सधैँ माया प्रेममा जिउने दुई जोडीका बीचमा अचानक झगडाको बिउ रोपिन पुग्छ। झगडा गर्नलाई मानिसलाई ठूलो कारण नै चाहिदैन, मात्रै बहाना भएपुग्छ भनेझैँ विवाह भएको पाँच वर्षपछि बल्ल ईभा गर्भवती भइ।
ईभालाई सरापिरहने परिवार पनि यो खबरले खुसी देखिए। यसै अवसरमा इशानले सानो भोजको पनि आयोजना गर्यो। यसबेला सबैभन्दा खुसी ईभा आफै भएकी थिइ।
पेटमा हुर्किरहेको बच्चाको आगमनबाट उसलाई अझ पूर्णताको आभाष मिलिरहेको थियो। गर्भवती भएको पनि तीन महिना भइसकेको थियो। चौथो महिनाको चेकजाँचमा श्रीमान् इशान पनि जाने भए।
सदा झैँ उसको चेक जाँच सकियो र 'सबै कुरा राम्रो छ, अब सात महिनामा आउनु, पोसिलो खानेकुरा खानु, धेरै साह्रो गाह्रो काम नगर्नु' भनि डाक्टरले भने। ईभाले हुन्छको इशारा गरी।
श्रीमान् इशानलाई अब घर जाउँ भनि तर इशानले 'तिमी एकैछिन बाहिर बस, म डाक्टरसँग केही कुरा गरेर आउछु' भन्यो। ईभा बाहिर निस्की। उसको मनमा धेरै कुराहरु खेल्न थाले। कतै मलाई केही भएको त छैन? मेरो पेटको बच्चालाई त ठिक छ? किन इशानले डाक्टरसँग कुरा गर्न खोज्यो?
यस्तै प्रश्नहरुले उसको मनलाई उथलपुथल पुर्यायो। करोडौँको उसको खुसी कौडीमा खसिसकेको थियो। ऊ उठ्दै बस्दै दायाँ बायाँ हिँडिरही। केही समयपछि इशान अध्यारो अनुहार लगाउदै बाहिर निस्कयो।
उसको अध्यारो अनुहार देखेर ईभा हतास हुँदै सोधी 'डाक्टरले के भन्नु भयो? किन निराश भएको? मलाई र मेरो बच्चालाई त ठिक छ नि?' देख्दै नदेखेको पेट भित्रको रगतको डल्लोको पनि कति माया हुँदो रहेछ भन्ने कुरा ईभाको अनुहारबाट प्रष्टै देखिन्थ्यो।
ईभाको प्रश्नको प्रतिउत्तर स्वरुप झर्किदै इशानले सब ठिक छ, बाइकमा बस, घर जाउँ भन्यो। ईभा दुखी हुँदै बाइकमा गएर बसी। इशानको बाइकको रफ्तार अचानक बढेर गयो। उसको बाइकको रफ्तार देख्दा ईभालाई आजै मेरो अन्तिम दिन हो जस्तो लाग्छ।
ईभाले पछाडिबाट बाइक विस्तारै चलाउन गरेका अनुनय विनय हावाको तीव्र बेगले हो या उसको नियतले नसुनेझैँ गरी अघि बढीरह्यो। एकैचोटि बाइक घरको अगाडि गएर अडियो। 'ल अब म अफिस तिर लागेँ' यति भनेर ऊ आफ्नो बाटो लाग्यो।
ईभाको मनमा अनेक शंका उपशंकाहरु उब्जिरहे। आफ्नै शरीर नि उसलाई भारी लागिरहेको थियो। थाकेका पाइलाहरुलाई विस्तारै उचाल्दै मनभरी पीडा बोकेर घर भित्र छिरी। उसको भोकाएको पेटले खाना मागिरहेको थियो।
केही खानेकुराको आशमा ऊ भान्छामा गइ तर त्यहाँ उसले केही खानेकुरा भेटिनँ, भेटी त मात्र जुठा भाँडाहरु जुन बिहानैदेखि ईभाकै प्रतिक्षा गरिरहेका थिए। ऊ त्यस घरमा विवाह गरेर छिरेका दिनदेखि घरका कुना काप्चा, भाडा वर्तन, अन्नपानी सबै कुराले उसलाई मात्र चिन्थे र उसैलाई सम्झिरहन्थे।
ऊ कपडै नखोली भाडा माझ्न थाली। विचरा ईभालाई सोध्ने खोज्ने त्यहाँ न त उसका बा-आमा थिए न त दाजुभाइ, दिदीबहिनी नै। परिवारका सदस्यबाट अनेक यातना, चोट पाएकी ईभालाई आज आफ्नै श्रीमानले पनि धेरै मन दुखाएको छ।
मनमा विभिन्न कुरा खेलाउदै भाँडा माझेर ईभा आफ्नो कोठातिर लागि। श्रीमानलाई फोन गर्न भनेर मोबाइल उठाइ तर मनमा चिसो पस्यो, कतै गाली पो गर्ने हो कि? होस् भरे घर आइहाल्छन अनि सोधौँला नि। मन बुझाउछे।
अचानक उसले आफ्नो जन्मदिने आमालाई सम्झी। ऊ एकपटक आमासँग पो बोल्न पर्यो भन्दै फोन लगाउछे। आमाले फोन उठाउने बित्तिकै सोध्नु हुन्छ 'के खायौ? स्वास्थ्य कस्तो छ तिम्रो? के गर्दैछौ?'
