आज—
छोरो मङ्गल ग्रहमा छ
युद्धको मोर्चामा होइन
भेटघाटको रंगमञ्चमा।
शनि ग्रहले भन्दैछ—
‘भोलि बुध ग्रहमा कार्यशाला छ
नयाँ पृथ्वी निर्माण गर्ने।’
यो नयाँ पृथ्वीमा
मानव मालिक हुँदैन
सहयात्री हुन्छ।
प्रकृति शासक होइन,
साझेदार हुन्छ।
यहाँ,
न गोरेटो घोडेटो
न सडक–पुल र हवाई मैदान
न धुवाँले ढाकिएको आकाश
न धुलोले ढलेको भविष्य
न त कुनै सभ्यता
विकास हो?
प्रकाश यहाँ
दण्ड होइन,
ऊर्जा हो।
वर्षा विपत्ति होइन,
जीवनको अनुशासन हो।
बाढी र पहिरो
समाचार होइन,
इतिहासको संग्रहालयको सम्पत्ति हो।
हरियाली
सजावट होइन,
नियम हो।
आकाश र जल
दुई तत्त्व होइनन्,
एउटै श्वास हुन्।
हिजो—
अफ्रिकाका गुफाबाट
भोकसँग सम्झौता गर्दै उठेको मानव,
आज—
ब्रह्माण्डसँग
दृष्टिकोणमा सम्झौता गर्दैछ।
सबै ग्रहहरूसँग
सम्बन्ध सहज बनाउन,
आकाशमै
घरजमको योजना बनेको छ।
चन्द्रमामा छोरी छोडिएको छिन—
आशाको पहरेदार।
सूर्यतिर छोरो पठाइएको छ—
ऊर्जाको उत्तराधिकार।
कल्पनामा प्रविधि जोडियो,
भावनामा ब्रह्माण्ड।
डाटा र दर्शन
एउटै सपनामा मिसाइयो।
सुख—
भोग होइन,
संरचना बन्यो।
समृद्धि—
लुट होइन,
वितरण बन्यो।
खुसी—
भाग्य होइन,
नीति बन्यो।
नयाँ स्वर्ग
प्रकृतिको वरदान होइन,
मानव चेतनाले
डिजाइन गरेको।
नयाँ पृथ्वी
भाग्ने ठाउँ होइन,
बस्ने साहस हो।
पलायन होइन,
जिम्मेवार निर्णय हो।
अब—
सग्ला शरीर,
सुन्दर चेतना
र उत्तरदायी सोचले
मानव बस्ती
फेरि परिभाषित भएको छ।
सायद,
यही—
प्रविधिको गन्तव्य हो,
यही—
सभ्यताको उद्देश्य पनि।
मानव
अब बाँच्न मात्र होइन,
सार्थक भएर बाँच्ने
चुनौतीको सामु उभिएको छ।