सपनालाई पछ्याइरहँदा विपनाले अत्याउँछ
समयको खेलै यस्तो, बेला-कुबेला छक्याउँछ
सबैभन्दा ठूलो कुरा जित्नु होइन, सिक्नु हो
यति कुरा बुझ्न कसैले, पूरै जिन्दगी सक्काउँछ।
अरूलाई होच्याएर, नरसंहार मच्चाएर
सफलताको शिखर छुन जरुरी छैन
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन।
भन्नेले त भन्छन्—
जिन्दगी नै दौडबाट सुरु हुन्छ
भाग भाग सधैँभरि भागिरहूँ
लाग लाग मरिमेटेर लागिरहूँ
तर आफैँसँग भागेर पुग्ने कहाँ हो?
आफैँलाई गुमाएर पाउने के हो?
आफूलाई अरूजस्तै बनाउन जरुरी छैन
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन।
एकैछिन सुस्ताऊ चौतारीमा
भेट आफैँभित्रको आफूलाई
कोही तिमीलाई जितेर जान्छ भने जान देऊ
कसैले तिम्रो भाग खोसेर खान्छ भने खान देऊ
हेर पछाडि उभिएर सबै सबैलाई
गर अनुभव अन्तिम हुनुको पनि
देख्नेछौ तिमीले कल्पनातीत दृश्यहरू
सिक्नेछौ जीवन फुलाउने मन्त्रहरू
अक्सर सुन्दर चीजहरू ठहरावमै देखिन्छन्
आफूलाई भीडको हिस्सा बनाउन जरुरी छैन
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन।
नसिकाऊ आफ्ना सन्ततिलाई
फेल हुनु भनेको सबै सकिनु हो
हार्नु भनेको आफूमाथिको आकाश खस्नु हो
दोस्रो हुनु भनेको लज्जित हुनु हो।
सधैँ जितमा मात्र उत्सव हुँदैन
हार पनि सुन्दर हुन्छ
सधैँ जित्नेहरू मात्र महान् हुँदैनन्
हारबाट उठ्नेहरूले नै इतिहास रच्छन्
जित्न मात्र होइन, हार्न देऊ
आफ्ना कमजोरी स्वीकार्न देऊ
समस्याको असिनाले चुट्न देऊ
लडेपछि आफ्नै प्रयासमा उठ्न देऊ
हरेक हारमा डाँको छोडी रुन जरुरी छैन
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन।