धेरै समयपछि मायाको घरमा पुग्दा साँझ परिसकेको थियो।
मैले मायालाई म आउँछु भनेर खबर गरेको थिइनँ। घर अगाडि पुग्दा मूल ढोका बन्द रहेछ। घण्टी बजाएँ। एउटा बूढो मान्छेले गेट खोल्दै भने,
'कसलाई खोज्नुभयो?' माया नै उत्तर मेरो थियो।
बूढो मान्छेले माया बस्ने कोठा देखाइदिए।
ढोकामा टकटक आवाज दिएँ।
आवाज सुनेर मायाका श्रीमानले ढोका खोले। मैले उनलाई नमस्कार गरेँ। नमस्कार फर्काउँदै खिस्स हाँसेर मलाई भद्र स्वागत गरे। उनको अनुहार पातलो झुस्स दारीले सजिएको थियो। म कोठाभित्र गएँ। मायाले अचम्म मान्दै नमस्कार गरिन्। नमस्कार फर्काउँदै कोसेली दिएँ। मायालाई हेरिरहेँ। मायाको अनुहारमा खुसी देखेँ। बस्नुस् भनिन्।
म खाटमा बसेँ। कोठामा कुर्सी थिएन। सञ्चोबिसञ्चो सोधियो। कोठामा कतिपय सामान लथालिङ्ग नै थिए। मायाले मिलाउने कोसिस गर्दै थिइन्। म अपर्झट आएको भएर होला। कोठा मिलाउने समय नै मिलेन। हामी एउटा सानो खाटमा बसिरहेका थियौँ। कोठाको अर्को तर्फ पुरानो भइसकेको लोबेड लम्पसार परेर हामीलाई हेर्दै थियो। लोबेडको रङ उडिसकेको थियो। सिरानतिर भएको त्यो सिसा हल्का चर्किएर हाम्रो तस्बिर बिगारिरहेको थियो। डिजाइन बिग्रिएर भर्खरकी, हल्का सिँगार गर्नुपर्ने आइमाई बिना सिँगारमा बसेको जस्तो देखिएको थियो।
माया उठेर भान्सातिर गइन्। श्रीमान् पछिपछि गए। म र कोठा एक्लै भयौँ। सुनसान अनि एकान्तमय। भान्साबाट गाइँगुइँ आवाज आएर कानमा ठोकियो। कहिल्यै नआउने मान्छे कसरी आए भन्दै मायालाई प्रश्न गर्दै थिए। मनमा चिसो पस्यो। यो कस्तो प्रश्न! यत्तिकैमा मायाले श्रीमान्लाई भन्दै गइन्, 'विदेश बस्ने मान्छेलाई सजिलो छ र? साल दुई सालमा घर आउँछन्। यसपालि मौका मिल्यो, भेट्न आए के भो त?' प्रश्न र उत्तरमा रहस्य लुकेको जस्तो लाग्यो। त्यसपछि उनीहरूको आवाज मेरो कानसम्म पुगेन।
सायद ढोका बन्द भएर हो कि? मैले कोठाको खुला अलमारी हेरेँ। उनीहरूको विवाहको कपडा झुन्डिएको थियो। बेवारिस भएजस्तो। यति साह्रो त नगर्नु विवाहको जोडालाई। विगत आँखामा घुम्न थाल्यो। विवाहको दिन त्यो कपडामा माया राम्रोसँग सजिएकी थिइनन्। कोर्ली गाईको बाच्छीजस्तो चिटिक्क मिलेको शरीरमा त्यो कपडा लगाउँदा बयान गरी नसक्नु सुन्दरता देखिएको थियो।
मैले मायाको नयाँ जीवन सधैँ राम्रो र सुन्दर होस् भन्ने कामना गरेको थिएँ। कपडाको सेट देखेपछि माया श्रीमती हुनुभन्दा पहिलाको कुरा सम्झेँ। माया गाउँमा एउटी असल केटी थिइन्। रूप पनि उस्तै राम्रो। सबैलाई माया गर्ने, सबैसँग मिल्ने, नरिसाउने, गाली नगर्ने मायाको बानी मलाई मन पर्थ्यो। जस्तो नाम, उस्तै बानी।