आमाका यी प्रश्नहरुको उत्तर दिने तागत पनि उसँग थिएन। प्रश्न सुन्दा सुन्दै उसका आँखाहरु भरिएर आउछन्। रोक्न खोज्दा खोज्दै दुई चार थोपा आँसु झर्छन्। आँसु पुछ्दै आमासँग बोल्न खोजी तर ऊ बोल्न सकिन। सायद जिन्दगीमा पहिलो चोटि होला आमाका अगाडि डाको छोडेर रोएको।
आमा आत्तिदै बोल्नु भयो 'छोरी, के भयो तिमीलाई? केही त बोल। घरकाले केही भने कि? किन यसरी रुन्छौ?' ईभा केही बोल्न नसकेर फोन राख्छे। उता आमा अत्तालिदै ज्वाइलाई फोन गर्नुहुन्छ। यता ईभा हुक्क हुक्क गर्दै रोइरही।
यथार्थ पनि बुझ्न नपाउने कस्तो मेरो भाग्य भन्दै आफ्नो टाउको ठोक्दै खाटमा पल्टिइ। उसलाई आफ्ना आफन्त, परिवार, साथीभाइहरु तथा आफू, खेल्दै, रमाउदै हुर्केको गाउँघर प्रकृतिको खुब याद आउँछ। अझ रुवाइको गति बढेर जान्छ।
मोबाइलको घन्टी टिङ्ग बज्दा ऊ झस्किन्छे। यसो हेर्दा आमाको फोन हुन्छ। आँसु लुकाउन खोज्दै आमासँग कुरा गर्छे। आमाले भन्नु हुन्छ, 'म तिमीलाई राम्रोसँग चिन्छु छोरी, मलाई किन ढाट्छौ? तिमीलाई के भएको छ सबै भन, ज्वाइको फोन पनि उठेन।'
ईभा मन सम्हाल्दै सबै घटना सुनाउछे। आमाले 'पिर नगर, केही हुँदैन हामी छौँ, दुईचार दिन यतै आऊ, ज्वाइलाई केही तनाव भएको होला। ज्वाइलाई हामी पनि सोधौँला' भन्नु भयो।
बोलाउन त आमाले मायाले बोलाउनु हुन्छ तर यो पराइको घरबाट विवाह भएको पाँच वर्षमा जम्मा पाँच दिन माइत गएकी थिइ ऊ। त्यो पाँच दिन तिजको दिन पर्थ्यो। आफ्नो भाइ नै लिनलाई आएपछि बल्ल उसले छुट्टी पाउथी।
आज त न तिज थियो न त केही। माइत जान पाउने कुनै सम्भावना नै थिएन। मन रुवाउदै, म कोशिश गर्छु आमा, हजुरहरुको खुब याद आएको छ, न्यास्रो लागेको छ भन्दै फोन राखी।
भान्छाबाट अघि नै खाना बनाउनका लागि बोलावट भएको रहेछ। गह्रौ मन लिएर, बिस्ताराबाट उठी। आँखाको आँसु पुछ्दै कपडा परिवर्तन गरी भान्सा तर्फ गइ। हतार हतार खाना बनाएर भिजेका आँखा भएपनि ओठमा मुस्कान भर्दै सबैलाई खाना दिइ।
सबैले खाना थपि थपि खाए तर कसैले केही बोलेनन्। जति गरे पनि कहिल्यै खुसी नहुने कस्तो परिवार होला, कहिले त उसको मनमा निमोठेर सबैलाई मारौँ जस्तो पनि लाग्थ्यो तर निरीह ऊ एक वचन पनि नफर्काइ सहेर बस्थी।
भाँडा माझ्न लाग्दा झ्यालबाट उसले अचानक हल्लिदै आइरहेको लोग्नेलाई देखी र ऊ झस्की। दैडिदै ढोकामा गइ अनि सोध्न लागि 'के हालत बनाउनु भएको यस्तो, बिहानबाटै तपाईको रुप र व्यवहार नै छुट्टै छ।'
यति के बोलेकी थिइ, उसले एकै शब्दमा भन्यो, 'राँड तैले मलाई खुसी दिन सक्दिनस्, जहाँ जान मन छ जा, जे गर्न मन छ गर' भन्दै विस्तारामा गएर पल्टियो।
यति सुन्नासाथ ईभा डङरंग ढली। दिउँसोदेखिको भोक, श्रीमानको त्यस्तो व्यवहार उसलाई सही नसक्नु भयो। घरका सबै जना सुतिसकेका थिए। सासु भन्दै थिइन्, 'यस बाँझीलाई लात्तै लातले हाने पनि हुने।'
