हरपल याद आउँछ मलाई
मेरो त्यो गाउँ घरको ।
पल पल म मर्छु अनि
बगाइ पसिना रगतको ॥
देश त हाम्रो स्वर्गै थियो
परिपाटीले जीर्ण बनाए ।
निर्दोष सोझा जनताहरू
विदेशिनु बाध्य बनाए ॥
दोष छैन पुर्खाहरूको जस्ले
बहादुर गोर्खे भनी चिनाए ।
दोषी हो त्यो गरिबी जस्ले
कुल्ली भनी विश्वभर हिँडाए ॥
हरपल याद आउँछ मलाई
पवित्र हिमाल नीलो गगनको ।
पल पल म मर्छु अनि
बगाइ पसिना रगतको ॥
बुझिँदैन यहाँ भाषा केही
चारैतिर छ गर्मी धपधपी ।
चुहुन्छ पसिना तरतरी
पोल्छ शरीर अनि भतभती ॥
गर्छु म अनि कल्पना
शीतल त्यो चौतारीहरूको ।
झलझल आउँछ याद पनि
सँगै खेल्ने ती दौतरीहरूको ॥
हरपल याद आउँछ मलाई
हाँसखेल त्यो ठट्टा मजाकको ।
पल पल म मर्छु अनि
बगाइ पसिना रगतको ॥
टाउको दुख्छ ज्वरो आउँछ
हुँदैन कोही सोध्ने यहाँ ।
बेहोस भई ढले पनि
छैन कोही उठाउने यहाँ ॥
यता आऊ बस चिया खाउँ
भन्नेहरू थिए धेरै त्यहाँ ।
तर बिहानदेखि व्यस्त सबै
छैन कोही फुर्सदमा यहाँ ॥
हरपल याद आउँछ मलाई
त्यो आत्मीय स्वभावको ।
पल पल म मर्छु अनि
बगाइ पसिना रगतको ॥
भन्छु सबलाई खाई ढिँडो
गर पौराख आफ्नै देशमा ।
बाआमाको आँसु पुछ्दै
रमाऊ स्वर्गीय परिभेषमा ॥
पवित्र हिमाल शीतल पहाड,
अनि त्यो सुन्दर तराई ।
हाम्रो भाषा अनि हाम्रो भेष
नदेऊ हुन कहिल्यै पराइ ॥
हरपल याद आउँछ मलाई
मेरो त्यो गाउँ घरको ।
पल पल म मर्छु अनि
बगाइ पसिना रगतको ॥