कहिलेकाहीँ जीवनमा सबैभन्दा धेरै माया गरेको मान्छे नै आफ्नो जीवनको हिस्सा बन्न सक्दैन। ऊ सम्झनामा रहन्छ, तर साथमा रहँदैन।
म व्यवस्थापन विषयमा स्नातक तहको पढाइ सकेर स्नातकोत्तर तहमा भर्ना हुने प्रतीक्षामा थिएँ। जीवनका आफ्नै सपना थिए। भविष्यप्रति केही उत्साह, केही अन्योल र मनभरि अनेक कल्पनाहरू थिए।
त्यही समयमा केही साथीहरूले संयुक्त पिकनिक जाने योजना बनाए। मीनभवन क्याम्पस, शंकरदेव, पद्मकन्या र डिल्लीबजार कन्या क्याम्पसका केही साथीहरू मिलेर जाने कार्यक्रम तय भएको रहेछ। शनिबारको दिन थियो। साथीहरूको निम्तो अस्वीकार गर्नुपर्ने कुनै कारण थिएन।
त्यही पिकनिकमा साथीहरूमार्फत उनीसँग पहिलो भेट भयो।
पहिलो भेट सामान्य थियो। न कुनै विशेष परिचय, न कुनै असाधारण आकर्षण। तर जीवनका सबै महत्त्वपूर्ण घटनाहरू ठूलै आवाज गरेर प्रवेश गर्दैनन् रहेछन्। कतिपय मानिसहरू चुपचाप हाम्रो जीवनमा आउँछन् र थाहै नपाई मनको कुनै कुनामा आफ्नो ठाउँ बनाउँछन्।
उनी पनि त्यस्तै गरी मेरो जीवनमा प्रवेश गरिन्।
बिस्तारै भेटघाट बढ्दै गयो। कुराकानी लामो हुन थाल्यो। मित्रता गहिरिँदै गयो। एक दिन उनले नै मलाई प्रेम प्रस्ताव राखिन्। मैले तत्काल कुनै उत्तर दिइनँ। केही समय सोचें र अन्ततः उनको प्रस्ताव स्वीकार गरें।
त्यसपछि हाम्रो प्रेमयात्रा सुरु भयो।
तीन वर्षको त्यो सम्बन्धमा हामीले धेरै सपना देख्यौँ। सँगै घुम्यौँ, मठमन्दिर पुग्यौँ, भविष्यका योजना बनायौँ। कहिले काठमाडौंका गल्लीहरूमा, कहिले मन्दिरका आँगनमा त कहिले कुनै शान्त ठाउँमा बसेर हामी आफ्नो भविष्यको कल्पना गर्थ्यौँ।
एकपटक चाँगुनारायण मन्दिर दर्शन गर्न गएका थियौँ। त्यहीँ मैले उनलाई एउटा प्रश्न सोधेको थिएँ— ‘के तिमी मसँग जीवन बिताउन सक्छौ?’
मेरो प्रश्न सुन्नासाथ उनी भावुक भइन्। केही बोलिनन्। बरु मलाई अँगालो हालेर रुन थालिन्।
मैले त्यो आँसुलाई प्रेमको गहिराइ सम्झिएँ। उनको मौनतालाई जीवनभर साथ दिने प्रतिबद्धता ठानेँ।
सायद प्रेममा परेको मानिसले आफूले देख्न चाहेको संसार नै देख्दोरहेछ।
हामी प्रायः मठमन्दिर जान्थ्यौँ। एकपटक उनी र उनकी बहिनीसँग दक्षिणकाली मन्दिर गएको थिएँ। उनकी बहिनीले त जिस्किँदै मलाई 'भिनाजु' समेत भन्न भ्याएकी थिइन्।
साँखुस्थित शालीनदी जाँदा उनले एउटा कुरा भनेकी थिइन्— ‘तिमीले मलाई छोड्यौ भने म त मर्छु।’
त्यतिबेला उनको कुरा सुनेर म भावुक भएको थिएँ। मलाई लाग्थ्यो, उनले मलाई असाध्यै माया गर्छिन्। हाम्रो सम्बन्धमा कुनै शङ्का थिएन। हामी दुवै एकअर्काको भविष्य हौँ भन्ने विश्वास थियो।
मैले मनमनै उनलाई आफ्नो जीवनसाथीका रूपमा स्वीकार गरिसकेको थिएँ। तर जीवनले हाम्रो प्रेमको परीक्षा अर्कै तरिकाले लिने रहेछ।
तीन वर्षको सम्बन्धपछि मैले विवाहको कुरा उठाएँ। उनी पनि तयार भइन्। अब हाम्रो प्रेमलाई विवाहमा परिणत गर्ने सपना देख्न थालेको थिएँ। तर प्रेम दुई जनाको मात्र निर्णय रहेनछ। कहिलेकाहीँ दुई मुटुबीच बनेको सम्बन्धको भविष्य अरू कसैको निर्णयमा निर्भर हुँदोरहेछ।
एक दिन उनको घरमा हाम्रो सम्बन्धबारे थाहा भएछ। उनकी आमाले छोरीसँग मेरो बारेमा सोधिछन्। उनले पनि हाम्रो सम्बन्धबारे सबै कुरा बताइछन्।
समस्या एउटै थियो—काठमाडौंमा मेरो आफ्नै घर थिएन।
एक दिन उनकी आमाले मलाई फोन गर्नुभयो। उहाँका शब्दहरू आज पनि सम्झनामा ताजा छन्।
‘बाबुको काठमाडौंमा घर रहेनछ। छोरीले त मन पराएकी छ। तर छोरी कसरी दिनु? बाबु कि विदेश जानुस्, कि बिहे गर्नुअघि काठमाडौंमा घर किन्नुस्।’
उहाँको कुरा सुन्दा म स्तब्ध भएँ।
मसँग त्यतिबेला घर थिएन, तर सपना थिए। सम्पत्ति थिएन, तर प्रेम थियो। भविष्यमा के हुन्छ भन्ने निश्चित थिएन, तर उनकी छोरीलाई जीवनभर साथ दिने इच्छा थियो।
मैले उहाँलाई भनेँ— ‘मैले तपाईंकी छोरीलाई माया गरेको हुँ। सुखमा मात्र होइन, दुःखमा पनि साथ दिनेछु। घरले के गर्छ र? आखिर घर नभएको मान्छे नै खराब त हुँदैन नि!’
सायद त्यो जवाफमा मेरो प्रेमभन्दा आत्मसम्मान बढी बोलिरहेको थियो।
मलाई लाग्यो, यदि कसैको छोरीलाई जीवनसाथी बनाउन उसको घर, जग्गा र सम्पत्तिको प्रमाणपत्र चाहिन्छ भने मेरो प्रेमको मूल्य के रह्यो?
तर आज सोच्दा लाग्छ, त्यो समयको मेरो आत्मसम्मानभित्र पनि केही अहंकार मिसिएको थियो कि!
त्यसपछि हाम्रो सम्बन्धमा विस्तारै दूरी बढ्न थाल्यो। पहिले घण्टौँ कुरा गर्दा पनि नसकिने संवाद अब केही मिनेटमै टुङ्गिन थाल्यो। आमाको दबाब एकातिर थियो, मेरो आत्मसम्मान अर्कोतिर।
उनी माया र परिवारको बीचमा थिइन्। म प्रेम र स्वाभिमानको बीचमा। अन्ततः हाम्रो प्रेमले हार्यो।
प्रेम टुट्यो, तर समय रोकिएन। सम्बन्ध टुटेको केही समयपछि उनको फोन आयो। आमाको कुराले मन नदुखाउन भन्दै उनी फोनमै रुन थालिन्। सायद उनी पनि चाहन्थिन्, हाम्रो सम्बन्ध फेरि जोडियोस्। सायद उनी अझै पनि मलाई गुमाउन चाहँदैनथिन्।
तर त्यतिबेलासम्म मेरो मनमा एउटा कठोर निर्णय बनिसकेको थियो।
मैले उनलाई भनेँ— ‘घर भएको केटा खोजेर विवाह गर। म त आफूसँग जे छ, त्यसैमा रमाउँछु।’
त्यसपछि हामीबीचको संवाद लगभग समाप्त भयो।
मैले आफ्नै तरिकाले विवाह गरेँ। उनले पनि आफ्नो जीवनको बाटो रोजिन्। न मैले उनलाई भेट्ने प्रयास गरेँ, न फोन गरेँ, न पुरानो सम्बन्धलाई फेरि ब्युँताउने कोसिस गरेँ।
जीवन अगाडि बढ्यो।
कहिलेकाहीँ मानिसहरूलाई बिर्सनु भनेको उनीहरूप्रतिको घृणा होइन रहेछ। आफ्नो जीवनलाई फेरि सामान्य बनाउन विगतलाई विगतमै छोड्न सक्नु पनि रहेछ।
मैले त्यही गरेँ।
समय बित्दै गयो। बीस वर्ष कसरी बिते, पत्तै भएन।
एक समय उनी विदेश जान चाहन्थिन्। मलाई भने नेपालमै केही गर्ने इच्छा थियो। तर जीवनले हाम्रा चाहनाहरूलाई उल्टो दिशामा पुर्यायो।
उनी नेपालमै रहिन्। म विदेशिएँ।
विदेश आएको पनि सत्र वर्ष भइसकेको थियो। एक दिन सामाजिक सञ्जालमार्फत उनको सन्देश आयो। बीस वर्षपछि फेरि हाम्रो कुराकानी सुरु भयो।
उनले विगत सम्झिइन्। हाम्रो सम्बन्ध टुट्नुमा आफ्नी आमाको निर्णयलाई दोष दिइन्। सायद उनलाई पश्चात्ताप थियो, सायद आत्मग्लानि।
मैले कुनै गुनासो गरिनँ। पुरानो हिसाबकिताब खोलिनँ। केवल सामान्य रूपमा सोधेँ— ‘सन्चै छौ?’
