सानैदेखि दिव्या शब्दहरूलाई बेसरी मन पराउँथी। मन पनि किन नपरोस्! आमाको गर्भमै माया गर्नलाई, एकअर्कासँग कुराकानी गर्नलाई एउटी जुम्ल्याहा बहिनी नै पाएकी थिई।
आफ्नो शरीर ठ्याक्कै पाउनु अघि नै यस्ता सिकेका शब्दहरू प्रयोग गर्न यत्रो रहर थियो कि बोल्न आउनुअघि उसले थरीथरीका धुन गुनगुनाउन थाली। यो सुन्दाखेरि आमा खुसी भएर भन्नुहुन्थ्यो, ‘यो छोरी त पक्कै गायिका हुन्छे!’
केरलको एउटा सानो टाउनमा वरिपरिका छिमेकीहरूलाई भेट्ने, गनगन-गनगन बोलिरहने उसको बानी थियो। नचिनेका मान्छेहरूसँग पनि बोल्न दिव्यालाई डर पटक्कै लाग्दैनथ्यो। एक दिन गेटबाहिर उभिइरहेका माग्नेहरूसँग हाँसि-बोलिरहेकी देखेर झस्केर आमाले ठूलो आवाजमा बोलाउनुभयो, ‘दिव्या!’
आफ्नो परिवारमाथि आमा-बुबाले ओढाइरहेको अपनत्वको छातामुनि निस्सङ्कोच दिव्या उही काम गरिरहन्थी—धित मरुन्जेल मनका कुरा पोख्न...।
आफ्नो मातृभाषा मलयालम निरन्तर बोलिरहने दिव्याको ध्यान कहिले विदेशी भाषा अङ्ग्रेजीतिर गयो भन्ने उनले थाहै पाइनन्। साथीहरूले अङ्ग्रेजी बोलेको सुन्दा हीनताबोधले ग्रसित दिव्याले एक दिन आमालाई गुनासो गरी, ‘आमा, किन मलाई पनि अङ्ग्रेजी मिडियम स्कुल पठाउनु भएन?’
दिव्याको फुलेको मुख देखेर त होला नहोला, तर बुबाले नयाँ कलर टिभी किन्नुभयो। घरको नयाँ ‘सदस्य’को स्वागत पूरै गल्लीले जोशले गर्यो। गल्लीको एक मात्र कलर टिभी भएकाले उचित मान-सम्मान दिन धेरै छिमेकीहरू आउँथे अनि सँगसँगै कार्यक्रमहरू हेर्थे। पहिलोपल्ट टिभी अन गर्दा पाँच वर्षीय दिव्या छक्क परी। एउटा अङ्कलले हातमा बिरुवा लिएर केही भटभटाउँदै हुनुहुन्थ्यो... टिभीमा केवल यो भाषा आउँछ रे...!
बैठक कोठामा राखेको त्यो ठूलो पेटी दिव्याको कलिलो कौतूहललाई टाढा-टाढाका ठाउँहरू आँखाअगाडि पुर्याउने कुनै दूरबिनभन्दा कम थिएन। ती ठाउँहरूसँगसँगै आए नौला-नौला भाषाहरू।
भारतजस्तो विशाल देशको स्वर्णिम बगैँचामा निर्बाध घुमिरहने ती भाषारूपी भमराहरूका आफ्नै-आफ्नै गुनगुन थियो। तीबीच एउटा गुनगुन दिव्यालाई एकदम बेग्लै लाग्यो। जुरुक्क उठेर त्यसको पछि लागी। सानोमा मात्र सहज हुने फुर्तीले त्यो भमरोलाई स्याट्ट समाती आफैँसँग मायाले हुर्काई। मन्त्रझैँ त्यसको कानमा फुसफुसाई- ‘हिन्दी! हिन्दी! हिन्दी!’
भमराका गुनगुनको यत्रो एकाग्र अनुधावनमा पहिलो स्पीडब्रेकर दिव्याको उमेरको मध्याह्नतिर पुगेपछि आयो। ऊ लडेर आहत पनि भई। यो कसरी भयो भन्ने बुझ्न हामीले दिव्याको जीवनलाई अलिकति फास्ट-फरवार्ड गर्नुपर्छ...।
त्यो मङ्गलवार काग र चीलले काँ-काँ, चिर-चिर गर्दै एकअर्कासँग कुरा मिलाएझैँ गरेर दिव्यालाई बिउँझाए। बिहान-बिहानै नास्ताका लागि बोलाउने कागको आवाज त कुनै नयाँ कुरा थिएन, कोठाको झ्यालनेर कहिलेकाहीँ बस्ने अनि दिव्यालाई हेर्दै उडिजाने चीलको पुकार? सायद दुवैका पेटमा मुसा दौडिरहेका होलान्। सुटुक्क झ्यालतिर गई, सिसा नसारिकन तल हेरी।
प्यारापेटमा बसेको चील केही ठुङिरहेको थियो। त्यसको वरिपरि तितरबितर परेका प्वाँखहरू। एउटा चरालाई जिउँदो राख्नलाई अर्को चराको आहार भएछ। डराउँदै-हिच्किचाउँदै उही प्यारापेटमाथि, सायद आफ्नो साथीलाई बचाउने प्रयासमा, सायद भोजमै सहभागी हुने लोभमा बस्दै, टाढा उड्ने कागहरूलाई पटक्कै भाउ नदिई खुरुक्क बसेर चील आफ्नो शिकारको आनन्द लिँदै थियो!
