प्रत्येक मानिस मिथकमा बाँचेको हुन्छ भनी हाम्रो जियाइलाई असत्य (भ्रम) बनाउने भाष्य मिथक बनेको छ। आम बुझाइमा मिथक असत्य, भ्रम, कल्पना र केही हदमा त्रासको पनि विषय हो भन्ने सन्दर्भमा यसको प्रयोग पाइन्छ।
हाम्रो पुस्ताले महाकवि लक्ष्मीप्रसाद देवकोटा देखेनौँ तर उनका विषयमा अलौकिक कल्पना गरेर देवत्वकरण गर्दैछौँ। हाम्रा कल्पनाले उनलाई मिथक बनाइरहेका छौँ। उनी अलौकिक थिए, थिएनन् अलग कुरा हो तर उनको प्रतिभाका सन्दर्भमा भनेका धेरै कुराहरूले उनलाई मिथक बनाइयो।
मिथक असत्य नभई सत्यको सहारा हो। सत्य कथा बताउने, घटना र सम्बन्ध बताउने, काल्पनिक सत्य बताउने प्रतीक हो। मानव जीवन कथामय छ, उसोभए यो मिथकमय छ भन्नु स्वाभाविक हो। तर नेपाली भाषामा मिथकको ठ्याक्कै अर्थ दिने शब्द निर्माण हुन् बाँकी छ, हामी वरपरको कुरा गरेर, दृष्टान्त र घटना दिएर यसलाई बताइरहेका छौँ। आम बुझाइमा मिथक भनेको कथा वा भ्रम हो, जुन आफैँमा असत्य नभए पनि अर्धसत्य हो। अर्धसत्य असत्यभन्दा खतरापूर्ण हुन्छ।
मिथकको सुरुवात कसरी भयो भन्नुभन्दा पहिला यो के हो बुझ्नु जरुरी छ। पौराणिककथा, आदिकथामा अलौकिक पात्र तथा घटनाहरू छन्, तिनैलाई नयाँ अर्थमा मिथक भनिएको हो। प्राचीन समयमा यस्ता पात्र र घटनाले कथालाई आकर्षक, अद्भुत मात्र बनाएनन्, विश्वास र त्रास सिर्जना गरे, साहस र सौन्दर्य स्थापना गरे।
त्यतिबेला कल्पना शक्ति थियो, विज्ञान थिएन। चिन्तनलाई अभिव्यक्त गर्न पनि कल्पकथ्य (मिथक) प्रयोग गरिए। चिन्तनलाई पुष्टि गर्न प्रमाण थिएन, कल्पना गरियो। सत्य व्यवस्थाका लागि, सौन्दर्य र साहस देखाउनका लागि, ब्रह्माण्डीय रचना बताउन, मानव जीवन पछिका काल्पनिक रहस्य बताएर व्यवस्था कायम गर्न मिथक प्रयोग भए।
जस्तो कि पहिलो लिखित काव्य (ग्रन्थ) मानिएको इपिक अफ गिल्गामेसमा उरुक राजा गिल्गामेस र इन्कुदुको मित्रताको कथाका साथ क्रूर र विवेकशील राजकार्य बिम्बन गर्न वनमान्छे (देवी उरुले बनाएको माटोको मान्छे) र गिल्गामेस (दुईतिहाइ देवता र एकतिहाई मानिस गुण भएको राजा) को यात्रालाई देखाइएको छ। आकाशका देवता, सौन्दर्य र कामशक्तिकी खानी राजकुमारी देखाइएको छ। पूर्वीय जगतका रामकथा, महाभारत आदिमा अलौकिक (सुपरनेचुरल) र अद्भुत (सुपरमेन) चरित्रकार्य देखाइएको छ। ती चरित्रकार्य न्याय व्यवस्था कायम गर्न, मानिसलाई शिक्षा र साहस दिन, सौन्दर्य र शक्ति दिन र केही हदमा मनोरञ्जन र त्रासका लागि रचिएका थिए।
