अमेरिकी प्रविधि कम्पनी एप्पलले एनभिडियालाई उछिन्दै फेरि संसारकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ।
भर्खरै पहिलो पटक फोल्डएबल आइफोन बजारमा ल्याएको एप्पलको नयाँ फोनप्रति उपभोक्ताको आकर्षण बढेको छ। अर्कातिर, एआईमा ठूलो लगानी गरिरहेका कम्पनीको प्रतिफललाई लिएर लगानीकर्ता चिन्तित बनेका छन्। यसको फाइदा एप्पललाई पुगेको छ।
ब्लुमबर्गका अनुसार अक्टोबर ३०, शुक्रबार अमेरिकी सेयर बजार बन्द हुँदा एप्पलको बजार पुँजीकरण ५.०३ ट्रिलियन अमेरिकी डलर पुगेको छ। त्यस्तै, यसअघि पहिलो स्थानमा रहेको एनभिडियाको बजार पुँजीकरण ४.९३ ट्रिलियन डलरमा झरेको छ।
उसो त शुक्रबार एप्पलको सेयर मूल्यसमेत १.२ प्रतिशत घटेको थियो। तर एनभिडियाको सेयर मूल्य ४.२ प्रतिशत घटेपछि बजार पुँजीकरणका आधारमा एप्पल पहिलो स्थानमा उक्लिएको हो।
एआईमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेमा लगानीकर्ताको आशंका बढिरहेको ब्लुमबर्गले लेखेको छ। यही कारण एआई पूर्वाधारमा ठूलो खर्च गरिरहेका कम्पनीको तुलनामा पुँजीगत खर्च नियन्त्रणमा राखेको एप्पललाई लगानीकर्ताले तुलनात्मक रूपमा सुरक्षित कम्पनीका रूपमा हेर्न थालेका छन्।
एप्पलले सेप्टेम्बर ९ मा आफ्नो पहिलो फोल्डएबल स्मार्टफोन 'आइफोन डुओ' सार्वजनिक गरेको थियो। कम्पनीले अक्टोबर १६ देखि यसको प्रि–अर्डर खुला गरेको र अक्टोबर २३ देखि बिक्री सुरू गरेको थियो।
एप्पलका प्रमुख कार्यकारी अधिकृत जोन टर्नसले आइफोन डुओ सार्वजनिक गर्दै यसलाई पहिलो आइफोनपछि आएको सबभन्दा रूपान्तरणकारी परिवर्तन भएको बताएका थिए।
रोयटर्सका अनुसार फोनको प्रि–अर्डर खुल्नासाथ माग आपूर्तिभन्दा बढी भएको थियो। प्रि–अर्डर सुरू भएको केही मिनेटमै एप्पलले अनुमानित डेलिभरी समय आगामी वर्षको जनवरीको अन्त्यसम्म पुर्याएको थियो।
कम्पनीले उपभोक्ताबाट प्राप्त प्रतिक्रियालाई 'असाधारण' भनेको रोयटर्सले जनाएको छ।
अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था 'आइडिसी' को प्रक्षेपण अनुसार सन् २०२६ मा फोल्डएबल फोनको विश्व बजार मूल्यमा एप्पलको हिस्सा ४४ प्रतिशत र बिक्री हुने फोनको संख्यामा ३१ प्रतिशत पुग्न सक्छ।
सन् २०२७ सम्ममा एप्पल यस क्षेत्रमा बिक्री मूल्य र बिक्री संख्या दुवैका आधारमा अग्रणी बन्न सक्ने छ।
एप्पलको बजार मूल्य बढ्नुको अर्को महत्त्वपूर्ण कारण एआईमा प्रतिस्पर्धी कम्पनीहरूले गरिरहेको ठूलो लगानीप्रति लगानीकर्ताको बढ्दो चिन्ता हो।
ब्लुमबर्गका अनुसार इन्टेल, अमेजन, अल्फाबेट र मेटा लगायत ठूला प्रविधि कम्पनीका पछिल्ला वित्तीय नतिजाले लगानीकर्तालाई निराश बनाएका छन्। ठूलो रकम खर्च भइरहँदा त्यस अनुसार प्रतिफल प्राप्त हुने सुनिश्चितता नदेखिँदा लगानीकर्ताले प्रश्न उठाउन थालेका छन्।
एप्पलले भने प्रतिस्पर्धी कम्पनीको तुलनामा पुँजीगत खर्च नियन्त्रणमा राखेको छ। यसले गर्दा कम्पनीको नगद प्रवाह तुलनात्मक रूपमा बलियो रहने अपेक्षा गरिएको ब्लुमबर्गले उल्लेख गरेको छ।
एप्पलको बजारमा राम्रो प्रदर्शन हुनुमा नयाँ फोल्डएबल फोनसँगै नियमित आइफोनको बिक्रीले पनि साथ दिएको छ।
पछिल्लो समय एआई चिप निर्माता एनभिडियाको सेयर वृद्धिदर एप्पलको भन्दा आधाभन्दा कम रहेको ब्लुमबर्गले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)