जलवायु परिवर्तनको मुद्दा आधुनिक विश्वको 'हटकेक' हो। समग्र विश्व र मानव सभ्यता नै यसबाट प्रभावित छ।
२१ औं शताब्दीको अन्त्यसम्म जलवायु परिवर्तनको मुद्दा सबभन्दा ठूलो चुनौतीका रूपमा आउने प्रक्षेपण गरिँदैछ। विश्वको उत्तरी क्षेत्रले विश्व तापमान वृद्धि र जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको छ।
जलवायु परिवर्तनका धेरै असरमध्ये समुद्री सतहको वृद्धि पनि एक हो। समुद्री तट तथा होचो भू–भागमा बसोबास गर्ने समुदायहरूमा यसले गम्भीर प्रभाव पारेको छ।
तापक्रम वृद्धि हुँदा तापीय विस्तारले समुद्रको पानी फैलिन्छ र हिमनदी तथा हिम–आवरण पग्लिँदा अतिरिक्त पानी समुद्रमा मिसिँदा समुद्री सतह अझ माथि उठ्छ।
पुरातात्विक/प्राकृतिक अभिलेख अनुसार ११ हजार ७ सय वर्षदेखि २१ हजार वर्षको बीचमा पृथ्वीको तापक्रम ४ डिग्री सेल्सियसले वृद्धि भएको थियो। त्यो अवधिमा समुद्री सतह २८० फिटले बढेको थियो।
विश्व तापक्रम वृद्धि रोकिएपछि पनि समुद्री सतह अर्को १५० फिट माथि उठेको र हाल मापन गरिएको समुद्री सतह ३ हजार वर्षअघि कायम भएको देखिन्छ। तथ्यांकहरू विश्लेषण गर्दा ३ हजार वर्षदेखि सय वर्ष अघिसम्म समुद्री सतह बढ्ने र घट्ने प्रवृत्तिमा न्यून परिवर्तन मात्रै देखिएको छ।
सन् १९०१ देखि २०१८ सम्म विश्वको औसत समुद्री सतह ०.१५ देखि ०.२५ मिटरसम्म बढेको देखिन्छ। यसमध्ये ५० प्रतिशतको वृद्धि सन् १९९३ पछि भएको अध्ययनले देखाएको छ।
सन् १९०१ देखि १९७१ सम्मको प्रवृत्ति अध्ययन गर्दा समुद्री सतह १.३ मिलिमिटर प्रति वर्ष वृद्धि भएकामा सन् १९७२ देखि २००६ सम्म १.९ मिलिमिटर प्रतिव र्ष वृद्धि भएको तथ्यांक छ। त्यसैगरी, यो वृद्धि सन् २००७ देखि २०१८ सम्म ३.७ मिलिमिटर प्रति वर्ष थियो।
समुद्री सतह बढ्नुमा महासागरको तापीय विस्तार, हिम–मण्डल र हिमनदीहरूको स्खलन मुख्य कारण हुन्। तर समुद्री सतह कति बढ्छ भन्ने अनुमान गर्न विज्ञानका लागि अझै चुनौतीपूर्ण छ।
यसको प्रमुख कारणहरूमध्ये एक भविष्यमा हुने कार्बन उत्सर्जनको परिमाणको अनुमानमा कठिनाइ हो। अन्य कारणहरूमा हिम–मण्डल, हिमनदी, हिम–आवरण, मुख्यतः अन्टार्टिका कसरी पग्लिन्छ भन्ने अनुमान गर्न अझ कठिन छ।
यसका अलावा समुद्री पानीको तापीय विस्तारको गति पनि स्थान अनुसार फरक फरक पाइन्छ। अन्य प्राकृतिक विपत्ति जस्तै भू–भाग भासिने, भूकम्प र नदीको गेग्रान बहावको प्रकृति र परिमाणमा भएको अनिश्चितताले पनि समुद्री सतह वृद्धिको अनुमान जटिल बनाएको छ।
