२०७४ सालको जाडो मध्यतिर पुगिसकेको थियो। उनी र म थापाथली क्याम्पस छेउमा उभिएर सुन्धारा जाने माइक्रो बस पर्खिरहेका थियौँ।
हाम्रो साढे तीन वर्षपछि भेट भएको थियो। उनलाई पछिल्लो पटक २०७१ सालको वैशाखमा कक्षा १२ को अन्तिम परीक्षामा देखेको थिएँ। कक्षा १२ मा हुँदा उनी मभन्दा थोरै अग्ली थिइन्। तर पछिल्लो साढे तीन वर्षमा म हलक्कै बढेछु। उनी मेरो कुमसम्म मात्रै आइपुगिन्।
पहिलेदेखि नै स्पष्ट बोल्ने उनी आजसमेत निसंकोच मेरो छेउमा उभिएर बोलिरहेकी थिइन्। उनी सिभिल इन्जिनियरिङमा पढाइ हुने फ्ल्युड मेकानिक्स विषयले दिएको सास्ती मलाई सुनाउँदै थिइन्। म इलेकट्रोनिक्स इन्जिनियरिङको विद्यार्थी। त्यसैले फ्ल्युड मेकानिक्स पढेको त थिइनँ। तर सिभिल पढ्ने साथीहरूबाट त्यसको पूराण धेरै सुनेको थिएँ। यद्यपि आफूलाई केही थाहा नभएको जसरी उनको कुरा सुन्दै म बेलाबेला ‘ए! ए!’ मात्र भनिरहेको थिएँ। उनको सुमधुर बोलीको रफ्तार रोक्न पनि त मन थिएन।
उनी छेउमा उभिँदा म लाजले अकमक्क परिरहेको थिएँ। आफ्नो मुटुको ढुकढुकी बाहिरबाटै महसुस भइरहेको थियो। केही महिनादेखि हामी फेसबुकमार्फत च्याट त गरिरहेको थियौँ। तर च्याटमा जस्तो गफ भेटमा गर्न कहाँ सजिलो हुन्छ र?
म लजाएको थाहा पाएर उनले मलाई सहज बनाउन विषयान्तर गर्दै भनिन्, ‘होइन कत्तिसम्म लजाउने के तिमी त! यत्ति सारो त अचेल बेहुलीसमेत लजाउँदैनन्।’ उनले यति भनी नसक्दै थापाथली बस स्ट्यान्डमा रत्नपार्क जाने माइक्रो बस आइपुग्यो। हामी माइक्रो बसमा झुन्डिएर थापाथलीबाट रत्नपार्कतिर लाग्यौँ।
माइक्रोको भिडसमेत उनी भएपछि त सुनसान लाग्ने। सह-चालक भाइले उनलाई भने, ‘दिदी! तपाईं पछाडि सर्दिनुस् न।’
अरू दिन मकै पड्किएको जस्तो लाग्ने भाइको स्वर त्यो दिन एकदमै सुमधुर लाग्यो। सायद स्वरको तरङ्गहरू उनलाई स्पर्श गरेर आएर होला। अझ उनलाई दिदी भनेकोले होला, सह-चालक भाइ पनि आफन्त जस्तै लाग्यो। मैले ऊतिर हेरेर मुसुक्क हाँसे। भाइले पनि मेरो परिस्थिति बुझे जस्तो गरे।
सह-चालक भाइ भाडा उठाउन थाले। हतारको सुरमा मैले आजै विद्यार्थी आइडी कार्ड बोक्न बिर्सिएछु। पहिले पहिले त लाइब्रेरी कार्ड देखाएर पनि छुट मागेको थिएँ। सह-चालक भाइलाई लाइब्रेरी कार्ड र आइडी कार्ड हेर्न र छुट्टाउन फुर्सद नै कहाँ हुन्छ र! तर त्यो दिन उनी साथमा भएकाले जोखिम उठाउने हिम्मत आएन। त्यसैले लुत्रुक्क परेर भने, ‘ला! कार्ड बोक्न बिर्सिएछु।’
