गुल्मीको दुर्गम गाउँमा जन्मिएका सूर्यप्रसादको सपना स्पष्ट थियो, लोक सेवामा नाम निकालेर समाज सेवा गर्ने। तर बाटो सजिलो थिएन, दुर्गम गाउँमा बसेर राजधानी काठमाडौँ लगायत देशभरका विद्यार्थीहरूबाट अब्बल साबित हुनु तर उनले हार मानेनन्।
गुल्मीको धुर्कोट गाउँपालिकाको भगवती माविबाट २०६८ सालमा एसएलसी पास गर्दा उनी पालिकाकै प्रथम हुन सफल भएका थिए। गाउँमा सामान्य परिवारमा जन्मिएका सूर्यप्रसाद उच्च शिक्षा के पढ्ने दोधारमा थिए। उनको भित्री इच्छा सरकारी जागिर खाएर समाज र देशको सेवा गर्ने थियो। तर उनी त्यति बेला आफूलाई इच्छा लागेको विषय पढेर लोक सेवा यात्रा तय गर्न पाएनन्।
त्यसपछि उनको बाटो मोडियो। विज्ञान विषयमा स्नातक तहसम्म खुरुखुरु पढे। तर उनी सन्तुष्ट थिएनन्। जीवन एउटा हो पटक-पटक पाइँदैन भन्ने सोचेर उनले विज्ञान विषयको पढाइलाई स्थगित गरे। त्यसपछि संकल्प गरे, सरकारी सेवाका अधिकृत बन्ने! तर बाटो सहज थिएन। एकातिर परिवारको उच्च आकांक्षा अर्को तिर बाटो मोडेर हिँडेको मान्छे जसलाई सरकारी सेवाका प्रवेश गर्नु चुनौती त थियो नै। उनले दृढ संकल्प गरे; यत्रो उमेरसम्म दुख गरी यो अवस्थामा ल्याउनुभएको बुबा-आमालाई एक दिन खुसी दिलाएरै छोड्छु।
उनको संकल्प थियो, ती पटपटी फुटेका बा-आमाको छालामा मलम लगाएरै छाड्छु। तर समय सधैँ एकनासको कहाँ हुन्छ र! उनको सफलता त्यति सजिलो थिएन। २०७६ सालमा उनले पहिलो पटक लोक सेवा आयोगको परीक्षा दिए तर उनी अधिकृतमा वैकल्पिक परे। पहिलो गाँसमा ढुङ्गा भनेजस्तै भयो पहिलो परीक्षा। त्यस लगत्तै उनी पाँचौँ तहमा सिफारिस भए। अब चाहिँ उनको मनमा आशाको दियो बल्न थाल्यो। तर पनि उनी सन्तुष्ट थिएनन्। उनको मनमा एक किसिमको बेचैन र हुटहुटी थियो अधिकृत हुनुपर्ने।
सिफारिस भएको पाँचौँ तहको उनले नियुक्ति नै लिएनन्। बरु फेरि तयारी गर्न थाले। काठमाडौँको कीर्तिपुरको एउटा कुनामा बसेर अध्ययन गर्दै गर्दा उनलाई अब के लाग्यो भने, जुनसुकै पदको भए नि जागिर खानुपर्यो किनकि काठमाडौँको महँगी त्यसमाथि अध्ययन सामाग्री महँगा कोचिङ सेन्टर, त्यसमाथि चारैतिर फारम भोर्दा लाग्ने पैसा। यसको जसो त्यसो जोहो गर्न पनि कुनै न कुनै जागिर खानुपर्ने निष्कर्षमा पुगे। नभन्दै २०७७ सालको माघ महिनामा सामाजिक सुरक्षा कोषको चौथो तहमा सिफारिस भए।
त्यसपछिका दिन पनि उनको लागि सहज भएन। ‘नखाऊँ सस्तो सिकार, खाऊँ भने कान्छा बुवाको अनुहार’ भनेझैँ त्यो जागिर न त छोड्न सके न त त्यसमा रमाउन सके। समय बित्दै गयो, कोरोना कालको कहालीलाग्दो अवस्था देशले बेहोर्यो। देश संघीयतामा गएपछि लोक सेवाको विज्ञापन केही समय रोकियो तर पनि उनी हार मानेनन्, निरन्तर अध्ययन गरिरहे। समय बित्दै जाँदा करिब २ वर्ष उनको सामाजिक सुरक्षा कोषमा बित्यो। सँगै आएका धेरैजसो साथीहरू त्यहाँबाट अधिकृत भएर निस्किए। तर उनी लागिरहे निरन्तर।
