‘आज त तपाईंले जसरी पनि बताउनैपर्छ बहिनी!’
एउटा पेपर क्लिपबोर्डमा च्यापेर डा. जान्वी म बसेको क्याबिनमा आउनुभयो। म बसेकै बेडको विपरीतको बेडकी लगभग २६-२७ वर्षकी बिरामीको छेवैमा मेच तानेर बस्नुभयो। म एउटा माइनर अपरेसन गरी एक दिनको बेड रेस्टमा थिएँ। उनी किन भर्ना भएकी हुन थाहा थिएन। त्यसदिन बिहानदेखि हामी एउटै क्याबिनको फरक बेडमा थियौं।
उनको घाँटीमा पट्टी लगाइएको थियो, हातमा ब्यान्डेज पनि। बेला-बेलामा उनका आफन्त भेट्न आउँथे तर उनी बोल्दैनथिन्।
उनीबारे के अनुसन्धान गर्नु थियो कुन्नी डा. जान्वी तेस्रोचोटि रहेछ उनको छेउमा आएर केही बुझ्न खोज्नुभएको। एउटै क्याबिनमा रहे पनि उनी र म बीच कुनै संवाद भएको थिएन। उनी प्राय: चुप रहन्थिन्।
डा. जान्वीले उनलाई प्रश्न गर्नुभयो, ‘तपाईंको नाम त भन्नुस् आज।’
उनले पुलुक्क मतर्फ हेरिन्, लाग्थ्यो उनलाई म त्यहाँ भएको पटक्कै मन परेको थिएन। उनलाई सहज होस् भनेर मैले बेवास्ता गर्दै निदाएजस्तो अभिनय गरें। मलिन स्वरमै भए पनि जवाफ दिइन्,
‘रचना थापा।’
नाम भनेपछि उनी चुप भइन्। डा. जान्वीले एक गिलास पानी रचनाको हातमा थमाउँदै भन्नुभयो, ‘म यसै अस्पतालको मनोचिकित्सक हुँ, तपाईंले आत्महत्याको निर्णय किन गर्नुभयो? मनको बह त पोखे हल्का हुने हैन र?’
म झसंग भएँ। ओहो यिनले त आत्महत्या पो गर्न लागेकी रैछिन्। मैले आफू निदाएको अभिनय गर्न छोडिनँ। आँखा चिम्ले पनि मेरो मनको आँखाले हरेक क्रियाकलाप नियालिरहेको थिएँ।
उनले ब्यान्डेज नलाएको हातले पानी समातिन्। एक घुट्की पिइन्। अनि बोल्न थालिन्।
‘म अहिले २६ वर्षकी भएँ, पढाइ सकेर जागिरे भइसकेपछि मेरो मागी विवाह भयो, सरकारी जागिर भएको इमान्दार अनि खानदानी केटा भनेर परिवारको राजीखुसीमा विवाह सम्पन्न भएको थियो। श्रीमान् असल थिए जाँड, रक्सी, चुरोट, बिँडी केहीको लत नभएको त्यसैमाथि शाकाहारी पनि। सासु-ससुरा झनै भन्नै नपर्ने, देउताजस्ता। म त्यो घरमा बुहारी होइन छोरीको दर्जा पाएर बसेकी थिए। श्रीमान् र म दुवै जना आफिस जान्थ्यौं, बेलुका दुवै जनाले आ-आफ्नो अफिसमा भएको कुरा एकअर्कोलाई सुनाउथ्यौं। दिन हासीखुसी चलिरहेको थियो। विवाह भएको दुई वर्षपछि हाम्रो छोरा जन्मियो, आमाको अनुहारको रहेछ भाग्यमानी हुन्छ भन्थे धेरैले, म मनमनै मख्ख पर्दथें।’
त्यसपछि उनी रोकिन्छिन् र लामो श्वास फेर्छिन्। डा. जान्वी के टिपोट गर्दै हुनुहुन्थ्यो कुन्नी उनीपट्टी फर्किएर भन्नुभयो, ‘अनि अरु सुनाउनुस् बहिनी त्यसपछि के भयो?’