अहिले मिथकको अर्थवत्ता विस्तार भएको छ। मिथकको रचना विधि, प्रयोग, संरचना र सन्दर्भहरू बदलिएका छन्। हामीहरू केही सिर्जना गर्दै जान्छौँ, हाम्रा पात्र र कर्म केही शताब्दीपछि मिथक बन्ने हैसियतमा छन्। प्राचीन कथा, काव्य प्रयोक्ता पनि कालान्तरमा मिथक बन्ने सम्भावनामा रहन्छन्, यदि तिनमा अद्भुत (सुपरनेचुरल) शक्तिको प्रयोग वा विशेष क्षमताको विश्वास छ भने।
स्टेफेन हकिङले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम्स’ मा पृथ्वीको विकासमा एक महिला यो गोलो छ भनेर विश्वास गर्नुपछि पौराणिक कथा/आदि कहावत माथि विश्वास प्रसङ्ग उल्लेख गरेका छन्। युभल नोह हरारीले ‘नेक्सस’मा सूचनाशक्तिको कालक्रम (जागरण) बताउने क्रममा प्रयोग भएका कैयौँ कुराहरू मिथक थिए, कल्पनाको शक्तिले तिनलाई तथ्य बनाइएको छ। जोसेफ मर्फीले ‘पावर अफ योर सबकन्सस माइण्ड’ मा प्रयोग गरेका अवचेतन (मनमा पाँजिएको थेग्रानहरू) मिथक थिए। मिथकले बनाएका मनोजगत थिए। जसको उदात्तीकरण, प्रकाशन भएर वैचारिक सत्यको आकार ग्रहण गरेका छन्।
आदिगुरु सोक्रेटसले परीक्षित हुनुपर्छ, दार्शनिक प्लेटोले सम्वादको निष्कर्षबाट व्यक्तिभित्रको प्रतिभा ज्ञानमा अवतरित हुन्छ भन्ने विचारलाई सिगमण्ड फ्रायड, जोसेफ मर्फीले प्रमाणित गरेका छन्। भाषा र शैली फरक छन्, वैदिक–उत्तरवैदिक गुरुकुलका ऋषिमुनिहरूदेखि आचार्य सुकरात, प्लेटो, अरस्तु हुँदै आजसम्म आइपुगेको ज्ञान निर्माणको शृङ्खला यही मिथकको जगमा उभिएको छ।
उदाहरणका लागि सोक्रेटस सिन्ड्रोमका नाममा सुकरातका शिक्षणविधि कक्षाकोठासम्म आइपुगेका छन्। प्लेटोको सामुदायिक शिक्षा क्लासरुम टु कम्युनिटीमा आइपुगेको छ। काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति रामकण्ठ मकाजुले यस अवधारणालाई विश्वविद्यालयको सफलताको आधार मानेका थिए। प्लेटोको शिक्षा विधि नालन्दा, तक्ष्यशिला, काराउइन हुँदै क्याम्ब्रिज, अक्सफोर्ड, हार्वर्ड, स्टानफोर्डमा आइपुगेको छ।
कुनै कुरा गर्न हुन्छ हुँदैन, कोसँग सामाजिक व्यवहार गर्नु हुन्छ र कोसँग हुँदैन, विवाह, परिवारिक सम्बन्ध कसरी व्यवस्थित गर्ने, कसलाई पूजा गर्ने, कसलाई घृणा गर्ने, कसलाई देवता र कसलाई चाहिँ दानव मान्ने भन्ने कुरा रीतिपरम्पराका मिथक हुन्। देवता को हुन् र दानव चाहिँ को? भन्ने मिथकबाट डोरिएर समाजमा संस्थागत भएको छ। यी सबै कुरालाई मिथकले निर्माण गरेका हुन्। कतिपय मिथक कर्तव्यका आधारमा स्थापना भएका छन् र कतिपय चाहिँ कल्पनाका आधारमा। जे भए पनि ती मिथक हुन्।
