बिहान झिसमिसे हुँदै थियो। कुचिकारहरू सहरका गल्लीहरू सफा गर्न आइसकेका थिए। तिनीहरूका आफ्नै भाषा छन्। जो साधारण मानिसहरूले बुझ्दैनन्। मानौं कि तिनीहरू कुनै गुप्त भाषा बोल्दै छन्। गल्ली छेउकै माथिल्लो कोठामा सबै आवाज सुनिन्थ्यो।
खरेटोहरूका स्वारस्वार आवाजले निन्द्रा खल्बलिन्थ्यो। यहाँका बासिन्दाहरूलाई यो आवाजको बानी परिसकेको थियो। यो आवाजसँग तिनीहरू परिचित थिए। झिसमिसेमै रिक्सावालाहरू पनि कुदै्छन् भन्ने थाहा हुन्छ। तिनीहरूले बिहानै बेजोडले भएभरको बल लगाएर घण्टीको आवाज निकाल्ने प्रतिस्पर्धा चलाएका छन्।
कहिलेकाहीँ, बटुवाहरूले ठूलो स्वरमा तिनीहरूलाई हकारेको सुन्नु कुनै नौलो कुरो थिएन यो गल्लीमा।
हाइ काट्दै दुई तीन जनाको समूहमा कतै हत्तारिए हिँड्ने भरियाका समूह आउजाउ प्राय: उज्यालो हुँदा सुरू भैसकेको हुन्छ।
सायद अभावले गर्दा पनि तिनीहरूलाई बिहानसम्म निन्द्रा लाग्दैन थियो होला।
एक भारी बिहानै बोक्न पाए दिनको कमाइ उठ्यो भन्ने सोच थियो कि! आपसमा प्रतिस्पर्धाले गर्दा! गोडामा चप्पल लगाएर हातमा सम्पत्तिको नाममा दाम्लो च्यापेर तिनीहरू मजदूरी गर्न देशको कुना काप्चाबाट यही सहरमा आइपुग्छन्। आफ्नो समूहमा तिनीहरू रमाउँछन्।
बिहान एक कप तातो चिया र सुख्खा पाउरोटी खाएपछि बल आउँदो हो, प्राय: दिन यसरी नै बित्छ यिनीहरूको।
शीतले भिजेको जस्तो चिसो गल्ली थियो। झण्डै ५०/५५ उमेरको एक अधबैंसे ‘हाकुचा’को दिनचर्या पनि ती कुचिकारहरूसँगै सुरूआत हुन्थ्यो। धमिलो र मैलो देखिने कालो केशहरू उत्तरका हिमाल झैं सेता केशहरूमा रूपान्तरित हुँदै गरेको प्रष्ट देखिन्थ्यो।
अनुहारका छालाहरू सुख्खा थिए। गालामा काला-सेता रौंहरूले ढाकेका र गाडा खैरो आँखाले केही संकेत गर्थ्यो। बाटामा हिँड्ने तिनै कुचिकारहरू, भरिया र रिक्सावालाहरूलाई तिनले दूध चिया बनाएर आफ्नो जीविकोपार्जन गरेको पनि पैंतिस वर्ष भैसकेछ।
यो चिसो गल्लीमा हाकुचाको चिया पसल भनेपछि नचिन्ने कोही पनि छैन। चियामात्रै पिउन भए पनि मानिसहरू त्यो गल्लीमा पुग्थे। चिया र चुरोटको धुँवासँगै गफ हाँक्नेहरूको बिहानदेखि नै घुइँचो लाग्ने गर्छ।
समसामयिक राजनीतिक गफ, व्यापार धन्दाको गफ, केटाकेटीहरूका प्रेमका गफदेखि लिएर, कस्को घरमा के पाकेको गफसम्म हुने गर्छ। तर पनि यी सब गफहरू सुन्न हाकुचालाई न फुर्सद छ न कुनै चासो नै।
उनी आफ्नै काममा व्यस्त छन्। बेलाबेला भने देशको राजनीतिक परिस्थितिले के झस्काउँदो हो कुन्नि ! अनि हाकुचा पनि ग्राहकसँगै आफ्नो मनको कुण्ठा पोख्ने गर्छ।
बोल्ने बानी नभएकाले ग्राहकहरूले ठट्टामै उडाउँथे।