उनले ‘केही छैन, भाडा म दिन्छु है’ भनिन्। थोरै टाउको हल्लाउँदै मैले ‘हुन्छ’ भने। बिचरी! मैले कार्ड बिर्सिएको कारणले उनले पाँच रुपैयाँ बढी तिर्नुपर्यो। मलाई कता कता नराम्रो लाग्यो।
सुन्धारा पुगेपछि सह-चालक भाइ कराए, ‘ल लास्ट स्टप आयो। सबैजना झर्दिनुस् त।’ उनी मेरो अघि लागेर माइक्रो बसको उकुसमुकुस छिचोल्दै बाहिर निस्किइन्। म पनि उनको पछि पछि ओर्लिएँ।
अब कता जाने भनेर मैले केही सोच्न सकेको थिइनँ। पहिलो पटक यसरी घुम्न निस्केको। फेरि खल्तीबाट दुब्लो पर्सले समेत चियाइरहेको थियो। म के बोल्ने भनेर अकमकिँदै गर्दा उनले नै टुँडिखेलतिर देखाउँदै भनिन्, ‘टुँडिखेलमा लोसारको मेला लागेको रहेछ। जाम् हेर्न।’
मलाई उनको प्रस्ताव मन पर्यो। हामीले सुरुमा न्युरोड गेट नजिकको एउटा पसलबाट बदाम र आधा किलो सुन्तला किन्यौँ। अनि आकाशे पुल तरेर पारी गयौँ र टुँडिखेल भित्र पस्यौँ। बदाम र सुन्तला खादै मेलाका विभिन्न स्टलहरू घुम्न थाल्यौँ। उनी सांस्कृतिक वस्तुहरूको सुन्दरतामा रमाउँदै मसँग तिनीहरूको बयान गर्दै थिइन्। मेलाको हल्लासमेत मलाई उनको स्वरको सामु सुनसान लागिरहेको थियो। म पूरा ध्यान दिएर उनको बोली सुनिरहेको थिएँ।
उनको गफ कहिल्यै नसकिए हुन्थ्यो जस्तो लागिरहेको थियो। तर मध्य जाडोको समय, एकैछिनमा साँझ पर्न लाग्यो। त्यसैले हामीले घर फर्किने सल्लाह गर्यौँ। मैले उनलाई सहिद गेटबाट कलंकी जाने गाडी चढाइदिएँ। आफू भने नयाँ बाटो भक्तपुरको गाडी चढेर बानेश्वरतिर लागे।
घर पुग्दा उनको म्यासेज आएको रहेछ, ‘एकदमै रमाइलो भयो। तर अलि कम लजाउने गर है!’ मलाई झनै लाज लाग्यो। तर पनि ‘हस्!’ लेखेर पठाएँ। त्यसपश्चात् हाम्रो फोनमा घण्टौँ गफ हुन थाल्यो। तर उनको ब्याक परीक्षा आउन लागेको थियो। त्यसैले भेट्ने अवसर भने मिलिरहेको थिएन।
उनको परीक्षा सकिँदासम्म हामी धेरै नजिक भइसकेको थियौँ। उनको परीक्षा सकिएको रात हामीले अबेरसम्म फोनमा गफ गर्यौँ। उनी फ्ल्युड मेकानिक्स फेरि बिग्रिएकोले आत्तिएकी थिइन्। म उनलाई रिजल्ट राम्रै आउँछ भनेर ढाडस दिँदै थिएँ। त्यही बिचमा उनले मलाई एक्कासि सोधिन्, ‘तिमी इन्जिनियरिङ सकेपछि के गर्छौँ?’
मैले भनेँ, ‘केही समय कलेजहरू पढाउँदै लोक सेवाको तयारी गर्छु। तिम्रो के छ योजना?’