भान्साको ढोका खुलेको आवाज आयो। माया चिया लिएर आइन्। पछिपछि मायाका श्रीमान्। साँझ परे पनि एक कप चियालाई नाइँ भन्न सकिनँ। चिया मेरो हातमा थमाउँदै भनिन्, 'तपाईंहरू गफ गर्दै गर्नु, म खाना बनाउँछु।' मैले खासै भोक नभएको जानकारी गराएँ।
माया पुनः भान्सातिर लागिन्। मैले मायाका श्रीमान्को अनुहारमा हेर्दै भनेँ, 'हजुर त विदेशतिर जानुभएन, नेपालमै बस्न पाउनु पनि अहिलेको अवस्थामा सौभाग्य नै हो।'
उनले हो भनेर कुरा सिध्याए।
मोबाइल हेर्न थालेँ। मलाई अनौठो लाग्यो। म पनि राम्रोसँग नजिक नभएकोले धेरै कुरा गर्ने कोसिस गरेँ। हातको चिया ओठसम्म पुर्याउँदै सुरुप पारेँ। धेरै वर्षपछि पनि मायाले बनाएको चियामा स्वाद उस्तै रहेछ।
मोबाइल हेर्दै गरेका उनलाई सोधेँ, 'बाथरूम कता होला?' ढोकाबाहिर गएर हातले देखाउँदै भने, 'बाहिरपट्टि।' हातको इशारा पछ्याउँदै गएँ। बाथरूम भान्साबाट केही परपट्टि रहेछ। मूत्र विसर्जन गरेर फर्कंदै थिएँ। भान्सामा आँखा पर्यो। सानो भान्सामा माया तरकारी चलाउँदै थिइन्। म भित्र पस्नेबित्तिकै आत्तिएको जस्तो लाग्यो। ढोकाबाट बाहिर आँखा तानिन। मायाको अनुहार डरले भरिएको थियो। म अचम्मित भएँ। केही सोध्न सकिनँ। मायाले मलाई कोठातिर जान अनुरोध गरिन्। म केही बोल्न सकिनँ। कोठातिर गएँ।
खाना तयार भएछ। खाना खान बोलाइन्। मायाका श्रीमान् र म सँगै गयौँ। कुनामा रहेको हात धुने ठाउँमा हात धोएर खान बसेँ। दालभात, तरकारी र पुदिनाको चटनीसँग स्वाद लिँदै थियौँ। मायाका श्रीमान् खानासँगै मोबाइलमा व्यस्त थिए। मायाले मेरो खानाको नजिक पानीको गिलास राखिन्। मैले आएदेखि नोटिस गरेको छु। मायाले मेरो अनुहार राम्रोसँग हेरेकीसम्म छैनन्। आखिर किन? म यहाँ आएर गल्ती त गरिनँ? म आफैँलाई प्रश्न गरेँ। मन टुट्यो। मेरो गल्ती त केही भेटाउँदिनँ। सोध्नु पनि कसरी? श्रीमान्को सामुन्ने। मायाको अनुहार देखेर मलाई खानाको स्वाद हराएजस्तो लाग्यो। मायाका श्रीमानले खाना सकिसकेका थिए। सँगै उठ्न पर्खेका हुन् कि भनेर म खाना सिध्याएँ। हामी सँगै उठेर हात चुठी फेरि कोठामा फर्कियौँ। मेरो मनमा झन् कुरा खेल्न थाल्यो। के हुँदै छ बुझ्न कठिन।
रात छोटिँदै थियो। हामी अब सुत्ने तरखरमा थियौँ। मेरो लागि भान्सामा रहेको खाटमा बिस्तरा तयार भयो। खुसी नै थिएँ। घरभाडामा बस्दा हुने समस्या मलाई राम्ररी थाहा थियो।
