राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले अन्तत: पार्टी छाडेकी छन्।
उनले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आइतबार पार्टी छाडेको घोषणा गरे पनि यसको पृष्ठभूमि लामो समयदेखि बन्दै आएको थियो।
विगत केही समयदेखि नै पार्टीभित्र उनको असन्तुष्टि थियो। उनले सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन्।
त्यही असन्तुष्टिका कारण श्रेष्ठले आफू संसदीय भूमिकामा मात्र सक्रिय हुन चाहेको भन्दै गत चैत १८ गते सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन्। पार्टीले उनको राजीनामा करिब दुई महिना 'होल्ड' गरेर जेठ ९ गते स्वीकृत गरेको थियो।
सुमनाले पार्टीमा 'एक व्यक्ति एक पद लागू हुनुपर्ने तथा एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन' भन्दै राजीनामा दिएकी हुन्।
उनले पार्टीमाथि जनताको ठूलो आस भए पनि डेलिभरी दिने क्षमता शून्य भएको बताएकी थिइन्। धेरै कर्मकाण्डी प्रक्रिया र पदाधिकारीसँग सल्लाह नगरी महत्त्वपूर्ण निर्णय गर्ने प्रवृत्तिविरूद्ध पनि असन्तुष्टि जनाएकी थिइन्।
उनले त्यति बेला राजीनामा दिँदा ६ वटा प्रश्न उठाएकी थिइन्, जुन यस प्रकार छन् —
'मेरो कुरा सुनिएन'
२०८० मंसिरको जलेश्वर बैठकबाट उनी पार्टीको सहमहामन्त्री चुनिएकी थिइन्। त्यसपछि पार्टी महाधिवेशनको मुखैमा पदाधिकारी पद त्यागको घोषणा गर्दा उनले पार्टीमा आफ्नो कुरा सुनुवाइ हुन छाडेको बताएकी थिइन्।
गत फागुन ४ गते भारतको ओडिसा राज्यस्थित केआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकी थिइन्। उनको रहस्यमय मृत्युको छानबिन माग गर्दा नेपाली विद्यार्थीहरूलाई प्रशासनले निलम्बन गर्दै कलेज छाड्न धम्की दिएको थियो। नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरूद्ध नेपाल सरकारले कुनै कदम नचालेको भन्दै उनले सदन अवरूद्ध गर्न खोजेकी थिइन्। उनले त्यो कुरा संसदीय दलमा समेत राखिन्।
तर त्यहाँ सुनुवाइ नभएको उनले राजीनामा पत्रमा बताएकी थिइन्।
'संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरूद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखेँ,' उनले भनेकी थिइन्।
'पार्टीको निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था आयो'
सुमना श्रेष्ठले पार्टीका निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था रहेको बताएकी थिइन्।
पार्टीको बैठक राखौंभन्दा नराख्ने तर निर्णयचाहिँ अरूबाटै थाहा पाउनुपर्ने अवस्था भएकाले सहमहामन्त्री पद निकै हलुका महसुस गरेको राजीनामा पत्रमा टिप्पणी गरेकी थिइन्।
'पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ। कयौंपटक विभिन्न विषयमा बैठक बसौंभन्दा समेत वास्ता गरिएन। यस कारण यस्तो महत्त्वपूर्ण पद अब चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु,' उनले भनेकी थिइन्।
'एक व्यक्ति, एक पद'
उनले आफूमा पद लोलुपता नदेखियोस् भनेर राजीनामा दिएको उल्लेख गरेकी थिइन्। पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा भएको उनको तर्क थियो।
संघीय सांसद भएर आफूले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जाने र त्यससँग आफ्नो गहिरो विमति रहेको पनि उनले बताएकी थिइन्।
'अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,' उनको भनाइ थियो।
उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने समेत बताएकी थिइन्।
'संघीय सांसदले मूलभूत रूपमा पेस भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेस गर्ने, समसामयिक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ। यसबाहेक संसदीय समितिको भूमिका त छँदैछ,' उनले भनेकी थिइन्।
उनी प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य पनि हुन्।
