नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री–वितरण साविककै मूल्य भएको जनाएको छ।
भदौ १४ मा पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा पहिरो गएपछि रिरूट गरेर ग्यास ल्याउॅंदै ढुवानी मूल्य बढेको उद्योगीले बताएका थिए।
तर, बुधबारदेखि ग्यास पृथ्वी राजमार्गबाट ग्यास बुलेट नै आउन थालेपछि ढुवानी भाडाको दर नबढेकोले पूरानै मूल्य कायम हुने जानकारी गराइएको हो।
उद्योगीले ढुवानी मूल्य बढेको भन्दै ग्यासको मूल्य प्रतसिलिन्डर १०५ रूपैयाँ बढाएका थिए।
अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै संघले भदौ २ गते शुक्रबारदेखि २ हजार ६० रूपैयाँमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको हो।
संघले यसअघि भदौ १९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँमा ढुवानी भाडाबापत १०५ रुपैयाँ ३५ पैसा थप गरी कुल २ हजार १६५ रूपैयाँमा ग्यास बिक्री–वितरण गर्न भनेको थियो।
त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री–वितरण गर्दै आएका थिए।
तर, हाल सडक सञ्चालनमा आएसँगै संघका अध्यक्ष दिवान चन्दले आफ्ना विक्रेताहरूलाई सोही अनुसार जानकारी गराई साविककै मूल्यमा ग्यास बिक्री गर्न भनेका छन्।