केही भ्रामक र सुपरनेचुरल कुरा भने पनि तिनले दिने शिक्षा भनेको कुनै न कुनै रूपमा राम्रो हो, सत्य हो। हजुरआमाले लोरी खेल्दै बताएकी मधुमालतीको कथा, हजुरबुबाले बताउनु भएको रावण जटायुयुद्ध, राधाकृष्णका कथा काल्पनिक, अद्भुत, उत्साह वा भय सिर्जना गर्ने खालका भए पनि ती बाबुनानीहरूका लागि असल आचरण बसाउन बताइएका कथ्यप्रमाण हुन्। यस अर्थमा बालसाहित्यमा मिथकहरू नीतिशिक्षा र सभ्यता निर्माणका लागि छ्यासछ्यास्ती छन्।
मिथकहरू पुस्तान्तरणमा परिष्कार हुँदै आएका छन्। श्रुति, स्मृति हुँदै लिपिग्रन्थहरूमा बदलिँदै आएका छन्। जस्तो कि हिजो मधुमालतीको कथामा मालतीलाई मधुले बाइपङ्खी घोडामा उडाएर बादलपारिको क्षितिजमा पुर्याउँछ, बीसौँ शताब्दीको अन्त्यतिर त्यो सुपरमेन भयो, सुपरमेनका ब्लार्क लगायत पात्रहरूले पत्ता लगाउँछन् कि उनीहरूमा भगवानको जस्तै क्षमता छ, शक्ति छ, अभेद्यता, गति र उडान छ, जसलाई सौर्यशक्तिले ऊर्जा प्रदान गरेको छ, उनीहरूको इलिएन शरीर विज्ञानले बनाएको छ।
अहिले निकै पछिको कल्पना गरिएका आकाशगङ्गा, तारामण्डल, वंशाणु इन्जिनियरिङ, टाइम/फ्युचर ट्राभल गरिएका कथाहरू रचिएका, दृश्याङ्कन गरिएका छन्। जर्ज अर्वेल, फ्रेन्क हर्वट, ईस्याक आसिमोभ, रिचर्ड भेट, मेरी शेलीहरूले यस्ता धेरै पात्र र घटना लेखिसकेका छन्। यी सबै कथा, कल्पना, किंवदन्ती हुँदै हाम्रो मानसपटल विस्तारका परिणाम हुन्।
१९८४ को विग ब्रदर जर्ज अर्वेलको डिष्टोपियन पात्र अहिले निरङ्कुश तानाशाह भएर शासन व्यवस्थापनमा देखिएका छन्। बिग ब्रदर अव मिथक बन्यो, त्यो पार्टीमा पनि छ, शासनमा पनि छ, समाजमा पनि छ। हिजो मिथकले दिमागलाई एक प्रकारले क्याप्चर गर्थ्यो, अहिले अर्कै प्रकारले। यी सबै अलौकिक र अद्भुत भए पनि लोकविश्वासमा छन्।
अचेलभरि लेखिएका हिजोका अद्भुत पात्र मिथकका संस्कारित रूप हुन्। मधुमालतीको कथा, हनुमानको लङ्का दहन, सञ्जयले महाभारतको वर्णन गरेको, द्रौपदीको अक्षय पात्र, गान्धारीका सय सन्तान, अन्तरिक्षमा युद्ध गरेको, सुदर्शन चक्र प्रयोग, लक्ष्यभेदी हतियार प्रयोग, कृष्णजीका सोह्रहजार गोपिनी प्रेमिका, कर्णको पराक्रम, अभिमन्युको साहस, भीष्मको प्रतिज्ञा जस्ता रहस्य र मिथकलाई अचेल विज्ञानकथाले प्रयोग गर्यो र विज्ञानले यथार्थमा पनि ओर्हाल्यो। हिजो कल्पना थियो, आज आज विज्ञान छ।