प्रकृतिको त्यो रौद्र रूप देखी छक्क परेर केही बेर एकोहोरिएर हेरेपछि ‘त्यो आत्मालाई सद्गति प्राप्त होस्’ भन्ने प्रार्थनाले आफ्नो दिनचर्या सुरु गरी।
‘आत्तिएर केही हुँदैन,’ बिहानको नास्ता बनाउँदा उसले आफैँलाई सम्झाई। ठ्याक्कै तीन डोसाहरू। यही थियो दिव्याको नास्ता। अनि तीनवटा डोसाहरू चाहिँ कागका लागि। दिनहुँ उस्तै परिकार रोजेकाले उसले आज कुन चाहिँ आइटम बनाउने भन्ने सोच्नुपर्दैनथ्यो।
कागका लागि बनाएका डोसाका टुक्राहरू एउटा कचौरामा लगेर दिव्याले आफ्नो कोठाको ठूलो झ्याल खोली अनि ती टुक्राहरू तलको प्यारापेटमाथि हाल्दै बिस्तारै गाउन थाली, ‘आहै खोलै तरेर, पहाडै चढेर, आउनु है सगुन बोकेर...’ यो गीत सुनेर खाजाको खोजीमा नजिकका रूखहरूबाट उडेर आउने कागहरूलाई हेर्न दिव्यालाई खुसी लाग्थ्यो।
तर आज तिनीहरूलाई देख्दा अकस्मात् उनको मुटु चस्कियो। अनन्त आकाशमा अनर्गल सरिरहने चराहरूलाई आफ्नो पिँजरानिर बोलाउँदैछु कि? खाजाका टुक्राहरू खुवाउँदा तिनीहरूको आजादी एक क्षणको लागि उधारो लिन खोज्दै छु कि? सायद मानिसहरूले चराहरूलाई पिँजडामा हुर्काउनुका पछाडि लुकेको प्रेरणा मनोरञ्जन नभई अरू केही नै हो...?
कैयौँ पटक राति आफ्नै घरबाहिर दौडिएर जाने कुकुरलाई देखेर म डराएकी छु! वास्तवमा यत्रो डर किन लागेको होला... सायद मभित्र धेरै वर्षदेखि बसोबास गरिरहेको स्थिरताको चाहनालाई ती कुकुरहरूको आफ्नै स्वतन्त्र जीवनको प्रत्येक क्षण कुनै नयाँ चुनौतीको सामना गर्ने उद्दण्डताले सन्त्रस्त गरेको होला। पखेटाहरूको छिटो फ्याट्फ्याट् आवाजले अचानक दिव्याको ध्यान आफूतिर तान्यो- ‘यदि म पनि उनीहरूजस्तै एउटा काग भएकी भए? सायद म पनि एउटा सानो खाजाको टुक्राको लागि?’
झर्को मान्दै-मान्दै दिव्या अफिस जान तयार हुन थाली। लगभग आधा घण्टा लाग्छ अफिस पुग्नको लागि। हतारिँदै उबर बुक गरी।
एउटा ठूलो इन्टरनेसनल पब्लिसिङ हाउस अगाडि गाडी रोक्यो। दिव्या त्यहाँको अङ्ग्रेजी भाषाको सम्पादन टिममा काम गर्थी अनि मलयालम, अङ्ग्रेजी, हिन्दी, संस्कृत, जर्मन... एक मुठी भमराहरू समातेर आफ्नो रेज्युमेमा सजाइराखेकी पनि थिई।
‘सन्चै छौ प्रतीक?’
‘म सन्चै छु, अनि हजुर नि?’
तीन जनाको सम्पादक टिमको सबैभन्दा नयाँ, जवान सदस्य थियो प्रतीक। प्रतीक र दिव्या बाहेक टिमकी तेस्री मेम्बर भावना पनि उही अफिसमा बस्ने गर्थी।
‘हलो भावना!’