उनले क्रमश: बताउन थालिन्।
छोरो जन्मिएपछि ९८ दिनको सुत्केरी बिदा सकेपछि म फेरि अफिस जान थालें, दुधे बालकलाई छोडेर ८-१० घण्टासम्म अफिसमा रहँदा बच्चाको यादले एकदमै पिरोल्थ्यो। छेउछाउमा कुनै बच्चाको आवाज सुन्दा पनि आफ्नो बच्चा रोइरहेको छ कि जस्तो लाग्थ्यो। फेरि पनि आफूलाई सम्हाल्थें किनकि नेपालमा जति पनि रोजगार महिला छन् ती सबैले भोग्ने पीडा मेरो जस्तै हो। यसैगरी दैनिकी चलिरहेको थियो।
विश्वभर कोरोना भाइरस (कोभिड -१९) को संक्रमण बढ्यो। नेपालमा पनि एक दुई गर्दै संक्रमितको संख्या बढ्न थाल्यो, देशको स्थिति त्रासपूर्ण भएपछि अन्ततः नेपाल सरकारले लकडाउनको घोषणा गर्यो।
पेशाले म नर्स। नेपाल सरकारले छुट्याएको अत्यावश्यक सेवाभित्र पर्दथ्यो। त्यसैले, अस्पतालले हप्ताको दुई दिन अथवा पालो मिलाएर डिउटीमा खटिनुपर्ने व्यवस्था मिलाएको थियो। एक त काखमा सानो दुधे बालक अर्कोतिर कोरोना महामारीको त्रास। त्रास, बाध्यता र कर्तव्यबीच रुमल्लिएकी थिएँ म।
कोरोना माहामारी बढेपछि घर परिवारबाट जागिर छोडेर घरमै बस्ने दबाब आउन थाल्यो। मेरो सोच जागिर छोड्नेतिर थिएन। बल्लतल्ल मिलेको जागिर अनि सम्पूर्ण सुरक्षा, विधि अपनाएर अफिस जाने गरिएको थियो। म घर परिवारलाई बारम्बार भन्ने गर्दथें- यस्तो माहामारीको बेला हामीजस्ता स्वास्थ्यकर्मीले सेवा नगरे कसले गर्छ, यो माहामारीमा बिरामीको सेवा गर्नु त मेरो कर्तव्य हो। यस्तै, विवादमा बेला-बेला श्रीमान् र म बीच चर्काचर्की हुन थाल्यो।
दुधे बालकको चिन्ता छैन तँलाई, समाजसेवा गर्नुपर्ने, त्यसैमाथि अस्थायी जागीर’ भन्दै श्रीमानले बेला-बेला शब्दको वाणले घोचिरहन्थे।
उनी बोल्दाबोल्दै फेरि रोकिइन्।
म निदाएझै गरी डा. जान्वी र रचनाबीचको सम्पूर्ण कुरा सुनिरहेकी थिएँ। आँखा चिम्लिएर निदाएजस्तो अभिनय गर्दै मैले उनको व्यक्तिगत कुरा सुन्ने अपराध गरिरहेकी थिएँ। एक घुट्कीजति पानी पिएर उनी फेरि बोल्न सुरु गरिन्।
विवादको बाबजुद पनि म अस्पताल गइनैरहें। मेरो जागिर कोरोनाको विपतअघिको सुमधुर वैवाहिक सम्बन्धमा दरार ल्याउने कारण बनेको थियो। कहिले रात, कहिले दिन गरेर बिरामीको सेवामा खटिँदाखटिँदै मलाई ज्वरो आउने, खोकी लाग्ने हुन थाल्यो।
अन्ततः शंका लागेर मैले पिसिआर टेस्ट गराए, रिपोर्टले मेरो होस हवास नै उडायो किनकि मलाई कोरोना पोजेटिभ देखायो। म माथि सिंगो आकाशखसेजस्तो अनुभूति भइरहेको थियो। अकौतर्फ, थोरै खुसीको पनि अनुभूति थियो किनकि कन्ट्याक्ट ट्रेसिङमा परेको मेरो परिवारका सदस्य र मेरो सानो बच्चालाई भने नेगटिभ देखायो।
त्यसपछि आफू काम गर्ने अस्पतालकै आइसोलेसन कक्षमा उपचारार्थ भर्ना भएँ। अस्पताल र मेरो घर नजिकै थियो। सुरुवाती चरणमानै पत्ता लागेकाले होला मलाई खासै गाह्रो अनुभूति त भएको थिएन तर बच्चाको यादले एकदमै सताउँथ्यो। उसको हेराइको एक झिल्को मात्र पाउन पाए पनि म अनुग्रहित हुनेथिएँ जस्तो लाग्थ्यो।
