काठमाडौंका बजारमा खसीबोका र च्याङ्ग्रा आउन थालेको छ।
कलंकीको खसीबजारमा विभिन्न भेगबाट ल्याएको खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि राखिएको छ।
बाहिरी जिल्लाबाट अघिल्लो वर्ष जति आउँथ्यो यसपालि त्यसको तुलनामा अत्यन्त कम खसीबोका बजारमा देखिएको छ।
यसले काठमाडौंको माग धान्न गाह्रो हुन सक्ने व्यापारीहरू बताउँछन्।
खसी किन्ने ग्राहकको चहलपहल पनि पोहोर यो अवधिमा जस्तो हुन्थ्यो यसपालि त्यस्तो नदेखिएको व्यापारीहरू बताउँछन्।
बजारमा अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपैयाँसम्म छ।
खसीबजारका एक व्यापारीका अनुसार साना खसीको मूल्य प्रतिकिलो ८५० रुपैयाँ आसपास छ भने ठूला खसीको मूल्य ९०० रुपैयाँसम्म पर्छ।
त्यस्तै, च्याङ्ग्राको मूल्य जिउँदो प्रतिकिलो एक हजार ३०० रुपैयाँ तय गरिएको उनले बताएका छन्।
कलंकीको बजारमा बिक्रीका लागि ल्याइएका खसीबोका दाङ, सल्यान, दैलेख, सुर्खेत, बैतडी र धनगढीलगायत पश्चिम नेपालका विभिन्न ठाउँबाट आउने गरेका छन्।
केही व्यापारीले रामेछाप लगायतका क्षेत्रबाट पनि खसीबोका ल्याउने गरेका छन्। सबै खसीबोका नेपालकै उत्पादन भएको व्यापारीहरूको भनाइ छ।
व्यापारीहरूका अनुसार बजारमा खसीबोका आउने क्रम जारी रहे पनि यसपटक गाउँमै खसीबोका पाउन मुस्किल भएको छ।
गाउँमा खरिद मूल्य नै महँगो हुँदा ढुवानी, दाना तथा अन्य खर्च जोडेर बिक्री गर्दा अपेक्षित नाफा नहुने उनीहरूको भनाइ छ।
२४–२५ वर्षदेखि कलंकीमा खसीबोका बिक्री गर्दै आएका गोपाल खत्री यसपटक व्यापार कस्तो हुन्छ भन्ने यकिन गर्न नसकिएको बताउँछन्।
उनका अनुसार विगतमा दसैँका बेला कलंकी र बल्खु क्षेत्रमा ठूलो संख्यामा खसीबोका बिक्री हुने गरे पनि अहिले बजारमा आउने पशुको संख्या घटेको छ।
‘पहिला दसैँमा आठ हजारदेखि १५ हजारसम्म खसीबोका बिक्री हुन्थे,’ खत्रीले भने, ‘अहिले खसीबोका नै कम आएका छन्। गाउँमा महँगो भएपछि यहाँ ल्याएर बेच्दा खर्च कटाएर फाइदा हुँदैन।’
अर्का व्यापारीका अनुसार पनि यसपटक ग्राहकको संख्या कम हुन सक्ने देखिएको छ।
बजारमा बिक्री सुरु भए पनि कारोबारले गति लिइसकेको छैन।
विगतमा वर्षभरि र दसैँको समयमा ठूलो संख्यामा खसीबोका बिक्री हुने गरेकोमा अहिले व्यापार घटेको उनीहरूको अनुभव छ।
दसैंमा मासुको खपत बढ्ने र खसीबोकाको माग उच्च हुने अपेक्षा गरिए पनि उपलब्धता, खरिद मूल्य र बिक्रीको अवस्थाले व्यापारीलाई चिन्तित बनाएको छ।
कलंकीको खसी बजारमा च्याङ्ग्रादेखि खसी बोकासम्म खरिद गर्न पुग्ने ग्राहकले भने आफ्नो बजेटअनुसार मूल्य बुझेर पशु छनोट गर्न सक्नेछन्।
तस्बिरहरूः
-ink-1791957519.jpeg)
-ink-1791957519.jpeg)
-ink-1791957519.jpeg)
-ink-1791957518.jpeg)
-ink-1791957518.jpeg)
-ink-1791957519.jpeg)
-ink-1791957519.jpeg)
-ink-1791957518.jpeg)
-ink-1791957518.jpeg)
-ink-1791957518.jpeg)
-ink-1791957518.jpeg)