सुतिरहेको थिएँ, फोन बज्यो। ब्युँझिएँ। रातको तीन बजेको थियो। फोन उठाएर सोधिहालें- के समस्या पर्यो?
ल्याण्डलाइन टेलिफोनको नम्बरबाट कल आएको थियो। मैले गुगल सर्च गरेर हेरेँ। पोर्चुगलको फारोशहरस्थित प्रहरी कार्यालयको रहेछ।
आधारातमा उठेर प्रहरी कार्यालय जानु झन्झटिलो हुँदै हो। प्रहरीको अनुरोधलाई टार्न सकिएन। प्रहरीले फोन गर्नुको कारण रहेछ: हिरासतमा रहेकी नेपाली महिला। उनी अरू भाषा बुझ्दिनन्। अनुसन्धान गर्ने प्रहरी नेपाली नबुझ्ने रहेछन्।
उनलाई नियन्त्रणमा लिएको दुई घण्टा भइसकेको रहेछ। उनी लगातार रोइरहेकी रहिछन्। प्रहरीलाई दोभासे चाहिएको हो।
म केही समयदेखि पोर्चुगल फारोमा दोभासे काम गर्दै आएको छु। नेपाली, भारतीय र पाकिस्तानीलाई केही समस्या पर्यो र प्रहरीले समात्यो भने पनि मलाई बोलाउँछ, प्रहरी।
अस्पतालमा मात्र होइन अदालतमा भाषा नबुझ्ने समस्या पर्दा पनि मलाई बोलाउन थालेका छन् अचेल।
अल्ग्राभको एक युवा नेतासँग चिनजान र स्थानीय कम्पनीमा मैले काम गरेबाट पनि मेरो निष्पक्षतामा उनीहरूले भरोसा गर्न थालेका हुन्।
कहिलेकाहिँ दोभाषे काम गर्दा प्रहरी वा अदालतले आर्थिक सहयोग पनि गर्छन्।
त्यस रात म प्रहरी स्टेशन पुग्नेबित्तिकै सिपाहीले अभिवादन गरे। ती महिला प्रतीक्षा गरिरहेकी थिइन्। करिब २० वर्षकी महिलालाई लिएर अनुसन्धान गर्ने कोठामा एक प्रहरी आए।
मैले तिम्रो नाम के हो? भनेर कुराकानी सुरू गरेको थिएँ। उनी झन् रोइन। विदेशमा नेपाली यो अवस्थामा देखेर मलाई माया लाग्नु स्वभाविक थियो।
मैले त्यहाँ प्रहरीलाई भनेँ, म ऊनीसँग एकान्तमा कुराकानी गर्छु। प्रहरीलाई पनि सोधें उनलाई किन यहाँ ल्याइएको हो भनेर। उनीमाथि एक भारतीयको १५ युरो र घडी चोरेको आरोप रहेछ। उनीबाट चोरीका कुनै सामानविना नै प्रहरीले सडकबाट समातेर ल्याएको रहेछ।
कोठाबाट प्रहरी बाहिर निस्किए। बल्ल उनी मसँग बोल्न थालिन्। रोशनी हो हजुर मेरो नाम, उनले पहिलो वाक्य बोलिन्।
समस्याबाट मुक्त पाइने आशामा उनले घटनाबारे फटाफट मलाई बताइन्।
‘मेरो घर नवलपुर कावासोती। बुबाको त्यहाँ किताब पसल छ । दुइ वर्षअघि मेरो बुबाले मेरो विवाह पोर्चुगल बस्ने केटासँग गरिदिनुभयो। ऊ आफ्नो आमासँग कावासोती आएको थियो। पोर्चुगलमा बस्न पाइन्छ भनेर विवाह गरेँ।
यहाँ आएपछि थाहा पाएँ, नर्क रहेछ। एउटा सानो कोठामा हामी बुढाबुढी कोच्चिएर बस्नुपर्ने। दुइजना नै कामविहीन।
लोग्ने केही नगर्ने, गाँजा, चुरोट खाएर दिन कटाउने। फुन्दो (पोर्चुगल सरकारले दिने सोसियल मनीलाई फुन्दो भनिन्छ) हो कि के खाएर बस्ने।
बिहान बेलुका उसको स्याहार सुसार गर्नुपर्ने। दिउँसो एउटा ब्रिटिश परिवारको घरमा काम गर्न जान्थेँ। तर मेरो लोग्ने अफ्रिकन कारुसँग बसेर मदिरापान गर्दै घर आउने। दिक्क लाग्यो।’
उनले अझै आफ्ना समस्या सुनाइन।