२०७८ सालमा उनका लागि फेरि अर्को अवसर आयो, नागरिक उड्डयन प्राधिकरणको सहायक तह सिफारिस भए। उनी फेरि दोधारमा थिए; न संकल्प पूरा भएको छ न त नाम निस्कन छोडेको छ। यस्तो अवस्थामा उनी अब फेरि नागरिक उड्डयन तिर हाम फाले। यात्रा फेरि मोडियो तर मनमा चैन भने हुन सकेन। अब उनी सहायक तहका कुनै पनि परीक्षा नदिने निर्णय गरे। त्यति बेलासम्म उनको फेरि जनक शिक्षा सामाग्री केन्द्रमा पाँचौँ तहमा सिफारिस भइसकेका थिए। तर उड्डयन प्राधिकरण छोडेनन्।
एकातिर मास्टर डिग्री पढ्नुपर्ने अर्कोतिर अधिकृत बन्नुपर्ने, त्यसमाथि उमेर भइसकेकोले बुवा-आमा आफन्तबाट बिहे गर्नुपर्ने दबाबको सामना गरिरहे। अब उनको दुई वटा यात्रा सुरु भयो। उनी जनप्रशासन क्याम्पस बल्खुमा जनप्रशासन विषयमा डिग्री गर्न थाले। एकातिर एयरपोर्टको जागिर अर्कोतिर डिग्री कक्षा त्यसमाथि अझै अधिकृतको तयारी उनका लागि सहज थिएन। तर पनि निरन्तर लागिरहे।
यसै बिचमा उनको नेपाल टेलिकमको अधिकृत पदमा नाम निस्कियो। उनमा खुसीको सीमा भएन, आफ्नो लक्ष्य पूरा हुन लागेकोमा उनी दंग थिए। तर त्यो खुसी धेरै दिन टिक्न सकेन, उनी वैकल्पिक परे। उनी निराश हुँदै किताबका पाना पल्टाउन थाले, दिन कसो नआउला, सधैँ असफल पक्कै भइँदैन होला भनेर उनी अध्ययनमा लागिरहे। तर समय अजै पनि उनको पक्षमा थिएन। पुनः नागरिक उड्डयन प्राधिकरणको अधिकृतमा वैकल्पिक परे। उनले भन्न थाले- हैन यो वैकल्पिक कोटा मेरा लागि बनेको हो? कि मेरो भाग्य यस्तो?
समय बित्दै गयो, दिनले कहाँ पर्खिन्थ्यो र! समयसँगै जुधेर हिँड्नुपर्ने उनको बाध्यता थियो। उमेर ढल्किँदै जान थाल्यो, घरमा बिहेको गाइँगुइँ चल्न थाल्यो। कान्छो छोरो बुवा-आमाको इच्छाको लागि पनि उनी बिहे गर्न तयार भए तर मनमा एक किसिमको बेचैनी बोकेर। गाउँको रीतिरिवाज अनुसार उनको धूमधामसँग बिहे भयो। अब त उनको काँधमा जिम्मेवारीको भारी थपियो। माइती ससुराल पक्ष, घरका बुढा भएका बा-आमाको हेरचाह, भर्खर बिहे गरेर ल्याएकी श्रीमतीका चाहना पूरा गर्न उनको लागि पुनः चुनौती थपिए।
उता पटक-पटक वैकल्पिक परेर थाकेको मन यता पारिवारिक व्यवस्थापन उनको लागि निकै कठिन समयको सुरुवात भयो। अब उनी गर या मरको अवस्थामा पुगे। त्यस लगत्तै पुनः नागरिक उड्डयन प्राधिकरणको अधिकृत तहको रिजल्ट आयो। यसपालि भने उनी निकै आशावादी थिए। गत वर्ष पो वैकल्पिक परियो, सधैँ त्यस्तो कहाँ हुन्छ र! उनले आफ्नो मनलाई प्रतिप्रश्न गरे तर रिजल्ट आयो फेरि पनि वैकल्पिक सूचिमा!
