पनि बस्दैनन्। अफिसमा अनुकूल मिलाएर यसो सामाजिक प्राणी भएको दायित्व पनि निर्वाह गर्नुपरेको छ, जागिर खाएकै कारण कोही आफन्तसँग टाढिनुभएको छैन, एकैछिन उपस्थित हुँदा ठूलै अपराध गरेको अपराधीजस्तो करार हुनुपर्ने अवस्था छ।
सरकारी पोशाकमा घाटमा किन?
सरकारी पोशाकमा अस्पतालमा किन?
सरकारी पोशाकमा विवाह/व्रतबन्धको भोजमा किन? प्रश्न यसैगरी तेर्सिन्छन्।
कुनै कर्मचारी बिहान कोही आफन्तको मलामी गएको हुन्छ, सातै बजे घाटमा जाँदा सरकारी ड्रेस लगाएर जाने कुरा भएन, घाटबाट घर आउँदा अफिसमा ढिलो हुन्छ, ऊ त्यही पोशाकमा अफिस जान्छ अनि फेरि प्रश्न तपाईंको ड्रेस खोइ?
तपाईंको ड्रेस खोइ भन्नु र तपाईँले के कारणले ड्रेस लगाउनु भएन भन्ने कुरा फरक हुन्। ती कर्मचारीले बाध्यताबस एक दिन कार्यालयको पोशाक नलगाएका कारण उनको कार्यक्षमतामा ह्रास आएको भए प्रश्न गरौँ। उसले जानाजान कार्यालयको पोशाक नलगाइकन आएको भए प्रश्न गरौँ तर सधैँ कार्यालयको पोशाकमा आउने कर्मचारी आज किन आउन सकेन, उसको बाध्यता बुझौँ। एउटा कर्मचारी कार्यालयको समयमा कर्मचारी हो, बाँकी समयमा ऊ आम नागरिक हो, उसको पारिवारिक, सामाजिक अन्य दायित्व पनि बाँकी हुन्छ भन्ने कुरा मनन गरौँ।
आखिर एकथान सरकारी जागिरका कारण केके भइरहेको छ, त्यसको लेखाजोखा छैन। जतिसुकै सामाजिक, मानसिक तनाव भए पनि कम्तीमा लोक सेवा पास गरेको हुँ, कसैको कृपाले जागिर खाएको होइन।
आत्मनिर्भर छु, पैसा नकमाएपछि इज्जत कमाएको छु। कहीँकतै गलत तरिकाले नाम नमुछीकन अवकाश पाउन सकूँ, हरेक दिन भगवान्सँग यही प्रार्थना रहन्छ। आखिर एकथान जागिरले के दियो भनेर नाफाघाटाको हिसाब नगर्ने हो भने देशको सेवा गर्ने अमूल्य मौका दिएको छ।
सेवाग्राहीसँग नजिक भएर समस्या बुझ्ने र आफ्नै हैसियतअनुसार समाधान गर्न सक्ने अधिकार दिएको छ। इमानदार भएर कर्म गर्नुपर्छ, सत्कर्ममा रमाउन सक्नुपर्छ भन्ने आभास भएको छ, आखिर एकथान कर्मचारी भएर सोच्दा वास्तवमा सबथोक प्राप्त भएको छ।