सन् १९८० को दशकदेखि समुद्री सतह वृद्धिका पूर्वानुमानका विषयमा अध्ययन हुँदै आएका छन्। विभिन्न अध्ययनले सन् २१०० सम्मको समुद्री सतह वृद्धिबारे फरक फरक अनुमान दिएका छन्।
एक अध्ययन अनुसार न्यून कार्बन उत्सर्जन परिदृश्यका आधारमा समुद्री सतह ०.२८ देखि ०.६१ मिटरसम्म बढ्ने सम्भावना छ।
अर्को तर्फ, अत्यधिक कार्बन उत्सर्जन परिदृश्यका आधारमा समुद्री सतह ०.५२ देखि ०.९८ मिटरसम्म बढ्ने आकलन छ।
तर तापक्रम वृद्धि र महासागरमा तापीय विस्तारमा अत्यधिक अस्थिरता भएमा यो वृद्धि १ मिटरभन्दा बढी पनि हुन सक्ने अनुमान छ। यी प्रक्षेपणमा वैज्ञानिकहरू एकमत हुन नसक्नुका कारणहरूमध्ये एक अझै पनि हिम–मण्डल र हिम–आवरणको भित्री गतिशीलताको मापन गर्ने उपकरणको अपर्याप्तता र अध्ययनको कमी हो।
अर्कोतर्फ, समुद्रको गहिराइमा तापीय विस्तार कसरी भइरहेको छ भन्ने पर्याप्त अध्ययन हुन सकेको छैन। सम्पूर्ण अन्टार्टिका क्षेत्रको हिम–आवरणको एकै पटक अध्ययन गर्न जटिलता देखिएको छ।
यसका अलावा ५० देखि सय वर्षभित्र हुने दुर्लभ प्रकृतिका संभावित प्राकृतिक विपत्तिका घटनाहरूको अनुमान लगाउन समेत कठिन छ। अहिले भएका धेरै अध्ययन पनि प्रत्यक्ष अवलोकन र वास्तविक तथ्यांकमा भन्दा कम्प्युटर मोडल र 'सिमुलेसन' मा आधारित छन्।
समुद्री सतह वृद्धि हुँदा उच्च जोखिममा पर्ने क्षेत्रहरूमध्ये तटीय सहर र बस्ती प्रमुख छन्।
तथ्यांक अनुसार विश्वभरि करिब ६० करोड जनसंख्या समुद्री तटको न्यून उचाइ भएको क्षेत्रमा बसोबास गर्दै आएका छन्। सो क्षेत्रमा जमिन डुबान हुँदा घरजग्गा नस्ट हुनेछन्। खानेपानी तथा सिँचाइका स्रोतहरूमा समुद्रको पानी मिसिँदा त्यसले पानीमा नुनिलोपना बढाउँछ।
यसबाट मानव स्वास्थ्य लगायत कृषि, जीवजन्तु र वातावरणीय तथा पारिस्थितिक प्रणालीमा नकारात्मक असर पर्ने निश्चित छ। समुद्री सतह वृद्धि हुँदा बाढीको मात्रा र असर पनि बढ्दा त्यसले ठूलो क्षति पुर्याउने आकलन छ।
समुद्री सतह वृद्धिबाट प्रभावित अर्को क्षेत्र समुद्री बन्दरगाह र आर्थिक क्षेत्रहरू हुन्। यसबाट जलपरिवहन मार्ग प्रभावित हुँदा आयात–निर्यातमा अवरोध हुने, जलपूर्वाधार मर्मत लागत अत्यधिक हुने र विश्व व्यापार प्रणाली नै जोखिममा पर्ने सम्भावना छ।
यसैगरी समुद्री सतह बढ्नाले औद्योगिक र ऊर्जा संरचना समेत प्रभावित हुनेछन्। यसबाट पेट्रोलियम भण्डारण, विद्युत केन्द्र लगायत कारखाना डुबानको जोखिम बढ्ने छ। विषाक्त पदार्थहरू, रेडिएसनहरू समुद्री पानीमा मिसिन सक्ने खतरा देखिन्छ।