मिथक समयसाथ हिँड्दो रहेछ। प्रयोग पनि समयसन्दर्भसाथ हुँदो रहेछ। यस अर्थमा मिथकलाई विज्ञानको आधार (जननी) भने पनि हुन्छ। प्राचीन ऋषिहरूको कल्पना, आज विज्ञान भयो। ऋषिका कल्पनाहरू, साहित्यका कल्पनाहरू आजका वैज्ञानिक व्यक्तिका पूर्वाभ्यास थिए, पूर्वाभास थिए। कल्पनाको अभ्यास वास्तविकतामा अवतरण पनि हुँदो रहेछ भन्ने देखिएको छ। रहस्यको निर्माण र रहस्यको वास्तविकीकरण हुँदो रहेछ। कवि रीतिबाट रहस्य सुरुभो, साहित्यमा झाँगियो। साहित्य रहस्य उद्घाटन गर्ने स्थान रहेछ।
विद्वानहरू भन्ने गर्छन्, मिथक सामूहिक अवचेतको अभिव्यक्ति हो। साहित्य वैयक्तिक चेतना र अनुभवको अभिव्यक्ति। यी दुईबीच केही सामीप्यता र समानता पनि छ; भेद त कति छ कति। मनोचिकित्सक सिग्मण्ड फ्रायड मानव विकास नै मानवीय अवचेतका तीन तह इद, इगो र सुपर इगोबाट सुरु भएको मान्दछन्। यी अवचेतन आख्यानीकरण वा स्वरुपीकरण भएर काव्यकथामा आउँछन्। यही तथ्यमा रहेर प्राचीन ग्रीक दुखान्तको पात्र ओडिपसले पिता मारेर आमासँग विवाह गरेको कुरालाई फ्रायडले ओडिपस कम्प्लेक्सको विकास गरे।
१८९९ मा विकास गरिएको यस सिद्धान्त अनुसार बाल्यावस्थादेखि (अवचेत अवस्थादेखि) नै बच्चा आमाप्रति स्वामित्वभाव र बुबाप्रति प्रतिद्वन्द्वीभाव राख्ने मनोविज्ञानमा रहन्छ। यही कुरा बच्ची चाहिँ बुबाप्रति अवचेतन तहदेखि स्वामित्वभाव र आमाप्रति प्रतिद्वन्द्वीभाव राख्छन्, जसलाई इलेक्ट्रो कम्प्लेक्स भन्ने नाम दिइयो।
सिग्मण्ड फ्रायड तथा कार्ल जुङ यी मनोग्रन्थीलाई लिङ्गको ईष्र्या भन्न रुचाउँछन्। होमरकालीन समयमा यसरी पहिला नै प्रयोग भएका तर प्रामाणिक तहमा व्याख्या गर्न नसकिएका कुरालाई मिथक मार्फत प्रयोग भए। भेनस र अडोनिस, अर्फियस र युरिडाइस, पिग्मालियन र गालाटिया, टिरेसियस, हेलेन र ट्रोय, रोमियो जुलियट, प्रमिथस आदि पात्रको प्रयोग मिथक थिए, अहिले त्यस समयको घटना विम्ब बनेर सत्य बताइरहेका छन्।
आफ्नो कृति ‘मिथकभित्र लुकेका सत्य’ मा कृतिकार महेन्द्र चालिसेले आदिम मानवले आफ्ना वरिपरिको संसारलाई बुझ्न, प्राकृतिक घटनाहरूको व्याख्या गर्न तथा जीवनका रहस्यलाई अर्थ दिन अनेक कथा, आख्यान र प्रतीकहरूको निर्माण गरे। कतिपयले तिनलाई काल्पनिक ठाने, केहीले धार्मिक, केहीले सांस्कृतिक सत्य र केहीले मानव मनको गहिरो संरचना माने। तिनै मिथक हुन् भन्दछन्।
