ब्रह्माण्डको सुन्दर सृजना रहेको यो मानव चोला
छट्पटीमा श्वास लिएर एक मुठ्ठी रोदनमा यतिबेला
सर्वश्रेष्ठ प्राणी सम्झदै आफूलाई सबैमा शासन गर्यो
उन्मत्त घमण्डले खनेको खाल्टोमा आज आफै पर्यो
जताततै अशान्त झगडा आपसी रिसराग साची
तछाड मचाड गर्दै तम्सदैछन् जुध्न मानवतालाई बेची
शान्ती भन्ने हो नाम कुन चराको, एकादेश झैँ भयो
अशान्तिले बस्ती-बस्ती चहार्दै बिराजमान हुँदै गयो
बलात्कार, हत्या, हिंसा अपराध कति बढ्दै गएको
जात, वर्ग अनेक विभेद आपसमा कति मूर्ख भएको
यो जगतका सबै प्राणीको छ मूल्य आफ्नै पनि
बुझ्न तयार छैनन् कोही पनि सबै समान हुन् भनी
मृत्युकै मुखमा पुग्दा पनि मानव छोड्दैनन् लोभ लालच
यही चालाले मानव जीवन टिक्दैन धेरै काल त
प्रकृतिको चरम दोहनले थेग्न नसकी सृजिएका सकस
त्यही उपज फैलिएका विश्वभरि, विषालु रोगका भाइरस
घमण्डले यो मानव चोला खोज्दैछ आफै भासिन
यही गतीले बढ्दै गए अघाडी, लाग्दैन बेर मासिन
अहंकारले यो सारा जगतलाई विस्तारै भस्म पार्दैछ
सबलाई जित्छु भन्दै हिड्ने मानव, आज आफै हार्दैछ
अझ पनि नखुले चेतना मानवको, छैन ठाउँ यो जगतमा
छैन केही उपाय अरु कुनै सिवाय, आफूलाई सुधार्न
जन्म–मरण बीचको छोटो यात्रामा, अडेको मानव चोला
अमरै रहन्छु भन्ने भ्रममा बसी पथलाई भुल्दैछ यतिबेला
भौतिक सारा रचना जगतको, फोका हो केबल पानीको
टिक्दैन सधैँ नै अटल भइ एकैनाश, लाग्दछ अति ननिको
बाचुन्जेल यो जीवनको कसरत, अरुको सेवामा लगाइ
तृप्ति पारी मनलाई आनन्दले, बाचौँ जलन भगाइ
परिवर्तन नखोजौँ अरुमा कहिले नि, गरी सुरु आफैमा
मनको दियो बले मात्र जीवनमा बन्छ सार बाच्नुमा
तिम्रो पनि जिम्मा हो यो जगतलाई, गोडी मलजल गर्ने
कुकर्मका झार पन्छाई आफ्नो धर्तीलाई, हराभरा बनाउने
अबेर भैसक्यो मानवजन हो गरौँ कोशिस बिउझिन
मिर्मिरे बिहानीको शितलताका झोकाका, गुच्छाहरु सिउँरिन
आँखा खोली, जगाइ आफूलाई त्यही नजरले हेरी पर
आफूझैँ सोची अरुलाई जगतमा, सुन्दर बनाउँ यो घर।।