कविता
पुरुषभित्रको कोही कू-पुरुष आज हिड्दैछ पशु बनी
डराउदैछ कोपिला पनि पुष्पित नहुदै लुटिन्छुकी भनी
आमा आँगनमा बाबु खेतमा, दूरी छ केही माझमा
त्यही दूरी राक्षस भो, छोरी हिड्नै नहुने भो साँझमा
निधारमै लेखी हिड्ने बेला भो म सज्जन हुँ भनी
पुरुषभित्रको कोही कू-पुरुष आज हिड्दैछ पशु बनी
लुटिदैछ अस्मिता कतै, कसैको लुटिन्छ स्वाभिमान
छोरी जात जननिकी पनि हुन जननी यत्ती अब जान
बुझ्दैनन् की पिपासुहरूले कुरा, या पचाउँछन् बुझेपनि
पुरुषभित्रको कोही कू-पुरुष आज हिड्दैछ पशु बनी
बालख अबोध, तरूण, प्रौढ-नारी लुटिन रोकिएन
यस्ता दुषित दुश्मन मास्न-कानुन कडा तोकिएन
बग्दैछन बेदना आँसु अनमोल अनि सुस्केरा गनि गनि
पुरुषभित्रको कोही कू-पुरुष आज हिड्दैछ पशु बनी
डर छ सहरमा, भीडमा उस्तै, डर छ एकान्तमा झन्
गुहार-गुहार भनी चिच्याए पनि नजिक पर्दैन सज्जन
जोगिई आफै, जोगाइ आफ्ना ´छोरी` बाच्न कठिन छनी
पुरुषभित्रको कोही कू-पुरुष आज हिड्दैछ पशु बनी
जननी धर्ती, जननी-आमा, अडेको छ सृष्टि नारीमा
देवता बनी डुल्न पाउन नारी मन्दिर वा खेत-टारिमा
दुष्टको कृत्य-कुकृत्यले सज्जनै पनि दु:खि छ नी
पुरुषभित्रको कोही कू-पुरुष आज हिड्दैछ पशु बनी
म हुँ छोरीको पिता, त्योभन्दा पहिला हुँ आमाको छोरो
आमाबाटनै सुरु हुन्छ सृष्टि-गंगा यो बग्दैन एकोहोरो
फैलियोस् सज्जनता दुबो झै, बनुन् अपवाद ती भक्षक
म हुँ पहरा मेरो घर भित्र, अनि म नै हुँ समाज रक्षक।