कविता
कसले भन्छ नेपाली
भोकले मर्छ भनेर ।
कसले भन्छ नेपाली
हात बाँधी बस्छ भनेर ॥
राखिदिएको छ पुर्खाले
कृषि प्रधान देश छानेर।
दिएको छ नाम पुर्खाले
बहादुर गोर्खाली भनेर॥
स्वदेश फर्क दाजुभाइ
विदेश सबले त्यागेर।
चलाऔं जाँगर दाजुभाइ
सबै हामी युवा जागेर॥
कसले भन्छ नेपाली
मेहेनती छैन भनेर।
कसले भन्छ नेपाली
बहादुर होइन भनेर॥
समाऔं कुटो अनि कोदालो
नबसौं कोही लाज मानेर।
खाउँला ढिँडो अनि रोटी
डाँडा पाखा यहीँ खनेर ॥
स्वच्छ हावा उच्च हिमाल
स्वर्गीय छ यहाँ परिवेश।
उस्तै छ संस्कार र संस्कृति
भाषा धर्म अनि भेष ॥
कसले भन्छ नेपाली
कसैको गुलाम हो भनेर।
कसले भन्छ नेपाली
स्वाभिमानी छैन भनेर ॥
दोष हो यो सब आज
एक्काइसौं शताब्दीको।
खोज हो यो सब आज
विकास मानव जातिको॥
हुँदैन बिर्सन कहिल्यै
तूलो माना र पाथीहरू ।
हुँदैन बिर्सन हामीले
पुरानो त्यो परिधिहरू ॥
कसले भन्छ नेपाल
मरुभूमि हो भनेर।
कसले भन्छ नेपाल
समृद्ध हुँदैन भनेर॥
आऊ नेपाली दाजुभाइ
आफ्नै गाउँ घर आऊ ।
त्यो जोश त्यो जाँगर
मातृभूमि लाई देखाऊ ॥
हौं हामी सन्तान पनि
शान्ति भूमि यो देशको ।
सुन्दर बनाऔं रक्षा गरौं
पुर्खाको यो अवशेषको ॥
कसले भन्छ नेपाली
भोकले मर्छ भनेर।
कसले भन्छ नेपाली
हात बाँधी बस्छ भनेर ॥
ज्ञान बहादुर लामा "दोङ"