श्रीमान्,
मुस्किलले दुइटा साना गाडी छिर्ने सहरको भित्री सडक, जहाँ दुवै छेउमा ठडिएका अग्ला अग्ला घरहरूले घामलाई पनि छिर्न सकस भइरहेको थियो। दायाँबायाँ रोकिएका मोटरसाइकलले यसै साँघुरो सडकलाई झन् साँघुरो बनाइरहेका थिए।
नौ बजे कार्यालय सुरु हुने भएपछिको धपेडी त उफ्! म हतारहतार चक्रपथ निस्कने र गाडी समात्ने ध्याउन्नमा लमकलमक पाइला सार्दै थिएँ। भित्री सडकको पनि भित्रको साँघुरो गल्लीमा रहेको मेरो बासस्थानबाट हिँडेर चक्रपथ निस्कन मलाई लगभग २२/२५ मिनेट लाग्दथ्यो।
मोटरसाइकलसँग तर्किँदै हिँड्न नपर्ने भए सायद कम समय लाग्थ्यो कि? मोटरसाइकल/स्कुटीको आत्तुरीको त के कुरा गर्नु र? प्या प्या हर्न बजाउँदै यसरी बत्तिइरहेका थिए मानौँ उनीहरूलाई मात्र गन्तव्यमा पुग्नु थियो, अरू सबै यतै सडकमा भौँतारिन मात्र निस्केका हुन्। न साइड सही हुनुपर्ने, न स्पिड कम गर्नुपर्ने, न लेन अनुशासन मान्नुपर्ने, तर हर्न बजाउँदै उनीहरू नै जस्तोसुकै साँघुरोमा पनि छिर्नुपर्ने।
मलाई एक मिनेट कल्पनामा मोटरसाइकल बिनाको सडक सोच्न मन लाग्यो। कस्तो हुन्थ्यो होला है सडकमा एउटा पनि मोटरसाइकल नहुने, पर्याप्त सार्वजनिक सवारीसाधनहरू भनेको बेलामा भनेको ठाउँमा पुग्ने गरेर पाइने भए। नेपालको यातायात व्यवस्थामा मोटरसाइकलले पुर्याएको योगदानको चर्चा गरिसाध्य छैन।
हरेक व्यक्तिलाई उच्च पहाडी बस्ती होस् वा तराईको समथर भूभाग, उकालो/ओरालो, कच्ची/पक्की बाटो, साँघुरो/चौडा सबैखाले बाटोमा सारथी बनेर गन्तव्यमा पुर्याउने भरपर्दो र उपयुक्त साधन हो मोटरसाइकल। योबिनाको परिवहन व्यवस्था सम्भव नै छैन होला, अहिले नेपालको हिमाल पहाड तराई कतै पनि। तैपनि मैले मेरो सुविधाका लागि एकछिनलाई मोटरसाइकल बिनाको सहज पैदल यात्राको कल्पनामा रमाउँदै थिएँ।
श्रीमान्,
‘छ्याप्लाङ्ग’ आवाज सुनेर मैले यसो टाउको घुमाउँदै थिएँ, सडक बीचको पानी जमेको खाल्डोमा तीव्र गतिमा आएको कारले घचक्क गरेर मलाई निथ्रुक्क हुने गरी छ्यापी त हाल्यो। म त अफिस हिँडेको मान्छे। अफिस ड्रेसमै थिएँ। हतारो उस्तै थियो। फोहोर पानीले छ्यापिएकोमा दुःख मनाउनु भन्दा पनि हिलाम्मे भएर कसरी अफिस जाने भन्ने सुर्ता बढी थियो।
कपडा फेर्न घर फर्कौँ, समय थिएन। उता, सडकको छेउमा हिँडेको मान्छेलाई निथ्रुक्क पारेर छ्याप्ने कार भने निस्फिक्री कुलेलम ठोकिसकेको थियो। यसो कार चालकलाई पुलुक्क हेर्नसम्म भ्याएको थिएँ, न चालकलाई बटुवालाई छ्यापेकोमा पश्चात्ताप थियो, न ग्लानि।
यसो रोकेर माफी माग्लान् भन्ने त आशै भएन। गोजीबाट रुमाल झिकेर अनुहार पुछेँ। छेउको तरकारी पसलको दिदीले अलिकति पानी दिनुभयो। त्यसले हिलो हल्का पखालेर चिसै कपडामा भिजेको बिरालोझैँ लखरलखर अफिस जानुभन्दा मसँग अर्को विकल्प थिएन।
भित्री सडकमा सडकपेटी प्रायः नहुने। पैदलयात्री कहाँबाट हिँड्ने हो कसैलाई चासो छैन। तर हिँड्न त पर्छ नै। सडक जति मोटरसाइकल, कार, जीप, ट्यांकर, बसलाई छाडेर छेउ लागेर हिँड्यो, तैपनि हर्न प्याँ प्याँ र पुँ पुँ, ट्या ट्या र टुँ टुँ गरेर छोड भन्छन् अनि कता जाने त बटुवा?