उनले भने जस्तै मिथक यसैगरी, यी चारै प्रकारले निर्माण भए। तर आदिम मानवभन्दा अहिले यो व्यापक पर पुगेको छ। मिथकहरू प्राचीन समयमा मात्र बनेका होइनन्, अहिले यसको अर्थवत्ता तथा परिधि विस्तार भएको छ। भन्ने गरिएको जस्तो मिथक विस्मृतिमा परेको छैन, झन् विस्तारित छ, अर्थमा पनि, रूपमा पनि। मिथक बनाउने स्रष्टाहरूको भविष्यलाई अगाडि राखेर सिर्जना गर्ने अदम्यको खुबी देखिन्छ।
डिष्टोपिया स्रष्टा जर्ज अर्वेलको विग ब्रदर आधुनिक समाजका धेरै शासकको रूप हो, विग ब्रदर अब अहङ्कारी अधिनायकी शासकको विम्ब बन्यो। न्यू ब्रेभ वल्र्डका बर्नार्ड माक्र्स, जोहन द साभेजले जेनेटिक रिइन्जिनियरिङ गरिएका मानिसको भविष्यको दृश्य छ। सायद २५४० सन् नपुग्दै त्यो अवस्थामा विश्व पुग्नेछ। सुजाने कोलिन्सको काट्नीस इभरडिन भविष्यको युवा हो। यस्ता धेरै प्रयोग कल्पकथ्य बन्दै वास्तविक बन्नेछन्।
प्राचीन समयमा मिथकहरू धार्मिक, सांस्कृतिक र काल्पनिक अद्भुतताका लागि प्रयोग भएका थिए। त्यतिबेलाको कुरा गर्दा पाँच प्रकारका मिथक सम्प्रदाय शक्तिशाली मान्न सकिन्छ। सबैभन्दा बढी प्रयोग, प्रचलन र चर्चा पाएका ग्रीक मिथकहरू हुन्। ग्रीक मिथोलोजीमा माउन्ट ओलम्पसका ईश्वर जस्तो कि पोसिडन, मोडुसा र मिनेटर जस्ता राक्षसहरूको अद्भुत पात्रमा मिथक प्रयोग भए।
ग्रीक स्रष्टाहरूले यसलाई काव्यकृतिमा प्रयोग गरेर विस्तृत पारे। दोस्रो मिथक सम्प्रदाय नोर्स हो, जसले युद्ध र साहसिक कुराहरू समेटेको छ। भाइकिङ राक्षस र देवताहरू यहाँ प्रभुत्व देखाउँछन्। अर्को सम्प्रदाय इजिप्सियन हो। उनीहरू मृत्युपछिको जीवन, पिरामिड, पशु शरीरयुक्त देवाताहरू प्रयोग गर्थे। देवताहरूले ब्रह्माण्डीय पिण्डको सन्तुलन गरेको देखाउँथे।
रोमन सम्प्रदाय पनि ग्रीक जत्तिकै विस्तृत छ। रोमनहरू ग्रह, पिण्ड आदिको उल्लेख गरेर रोमन साम्राज्यको विस्तारका कथाहरू बताउछन्। साहसिक युद्ध, साम्राज्यविस्तार मिथकको केन्द्रमा रहन्थ्यो। चिनियाँ मिथकहरूमा बुद्धदर्शन, ताओवाद, कन्फसियसवादसँग जोडिएका कथाहरू पाइन्छन्। पूर्वीय मिथक निकै व्यापक छ र यो आदिकालदेखि सुरु भएको मान्न सकिन्छ। यसले प्राकृतिक घटनाहरूको वैयक्तिकरण, अवतार, ब्रह्माण्ड, प्राणीहरूका आकार, देवता र दानवका अद्भुत कथ्यहरू उल्लेख गर्दछ।