केही बेर सामान्य कुराकानी भयो।
बीस वर्षको दूरी केही मिनेटको संवादले मेटाउन सम्भव थिएन।
केही समयपछि उनको अर्को सन्देश आयो।
‘खुसी छौ?’
यो एउटा सामान्य प्रश्न थियो। तर यसभित्र धेरै अनुत्तरित जिज्ञासाहरू लुकेका थिए।
के उनी मेरो जीवनबारे जान्न चाहन्थिन्? के बीस वर्षअघि छुटेको सम्बन्धको परिणाम बुझ्न चाहन्थिन्? के उनलाई कुनै समय गुमाएको मानिसको जीवन कस्तो भयो भन्ने जिज्ञासा थियो?
मैले पनि सामान्य उत्तर दिन सक्थेँ। तर मेरो मनमा बीस वर्षअघिको एउटा संवाद ताजा भएर आयो।
मैले लेखेँ— ‘घर नहुँदैमा किन दुःखी हुन्थेँ र?’
त्यसपछि आफ्नो जीवनबारे बताएँ।
‘श्रीमतीले साथ दिइन्। परिवारले साथ दियो। जीवन सोचेभन्दा धेरै खुसीसँग बितेको छ।’
त्यो लेखिसकेपछि मनमा एउटा अनौठो अनुभूति भयो। बीस वर्षअघि उनको परिवारले मसँग खोजेको काठमाडौंको घरभन्दा ठूलो घर त जीवनले मलाई दिइसकेको रहेछ।
त्यो घर इँटा र सिमेन्टले मात्र बनेको थिएन। त्यो विश्वासले बनेको थियो, साथले बनेको थियो, माया र समझदारीले बनेको थियो। जहाँ थाकेर फर्किंदा कसैले प्रतीक्षा गर्छ। जहाँ दुःख पर्दा काँध पाइन्छ। जहाँ आफ्नो कमजोरी लुकाउनुपर्दैन। जहाँ आफूलाई प्रमाणित गरिरहनुपर्दैन।
सायद घर भनेको यही रहेछ।
चार वर्षअघि मैले आफ्नो बुवा गुमाएँ। त्यसपछि बुवाको सम्झनामा एउटा संस्मरण लेखेको थिएँ। उनले त्यो लेख पढिछन्।
एक दिन सन्देशमै भनिन्— ‘तिम्रो कथा पढेपछि मैले पनि मेरो बाबालाई बिस्तारै भुल्न सकेँ।’
त्यसपछि थाहा भयो, उनले पनि दुई वर्षअघि आफ्ना बुवा गुमाएकी रहिछन्।
त्यो क्षण मलाई लाग्यो, जीवनले हामीलाई अलग-अलग बाटोमा पुर्याए पनि दुःखको अनुभूति भने उस्तै हुँदोरहेछ।
हामीबीच कुनै समय प्रेम थियो। पछि दूरी भयो। त्यसपछि आ-आफ्ना परिवार बने। आ-आफ्ना जिम्मेवारी थपिए। तर जीवनका केही पीडाहरू यस्ता हुन्छन्, जसले पुराना अपरिचितहरूलाई पनि फेरि मानवीय संवेदनाको नजिक ल्याइदिन्छन्।
मैले उनीसँग उनको वर्तमान जीवनबारे धेरै सोधिनँ। न उनले मेरो विगतको हिसाब मागिन्।
म चाहन्छु, उनले पनि हाम्रो विगतलाई बिस्तारै बिर्सिऊन्। आफ्नो वर्तमानमा रमाऊन्। आफ्नो परिवारसँग खुसीसाथ जीवन बिताऊन्।
मलाई उनीसँग कुनै गुनासो छैन। उनकी आमासँग पनि छैन। सायद उनकी आमाले छोरीको भविष्य सुरक्षित बनाउन खोज्नुभएको थियो। सायद उनी त्यो बेला आफ्नो निर्णयमा अडिग हुन सकिनन्। सायद म पनि प्रेमभन्दा आफ्नो आत्मसम्मानलाई माथि राखेर केही कठोर बनेँ।