अन्ततः यसको प्रभाव समाज र समुदायमा देखिनेछ। यसबाट बसाइँसराइँ बढ्ने, आर्थिक क्षति, रोजगारी गुम्ने र सामाजिक क्षति समेत सिर्जना हुन सक्ने देखिन्छ।
समुद्री सतह वृद्धिका कारण समग्र पृथ्वी एकै किसिमले प्रभावित भने हुँदैन। क्षेत्रगत रूपमा यसको प्रभाव फरक फरक हुने आकलन छ। समुद्री सतह वृद्धिबाट हुने विश्वव्यापी प्रभावलाई अध्ययन गर्दा एक मिटर समुद्री सतह वृद्धि हुँदा पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका करिब ३ करोड ७२ लाख जनसंख्या प्रभावित हुने अनुमान छ।
त्यसैगरी मध्य–पूर्व र उत्तर–अफ्रिकाका ८३ लाख, दक्षिण एसियाका ५९ लाख, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका २९ लाख, सब–सहारा क्षेत्रका २१ लाख गरी विश्वका कुल ५ करोड ६४ लाख जनसंख्या प्रभावित हुने प्रक्षेपण छ।
समुद्री सतह वृद्धिबाट दक्षिण एसियामा सर्वाधिक प्रभावित हुने मुलुक बंगलादेश हो। बंगलादेशको तटीय क्षेत्र मूलतः पद्मा–जमुना–मेघना डेल्टा सबभन्दा बढी प्रभावित हुनेछ।
विश्वकै सबभन्दा ठूलो यो तटीय क्षेत्रलाई सुन्दरवन डेल्टा पनि भनिन्छ। हाल बंगलादेशको दुई तिहाइ भू–भाग समुद्री सतहबाट ५ मिटरभन्दा कम उचाइमा अवस्थित छ। यी भूमि क्रमशः डुबानमा पर्दै गएका छन्। खेतीयोग्य जमीनमा नुनिलोपना बढ्दै छ। चक्रवात, समुद्री आँधीजस्ता मौसमजन्य प्राकृतिक विपत्ति आउँदा तटीय क्षेत्रमा डुबानको समस्या बढ्दो छ।
अहिलेकै अवस्था कायम रहे पनि सन् २०५० सम्म बंगलादेशको करिब २१ हजार वर्ग किलोमिटर भू–भागमा १ देखि ३ मिटरसम्मको डुबान हुने प्रक्षेपण छ। बेलाबेला आउने मौसमजन्य विपत्ति जस्तै चक्रवात, समुद्री आँधीबाट अहिले बंगलादेशको करिब १ करोड ५४ लाख जनसंख्या प्रभावित हुने गरेका छन्। त्यसमध्ये करिब ४३ लाख जनसंख्या गरिबीको रेखामुनि छन्।
सन् २०५० मा यस्ता विपत्तिबाट प्रभावित जनसंख्या ९ प्रतिशतले बढ्ने अनुमान छ।

समुद्री सतह वृद्धिबाट मध्य–पूर्व र उत्तर–अफ्रिकामा सबभन्दा बढी प्रभावित हुने मुलुक इजिप्ट हुनेछ। एक मिटर समुद्री सतह वृद्धि हुँदा इजिप्टको ९ प्रतिशतभन्दा बढी जनसंख्या प्रत्यक्ष प्रभावित हुनेछन्। नाइल नदी डेल्टाको ठूलो भू–भाग डुबान हुनेछ।
अर्कोतर्फ सबभन्दा कम प्रभावित हुने देश पूर्व स्पानिस सहारा हुनेछ। एक मिटर समुद्री सतह वृद्धि हुँदा यो देशको ०.२ प्रतिशत जनसंख्या मात्र प्रभावित हुने देखिन्छ।
