पहिचान हो काठमाडौंको
हेर धार्मिक नदी बागमती ।
पहिरन हो राजधानीको
हेर पवित्र नदी बिष्णुमती ।।
मूलघर हो तिम्रो सुन्दरीजल
हे पवित्र गंगा बागमती ।
हिँड्यौ बाँड्दै जल मानवलाई
तिमी चोभार डाँडै काटी ।।
मासे सब खेतबारी कृषकले
अल्पियौ तिमी हे बागमती ।
बने सब कृषक घर मालिक
हाले ढल सब तिम्रै माथि ।।
पहिचान हो काठमाडौंको
धार्मिक नदी बागमती.....
छन् दायाँबायाँ ठूलाठूला महल
झार्छन् मलमूत्रको छाँगा छहरा ।
फाल्छन् फोहोर चारैतिर बाट
बन्यौ तिमी फोहोरकै टहर ।।
स्वार्थी बने तिम्रा अनुयायीहरू
बनाए सब फोहोर बागमती ।
भए दूषित तिम्रो पवित्र पँधेरो
मौन छौ किन हे नाथ पशुपति ।।
पहिचान हो काठमाडौंको
धार्मिक नदी बागमती.....
छोपिसक्यो फोहोरले हेर
सब काठमाडौं टोल सहर ।
दूषित धूलो र धुवाँले हेर
झर्छ सबको आँसु बरर ।।
राखौं सफा टोल सहर सबले
जताततै फोहोर फाल्न रोकी ।
दिऊ पुनर्जीवन बागमतीको
वारिपारि बोट बिरूवा रोपी ।।
छन् टोल सहर दुर्गन्धित यहाँ
बस्छौ घरको कोठा सजाइ ।
अतिभो अब साथी हो निस्कौं
हातमा झाडू र कुचो समाइ ।।
पहिचान हो काठमाडौंको
धार्मिक नदी बागमती......