"चिया बेच हो चिया, तिम्लाई त आफ्नो मनको कुरा भन्न पनि हिसाब गर्नुपर्छ। राजनीतिको कुरा त अलग भै गो।" यत्ति सुने पछि उनी चुप लाग्थे।
घामको किरण क्षितिजसम्म आउँदा तिनले ८० कप जति चिया बनाई सकेका हुन्थे। प्राय: शनिबारबाहेक अरू दिनमा उनलाई बिहानदेखि साँझसम्म सास फेर्न फुर्सद हुन्न।
नेवारहरूको जात्राको समयमा त उनले खाना खाने समयधरि पाउँदैनन्। आउँदै गरेको इन्द्रजात्राको लागि उनलाई एक जना सहयोगी नभई भाको थिएन।
प्लास्टिकका कपमा चिया बेच्दा पनि उनलाई भ्याइनभ्याई भएपछि एक दैनिक ग्राहक भरियाले आफ्नै गाउँबाट सहयोगीका रूपमा कान्छालाई हाकुचाकहाँ ल्याएर दुबैलाई कल्याण गरे।
कान्छा आएपछि सुरूमा अलमल्ल परे दुबै। सबै आफैंले गर्ने बानी परेकाले कहाँ ,कसरी सुरू गर्ने हो भनेर ठम्याउन तीन दिन जति लाग्यो। कान्छा पनि सुरूका केही दिन सहर देख्न पाएर दंग परेको थियो।
मानिसका भीड, बजार र हल्लाले उसलाई रमाइलो लागेको थियो। यो चिसो गल्लीमा उसले आफ्नो सपना देख्न थालेको थियो।
हिउँदको महिनामा यो गल्ली असाध्यै चिसो हुन्छ। घाम ताप्नलाई प्राय: मानिसहरू आफ्नो कौसीहरूमा जाने गर्छन्। कौसी नभएकाहरू भने चोकचोकमा जम्मा भएर बदाम खाँदै ताप्ने गर्छन्।
हाकुचाको जीवनमा एक तह उमेर थपेको छ। कान्छा आएको एघार महिना हुँदै थियो। यति बेलासम्म उसले धेरैसँग चिन जान गरिसकेको थियो। हिजोसम्म झूट बोल्न नजान्ने कान्छा, आज चालै नपाई सहरका मानिसका आनीबानी टिपिसकेको छ।
यी सहरका मानिसले उसलाई विवशमा पारेका छन्, करमा पारेका छन्।
हाकुचाबाट फाइदा लिनलाई उनीहरूले अनेक नाटकको कल्पना गर्ने र गराउने भएका छन्। सायद झट्ट उसलाई हेर्दा कान्छा गाउँबाट आएको हो भन्ने कसैले विचारसम्म गर्न सक्दैन उसको परिवर्तनलाई देखेर।
हिउँदको चिसो मौसमले अचानक हाकुचा एक सय दुई ज्वरोले थला परेको तीन दिन भैसकेको थियो। पहिलो दिनमा सकिनसकी भए पनि आफैं चिया बनाउँदै थियो। उनलाई डर थियो, ज्वरोले लडायो भने चिया पसल कसरी सम्हाल्ने भनेर! नभन्दै दोस्रो दिनबाट हनहनी ज्वरो आइ हाल्यो। उठबस गर्न नसक्ने भएपछि कान्छालाई पसल हेर्नु भनि जिम्मा लगाएर खाटमा लडी बसे।
हाकुचाको दैनिकी सम्हाल्न कान्छा सिपालु भैसकेको थियो। चिया पसलमा मानिसहरूको आउने जाने क्रम जारी थियो। हाकुचाका वर्षौ पुराना ग्राहकहरूले हाकुचा चिया पसलमा नदेखेपछि सोधखोज गर्थे। कान्छाले पनि सोझो उत्तर दिन्थ्यो।
एक साँझ हाकुचालाई निक्कै सारो पार्यो ज्वरोले। उनी पलङमै लडिरहेका थिए। एकादुका कतै आवाजबाहेक उनले पसलको अरु कुनै आवाज सुनेनन्। बिहानदेखि पानी पिउनसम्म नपाएका उनले कान्छालाई बोलाए।
