सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन आज खारेज गरेको छ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो।
बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हालेका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ।
राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले यही जेठ १७ गते रिट निवेदन दायर गरेका थिए।
नागरिकता र शैक्षिक योग्यतामा विवादित न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न आदेशको मागसहित रिट निवेदन दायर गरिएको थियो । रासस