श्रीमान्, श्रीमती सुत्ने कोठाभन्दा मेरो लागि भान्सा कोठा नै ठीक थियो। भान्सा कोठा सानो भए पनि एक जना सुत्न प्रशस्त ठाउँ थियो। माया गल्लीको बत्ती निभाएर कोठातिर गइन्। म खाटमा लम्पसार परेँ। कोठा अँध्यारोमा परिणत भयो। बाहिर चकमन्न रात भए पनि खम्बाका लाइटको प्रकाश कताकति चरबाट भान्सामा आएको थियो। म निद्राको पर्खाइमा थिएँ। नयाँ ठाउँ, निद्रा लागेको थिएन। एकछिन मोबाइल चलाएँ। बाथरूम जान मन लाग्यो। बाहिर निस्कँदै थिएँ। माया सुतेको कोठाबाट गाइँगुइँ आवाज आयो।
सायद उनीहरूले सोचे, म निदाएको छु। म एकछिन उभिएँ। मायाका श्रीमान् उनीसँग बिस्तारै कराउँदै थिए, 'त्यो किन आएको? कहिल्यै नआउने मान्छे रातिमा। तँलाई भेट्न हो? जा उतै।'
यी शब्दहरूले म स्तब्ध भएँ।
आकाश खसेर मेरो टाउकोमा लागेजस्तो भयो। माया सुक्क-सुक्क मात्र गरेकी थिइन्। 'जबर्जस्ती नगर न' भन्ने आवाज सुनिन्थ्यो।
'सञ्चोबिसञ्चो त बुझ्नु न। ए! अझै जबर्जस्ती नगर्नु। तँ मेरी पत्नी होस्। म रातभर जे पनि गर्न सक्छु। मसँग नसुतेर, कोसँग सुत्ने विचार गरिस् हँ?' माया चुप भइन्।
कर्याककुरुक गरेको खाटको आवाज पनि बन्द भयो। मेरो शरीर जिरिङ्ग भयो। पाहुना मान्छे, के नै गर्न सक्थेँ? रातको समय। मलाई धेरै रिस उठ्यो। मनले सोच्यो, कोठामा गएर के भन्नुभएको भनूँ तर रोकिएँ। श्रीमान्, श्रीमतीको बीचमा कुरा नै नबुझी प्याट्ट बोल्नु पनि राम्रो होइन। म बाथरूम गएर कोठामा आएँ। मन बिचल्ली भयो। किन भेट्न आएँ जस्तो लाग्यो। भान्साको भाँडाकुँडाले जिस्क्याएजस्तो लाग्यो। मसँग केही विकल्प थिएन। उज्यालोको पर्खाइमा रहेँ। मायासँग कहिलेकाहीँ फोन र म्यासेन्जरमा सञ्चोबिसञ्चोबाहेक कुरा नै हुँदैन। लामो समयपछि भेट्दा यो अवस्था। सधैँ आफू खुसी छु भन्थिन्। मायाका श्रीमानले किन यस्ता कुरा गर्छन् भनेर सोचिरहेँ। पारिवारिक कुरा भनेर मन शान्त पार्न खोजेँ। मन झन् अशान्त भयो। साथी सम्झेर आएँ। के! म आउनु नै गल्ती हो? उत्तर भेटिनँ।
म निदाउने प्रयास गर्दै थिएँ। ढोका सुस्तरी खुल्यो। झल्यास भएँ। माया भित्र पसिन्। म आत्तिएँ। माया शान्त थिइन्। कपाल भताभुङ्ग थियो। निर्दयी भएर लुछेजस्तो। अनुहारमा चिटचिट पसिना थियो। ओठमा टोकिएको जस्तो सानो घाउ। घाँटीमा कोतरिएका निशानहरू। शरीरका कपडा लथालिङ्ग। पेटिकोटमा केही दागहरू। मेरो मन डराउँदै थियो। मायाले एक्कासि मलाई समातेर आवाज ननिकाली खुब आँसु बगाइन्।
म लामो श्वास फेरेर उनलाई हेरिरहेँ। आफ्नै टाउको भारी भयो। मैले मायालाई सोधेँ, 'सबै ठीक त छ नि?' सोध्नुको अर्थ त थिएन।
पहिला नै सुनिरहेको थिएँ। त्यही पनि सोध्नु मेरो कर्तव्य। मायाको आफ्नो कोठामा जान मैले अनुरोध गरेँ। मायाको आँसु झन् बग्यो। केही त बोल! मायाको घाँटीबाट विस्तारै शब्द निस्किए।
'मेरो जिन्दगी बर्बाद भयो।'
म झसङ्ग भएँ।
के भो र?