‘त्यसदिन उसले खानाको प्लेट मेरो मुखमा पर्ने गरी फ्याँक्यो। म त्यो घरबाट भागेँ। मलाई एक ब्रिटिश परिवारको घर सफासुग्घर गर्दा १० युरो पाएको थिएँ। म बस स्टेशनमा आएँ। टिकटको लाइनमा एकजना भारतीय थियो। उसले जहाँको टिकट काट्यो मैले पनि त्यहाँको टिकट लिएँ। त्यो जहाँ जाँदै थियो उसैको पछि लागेर फारो आएँ।’
उनी चिसोले कापेकी थिइन्। चिया खाने हो? हुन्छ उनले भनिन्। दुईकप चिया लिएर आएँ। ‘जसको साथमा फारो आयौं के उही हो भारतीय?’ उनले हो उही हो भनिन्।
त्यो भारतीयको तीन जना सन्तान छन्। श्रीमती काम गर्ने रहेछ। काम नपाउन्जेल घरमा बस्न उसले आग्रह गरेको रहेछ। सन्तान हेरिदिने भए दिनको २० युरो दिन्छु भनेको रे। तर श्रीमती आएपछि १० युरो मात्र दिन सक्ने बताइन्।
जब त्यो भारतीयको श्रीमती घरबाहिर जान्थिन् उसले मलाई नजर लगाउने गर्थ्यो। काम गरेको एक साता भइसकेको थियो तैपनि एक युरो पनि मागेको थिइनँ।
मैले श्रीमान् सम्झेँ। मैले फोन गरेँ उसलाई। भन्यो तिमी फर्क। मलाई उसकै साथ जाउँ जस्तो लागेको थियो त्योबेला।
कुराकानी गर्दागर्दै भारतीय आयो- कसको फोन? मैले जवाफ दिन नभ्याउँदै हात समायो र बेडरूम लग्यो। लगाएका कपडा च्यात्न खोज्यो।
ममाथि नराम्रो व्यवहार गर्न खोजेपछि हुत्तिएर कोठा बाहिर निस्कन सफल भएँ। त्यहाँबाट भागेँ। दौडिएर सडक आइपुगेँ।
सडकमा गुडिरहेका कार रोक्न खोजिरहेको थिएँ, त्यही बेला प्रहरीले मलाई समात्यो र यहाँ ल्याएको हो।
उनले घटनाबारे बताइन्। तर भारतीयले पैसा र घडी चोरेको भनेको रहेछ नि, उसले होइन भनि। पैसा हुन्थ्यो त लिस्बन जाने टिकट लिने थिएँ किन अर्कासँग लिफ्ट मागिरहनुपथ्यो र?
उनको कुरा मलाई ठीकै जस्तो लाग्यो। यो चिसोमा उनी किन सडकमा हिडिरहेकी हुन्थिन् र साथमा पैसो भइदिएको भए।
तर तिमीमाथि चोरीको उजुरी दर्ता भएको छ र जागिर पाउन पनि गाह्रो पर्छ कि भन्दा उनी झस्किइन्। प्रहरी आएर उजुरी दिने व्यक्ति पनि आएको बतायो।
भारतीयले आउनेवित्तिकै भन्यो- म तिम्रो कम्पनीको साहुलाई चिन्छु। ऊ मेरो साथी हो।
त्यो भारतीयले त मलाई चिन्दो रहेछ। तिमी यहाँ के गर्दैछौं? उसले सोधेको प्रश्नपछि मैले जवाफ दिएँ, ‘तिम्रो रिपोर्टमा प्रहरीले रोशनीलाई समात्यो। दोभासेका लागि म यहाँ आएको।’
‘यो पक्का चोर हो। पैसा र घडी चोरेर भागेकी मेरो घरबाट,’ उसले भन्यो।
मैले त्यो भारतीयको हात समातेँ । एउटा कुनामा लिएर गएँ। ‘तिमी त समझदारी मान्छे, बेकारमा यो मुद्दामा किन फस्ने? रिपोर्ट फिर्ता लेऊ।’
उसले रिपोर्ट फिर्ता लियो। मलाई पनि खाना खाने गरी घर आउनु भन्ने निम्तो दिएर ऊ प्रहरी कार्यालयबाट निस्कियो।
त्यसपछि प्रहरीले रोशनीलाई छाडिदियो। उसको साथमा लिस्बन जाने पैसो थिएन। मैले उनलाई बीस युरो दिएँ। उनलाई फारो स्टेशनमा छाडिदिएँ।
म त्यहाँबाट हिडेँ। अकस्मात मेरो दिमागमा एउटा कुरा आयो। विचरा उनको आमा-बुबा कति खुशी थिए, होलान पोर्चुगल बस्ने केटासँग छोरी दिएँ भनेर।
म सडकमा हुँदा मेसेज आएको थियो, छोरी जन्मिइन् भनेर। अस्पतालमा श्रीमतीले छोरी जन्माएकी रहिछन् म उतै गएँ।