दिव्याको ‘हलो’लाई उसले बेवास्ता गरी। के भयो भन्ने मौन प्रश्न दिव्याले प्रतीकतिर फ्याँकी। ‘खै?’ भन्ने इशारा गरी उसले इ-मेलहरू पढ्न जारी राख्यो।
हप्तामा एक पटक हुने पूरै पब्लिसिङ हाउसको टिम मिटिङ थियो। आज मार्केटिङ हेड कृष्णन नायरले पन्ध्र मिनेट जति भाषण दिए। भाषण इन्टरनेसनल पब्लिसिङ हाउसमा सञ्चारका लागि अङ्ग्रेजी भाषा कसरी बाँकी भाषाभन्दा उपयुक्त भाषा हो भन्ने विषयमा थियो।
मार्केटिङ, मुनाफा बढाउनेबारे बोल्न चासो राख्ने उनले आज किन यो विषय रोजेका होलान् भन्ने दिव्यालाई अलिकति अचम्म पनि लाग्यो। मिटिङ सकिनेबित्तिकै सविताले दिव्यालाई बोलाई, ‘स्स्स्स्... वाशरूममा आऊ।’ सविता अकाउन्ट्समा काम गर्थी अनि दिव्याकी साथी पनि थिई।
‘हिजो घर जाँदा मैले भावनालाई मार्केटिङ हेडसँग देखेँ। दुवै फुसफुसाइरहेकाले केही सुन्न सकिनँ। तर 'दिव्या, नेपाली' सुनेँ। तिमी र प्रतीकको कुरा उनले काटेको जस्तो मलाई लाग्छ। पूरै मिटिङमै भावनालाई नियालिरहेँ। कस्तो मुस्कुराइरहेकी थिई ऊ। ध्यान देऊ है?’ दिव्याका काँध थपथपाएर सविता गई।
चट्याङ खसेजस्तो भयो। दिव्या एकछिन त्यहीँ उभिइरही। ‘मनमा उठिरहेको रिसको लाभा भावनामाथि पोखूँ कि? प्रधान सम्पादकसँग कुरा गरूँ कि? नत्र प्रतीकलाई चेतावनी?’ कुराको टुप्पो र फेद बुझ्नलाई समय पनि चाहिन्थ्यो। सिक लिभको बहाना गरी कुलेलाम ठोकी।
तातो-तातो चियाको घुट्कीले दिव्याको यादमा केही महिनादेखि जमेका घटनाहरूलाई पगाल्न थाल्यो। प्रतीक टिममा जोडिएकै केही दिनपछि व्यस्तताको धूलोमुनि निदाइरहेको दिव्याको भाषा भन्ने भमरा समाउने बानी क्रमिक रूपमा ब्युँझिन लाग्यो। कारण थियो प्रतीकको जन्मस्थान—भक्तपुर, नेपाल।
सुरु-सुरुमा प्रोत्साहन दिएकी भावनाले दिन बित्दै जाँदा विचित्र खालका कमेन्टहरू गर्न थाली, ‘नेपाली किन सिक्ने? प्रतीकसँग हिन्दी बोल न? मलाई पनि हिन्दी सिक्नु छ।’
‘हिन्दी सिक्नु छ भने तिमीले प्रतीकसित हिन्दी बोल्नुपर्छ। मेरो हिन्दी ठिकै छ। अहिले नेपाली सिक्दै छु।’ दिव्याले पनि फर्काई।
वास्तवमा प्रतीकले हिन्दी बोले पनि भावना अङ्ग्रेजीमा जवाफ दिन्थी। यसबारे दिव्याले सोधेपछि ऊ भन्थी, ‘यसलाई अङ्ग्रेजी आउँछ नि! किन हिन्दी बोल्ने?’
‘तिमीहरू मलाई इग्नोर गर्छौ? हामीहरू एउटै टिममा छौँ!’