सडकमा पहिलो अधिकार बटुवाको हुन्छ भन्ने सुन्थेँ, तर सडकमा हेपिएको, पेलिएको निम्छरो प्राणीको नाम रहेछ बटुवा। कुकुर त बरु निस्फिक्री हिँड्छ सडकमा, बटुवाले त कुना च्यापेर हिँड्दा पनि मरिन्छ कि भनेर त्राहिमाम हुनुपर्छ। अनि कहीँकहीँ हुने जेब्रा क्रसिङ कसलाई हो र कुन प्रयोजनलाई हो कसैलाई वास्ता नै छैन।
सडक पार गर्न कुनै बटुवा जेब्रा क्रसको छेउमा उभियो भने कसैले छोड्दैन उसलाई बाटो। बरु स्पिड बढाउँछ कटिहाल्न। कोहीले ल पार गर भनेर छोडिदियो भने त देउता नै आएजस्तो लाग्छ। नत्र दिनभरि कुरे पनि पाइँदैन पारि जान अनि बलजफ्ती हातले रोक्ने इशारा दिँदै होमिन पर्छ सडकमा। जेब्रा क्रसिङमै पेलेर गाडी ल्याए भने बटुवा आफैँ तर्कने हो। उल्टै बटुवालाई आँखा तर्दै हिँडे भने सहने हो। आखिर विकल्प नै के छ र बटुवासँग?
कोसँग फ्रस्ट्रेसन पोख्नु? धक्का दिएर घुइँकाउने मोटरसाइकलसँग? वा छ्यापेर भाग्ने कारसँग? वा सिधै हानौँला झैँ गरेर ल्याउने टिपरसँग? सायद बाटोको पीडा खपेर कोठासम्म पुग्दा बटुवाको रिस मरिसक्छ।
श्रीमान्,
बटुवा जति सबै सही, अरू गलत भन्न खोजेको पनि हैन। साँघुरो सडकमा दुवैतिर मान्छे हिँड्दा गाह्रो त हुन्छ नै, त्यसमाथि हात समाएर वा अँगालो मारेर दुईतीन जना गफ गर्दै पूरा सडक ढाकेर हिँडेको देख्दा चालकका कन्सिरीका रौँ पनि ठडिँदा हुन्।
जहाँ पायो त्यहीँबाट, दायाँबायाँ नहेरी र फोनमा कुरा गर्दै बिनामेसो सडक पार गर्ने बटुवाका कारण कैयौँ दुर्घटना भएका कुरालाई नजरअन्दाज गर्न पनि मिल्दैन। तर यी सबै कुरालाई न्यूनीकरण गरेर बटुवालाई सुरक्षित यात्रा सुनिश्चित गर्ने र बटुवामैत्री सडक निर्माण योजना ल्याउने कामको थालनी भइदिए कस्तो मजा हुँदो हो है? कल्पनामा पनि रोमाञ्चित हुन्छु यसै।
सडकमा यसो हेर्छु, रणमैदानजस्तो लाग्छ। पैदलयात्री साइकल–मोटरसाइकलसँग, मोटरसाइकल कारसँग, कारवाला मोटरसाइकल र ठूला गाडीसँग, ठूलागाडी अगाडि भेटिने सबैसँग रिसाएका वा आक्रोशित भेटिन्छन्। सबै सँगै हिँड्नुपर्ने बीच यस्तो कटुता र रिस जागिरहने ट्राफिक व्यवस्थापनले हामी कस्तो समाजको सिर्जना गरिरहेका छौँ श्रीमान्?
