म अब यस्तो कविता लेख्दिनँ
जहाँ शब्दहरू
आँसु बनेर बग्छन्
जहाँ अर्थहरू
भावनाको भेलमा बहकिन्छन्
अब म बग्न मात्र चाहन्नँ
अब म बहन मात्र चाहन्नँ
म त समयको छातीमा
अडिग उभिएको शिला बन्न चाहन्छु
जन्जिर भित्रको चिसोपन
आफ्नै हातले महसुस गर्न चाहन्छु
म अक्षरहरूलाई कवितामा मात्र
सजाउने छैन अब
म अक्षरहरूलाई
जन्जिरका चाबी बनाउनेछु!
जसले खोल्न सकुन्
मनको अँध्यारो कोठामा कसिएका
डरका ताल्चाहरू
जसले बोल्न सकुन्
वर्षौँदेखि मौनताको कारागारमा कैद आवाजहरू
दम्भ र अहंकारको आडमा
सदियौँदेखि थन्किएका मुद्दाहरू
एक-एक गरी खोतल्न सकुन्
शक्ति र संस्कारको
खोक्रो वादभित्र
मक्किएका खम्बाहरू
एक-एक गरी ढाल्न सकुन्।
म अब त्यस्तो कविता लेख्दिनँ
जहाँ आदर्श
केवल अक्षरमा सीमित होस्
जहाँ स्वतन्त्रता
केवल कानुनको बुँदामा कैद होस्
म शब्दहरू कागजमा होइन
मौनताको गर्भमा रोप्नेछु
कविताहरू किताबमा होइन
अन्धकारको मुटुमा छर्नेछु
मेरा कविताहरूले
बलात्कृत छोरीका
भिजेका परेला पुछ्न सकुन्,
सन्तान गुमाएकी आमाको
एक्लोपनमा
सहारा बनेर उभिन सकुन्
परदेशिएको छोराको
घर सम्झिने बाटो बनुन्,
थाकेर थचक्क बसेका बाका
कम्पित हातमा उभिने लौरी बनुन्।
म अब त्यस्तो कविता लेख्दिनँ
जहाँ अधिकार समयको घेरामा बाँधियोस्
जहाँ आवाजहरू नियतिको दायरामा राखियोस्
म असमानताका बादलहरू टुक्राउन लेख्नेछु
म लैङ्गिक विभाजनका पर्खालहरू फुटाउन लेख्नेछु
सञ्जीवनी बुटी बनेर अक्षरहरू
फर्किनेछन् अब
द्रोणगिरी पहाडको काखबाट
र मृतप्राय चेतनामा
फेरि एकचोटि
जीवन!
फेरि एकचोटि
स्पन्दन!
फेरि एकचोटि
विद्रोह!
फेरि एकचोटि
परिवर्तन!
फेरि एकचोटि सबै-सबै ब्युँझिनेछन्
फेरि एकचोटि सबैसबै ब्युँतिनेछन्।