उनले अचम्म मान्दै प्रतिप्रश्न गरिन्, ‘लौ! अनि टपरहरू त सबै अमेरिका जान्छन् त, तिमी चाहिँ नेपाल बस्ने?’
मैले हाँस्दै भनेँ, ‘देशको साह्रै माया लाग्छ। त्यसैले म देशकै सेवा गरेर बस्छु।’
उनले जवाफ फर्काइन्, ‘म त ब्याचलर सकेर अमेरिका जाने हो। पहिला आफू बन्ने अनि फर्किएर आएर देश बनाउने।’ उनको कुरा सुनेर मैले केही भनिनँ। एकछिन दुवै जना चुपचाप बस्यौँ। अनि गुडनाइट भन्दै फोन राख्यौँ।
फोन राख्नसाथ मनमा चिसो पस्यो। मैले उनीसँग भविष्य देख्न थालेको थिएँ। तर उनको र मेरो भविष्यको बाटो फरक पर्ने कुराले साह्रै पिरोल्यो। सायद उनको मनमा पनि त्यही पर्यो होला।
मैले बिहान उठ्नसाथ फोन गरेँ। उनले मेरो फोन उठाइनन्। मैले कैयौँ म्यासेज पठाएँ तर कुनै जवाफ आएन। दुई हप्तासम्म मेरो म्यासेज फोन केहीको उत्तर आएन। तर मैले उनलाई फेरि एक पटक म्यासेज पठाएँ, ‘मैले तिमीसँग आफ्नो भविष्य देखेको छु।’
यस पटक भने उनको जवाफ आयो, ‘हाम्रो भविष्यको बाटो पुरै फरक छ। त्यसैले, मैले तिमीसँग मेरो भविष्य देखिनँ। तिम्रो कुरा सुन्दा तिम्रोसमेत भविष्य देखिनँ।’
म उनको लागि जवाफ सोच्दै थिएँ। तर जवाफ सोच्न नपाउँदै उनले मलाई फेसबुकमा ब्लक गरिन्। त्यसपछि मैले सम्पर्क गर्नु व्यर्थ सम्झिएँ र प्रयास गरिनँ।
उनीसँग लोसार मेला घुमेको समेत ८ वर्ष बितेछ। ४ घण्टा ३२ मिनेटको भेटमा सायद म २ मिनेट बोलेको थिएँ होला। बाँकी ४ घण्टा ३० मिनेट उनको बोली सुन्ने सौभाग्य पाएको थिएँ। उनीसँगको अन्तिम भेट त्यही बन्यो।
केही दिन अघि फेसबुकमा कसैले सेयर गरेको पोस्टबाट थाहा पाएँ, उनको सडक विभाग अन्तर्गत लोक सेवाको सातौँ तहमा नाम निस्किएछ। अर्थात्, मैले आफ्नो लागि देखेको सपना उनले पूरा गरिछिन्। म भने अमेरिकामा आफ्नो उच्च शिक्षा सम्पन्न गरेर यतै जागिर खाइरहेको छु। अर्थात्, उनले आफ्नो लागि देखेको सपना म पूरा गरिरहेको छु।
समय कति बलवान है? हामीले जे सोचेको थियौँ, ठ्याक्कै उल्टो बनाइदियो। तर मलाई उनको सफलताप्रति खुसी एवम् श्रद्धा छ। मसँग भविष्यको बाटो फरक पर्ने देखेर टाढिएकी उनी देशबाट टाढिएका हाम्रा गाउँसम्म बाटो बनाउने जिम्मेवारीमा छिन्। उनलाई फेरि कहिल्यै भेट्ने रहर छैन। उनको कथासमेत बुझ्ने इच्छा छैन। तर उनी सफल भएको हेर्ने ठुलो चाहना छ। उनी मेरो सपना जो पूरा गर्दैछिन्।