एकले अर्कोलाई हेप्ने, पेल्ने, आक्रोशित हुने अनि परे हात हालाहाल गर्ने रवैयाले हामीलाई कहाँ पुर्याउँछ? उता ट्राफिकलाई व्यवस्थापनभन्दा पनि कता गल्ती भेटेर चिट काट्ने भन्ने मात्र चिन्ता छ, उनीहरूको रवैया हेर्दा आतंक सिर्जना गर्न सडकमा छाडिएका प्रजातिजस्ता लाग्छन्।
चालकहरू ट्राफिकको आँखामात्र छल्न पाए नियमसियम जाये भाँडमे भन्दै कुदिरहेका हुन्छन्। उनीहरूलाई हतारबाहेक केही छैन। आक्रोश र क्रोधले भरिएको अनुहार लिएर कहाँ कोसँग झगडा गर्ने भन्ने मुडमा हुन्छन् हमेशा। आधा बाटो काटिसकेका बटुवालाई ठेलेरै अगाडि जान्छु झैँ गरेर गाडी बढाउँदा चालकलाई खै के जितेको जस्तो मजा आउँछ कुन्नि? बटुवाको सातो उड्ने गरेर गाडी कुदाइरहेका हुन्छन्।
कसैले दया गरेर स्पिड स्लो गरिदियो वा रोकिदियो र बाटो काटौँ भन्यो, अर्कोपट्टिबाट सुइँकाएर ल्याउनेले झन्डै मार्दैनन्। सबै मान्छे कुनै न कुनै बेला त बटुवा हुन्छन् नै। अहिले गाडीघोडा चलाउने पनि बटुवाबाटै अपग्रेड भएका नै हुन्। गाडी पार्किङ गरेपछि पैदल त हिँड्नै पर्छ सबैलाई। बस् आफू पैदल हिँड्दा सवारीसाधन चालकबाट के अपेक्षा हुन्छ त्यति आफू चालक हुँदा गरिदिए बाटो कति सुरक्षित हुँदो हो।
तर सडकमा सबैलाई आत्तुरी मात्र छ। कहाँ पुग्न होला है हामी सबैजना यसरी तछाडमछाड गर्ने? यो सडकमा देखाउनेजस्तै आत्तुरी हामीले अरू काममा देखाउने भए? आफ्नो जिम्मेवारी पूरा गर्न यस्तै हतारो हुने भए देश कहाँ पुग्दो हो? सबैलाई नियमसँग मतलब छैन, तर आफू अगाडि जानुपर्यो बस्। सबैलाई आफू कमजोर हुँदा मात्र नियमकानुन वा अधिकारको याद आउँदो रहेछ सायद, मलाई बटुवाको अधिकारको याद आएजस्तै।
यसो हेर्छु, नियमपूर्वक गाडीघोडा कुदाउनेका पनि आफ्नै समस्या छन्। लेन अनुशासन मानेर चलाउने मान्छे समयमा कहीँ पुग्दैन होला सायद। बाटो काट्नेलाई छोडिदिने चालकलाई पछाडिको गाडीको चालकले मर्ने गरी गाली गरेको मेरै कानले सुनेको छु। धेरै नहुइँकाएर ठीक्क गतिमा चलाउने चालकलाई नजान्ने भनेर खिसीटिउरी हुन्छ सडकमा।
बाइक हुँदासम्म अरू कुनै सवारीसाधन अगाडि बढ्न नपाउने अघोषित नियम नै छ सडकको। देब्रे तिरबाट सहज पास हुन मिल्ने ठाउँमा दाहिने जाने बाइक वा गाडीले रोकेर बाटो छेकुन् वा हरियो बत्ती बलेपछि बायाँ लेन च्यापेर दायाँ जाने गाडी हुन्, उनीहरूको ज्यादती सहनु असल चालकको दैनन्दिनी हो।
सडकमा उभिएर पन्ध्र मिनेट त्यहाँको अव्यवस्था, बलमिचाइँ, अनुशासनहीनता, लापरबाही र असहिष्णुता देखेपछि बल्ल हाम्रो संस्कार, हाम्रो सभ्यताको स्तर पत्ता लाग्छ अनि यो देश किन यस्तो खत्तम भयो भनेर पिर लाग्नुभन्दा धन्न यस्तो पारामा पनि देश यत्तिको चलेको छ भनेर सन्तोष लाग्न थाल्छ।