इशान पनि सुत्यो। ईभा लडेकै ठाउँमा बेहोस भइ। राति १२ बजे तिर इशान वाक वाक गर्दै उठ्यो र 'ईभा ईभा' भनेर बोलायो। ओछ्यानमा दाँया बाँया छाम्यो, नभेटेपछि भित्तामा अडेस लाग्दै बत्ती बाल्न पुग्यो।
भुइमा लडिरहेकी ईभालाई देख्यो र ऊ खुट्टो बटार्दै ईभाको छेउमा गयो। खुट्टाले हान्दै कति नाटक गर्छेस्, उठ मलाई बाल्टी र पानी ल्याइदे भन्दै कराउन थाल्यो। ऊ हलचल गरिन।
आधा रातमा छोरो कराएको उसका बा-आमाले सुने। उनीहरु अत्तालिदै आए। इशानलाई ढोका खोल्न अनुरोध गरे। इशानले सकी नसकी ढोका खोल्यो। भुइमा लडिरहेकी ईभालाई देखेर सबैजना आत्तिए। सासुले छेउमा गएर ईभालाई छामिन्, ढुकढुकी चलेको थिएन र मुखबाट अलिकति रगत निस्किएको थियो।
उसको कन्चटमा निलो दाग थियो। सबैजना कसरी मरिछे, अब फस्ने भइयो भन्दै डराए। जड्याहा इशानलाई रक्सीको मातले अझै छोडेको थिएन। शौचालयबाट एक बाल्टी छादेर आएको इशानले झट्टै ईभा मरी भन्ने सुन्यो।
ऊ प्रेमले हो या रक्सिको मातले, ईभालाई अंगाल्दै तिमीले किन यस्तो गर्यौ भन्दै धेरै बेर रोयो। आफ्नै टाउको भित्तामा ठोक्यो। इशानका बुवाआमा छट्पटाए, के गर्ने भनेर सोच्नै सकेनन्।
त्यत्तिकैमा बिहान हुन थालिसकेको थियो, उता ईभाका बा-आमाले कहिले ईभालाई त कहिले इशानलाई फोन गरिरहेका थिए तर दुवैको फोन नउठेपछि चिन्तित हुँदै राति नै छोरीको घरतर्फ हिडेँ।
उनीहरुको घरबाट ईभाको घर करिब गाडीमा ४ घण्टाको बाटो थियो। उनीहरु बिहानको ५ बजे छोरीको घर पुगे। घर पुगेपछि उनीहरु आफ्नै आँखा अगाडि आफ्नी छोरीको लाश देख्दा छाँगाबाट खसे झै भए।
अचानक ईभाका बा-आमालाई देखेपछि इशान र उसका बा-आमा डराए। ईभाका आमा-बाले आफ्नो छोरीलाई इशानको परिवारले मारेको ठहर गर्दै प्रहरीलाई जाहेरी दिए। प्रहरीले इशानको परिवारलाई नियन्त्रणमा लियो र ईभाको लास पोष्टमार्टमको लागि अस्पताल लगियो।
पोष्टमार्टमको रिर्पोटमा ईभाको टाउकोमा गम्भीर चोट लागेको र सोही कारणले ईभाको मृत्यु भएको देखियो। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरु चेकजाँचको लागि दिउँसो अस्पताल गएको थाहा भयो र प्रहरीले डाक्टरमाथि पनि अनुसन्धान गर्दा ईभाको मृत्युको कारण ईभाको पेटमा हुर्किदै गरेको बच्चा भन्ने बुझियो।
त्यस दिन डाक्टरले इशानलाई ईभाको पेटमा हुर्किदै गरेको बच्चा छोरी भएको बताएको थियो। लैंगिक पहिचानको विषयमा जानकारी गराउनु कानुन विपरित भएता पनि इशानले डाक्टरलाई आफ्नो प्रभावमा पारी सो जानकारी लिएको बुझियो र प्रहरीले इशान र डाक्टर दुवैलाई कानुन अनुसार दण्डित गर्न अदालतलाई सिफारिस गर्यो।
लैंगिक विभेदको कारणले निर्दोष ईभाले ज्यान गुमाउनु पर्यो भने उसको पेटमा हुर्कैदै गरेको नाबालकले संसार देख्न पाएन।