उनी निराश हुँदै यताउता गरिरहे तर त्यस बेला उनलाई साथ दिने, उनको दुख मनाउ गर्ने श्रीमती उनको साथमा थिइन्। उनले एकचोटि थोमस एल्बा एडिसनलाई सम्झिए र अठोट गरे- कति पटक असफल हुँदो रहिछु! बल्ल त ४ पटक भयो, म हार्न हुन्न।
हार्नु भनेको कायर हुनु हो भनेर आफ्नो मनलाई आफै सम्झाए र फेरि निरन्तर आफ्नो कर्ममा लागिपरे। यस बिचमा नायब सुब्बा लेखापाल पदमा धेरै पहिले दिएको परीक्षाको सिफारिस भयो, यहाँ पनि उनी १ नम्बर वैकल्पिक परे। यो उनको ५ औँ वैकल्पिक थियो। अब त उनलाई रिजल्ट आउँदा पहिले वैकल्पिकको लिस्ट हेर्न थाले।
समय बित्दै गयो, एक दिन एक जना साथीले उनलाई फोन गरेर भने- ‘तिम्रो त बिमा प्राधिकरण सहायक निर्देशकमा नाम निस्केछ, सेवा सुविधा पनि अन्य क्षेत्रको भन्दा धेरै रामो छ रे।’
उनी खुसी हुन सकेनन्। त्यो साथीलाई भने- ‘वैकल्पिक लिस्टमा नाम नदेखे मलाई फोन गर्नू, नत्र नगर्नू!’ उनी आजित भइसकेका थिए। नभन्दै रिजल्ट आयो वैकल्पिक!
सूर्यप्रसाद नामै, सूर्य जस्तै किन चम्किन सकिनँ? सधैँ वैकल्पिक पर्नुपर्ने के यो मेरो ठेक्का हो? उनी आफैसँग रिसाए। रिस गरेर मात्र त पुगेन उनी पुनः आफ्नो कर्ममा लाग्न थाले। भाग्यले सधैँ कहाँ ठग्दो रहेछ र! त्यसको लगत्तै उनी कर्मचारी संचयकोषको अधिकृत तहमा सिफारिस हुन सफल भए। अब त समय उनको पक्षमा आयो, संचयकोषकै पाँचौँ तहमा नाम निकाले। लगत्तै नेपाल विद्युत् प्राधिकरणको सातौँ तहका नाम निकाले।
अहिले त उनलाई अधिकृत तहको जागिर फालाफाल भएको छ। हिजोको दिनलाई उनी सम्झिन्छन् र भन्छन्, ‘यदि वैकल्पिक परिन्छ भनेर हार मानेको भए अहिले यति राम्रो ठाउँमा सिफारिस हुन सक्ने थिइनँ। आर्थिक, सामाजिक, मानसिक तनाव बोकेर बसेको भए सायद सहायक तहमा नै जिन्दगी सीमित हुन्थ्यो।’
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेझैँ चन्द्रमा छुन हिँडेको मान्छे आफ्नो उद्देश्यमा कति पनि विचलित हुनुहुँदैन भन्ने हो। यो वास्तविक कथाको सार नयाँ लोक सेवा आयोगको तयारी गरेर बसिरहनु भएका, देशमा नै सम्भावना छ भनेर ती दूर-दराजका गाउँ-गाउँबाट गुन्द्रुक र बेसार पोको पारेर काठमाडौँ लगायतका सहरमा संघर्ष गरिरहनु भएका तपाईँहरूको प्रेरणाको स्रोत बन्न सक्नेछन् भन्ने हो।
(लेखक नेपाल सरकारका लेखा अधिकृत हुन्।)