उनले पार्टीको सहमहामन्त्रीका रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव नभएको तर्क गरेकी थिइन्।
'यी दुवै पूर्णकालीन पद हुन्। दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउँछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतीत हुन्छ, सहमहामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ,' उनले राजीनामा पत्रमा उल्लेख गरेकी थिइन्।
'पार्टीमाथि जनताको ठूलो आस, डेलिभरी दिने क्षमता शून्य'
उनले राजीनामा पत्रमा पार्टीमाथि जनताको ठूलो आस रहेको तर डेलिभरी दिने क्षमता शून्य भएको तर्क गरेकी थिइन्।
जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो, त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले ठूलो आशा राखेको उनले बताएकी थिइन्।
'मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ। तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासोसँग मिश्रित छ,' उनको भनाइ थियो।
'सहकारी ठगीको लेबल चिर्न सकेनौं'
राजीनामा पत्रमा सुमना श्रेष्ठले पार्टीमाथि लागेको सहकारी ठगीको लेबल चिर्न नसकेको बताएकी थिइन्।
'पुराना दलले रास्वपालाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारा मात्र अघि बढायौं,' उनले भनेकी थिइन्।
पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले उक्त काम सुरू नगरेको उनको गुनासो थियो।
'यसबाट स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याइ छ,' उनले भनेकी थिइन्।
'धेरै कर्मकाण्डी प्रक्रिया'
बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिनेभन्दा बढी महत्त्व दिइएको उनले महसुस गरेकी थिइन्।
यस्तो संस्कारले 'इनोभेसन' र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने उनको बुझाइ थियो।
'व्यवस्थापन परामर्शदाताका रूपमा विभिन्न प्रकारको सांगठनिक संरचना देखेको छु। वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा फ्लाट हाइरार्की (निश्चित नेतृत्व र सदस्य भएको संरचना) सबभन्दा प्रभावकारी हुने मेरो धारणा छ। जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ। जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्त्व दिएर मनन गरिन्छ,' उनले भनेकी थिइन्।
पार्टीले ठूलो आशा, भरोसा गरी दिएको पद त्याग गर्नुलाई आफूले हल्का रूपमा नलिएको बताएकी थिइन्।
उनले रास्वपाप्रति आफ्नो प्रतिबद्धतामा केही हेरफर हुन नदिने बताएकी थिइन्।
'मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्वसभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन। पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसदको भूमिका अझ सशक्त रूपमा अघि बढाउने छु,' उनले भनेकी थिइन्।
पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग नगरेको र आफू एक व्यक्ति एक पदलाई पूर्ण रूपमा अंगीकार गरी सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य पदमा दाबेदारी पेस नगर्नेसमेत घोषणा गरेकी थिइन्।
यसबाहेक प्याराडाइम टिभीसँगको अन्तर्वार्तामा सभापति रवि लामिछानेको फोटो स्क्रिनमा देखाउँदा 'पास' भनेकोबारे पनि विवाद भएको थियो।
उनले यस विषयमा भनेकी थिइन्, 'सभापति रवि लामिछानेमाथि अदालतमा मुद्दा चलिरहेको छ। म मुभमेन्टबाट आएको राजनीतिक मान्छे होइन। जिब्रो चिप्लियो भने अर्को तहको गलत सन्देश जान्छ भनेर जति पनि राष्ट्रिय नेता हुनुहुन्छ, उहाँहरूलाई पासै गरेको हो।'
यी सबै असन्तुष्टिबीच आइतबार पार्टी छाड्ने घोषणा गर्दै सुमनाले भनेकी छन्, 'कहिलै गल्ती नस्विकार्ने! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। आइ क्विट, मैले पार्टी छाडेँ।’
उनले नेपाली कांग्रेस नेकपा (एमाले) लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि सोच्न आग्रह गरेकी छन्।
'आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्,' उनले आग्रह गरेकी छन्।
***