१५ दिन आइसोलेसनमा रहँदा मैले आफूलाई सबथोकबाट परित्यक्त अनुभूत गरिरहेकी थिएँ। एउटी आमालाई सन्तानको माया कति हुन्छ, त्यसमाथि छ महिनाको बालक जीवित आमाको ममताविहीन भएर बस्नुपरेको थियो। त्यो समय उसका कलिला ओठले, कलिलो बाल मस्तिष्कले कति सम्झियो होला, भक्कानो फुटेर आउँथ्यो। दुध बेस्सरी चर्किन्थ्यो तर पूर्वजन्मको पापले अभिशप्त आफैंलाई धिक्कार्नु शिवाय केही विकल्प थिएन।
मलाई खान मन लाग्दैनथ्यो। निद्रा लाग्दैनथ्यो त्यो समय म गहिरो डिप्रेसनमा गइसकेकी थिएँ। प्रत्येक पलपल आफू मरेर भए पनि मैले आफ्नो शरीरको कोरोना मार्न सकें, अर्थात् मैले कोरोनासँगको युद्ध जितें।
तेस्रोपटकको जाँचमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि म घर जान सक्ने भएँ। अस्पतालले डिस्चार्ज गरिदिने भयो। मैले श्रीमानलाई फोन गरेर यसबारे जानकारी दिएँ। आशा थियो लिन आउनुहुन्छ होला भन्ने, तर ट्याक्सी लिएर आउनु भन्ने निर्देशन भएपछि त्यसैअनुसार म घर गएँ। म फुरुङ्ग थिएँ, मेरो छोरा मेरो मुटुको टुक्रालाई अंगाल्ने छु, छातीमा टाँस्नेछु, चुम्बन गर्नेछु अनि हृदयभरि सञ्चित भएर बसेको सबै ममता पोख्याउने छु।
यति बोल्दासम्म उनको गला अवरुद्व भइसकेको थियो।
उनी चुप लागिन्। डा. जान्वी पनि चुप लागिरहिन्। एकैछिनमा त्यहाँको माहोलमा सन्नाटा छायो।
तर, अकस्मात निदाएको नाटक मञ्चन गरिरहेकका मेरा नयन खुले। यसो रचनातिर हेरें उनका अश्रुकुण्डबाट आँशुका थोपा गुँडुल्कीएर झरिरहेका थिए। सबै चुप भए। त्यसपछि के भयो होला रचनाको जिन्दगीमा भन्ने खुल्दुली डा. जान्वीलाई भन्दा बढी मलाई भयो। वर्षौंदेखि रोकिएको बोली अकस्मात फुटेजस्तो आत्तिएर जुरुक्क उठेर बोल्न पुगेंछु, ‘त्यसपछि के भयो बहिनी?’
उनले पुलुक्क म तिर हेरिन्। डा. जान्वीले पनि मलाई नै हेरिरहेकी थिइन्। मलाई पनि बीचमा किन प्वाक्क बोल्नुपरेको होला। आफैंदेखि रिस उठ्यो। एकछिनको मौनतापछि रचना आफ्नो घटनाको नालीबेली लगाउँदै गइन्।
रिपोर्ट नेगेटिभ आएर अस्पतालले समेत डिस्चार्ज गरिसकेको मलाई घरमा गइसकेपछि बच्चालाई भेट्न दिइएन। म प्रति सबै परिवारजनमा हेयभाव थियो। घरको स्टोर रुम खाली गरेर सानो बेड हाली मलाई छुट्टै बस्ने व्यवस्था पो मिलाइएको रहेछ।
छोराले मलाई देखिहाल्यो र चिच्याएर रुन थाल्यो। बोली नफुटेको भए पनि उसले आफ्नो कारुणिक रुवाइबाट १५ दिनदेखिको वेदना पोखिरहेको थियो। मेरोे मनले उसको रुवाइको भाषा बुझिरहेको थियो। मेरो छाती चिरिएर आयो। आफूलाई रोक्नै सकिनँ र बच्चातर्फ अगाडि बढें। तर, मलाई छुनै दिइएन। दुई-चार दिन आफैं अलग बस्नु भन्ने सासु-ससुरा र श्रीमानको आग्रहलाई शिरोधार्य गरी अलग्गै बस्ने निर्णय गरेँ। अङ्गाल्न नपाए पनि कमसेकम मैले मेरो मुटुको टुक्रालाई देख्नसम्म त पाएकी थिएँ।