अरबी मिथक अरब क्षेत्रमा फैलिएको छ। जिनी (अरवी पौराणिक कथा, लोककथामा सबैभन्दा प्रसिद्ध अलौकिक प्राणी, जसले धुँवारहित आगोबाट सिर्जना गरिएका शक्तिशाली आत्माहरूको प्रतिनिधित्व), घाउल (रातमा मरुभूमि र चिहानको आकार परिवर्तन गर्ने राक्षस), सिन्दबादको यात्रामा प्रसिद्ध रूपमा चित्रित (ठूलो आकारको विचित्र चरा) हरूमा कथित छ।
प्रेम, साहस, पराक्रम, असल काम, दया, डर जस्ता विषयलाई अभिव्यक्त गरी समाजमा व्यवस्था बसाउन र कल्पनालाई वैधता दिन मिथक प्रयोग हुने गर्दथे। अचेल कुनै कुराको अर्थवत्ता सिद्ध गर्न, थोरै बताएर धेरै बुझाउन, अभिव्यक्तिको ओज बढाउन, सन्दर्भ र पृष्ठभूमि बताउन मिथक (कथ्य, किंवदन्ती, कहावत, श्रुति, प्रतीक, विम्ब आदि) प्रयोगमा छन्। जस्तो कि ट्रोजन हर्स ट्रोजनको युद्धबाट प्रचलित थियो, आजभोलि यसलाई बाहिरबाट सुरक्षित जस्तो देखिने तर लुकेको भयका रूपमा प्रयोग गरिन्छ। विशेषतः राजनीतिमा यसको प्रयोग बढी छ।
मोडुसा नारी पात्र जसले नारी शक्ति र सौन्दर्य, सिर्जना र विनास दुवै हो भन्ने अर्थ दिने सन्दर्भमा प्रयोग हुन्छ। मिनोटोउर ओडेसीमा प्रयोग थियो जसको आधा रूप पुरुष र आधा नारीको थियो। यसले पहिचान र मनोवैज्ञानिक जटिलता बताउन उपयोग गरिन्छ। साइक्लोप्सलाई शक्तिका विरुद्ध बौद्धिकता, चलाखीपनलाई देखाउन प्रयोग गरिन्छ। सेर्वेरसले अदृश्य शक्ति वा मृत्युको भय देखाउँ छ। मृगतृष्णा जस्ता रुपकबाट पनि मिथक प्रयोगमा आएको छ।
आजभोलि विकास र शासनमा प्रयोग हुने शब्द हाइड्रा ऐतिहासिक पात्र हो जसको अर्थ अन्त्यहीन द्वन्द्व र सखाप पार्ने वस्तु हो। जति लगानी गरे पनि त्यो खाइदिन्छ, विकासको प्रतिफलबिहीन (बालुवामा पानी हाले जसरी) बनाइदिन्छ। किमेरा उतिखेर आगो ओकल्ने सिंह थियो, सपनालाई वास्तविकतामा ल्याउने सामर्थ्यका अर्थमा यसको प्रयोग हुन्छ।
स्फिन्क्स प्राचीन समयमा मानिसको शिर र सिंहको शरीर भएको इजिप्टको मिथक (राक्षसी रूप) थियो, यसलाई आज दुःखान्त विम्बमा प्रयोग गरिन्छ। हार्पेस गल्ती, लोभलाई देखाउन प्रयोग गरिन्छ। स्किल्ला अवश्यम्भावी दुख बताउन प्रयोग गरिन्छ। क्यारिवड्सले असम्भव इच्छा, निर्णयको सांकेतिक रूपमा प्रयोग हुन्छ। प्रमिथसले ईश्वरबाट आगो चोरेर मानिसलाई दिने कल्पपात्र थियो, त्यसलाई पी वी शेलीले अनबाउण्ड र मेरी शेलीले फ्रान्केस्टाइनमा प्रयोग गरे। आजभोलि साहसिक भलोकाममा यसलाई लिइन्छ।
