कविता
झूटको पुलिन्दा छलकपट शास्त्र कति गर्छौ बेइमान
सकुनापासा तेर्साएर फेरि किन बेच्छौ र इमान
व्यवहार कस्तो गाईजात्रा जस्तो रूने कि हाँस्ने हो
विश्वासमा पार्ने झूट गाउन थाले कसरी बाँच्ने हो ?
गिद्धे मस्तिष्क रहेछ तिम्रो टाउको मानवको
चिथोर्नु चिथोर्यौ दयालु मन व्यवहार दानवको
शानले हिँड्छौ, मीठो खान्छौ महलमा सयल छ
बेइमानी गरी कमायौ धन धर्ममा गयल छ।
कम्मर कसी हात पाखुरा सुर्की पसिना झारेर
रगत सुकाइ काम गर्छन् गरिब संसारै ठानेर
मान्छेको गिदी टाउकोमा भएनी सैतानको डेरा छ
अमूल्य जीवन जन्मेर पनि खेर कति गएको छ।
धनसम्पत्ति मात्र होइन जिन्दगी मरिहत्ते नगर
संसार जित्ने अलेक्जेन्डरले पो के लग्या थिए र?
छोटो छ जीवन एकबारको जुनि कति पो बाच्छौ र?
बनेर जुका भ्रष्टाचार गरी कति पो नाच्छौ र ?