नेपाली कम्युनिस्ट पार्टी (नेकपा) त्यागेका तनहुँका मनराज गुरूङ भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको गण्डकी संयोजक चुनिएका छन्।
पार्टीको गत शनिबार भएको गण्डकी प्रदेश भेलामा सामान्य छलफल चले पनि गुरूङलाई सोमबार पार्टीले प्रदेश संयोजक तोकेको हो।
गुरूङ यसअघि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य थिए।
२०६२/६३ को जनआन्दोलनपछि गुरूङ माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध भएका थिए। त्यसपछि तनहुँको तत्कालीन फिरफिरे गाविसको पार्टी कमिटी अध्यक्ष, राज्य पुनर्संरचनापछि शुक्लागण्डकी नगरपालिका कमिटीको अध्यक्ष हुँदै प्रदेश कमिटी सचिव बनेका थिए।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष निर्वाचित गुरूङले गत मंसिर १६ गते नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
जेनजी आन्दोलनपछि माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरे पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकता गर्ने र नेतृत्वमा पुराना नेताहरू नै रहने भएपछि पार्टी परित्याग गरेको उनले बताएका थिए।
'माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको थियो। तर नेतृत्वले विभिन्न पार्टीसँग एकता गर्ने नाममा महाधिवेशन र नेतृत्व हस्तान्तरणको एजेन्डा पाखा परेपछि मैले पार्टी परित्याग गरेँ,' उनले भने।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदादेखि नै कुलमान घिसिङको काम गर्ने शैली मन परेर अहिले उज्यालो नेपाल पार्टीमा आबद्ध भएको गुरूङले बताए।
'पुरानो पार्टीमा असन्तुष्टि पालेर बस्नुभन्दा नयाँ पार्टीमा आबद्ध हुनु ठिक लाग्यो। कुलमान घिसिङको काम गर्ने शैलीप्रति पहिलेदेखि झुकाव थियो। अहिले उनकै पार्टीमा जोडिए,' उनले भने।
पार्टीको नाम कम्युनिस्ट भए मात्र उत्पीडित समुदाय र वर्गको हित गर्ने कुरा गलत हुने भन्दै जुनसुकै पार्टीमा लागे पनि उक्त वर्गको उत्थानमा लाग्न सकिने उनले बताए।
सैद्धान्तिक रूपमा कम्युनिस्ट भनिए पनि अहिलेका कम्युनिस्ट पार्टीहरू सिद्धान्तमा अडिग नरहेको भन्दै अब पार्टीको नाम कम्युनिस्ट राख्न आवश्यक नरहेको उनले बताए।
उज्यालो नेपाल पार्टीको प्रदेश संयोजक तोकिएसँगै गुरूङले अब गण्डकीका ११ वटै जिल्ला, १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८५ वटा पालिकामा तदर्थ समिति गठन गर्ने अभियान चलाउने बताएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुटेको भन्दै गुरूङले जेनजी आन्दोलनको भावना अनुरूप सुशासन र विकास पुराना पार्टीबाट सम्भव नहुने बताए।
यसअघि उज्यालो नेपाल पार्टीका गण्डकी संयोजकमा केन्द्रीय सदस्य कुशल गुरूङ तोकिएका थिए। गण्डकी भेलामार्फत प्रदेश संयोजक मनराज गुरूङलाई तोकेर जिल्ला र पालिकासम्म पार्टीको संगठन विस्तार गर्न लागेका उनले बताए।