ज्वरोले शक्तिहीन पारेकाले ठूलो स्वरले बोलाउन सकेनन्। तीन चार पल्ट बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि, सकिनसकी हाकुचा उठेर आफैं तल झर्न बाध्य भए।
सहरको पुरानो घर भएकोले काठको भर्याङ्ग काईंकुईं आवाजमा कराउँथ्यो। पसल खुल्लै थियो। कोही पनि थिएन। यताउता छ कि भनि हेरे, बोलाए। चाईंचुईं केही थिएन। दूधको भाँडा भुईंमा लडेर भएका दूध सुक्दै थियो। चिया पकाउने किट्लीमा हिजो देखिको चियापत्ति सुकेर कक्रक्क भै बसेको थियो। चिनीको बट्टामा कमिला र झिंगाको लडाइँ चल्न थालिसकेको थियो। दुई दिनदेखि कान्छाले मुख देखाउन आएको थिएन हाकुचालाई। पैसा राख्ने र्घरा तानेर हेर्दा खाली देखे। त्यसपछि उनको सात्तो गयो।
गएको हप्ताको फाइनान्सको पैसाहरू! आएको पैसा सबै सोरेर कान्छा भागेछ। सालाखाला हिसाब गर्दा पैतिस हजार लिएर हिँडेछ।
सहरमा सबै प्रकारका मान्छेसँग कान्छाको उठबस भैसकेको थियो। चिया पसलको पैसा बोकेर हिँडेको एक हप्ता भैसकेको थियो। यो सरहमा थोरै मात्र असल मानिसहरू छन् भन्ने सायद कान्छालाई थाहा थिएन। मिल्ने जस्तो बाहना बनाएका साथीहरूले उनलाई लोभमा पारेर फसाएको होश नै भएन। जब पैसा सकिँदै गयो। भएका साथीहरूसँग झगडा हुन थाल्यो। कान्छा सहरमा पसेको एक वर्ष जति भयो। उसलाई लागेको थियो कि ‘म सबै कुरा बुझ्छु’। तर साथी भनाँदाहरूको कुनै कुनै शब्दमात्र होइन, उसलाई अरू साथीहरूले के भन्दैछन् , ठम्याउन पनि गाह्रो पर्थ्यो।
बोलेका शब्दहरूले अरू नै अर्थ लाउँछ भन्ने सोच्नैसकेन। उनीहरूका आफ्नै कोडभाषाहरू थिए। बिचरा कान्छा..। पैसाको लोभमा किचलोमा पर्नेवाला थियो।
हप्तौं दिनसम्म हाकुचाले कान्छाबारे केही सूचना नपाएपछि प्रहरीमा उजुरी हाल्ने मनसायले निस्क्यो। आफैंले विश्वास गरेको केटोले हाकुचालाई धोका दिएकोमा ऊ निक्कै क्रोधित थियो।
एकमनले ऊ सोच्दै थियो।‘कान्छालाई अब ठिक नपारी हुन्न।’
यही रिसको झोंकमा उनी उजुरी हाल्न हिँडे।
उजुरीपछि थानाबाट हिँड्दै गर्दा, सुनसान अर्को गल्लीको किनारमा फोहोरसँगै लडिरहेको कालो मैलो पोकामा उनको आँखा पर्यो। नजिकै गएर हेरे। अनुहार पनि कालो मैलो गनाउँदै फोहोरमाथि सुतिरहेको थियो। चिन्नै सक्ने अवस्था थिएन। हाकुचाले अझै नजिक गएर हेर्यो। बल्ल थाहा भयो।
त्यो त कान्छा पो रहेछ। हाकुचा आफैंले किनिदिएको निलो रङको फितावाला चप्पल खुट्टामा थियो उसको।
हाकुचा एकछिन टक्क अडियो। रिसले आगो भैरहेको थियो। एकमन लात्तैलात्ताले हिर्कागँ जस्तो लाग्यो उसलाई!