भेडिया प्रेमको उत्कर्ष, अमर प्रेमकथा बताउन (दुखान्तमा) प्रयोग हुन्छ। यो प्रेम र नारी कोमलताको विम्ब। बृटिश नारी लेखकमा अति प्रयोग भयो। रोमियो जुलियट त्यस्तै मिथक पात्र हो। निरन्तर मेहनत गरेर पनि सफलता खासै हात नलाग्ने तर नथाक्ने प्रवृत्ति बताउन सिसिफसको प्रयोग गरिन्छ। पाण्डोरा बक्स आशा र रहस्यको अद्भुत भाँडो हो। अचेल यसलाई कर्मचारीतन्त्रीय विधिमा प्रयोग गरिन्छ।
आजभोलि पनि पुराना मिथकको पुनःसंस्करण गरेर वा नयाँ भाष्य स्थापना गरेर मिथक बनिरहेका छन्। गतिशील, समयसापेक्ष र सन्दर्भप्रेरित हुनु मिथकीय चरित्र हो। प्राचीन, ऐतिहासिक समयमा साहित्यमा प्रयोग हुने, विकास र विस्तार हुने मिथकहरू आजभोलि सबै विषयविधामा फैलिएका छन्।
अत्याधुनिक मिथकको प्रयोग र सन्दर्भ अतिनै चाखलाग्दा छन्। जस्तो कि पुस्तान्तरमा गतावधिक भएका, नवीन सोच, संस्कार नभएका नेताहरू नयाँ देखिने गरी प्रस्तुत हुने प्रवृत्तिलाई फड्डडड्डी भन्न थालिएको छ। राजनैतिक वृत्तमा नै अरुलाई कम आँक्ने र आफै ठूलो देखिने अहङ्कारी नेतामा देखिने मनोरोगलाई स्टकहोम सिन्ड्रोम भनिन थालेको छ।
हठात प्रस्तुत भएर राम्रो वा नराम्रो गर्न देखिने पात्रलाई लुसिफर भन्न थालिएको छ। प्रशासकीय पदाधिकारीले मन्त्री/प्रधानमन्त्रीले जे भने पनि हस् भन्ने प्रवृत्ति बताउन यस मिनिस्टर, हुन्छ बहादुर नामकरण गरिएको छ। राजनीतिमा निरन्तर हुने शक्ति प्रतिस्पर्धालाई गेम अफ थ्रोन्स भनिँदै छ। पैसाले प्रभाव पार्ने चुनावलाई मनी इन पोलिटिक्स भनिएको छ। डरपोकलाई बताउन सिन्ड्रेला सिन्ड्रोम भन्न थालिएको छ। छलछाम गरेर राज्यका लाभ हत्याउनेलाई तरमारा भन्ने शब्द विकास भएको छ। परजीवीलाई कक्रोच (साङ्ग्ला) उपमा दिन थालिएको छ।
भारतमा प्रधान न्यायाधीश सूर्यकान्तले मुद्दा फैसलाका क्रममा बेरोजगार युवा परजीवी कक्रोच वाक्यांश प्रयोग गरेपछि जेनजी युवाहरूले भारतमा ठूलो तहल्का मच्चाएका थियो। शेक्सपियरको नाटक ओथेलेको पात्रलाई लिएर आफ्नी श्रीमतीलाई अविश्वास गर्ने प्रवृत्तिलाई ओथेलो सिन्ड्रोम भन्न थालिएको छ। अत्यधिक साहस देखाउने व्यक्तिलाई सुपरहिरो भनिन थालिएको छ।
महिला विकासका आन्तरिक अवरोधकलाई बताउन ममी ट्र्याप, ग्लास जस्ता शब्द प्रयोग गर्न थालिएको छ। राजनीतिक उपयोगको चुनाव क्षेत्र निर्धारणलाई जेरिम्यान्डरिङ भनिन थालियो। के केन गर्छु भन्ने तर कार्यअपरिपक्वतामा रहने पदाधिकारीलाई बताउन पीटर पान सिन्ड्रोम प्रयोग गरिएको छ।
