सूर्य उदाउनु र अस्ताउनुले
हावा चल्नु र नचल्नुले
पानी पर्नु र नपर्नुले
मलाइ खासै फरक पर्दैन।
मलाई त मोबाइल बिग्रिएको दिन
हार्ट फेल भएजस्तो हुन्छ
वाइफाईले काम गरेन भने
प्राण गएजस्तो हुन्छ।
बिहान आँखा नखुल्दै
हातले मोबाइलको स्पर्श गर्न पाएन भने
लाग्छ म जिउँदो रहने छैन।
थाहा छैन
आमाको प्रेसरको औषधी सकिएको कति भयो?
बुवाको सुगरको अङ्क कति चढ्यो?
बहिनीले पढाइ बिगार्दै छे कि सपार्दै छे?
भाइ सही बाटोमा हिँड्दै छ कि गलत बाटोमा?
आफ्नै कोठा नबढारेको कति भयो?
आफ्नै दारी नमिलाएको कति भयो?
तर सबै थाहा छ
कुन खेलाडीले कति वटा छक्का हान्यो?
कुन सेलिब्रेटीले कस्तो रक्सी तान्यो?
कुन ब्रान्डको कारको मूल्य कति हो?
कुन धनाढ्यको सम्पत्ति कति हो?
यो सबै जान्नु पछाडिको ठुलो हात
मोबाइल बाबा जिन्दाबाद!
मलाई बरु अक्सिजन नभए काम चल्ला
तर मोबाइलको ब्याट्री सकियो भने सास रोकिन्छ।
मोबाइलमै हेर्छु
मोबाइल चलाउनबाट छुटकारा पाउने उपाय
हरेक साँझ सङ्कल्प गर्छु
बिहानै उठेर मर्निङ वाक जाने, स्वास्थ्य रहने
आफैँसँग प्रण गर्छु
मोबाइल चलाउन छोडेर हरेक दिन पढ्छु
तर खै के जादु छ कुन्नि यो मोबाइल भन्ने जिनिसमा
हातमा परेपछि छोड्नै मन लाग्दैन
स्क्रिनबाट अन्त ध्यान मोड्नै मन लाग्दैन
बिर्सिन्छु सबै थोक
खान, पिउन, ट्वाइलेट जान, सुत्न
अनि आँखा झिम्काउन पनि
जसै समयको चेतना हुन्छ
मन पश्चात्तापको भुमरीमा रुमलिन्छ
र गरिहाल्छ संकल्प
आजलाई यस्तै भयो
भोलिबाट मोबाइल छुँदा पनि छुँदिन
तर उही दैनिकी पुनरावृत्ति भइरहन्छ
मेरो बाचा कसम गोलखाडी गइरहन्छ।
उहिले उहिले हातमा मोबाइल नहुँदा
पुस्तकका ठेलीहरू हुन्थे
हरेक विषयमा गम्भीर चिन्तन मनन हुन्थे
जन्मिन्थे न्युटन, आइन्स्टाइनजस्ता वैज्ञानिकहरू
बुद्ध, गान्धीजस्ता चिन्तकहरू
पढिन्थे पारिजात र भूपी शेरचनहरू
बाँडिन्थे स्नेहका फूलहरू
स्विकारिन्थे सानातिना भूलहरू
हुन्थे मिठामिठा गफगाफ
थियो सम्बन्धमा आत्मीयता
लाग्थे मान्छे मान्छेजस्ता
अनुशासित अनि धैर्यवान्।
अहिले मोबाइल युगमा
फेसबुकमा हजारौँ साथी भएर पनि मान्छे
एक्लो एक्लो छ
अधीर छ
हिंस्रक छ
ईर्ष्यालु छ
संवेदनाहीन छ
बकिरहन्छ नानाथरी सामाजिक सञ्जालको भित्तामा
अक्सर उभ्याउँछ आफूलाई असत्यको कित्तामा
चलिरहेछ होडबाजी देखासिकीको
नाङ्गिएर होस् या बाङ्गिएर
गाली गरेर होस् या भ्रम छरेर
सबैलाई हुनु छ भाइरल।
अहिले जमाना एआईको छ
मानिसले सोच्न बिर्सिसक्यो
खोज्न बिर्सिसक्यो
सायद अब बिर्सनेछ हाँस्न पनि
मान्छेजस्तो भएर बाँच्न पनि।
चेतनालाई अल्गोरिदममा बन्धकी राखेर
अझै मानिस दावा गरिरहेछ
म संसारकै चेतनशील प्राणी हुँ भन्दै
ए मान्छे! नढाँटी भन त
तिमीले मोबाइल चलाउँदै छौ कि तिमीलाई मोबाइलले चलाइरहेछ?
मैले यो पनि भनेको हैन कि
फेरि मानिस ढुङ्गेयुगमा फर्किनुपर्छ
मेरो बुझाइ यो पनि होइन कि
आविष्कार गर्ने वैज्ञानिकलाई फाँसी दिनुपर्छ
छुनै हुँदैन मोबाइल भन्ने पनि होइन
गर्नै हुँदैन प्रयोग एआई भन्ने पनि होइन
मेरो चिन्ता केबल यत्ति हो
मेसिनको स्थान मेसिनसम्म मात्र रहोस्
मोबाइल मान्छे बिगार्ने साधन नहोस्
नमारोस् यसले सृजनशीलताको फूल
नबनोस् विज्ञानको सबैभन्दा ठुलो भूल
नखाओस् यसले हाम्रा आँखा र मस्तिष्कको भाग
नलगाओस् यसले मानव अस्तित्वमा दाग।