दुई तीन दिनअघिदेखि छोरालाई भने सन्चो रहेनछ। एकदमै रोइरहन्थ्यो। छोरो रुँदा, खान नमान्दा, मलाई खोज्दा टाढैबाट हेरेर आँशु खसान्नबाहेक केही गर्न सक्दैनथें। मेरो कारणले छ महिनाको उमेरमा जीवित आमाको ममताबाट ऊ परित्यक्त हुनुपरेको थियो।
अलग बस्नुपर्ने दिन कहिले सकिएला भन्दै हर दिन गन्न थालें। बल्ल तीन दिन बित्यो, छोरो झनझनै रुन थाल्यो। रुँदारुँदा एकैछिनमा उसको शरीर तातो हुँदो रहेछ। खान केही नमान्ने उसलाई फुल्याउन कसैको केही लागेन। छोराको चिच्याहटले मेरो धैर्यताको बाँध फुट्यो। दगुरेर गएर सासुबाट छोरो खोसेँ, रुँदारुँदा उसका हातगोडा काँपिरहेका थिए। छोरोसँगै आफू पनि रोएँ।
मनभरिका ब्यथालाई आँशुले धोएँ। रोइरहेको छोरालाई जबरजस्ती स्तनपान गराउन खोजे तनतन दुध पिएर पिउँदा पिउँदै ऊ भुसुक्क निदायो, सबै जनाले ट्वाल्ल परेर मलाई हेरिरहे।
छोराको शरीरको तापक्रम बढिरहेको थियो। आफैंले ट्याक्सी बोलाएर अस्पताल लैजाने मेलो गरेँ। माहामारी चलिरहेको र छोरालाई हल्का ज्वरो आएकोे कारणले पुनः हाम्रो घर परिवारका सदस्य सबै जनाको केरोना परिक्षण भयो। मेरो भने जिन्दगीकै परीक्षण भइरहेको थियो। भगवानको कृपाले सबैको रिपोर्ट त नेगेटिभ आयो तर छोरालाई निको हुने छाँटकाँट देखिएन। ऊ रोएको रोएै थियो। गाह्रो भएर होला बेला-बेला रुन पनि सक्दैनथ्यो। सबै चेकजाँच भइसकेपछि थाहा भयो उसलाई निमोनिया भइसकेको रहेछ।
श्वासप्रश्वासमा समेत समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो। त्यो रातभरि डाक्टर राउण्डमा आइरहनुभयो। बाबुको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएको बुझिन्थ्यो। त्यस रातको प्रत्येक पल छट्पटीमै बित्यो।
भोलिपल्ट दिउँसोको लगभग १ बजेको थियो। एक जना सिस्टर हस्याङ्गफस्याङ्ग गर्दै भेन्टिलेटर रुमबाट बाहिर निस्कीइन र डाक्टरलाई के भनिन् कुन्नी सबै जना भित्र जानुभयो। १५-२० मिनेटपछि सबै जना निस्किएर मेरो छेउमा आएर भन्नुभयो माफ गर्नुहोला, हामीले तपाईंको बच्चा बचाउन सकेनौं धेरै ढिला भइसकेको रहेछ।
त्यो आवाज मेरो कानमा पर्नासाथ म बेहोस् भएर ढलेंछु। १४ घण्टासम्म के भयो मलाई केही थाहा भएन। ब्यूझिँदा म अस्पतालको बेडमा थिएँ। म अर्धमृत थिएँ, म थिएँ तर मेरो संसार थिएन। मेरो शरीर थियो आत्मा थिएन।
त्यति भन्दासम्म उनी पूरै भावविह्वल भइसकेकी थिइन्। मेरा आँखाबाट पनि बलिन्द्र धारा आँशु झरिसकेका थिए। डा. जान्वीले लामो श्वास फेर्नुभयो। गला उहाँको पनि अबरुद्व थियो। तर, डा. जान्वीको प्रश्न सकिएको थिएन। एक गिलास पानी हातमा थमाइदिँदै भन्नुभयो, ‘अनि?’