प्रेमको मानकका रूपमा प्रयोग भएका रोमियो जुलियटलाई वैवाहिक कानून निर्माणमा नेपालको संसदीय समितिले बहसमा ल्यायो। शारीरिक सुन्दरताप्रति अत्यधिक चासो राख्ने पुरुषप्रवृत्तिलाई डोरिएन ग्रे असर भनेर उल्लेख गर्न थालिएको छ। कुनै व्यक्तिले जङ्गली जनावरप्रति अत्यधिक संवेदनशील बन्ने चाख राख्छ भने त्यो बाम्बी कम्प्लेक्स हो।
मृगतृष्णा जस्ता उपमा प्रयोग गरेर पनि अभिव्यक्ति भाव विस्तार गरिएको छ। यी बाहेक पनि समाजमा पप कल्चर, प्राविधिक युटोपिया, क्रोनीवाद, सालावाद, सुगर ड्याडी, हनी ट्र्याप, सुकुलगुण्डा आदि शब्दहरूलाई बोली व्यवहारमा उल्लेख गरी भन्न खोजिएको कुराको बिम्बन गर्ने काम भइरहेको छ। यसले भनाइलाई आकर्षक, ओजपूर्ण र छरिता पार्न सघाएको छ।
अभियान, आन्दोलन, उत्सव, चलचित्र, चाडवाड, नाटक, आदिले मिथक निर्माण गरिरहेका छन्। आमसञ्चार, नागरिक समाज, सार्वजनिक बौद्धिक, स्रष्टा, विचारकहरू मिथक निर्माण गर्ने प्रक्रियामा रहन्छन्। विभिन्न विषयविधाका शब्द–वाक्यांश, घटनाहरू अर्को विधामा प्रयोग हुँदा त्यहीँको सन्दर्भ र समयलाई बोकेर जान्छन्। यतिबेला ती मिथक (कथ्य) बन्दछन्।
विज्ञान, सूचना प्रविधि, समाजशास्त्र, अर्थशास्त्र, गणित, राजनीति, दर्शन, धर्मशास्त्र, नीतिशास्त्र आदि विभिन्न विषय क्षेत्रबाट मिथकहरू प्रतीकका रूपमा आउने गर्छन्। अत्याधुनिक समय, जहाँ हरेक बोली संक्षिप्त, सूत्रबद्ध रूपमा प्रयोग हुन्छ, मिथकको प्रयोगलाई बढावा दिइरहेको छ।
त्यसैले पौराणिक आदिकथा, किंवदन्ती र पात्रहरू मात्र मिथक होइनन्। आजका प्रयोग मात्र होइन, आजका व्यक्ति/स्रष्टा पनि मिथक बन्ने हैसियतमा रहन्छन्। विज्ञान साहित्यमा प्रयोग भएका पात्र र घटना अल्फा र विटा पुस्ताका लागि सर्वाधिक प्रिय र रुचिका मिथक बन्ने छन्।
मिथकले साहित्यमा के गर्छ भन्ने प्रश्न अहम् छ। साहित्यमा मात्र होइन, दैनिक व्यवहार र विचार अभिव्यक्तिमा मिथकले अभिव्यक्ति विस्तार गर्छन्, प्रतीकात्मकता र विम्ब निर्माण गरेर अर्थवत्ता विस्तार गर्छन्। काल्पनिक सत्य र रहस्यको विस्तार गर्छन्। समय सेतु बन्दै संस्कृति र इतिहासलाई निरन्तरता दिन्छन्। बोली र व्यवहारमा भावनात्मक गहिराइ र व्यापकता दिन्छन्।
नवीन सोच र पुनर्व्याख्या त मिथकले गर्ने नै भए, कौतूहल सिर्जनामार्फत ज्ञान निर्माणको बाटो फराकिलो पार्दछन्। यसैले मिथक भ्रम र तिलस्मी भनेर कम आँकिनु आफै र पुर्खा–पुस्ताका लागि महत्त्व नदिनु हो।