'मेरो श्रीमान् मानव रूपी दानव परे। परिवार पनि उस्तै। मलाई बाँच्न दिने भएनन् साथी। श्रीमान्का लागि म रमाइलो खेलौना भएँ। दिनभरको मिहिनेत, रातभर श्रीमान्को पीडा। परिवारको टर्चर। म कसरी बाँच्नु? यस्तो जिन्दगी जिउनुभन्दा त मर्नु नै बेस। कसलाई पोखूँ दुःख? तिमी आयौ। मेरो मन थामिएन।'
'साथी, मलाई माफ गरिदिनु। मेरा आमाबाबालाई केही नसुनाउनु। असल साथी भएकोले म तिमीलाई सुनाएँ। यो कुरा तिमी र ममा नै रहोस्।'
मसँग मायालाई दिन जबाफ थिएन।
मायामाथि दया र माया दुवै लागेको थियो। मायाले विवाहभन्दा पहिला एकपल्ट भनेकी थिइन्, 'मसँग विवाह गर्छौ?' मनमा चाहना हुँदाहुँदै पनि मैले त्यो वाक्यलाई हाँसोमा उडाएँ। त्यो वाक्यले मलाई आज घोच्दै छ। अहिले म र माया दुवै विवाहित छौँ। म आफ्नो जीवनमा खुसी छु। माया दुःखी रहिछन्।
मैले मायालाई चाहेर पनि साथ दिन सक्दिनँ। मैले उनलाई सान्त्वना दिँदै भनेँ, 'संसार ठूलो छ। जीवन एकपल्ट मात्र पाइन्छ। यत्ति छिट्टै हिम्मत हार्नु हुँदैन। मरेर बाँच्नुभन्दा बाँचुन्जेल बाँच्नु ठूलो कुरो हो। विचार तिम्रो। बरु तिम्रो खुसीमा मैले गर्ने सहयोग गर्नेछु।'
कुरा गर्दै जाँदा मैले उनको मलिन अनुहारमा केही हिम्मत देखेँ। कोठामा जान अनुरोध गरेँ। हातमा अलिकति पैसा र मस्तिष्कमा हिम्मत राखिदिएँ। माया कोठातिर गइन्। मध्यरातमा म निदाउन खोज्दै थिएँ। मायाका पाइलाका आवाज घरको गल्लीबाट बिस्तारै बाहिर निस्केको सुनेँ।
रात गएर बिहानी आयो। मायाको अत्तोपत्तो थिएन। श्रीमान् यताउता उनलाई खोज्दै थिए।
'के भयो हजुर?' मैले अन्जान भएर सोधेँ।
'माया कता गइछन्? जताततै खोजेँ। कतै देख्दिनँ। मोबाइल पनि बन्द छ।' म केही बोलिनँ।
म लामो श्वास लिँदै भनेँ, 'आहो! कता गइछन्? ल, म पनि लागेँ।' भन्दै बिदा लिएँ। मायाका श्रीमानका अनुहारमा हतास र पछुतो स्पष्ट देखिएको थियो। म आफ्नो बाटो लागेँ।
म आफ्नो कर्मथलो परदेश पुगिसकेको थिएँ। कहिलेकाहीँ मायासँग कुरा हुन्थ्यो। आज मायाले धेरैपल्ट कल गरिरहिन्। काममा व्यस्त भए पनि एउटा कुनामा गएर मायाको भिडिओ कल उठाएँ। मायाको अनुहार हेर्दा धेरै समयपछि बल्ल बाल्यकालको साथी भेटेँ जस्तो फुरुङ्ग परेको देखेँ। त्यो रात, जुन दिन भेट्न गएको थिएँ, जसले मायालाई दुःखबाट मुक्ति दियो। त्यो रात सम्झेर म पनि मक्ख परेँ। मायाले सरप्राइज भन्दै नयाँ जीवनसाथी देखाइन्।