दुई आर्थिक वर्षदेखि ऋणात्मक रहेका क्षेत्रमा समेत चालु आर्थिक वर्ष २०८१/८२ मा सुधार हुने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानले यस्तो देखाएको हो।
लगातार दुई वर्ष ऋणात्मक देखिएका उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार क्षेत्र तेस्रो वर्षमा आएपछि सुधार देखिने अनुमान तथ्यांक कार्यालयको छ।
तथ्यांक कार्यालयले अर्थतन्त्रलाई १७ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत तथ्यांक समेत सार्वजनिक गर्दै आएको छ।
यसअनुसार उद्योग क्षेत्र आर्थिक वर्ष २०७९/८० मा १.७० प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा २.०२ प्रतिशतले घटेको थियो।
चालु आर्थिक वर्षमा भने यो क्षेत्रमा ३.७८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
वनस्पति तेल, प्लाइउड, प्लास्टिकको पाइप फिटिङ, पेय पदार्थ, सिमेन्ट तथा साबुन लगायतका वस्तुको उत्पादनमा वृद्धि भइरहेकोले यो क्षेत्रमा सुधार हुने देखिएको हो।
मुलुकभित्र औद्योगिक उत्पादन बढ्दै जाँदा भटमासको कच्चा तेल, जस्तापाता, फलामे रडको कच्चा पदार्थ, कोइला लगायतका कच्चा पदार्थको आयात बढिरहेको छ।
त्यस्तै, निर्माण क्षेत्र आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा क्रमशः १.४८ प्रतिशत र २.२० प्रतिशतले ऋणात्मक रहेको थियो।
चालु आर्थिक वर्षमा भने २.२१ प्रतिशतले बढ्ने देखिएको हो। निर्माण सामग्रीको आयात र यहाँको औद्योगिक क्षेत्रमा भएको वृद्धिले यो क्षेत्रमा सुधार आउने देखिएको हो।
थोक तथा खुद्रा व्यापार क्षेत्र आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा क्रमशः ४.१० प्रतिशत र ०.३६ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा ३.३० प्रतिशतले बढ्ने देखिएको हो।
व्यापार जन्य वस्तुहरूको आयात र आन्तरिक उत्पादनमा आएको वृद्धिले यो क्षेत्रमा सुधार हुने अनुमान गरिएको हो।
विद्युत र ग्यास क्षेत्रमा सबैभन्दा धेरैले वृद्धि हुने भएको हो। यो क्षेत्रमा सबैभन्दा धेरै १३.८२ प्रतिशत वृद्धि हुने भएको छ।
शिक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा कम छ।
यो क्षेत्रको वृद्धिदर मात्रै १.९८ प्रतिशत हुने अनुमान छ। जलविद्युत उत्पादन क्षमतामा भएको वृद्धि र उपभोगमा भएको विस्तारले यो क्षेत्रमा उल्लेख्य वृद्धि हुने देखिएको हो।
कृषि, वन तथा मत्स क्षेत्रको वृद्धि भने सुस्तिने देखिएको छ। यो क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशतमा सीमित हुने अनुमान छ। गत आर्थिक वर्षमा भने यो क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत थियो।
चालु आर्थिक वर्ष २०८१/८२ मा समग्रमा ४.६१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८१ आर्थिक वृद्धिदर ३.३६ प्रतिशत रहेको संशोधित तथ्यांक छ। सो आर्थिक वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत भएको प्रारम्भिक अनुमान थियो।
२०८१/८२ मा उपभोक्ता मूल्यमा नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन/जिडिपी) ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। समग्रमा अर्थतन्त्रमा ३८ खर्ब ६६ अर्ब खर्च (मध्यवर्ती उपभोग) गरेर ९२ खर्ब ४६ अर्बको उत्पादन भएको हो।
उत्पादनमा खर्च घटाउँदा जिडिपी ५३ खर्ब ८० अर्ब रूपैयाँ पुगेको हो। यसमा कर र अनुदान समायोजनपछि अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने देखिएको हो।
सामान्यत: उपभोक्ता मूल्यमा निकालिएको जिडिपी नै अर्थतन्त्रको आकारको रूपमा चलनचल्तीमा प्रयोग गर्ने गरिन्छ।
गत आर्थिक वर्षको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको संशोधित अनुमान छ।
यसअघि गत आर्थिक वर्षको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको थियो।
चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक १५ सय १७ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान छ।
गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति आय १४ सय ६७ अमेरिकी डलर रहेको संशोधित अनुमान छ।
गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान थियो।