इच्छा खोज्दै-खोज्दै
म मामाको किराना पसल छिरेँ
मामाले मलाई सक्कली घ्यु बेचे
साहूको जागिर पसल पुगेँ
उसले मलाई तहमा किन्यो
गुफा हेरेँ, अँध्यारो देखेँ
गाउँ पसेँ, छिँडीमा बसेँ
सहर छिरेँ, बेसरी कुदेँ
बाटैभरि भएँ
बैंकले मेरो नाम सोधेर खाता लेख्यो
घरको धुरीले मलाई टेकेर अग्लो देख्यो
मान्छेसँगको दूरी मसक्क पारेँ
नाताकुटुम्ब सारा डुलेँ
जोडी बनाएँ
डोरी कसेँ
छोराछोरी, नातिना सबैका औँला समाएँ
खोज्दाखोज्दै के-के भेटेँ
धेरै भेटेँ, सबै देखेँ
अरूलाई गन्दा आफूलाई बिर्सेँ
जब डुल्न छाडेँ र आफ्नै बाटो फर्केँ
तब पो असली भेटेँ
मैले मलाई भेट्न फर्किनु पर्दो रहेछ।