‘यस्तो होइन भावना... प्रतीकको आमाबुवाबारे सोधेको...’ यो फेरि अर्को एक दिनको काण्ड थियो।
यत्रो मेहनत र मायाले सिकेको भाषामाथि भावनाले लगाउन खोजेको प्रतिबन्ध दिव्यालाई आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेपजस्तो लाग्यो। हुन त यो कुनै भाषाबारे पनि थिएन। दिव्याका साना-ठूला कुरामा रिसाउने, टिप्पणी दिने भावनाको बानी थियो। ‘मतभेद’ भन्ने शब्द उसको शब्दकोशमा भेट्न असम्भव नै थियो।
दिव्याको अनुहारमा झल्किएको खुसीको पूर्णिमाको छाया भावनाको अनुहारमा अँध्यारो फैलाउने दृश्य कति पटक उनले हेरेकी हुँदी हो! ‘विद्रोह! विद्रोह! विद्रोह!’ उसको रौँ-रौँ चिच्याइरहेको थियो। तर यो त्यति सजिलो थिएन।
भावना मार्केटिङ हेडकी श्रीमतीकी नजिककी नातेदार थिई। त्यसमाथि आफ्नै मान-सम्मान अनि प्रतीकको नाम आफ्नो नेपाली बोल्ने इच्छाका लागि अफिस पोलिटिक्सको फोहोरमा खाँदिने खतरा शब्द कति अर्थहीन रहेछन् भन्ने उसले जीवनमा पहिलो पल्ट जान्न सकी। मौनता कति बलियो रहेछ भन्ने पनि।
भोलिपल्ट खाना खुवाउँदा कागलाई पहिले कहिल्यै नदेखिएको हतारमा देख्न पाइयो। कारण जान्नलाई चारैतिर हेर्दा चीलको उही तीखो आवाज दिव्याले सुनी... चिर-चिर-चिर... चीलले आउनुअघि दोसाको टुक्रा जुराउन आकाशबाट टुप्लुक्क टिप्दा एउटा कागले उसलाई भनेझैँ लाग्यो: ‘काँ... काँ... कान ठाडो पार!’
अफिसमा प्रतीकलाई एक्लै भेट्दै दिव्याले भनी: ‘सुन प्रतीक, अर्काको उपस्थितिमा हामीले अङ्ग्रेजी बोल्नुपर्छ। बुझ्यौ?’
केही नसोधी प्रतीकले मुण्टो हाल्यो। सायद उसले पनि के-के सुनेको होला।
साँझ फुर्सद पाएको पहिलो क्षण कलम-कापी लिएर दिव्याले लेखिहाली:
झरना
भुइँसँग नाता जोड्नका लागि
आकाशबाट झारिएका बादलहरूलाई
चट्टानले स्याट्ट समातेर हावामै तितरबितर पार्यो।
निराशाको घामले निल्न थालेका ती टुक्राहरूलाई समेट्नका लागि जताजतै हेर्दा
धेरै वर्षअघि आमाले भनेको कुरा कानमा गुन्जिइरह्यो:
‘तेरो सिङ्गो जीवन, एउटा खोज हुनेछ।’
---
बिस्तारै-बिस्तारै दिव्या र भावनाका कुराकानी कामकाजका विषयमा मात्र सीमित भयो। आफ्ना शोखहरूबारे कसैले सोधे पनि दिव्याका उत्तर अस्पष्ट थिए। कर्मभूमिमा भित्रैभित्रै राखेका भमराहरूलाई चार भित्ताभित्र एकान्तले सुगन्धित फुलबारीमा स्वच्छन्द मधुपान गर्न गाउने छुट थियो। ती गीतहरू सुनेर दिव्या फेरि जीवन्त हुन्थी...।
‘एकैछिन यता आउनुहोस् रे! तपाईंलाई प्रधान सम्पादक सरले बोलाउनुभएको छ,’ सेक्रेटरी गीताले दिव्यालाई एक दिन अफिस पुग्नेबित्तिकै भनी।
‘के भएको होला?’ क्याबिनतिर जाँदा उसलाई प्रत्येक पाइला फलामझैँ गह्रौँ लाग्यो।
‘स्वागत छ दिव्याजी! सन्चै हुनुहुन्छ? बस्नुहोस् न,’ डाइरेक्टर प्रशान्त मेननले मुसुक्क हाँसेर भन्नुभयो।
‘तपाईं नेपालीमा लेख्नुहुन्छ?’
‘हजुर!’
‘काठमाडौँको हाम्रो पब्लिसिङ हाउसको नेपाली विभागका प्रधान सम्पादक मोहन भण्डारीजीले भर्खर फोन गर्नुभयो। उहाँको डेस्कमा प्रसिद्ध मलयालम उपन्यास 'एकान्ततयिले कुत्तिवरकल'को नेपाली अनुवाद आएछ रे। त्यसको तुलना मूल कृतिसँग गर्नु छ। तपाईंका कथा-कविताहरू उहाँले पढ्नुभएको छ। यो काम गर्न सक्नुहुन्छ? भविष्यमा यो एक किसिमको दीर्घकालीन परियोजना पनि बन्न सक्छ। यसबापत तपाईंले पाउने तलबबारे हामी भोलि चर्चा गरौँला। विचार गर्नुस् है?’
साँझ घर फर्किंदा बाटो छेउका फूलमा बसेका भमराहरू सबै दिव्यालाई हेरेको हेर्यै भए। खै आज उसको अनुहारमा सूर्यमुखी कसरी फुलेछ?