रचना बोलिन्, ‘मेरो होस खुल्दा मेरो वरिपरि सबै परिवारका सदस्य माहुरीको गोलोमा माहुरी झुम्मिए झैं झुम्मिएका थिए। त्यहाँ कुनै सामाजिक दुरी थिएन। बेस्सरी कराएर भन्न मन लागेको थियो मलाई कोरोना लागेको छ मेरो वरिपरि नबस् भनेर। मलाई मेरो वरिपरि जो मान्छे देखे पनि ब्यग्र रिस उठ्न लागेको थियो म आफूलाई सम्हाल्न सक्ने स्थितिमा नै थिइनँ, न त अरुले सम्हाल्दिएको मन पर्थ्यो । सानो लापरबाहीले मैले मेरो मुटुको टुक्रा गुमाउनु परेको थियो।’
उनी थप्दै गइन्।
त्यसपछि म जुरुक्क उठेँ। हातको नशाबाट दिइरहेको सलाइन पानीको बोतललाई बेस्सरी थुतेर फालें। गोडामा चप्पल पनि थिएन। म पागलजस्तो दौडिएरै घर पुगें। मेरोपछि सबै दौडिरहेका थिए। मलाई भेट्ने आशमा, कोही हिँडिरहेका थिए,कोही गुडिरहेका थिए तर म उडेको थिए द्रुत गतिमा।
मलाई कसैले भेटेनन्। म सरासर घरको स्टोर रुममा गएँ। जुन मलाई बस्नका लागि खाली गरिएको थियो। भित्रबाट चुक्कुल लगाएँ। बिछ्यौनामा घोप्टिएर बेस्सरी चिच्याएर रोएँ। अनि सानो छोरासँगै आकाशको तारा हुने सोचले आफ्नो गलामा डोरीको पासो लगाएँ।
तर, यो पापी संसारमा विक्षिप्त भएरै बाँचिरहन लेखेको रहेछ क्यार दैवले मलाई मर्न पनि दिएन। डोरी चुँडिएर भुइँमा बजारिन पुगेँ। आफ्नै जिउले थिचेर हात भाँचिएछ। त्यसबेलासम्म ढोका फोरेर मेरा श्रीमान भित्र छिरिसकेका थिए।
मैले रचनालाई पुलुक्क हेरें। उनको हातको ब्यान्डेज र घाँटीमा लगाइएको पट्टीको कारण पनि थाहा पाएँ। डा. जान्वीले पेपरमा केही टिप्दै हुनुहुन्थ्यो। टिपिसकेर भन्नुभयो, ‘आफूलाई बलियो बनाउनुस् बहिनी, अबका दिनमा के गर्नुहुन्छ?’
रचना बोलिनन्। उनी भुसुक्क निदाइसकेकी थिइन्। एक घण्टाअघि सिस्टरले दिएको निद्राको गोलीले उनी साँच्चिकै निदाएकी थिइन्। मैलेजस्तो निन्द्राको अभिनय गरेकी थिइनन्।
‘सिस्टर उहाँको कुरुवा बोलाइदिनुपर्यो’ भन्दै डा. जान्वी बाहिरिनु भयो। मेरो भने दिमाग नियन्त्रणबाट बाहिरियो। मलाई एकदमै छटपटाहट भयो, आफूलाई नपरुन्जेल केही न केही भन्छन् तर उनको दर्दनाक कहानी सुनेपछि मलाई हरेक ब्यथा आफ्नैजस्तो लागिरहेको थियो।
औषधीको सहाराले निदाउने उनको बाँकी जीवन कसरी ब्यथित् होला अब के गर्लिन् भन्ने अनेक प्रश्न प्रतिप्रश्नले मेरो मन मष्तिकमा पूरै जालो लगाइसकेको थियो। त्यो रात मलाई पूरै कालो रात झैं लागिरहेको थियो। पटक्कै निदाउन सकिनँ अस्पतालमा बिताएका कयौ रातहरू भन्दा मेरो त्यो एक रात अविस्मरणीय थियो।
म एकोहोरो निदाएकी रचनालाई हेरिरहेकी थिएँ रातभर। बिहानीपख मेरो आँखा जोडिएछन्, पछि झल्यास्स ब्यूझिँदा ७ बजिसकेको थियो, आँखा खुल्नेवित्तिकै रचनाको बेडतर्फ हेरेँ, उनको बेड खाली थियो। उनी डिस्चार्ज भइसकिछन्। कहाँ गइन्, कता गइन्, कोसँग गइन् केही थाहा भएन।
आज पाँच महिनाअघि अस्पतालमा बिताएको त्यो एक रात र रचनालाई सम्झेर म बेला-बेला एकोहोरिरहन्छु।