मध्य–पूर्व र उत्तर–अफ्रिकी क्षेत्रमा प्रभावित हुन सक्ने अन्य देशहरूमा ट्युनिसिया, संयुक्त अरब इमिरेट्स, लिबिया, साउदी अरेबिया, कतार, अल्जेरिया, मोरक्को, ओमान, यमन, कुवेत र इरान छन्।


यो क्षेत्रका समुद्रसँग जोडिएका देशहरू भियतनाम, चीन, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेसिया, दक्षिण कोरिया, ब्रुनाइ, मलेसिया, उत्तर–कोरिया र पपुआन्यूगिनी छन्। एक मिटर समुद्री सतह वृद्धि हुँदा यीमध्ये भियतनाम सबभन्दा बढी र पपुआन्यूगिनी सबभन्दा कम प्रभावित हुने देखिन्छ।
भियतनामको कुल क्षेत्रफलमध्ये १ मिटर समुद्री सतह वृद्धि हुँदा करिब १७ हजार वर्ग किलोमिटर अर्थात ५ प्रतिशत भू–भाग डुबान हुने प्रक्षेपण छ।
२ मिटर समुद्री सतह वृद्धि भएमा २८ हजार वर्ग किलोमिटर अर्थात ८.५ प्रतिशत भू–भाग डुबान हुने र १ करोड ४० लाख जनसंख्या विस्थापित हुने देखिन्छ।
३ मिटर समुद्री सतह बढेमा भियतनामको २९ हजार वर्ग किलोमिटर अर्थात १२ प्रतिशत भू–भाग डुबान हुने र करिब २ करोड जनसंख्या विस्थापित हुने प्रक्षेपण छ।
यो अवस्थामा भियतनामको दक्षिणी भू–भाग हो चि मिन सहरको आसपास अवस्थित अधिकांश औद्योगिक पार्कहरू पानीमुनि हुनेछन्।
यस क्षेत्रको दोस्रो ठूलो प्रभावित मुलुक ताइवान हुनेछ। एक मिटर समुद्री सतह वृद्धि हुँदा ताइवानको ३.५ प्रतिशत भू–भाग डुबान हुनेछ।
त्यसैगरी चीन, इन्डोनेसिया, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, कम्बोडियाको २ प्रतिशत र दक्षिण कोरिया, ब्रुनाइ, मलेसिया, उत्तर कोरियाको १ प्रतिशतभन्दा कम भू–भाग डुबान हुने आकलन छ।

निष्कर्षमा, खतरा कम होस् भन्ने आशा गर्न सकिन्छ तर तयारी सबभन्दा खराब स्थितिको गर्नुपर्ने देखिन्छ। सन् २१०० पछि पनि समुद्री सतह वृद्धि रोकिने सम्भावना देखिँदैन।
किनकि, हिउँ पग्लिने प्रक्रिया शताब्दीऔंसम्म चलिरहने छ। महासागरको तापीय विस्तारको प्रक्रिया धेरै ढिलो गरी रोकिन्छ। एक पटक पग्लिन थालेको हिम भण्डारण तुरून्तै जम्मा हुन गाह्रो हुन्छ। सरल भाषामा भन्दा, चुह्लो बन्द गरेपछि पनि तातो हावा तुरुन्तै चिसिँदैन। समुद्र र हिम–आवरण पनि त्यस्तै हो।
त्यसैले, २२औं शताब्दी पनि समुद्री सतह वृद्धिको अन्त्य होइन, सुरूआत हो। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने समग्र विश्वको परिणाममुखी प्रयासबाट मात्रै यसबाट केही हदसम्म त्राण पाउन सकिन्छ।

(डा. मुकेशराज काफ्लेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @MukeshKafle4