समयले कसलाई सही र कसलाई गलत साबित गर्यो भन्ने फैसला गर्नुभन्दा पनि जीवनले हामीलाई आ-आफ्नो बाटोमा अघि बढ्न सिकायो।
आज बीस वर्षपछि फर्केर हेर्दा लाग्छ, त्यो सम्बन्ध मेरो जीवनको एउटा सुन्दर तर अधुरो अध्याय थियो।
मलाई उनीसँग बिताएका दिनप्रति कुनै पछुतो छैन। किनकि त्यो प्रेम नक्कली थिएन। हामीले देखेका सपना झुटा थिएनन्। सँगै बिताएका क्षणहरू पनि अभिनय थिएनन्।
तर सबै साँचो प्रेम विवाहमा परिणत हुँदैनन् रहेछन्। सबैसँग देखेका सपना पूरा हुँदैनन् रहेछन्। र सबै छुटेका मानिसहरूलाई फेरि जीवनमा फर्काउनुपर्छ भन्ने पनि छैन रहेछ।
यदि यो लेख उनीसम्म पुग्यो भने म यति मात्र भन्न चाहन्छु— तिमीले आफ्नो जीवनमा खुसी खोज। विगतलाई सम्झेर वर्तमान नबिगार। बीस वर्षअघि जे भयो, त्यो समयको निर्णय थियो। त्यसलाई बोकेर आजको जीवनलाई भारी नबनाऊ।
मैले तिमीलाई प्रेम गरेको थिएँ। सम्बन्धमा हुँदा पनि तिम्रो अहित कहिल्यै चाहिनँ। सम्बन्ध टुटेपछि पनि तिम्रो अहित सोचिनँ। आज पनि तिम्रो जीवन राम्रो होस् भन्ने कामना गर्छु।
तर अब हामी दुवैको जीवनमा आ-आफ्नै संसार छ। आ-आफ्नै जिम्मेवारी छन्। आ-आफ्नै खुसी छन्।
मलाई अब कसैसँग केही प्रमाणित गर्नु छैन। न बीस वर्षअघिको प्रेम, न आफ्नो निर्णय, न आफ्नो जीवन।
मसँग आज एउटा सुन्दर परिवार छ। साथ दिने जीवनसाथी छिन्। जीवनले दिएका दुःख र सुखका आफ्नै अनुभव छन्।
र अन्त्यमा, एउटा कुरा भन्न चाहन्छु— म यो संसारको यात्री हुँ। यात्राका क्रममा मलाई जीवनले सिकाएको छ, आफ्नो खुसीका लागि सधैँ ठूलो घर, ठूलो सम्पत्ति वा कसैको स्वीकृति आवश्यक पर्दैन। मनमा शान्ति र आत्मामा स्वतन्त्रता भए खुला आकाशमुनि पनि जीवन सुन्दर बनाउन सकिन्छ।
कहिलेकाहीँ मानिसले गुमाएको प्रेमभन्दा पाएको जीवन धेरै सुन्दर हुँदोरहेछ।
बीस वर्षपछि तिमीले सोधेकी थियौ— ‘खुसी छौ?’
हो, म खुसी छु। तिमी पनि खुसी रहनू। किनकि जीवन धेरै लामो छैन। पुराना घाउहरू कोट्याएर बस्नुभन्दा बाँकी जीवन मुस्कानका साथ बिताउनु नै राम्रो हो।
अन्ततः प्रेम भनेको सधैँ सँगै रहनु मात्र होइन रहेछ। कहिलेकाहीँ आफूले प्रेम गरेको मानिसको खुसीका लागि उसको बाटोबाट चुपचाप हट्नु पनि प्रेमकै एउटा रूप रहेछ।