हुन त श्रीमान्, बटुवा मान्छे अनेकन कुरा मनमा खेलाएर हिँड्न नहुने हो। खाली दिमाग लिएर पनि हिँड्न नसकिने। हिँड्दै गरेको बाटोमा सानो फुटपाथजस्तो थियो, तर त्यहाँ पनि बिरुवा रोपिएका थिए ठाउँ-ठाउँमा। हामीलाई बजार, बाटो, पैदल मार्ग, हरियाली सबै कुरा त्यही साँघुरो ठाउँमा चाहिने अनि कसरी पुगोस् त सबका सब।
त्यत्तिकैमा एउटा गाडी कुना च्यापेर पछाडिबाट आउँदै रहेछ, बायाँतिरबाट साँघुरो ठाउँमा बाइक घुस्यो। गाडीले ठाउँ छाडेन, सायद उता दायाँ च्याप्ने ठाउँ थिएन कि चाहेन। बाइक फुटपाथतिर चढेर मलाई हान्यो। म गर्ल्याम्म लडेँ। हुत्तिँदा नजिकको पसलको सोकेसमा टाउको ठोकियो।
मोटरसाइकलको अगाडिको पाङ्ग्राले मलाई हान्दा पछाडिको भाग सडकमै थियो, त्यसलाई छेउको गाडीले ठोक्यो। एकछिनमा मान्छेहरू जम्मा भए, ट्राफिक पुलिस पनि आए। मेरो खुट्टा चलाउन गाह्रो भएको थियो, टाउकोबाट रगत पनि आएको थियो। मलाई अस्पताल लाने कुरा हुँदै थियो।
बाइकवालाले मलाई देखाउँदै पटकपटक भनिरहेको थियो, यो दाइले अलिकति बाटो छोडिदिएका भए न मैले उहाँलाई हान्थेँ, न मलाई कारले हान्थ्यो। कारवाला बाइकवालासँग कराइरहेको थियो। मलाई त्यो अलिकति छोडिदिने ठाउँ कहाँ छ देखाइदेऊ न भाइ भन्न मन थियो, तर चोटको पीडाले भुइँमा रन्थनाइरहेको नाथे बटुवाले के सवालजवाफ गर्नु?
मलाई अस्पताल छिटो पुग्न पाए उपचार सुरु हुन्थ्यो बरु भन्ने मात्र लागिरहेको थियो। गल्ती कसको भन्ने बारेमै चर्काचर्की हुनाले ढिला भइरहेको थियो। गाडी र बाइकका चालक हात हालाहालको स्थितिबाट मैले बाटो नछोडेर भन्ने निष्कर्षतर्फ पुग्दै थिए। उनीहरूलाई मेरो चोटभन्दा मोटरसाइकलको पछाडिको भाग र गाडीको हेडलाइटमा पुगेको चोटको मर्मतको हिसाबकिताबको चिन्ता धेरै थियो।
मेरा कुरा यिनै हुन् श्रीमान्, भाँचिएको खुट्टाको हड्डी जोड्न रड राखेर गरेको अपरेसनपछिको लामो आरामपछि म आज बकपत्र तयार पार्दै छु। मैले फिरादपत्र आद्योपान्त पढेँ। ममाथि लगाइएका सबै आरोपहरूमा सत्यता छ श्रीमान्, केवल त्यसलाई न्यायिक कोणबाट हेर्न बाँकी छ जस्तो लाग्छ।
म सडक छेउमा हिँडेकै कारण सवारीसाधनलाई बाटो साँघुरो भएकै हो। गाडीवालालाई बाइकले रोक्यो झैँ लाग्नु, बाइकवालाले म अलि उताबाट हिँडेको भए नठोकिने ठान्नु साँचो हो, तर मूल कुरा म चाहिँ कतातिर हिँड्नु त्यति देखाइदिनु पर्यो श्रीमान्।
बटुवाले गन्तव्यका लागि निस्कँदा म सुरक्षित घर फर्कन सक्छु भनेर निश्चिन्त हुने दिन कहिले आउँछ? हामीलाई दायाँबायाँ, अगाडि पछाडिबाट ठोक्ने सवारीसाधनबाट जोगिने सुरक्षा कवच के हुन सक्छ? म जस्ता हजारौँ बटुवालाई न्याय चाहियो श्रीमान्।
हामीलाई कसैसँग लड्नु भिड्नु छैन, उछिनेर अगाडि बढ्न पनि छैन, बस् गन्तव्यसम्म सकुशल पुग्ने सुनिश्चितता चाहियो श्रीमान्। छोटोमा बटुवालाई न्याय चाहियो श्रीमान्।