कान्छा अचेत रहेछ। खाना खान नपाएको दुई तीन दिन भएछ। सहरका मानिसहरू निष्ठुरी हुन्छन् भन्ने उसले सुनेको थियो। धेरै मानिसहरू त्यही बाटो भएर पार भए। तर कसैले उसलाई देखेन। ऊ मन्द सासमा लडिरहेको थियो। शिथिल शरीरमा!
बेलाबेला सहरका भुस्याहा कुकुरहरू आएर कक्रक्क जमेका म:मका अचारहरू गालामा चाट्न थाल्थे। लाग्थ्यो मानिसहरूले माया नगरे पनि यी कुकुरहरूले उनलाई माया गर्थ्यो। शक्तिहीन भएर कुकुर धपाउन सक्ने सामर्थ्य थिएन उसमा। यति बेला आफूले गरेको त्यो अपराधमा उसले पछुतो पनि मानेको छैन होला। र जिन्दगीलाई धिक्कारेको पनि छैन होला। ऊ मरण अवस्थामा छ।
दोधारमा परेको हाकुचा,एक मनले घोरिरहेछ। लडेको कान्छालाई देखेर रिस पनि उठेको छ, दया पनि लागेको छ। उसकै विरूद्धमा हालेको उजुरीले कताकता मन अमिलो भएको छ। बेक्कारमा प्रहारीमा उजुरी हालेजस्तो लाग्छ।
‘केही नभए पनि आफू बिमारी हुँदा तातो पानीले सेवा त गरेको थियो नि!’ हाकुचा सम्झिन्छ।
तर फेरि पैसा चोरेर भागेको सम्झँदा भने रिस उठ्दो हो। मनभित्र द्वन्द्व भए पनि हाकुचाले कान्छालाई उठाउँछ।
‘कान्छा, ए कान्छा, उठ्।’ स्वर कहीँ कतै सपनामा सुनेजस्तै लाग्छ कान्छालाई।
‘ए उठ्न उठ।’
हाकुचा हाकु भए पनि मन भने तुय्यु छ भन्ने टोलमा सबैलाई थाहा छ। कान्छा आफैं उठ्न नसकेपछि आफैंले सकिनसकी उठाएर चिया पसलको बेन्चमा लडायो।
फोहोरको गन्ध कोठाभरि फैलिएको थियो। पानी तताएर कान्छालाई पिलायो। बल नभएपछि, यतै ढल्न खोज्ने उतै ढल्न खोज्ने। गन्हाउने लुगा खोलेर आफ्नै नयाँ गन्जी फेरिदियो। खसीको सुप बनाएर कान्छालाई बलियो बनाइ दियो। बिस्तारै अब ऊ हिजोको जस्तै देखिन थालेको छ, हट्टाकट्टा,स्फूर्त।
दुई महिनापछि, एकाबिहान हाकुचाको पसलमा ठूलो हल्ली खल्ली हुन्छ। पुलिसहरू आउँछन्। सबै अनुसन्धान हुन्छ। सबैको अनुहार मलिन हुन्छ। कान्छा पनि एक कुना बसेर धुरूधुरू रोइरहेको छ।
बुढो हाकुचाले उसलाई सधैंको लागि छाडेर गएछ। हृदयघातले उसको मृत्यु भएछ।
हाकुचा बिते पछिका दिनहरू कान्छालाई त्यो चिसो गल्ली खल्लो लागेको छ। उजाड लाग्छ। एक निर्जीव जीव जस्तै! हाकुचाको अन्त्यसँगै उनका लागि यो गल्ली सुनसान भएको छ।