म मोटरसाइकल यात्री। जता हिँड्दा पनि, जाडो होस् या गर्मी, धुलो मैलोबाट बच्नको लागि बाहिर एक सरो पातलो ट्र्याकसुट वा आउटर लगाई मुखमा मास्क लगाएर हिँड्ने। जाम, धुलो, धुवाँ खादै बेलुका घर पुगी मोटरसाइकलमा ओर्लिएर बाहिरको बोक्रा कपडा खोली धुलो टकटक्याएर उक्त कपडा बाहिर नै राखी मुखमा भएको कालो भएको मास्क खोली अनुहार हात खुट्टा साबुन-पानीले मिची-मिची छोएर कालो कत्थु धुवा र धुलो पखाली घर छिरेपछि अन्त हुने मेरो मोटरसाइकल यात्राको दैनिकी।
यहीँ गएको कात्तिक महिनाको एक दिन भने सार्वजनिक यातायात चढेर धादिङसम्म जाने सुरले लागेँ कलंकी तिर।
बिहानको समय पोखरा जाने माइक्रोबसको अगाडिको सिटमा बसेर अरू यात्रु भरिने प्रतीक्षामा बसियो झन्डै एक घण्टा। सार्वजनिक यातायातमा नचढेसम्म अहिल्यै दौडाउँछ कि भन्ने यात्री चढेपछि जाने समयको ठेगानै नहुने। अब जान्छ, अब जान्छ भनिरहने सार्वजनिक यातायातका गुरुजी अनि हामी हतार गर्ने यात्री, अर्को गजबको काइदा।
प्रतीक्षाको घडी समाप्त भयो १ घण्टापछि गाडी चल्यो।
गाडी बल्खु खोलाको पुल पार गर्दा एक्कासि गुरुजी कराए- ‘होइन यी भातेहरूले केही काम नपाएर फेरि यहाँ खनेछ बाटो। यही भदौमा त टालेको हो नि।’
अगाडि हेरेको खोला पारि पुलको छेउमा बाटो खनिएको रहेछ। कमसेकम बाटो खनेपछि बोर्ड राख्नु। खाल्टो खनेको छ, यसै छोडेको छ। नभन्दै विपरीत दिसाबाट आएको एक मोटरसाइकल बाल-बाल बच्यो खाल्टोमा पर्नबाट। अर्को सँगैको चन्द्रागिरि यातायात भने ठुलो आवाज साथ त्यही खाल्टोमा पर्यो। ती ड्राइभरलाई पनि के थाहा हिजो सद्दे रहेको सडक अहिले राति खनेको छ भन्ने। न कुनै रोक्ने साइन छ न कुनै चिन्ह राखेको छ।
गुरुजी एक्लै भटभटाउनु भयो। मैले सुनी मात्र रहेँ।
गाडी सतुंगल बजार कट्यो। टनेल मार्गको पुल छेउ आएपछि मैले नै जिज्ञासा गरेँ, ‘होइन गुरुजी, टनेल खुला भएको छैन र?’
‘गर्छन् भातमाराहरूले! जनतालाई सास्ती दिन पल्केका चोरहरू! मन्त्रीले बोलेर हुन्छ र, कति लुँड्याउनु पर्ने छ यिनीहरूलाई।’
गुरुजी कडा खालको परे जस्तो छ, मैले मनमनै गमेँ। थप केही बोल्न चाहिनँ।
गाडी थानकोट भन्ज्याङबाट अगाडि तलतिर झर्न थाल्यो। फेरि गुरुजी कुरा गर्ने मुडमा आए।
‘हेर्नुस् हामी नेपालीहरूको चाला, यदि टनेल चाहिएको थियो भने यो बाँदर लड्ने भिरमा गरिब नेपालीको थाप्लामा ऋण बोकाएर किन बाटो विस्तार गरेको? यो बाटो विस्तार गरेपछि किन चाहियो टनेल? यी सबै मिलीजुली खाने दाउ मात्र हो क्या।’
सँगै बसेका पोखरा जाने भाइले भने, ‘होइन, टनेल त चाहियो नि। टनेलको कारण बाटो सोझिन्छ, छिटो पनि हुन्छ। यस्तो त भन्नु हुँदैन।’
‘हुन्छ छिटो! अगाडि देख्नु भएन बाटोको अवस्था? यताबाट जति छिटो गए पनि त्यही बाटो त हो नि। कलंकीसम्म जाने कतिपय ठाउँमा दुइटा गाडी त पास हुँदैन। यताबाट जतिसुकै छिटो गए पनि त्यहाँ पुगेपछि उही जाम हो क्यारे। ल ठिक छ टनेलै बनाउन पर्ने भए पनि यो बाटोको राम्रो मर्मत गरेर टनेल बनिसकेपछि यो बाटो विस्तार गरेको भए भई हाल्थ्यो नि। सबै राम्रो नै थियो नि यो बाटो, हुँदाखाँदाको बाटो भत्काएर ठाडो डाँडा कटिङ गर्यो अनि हेर्नुस् त पोहोर साल त्यतिका मानिस मरेको। ती मानिसहरू मरेको सबै यी ज्यानमाराहरूले हो। गरिब जनताको छोराछोरी भएर कसैले सोधिखोजी नगरेको देख्नु भएन? लास उठ्न पनि कति दिन लाग्यो। यदि नेताका मानिस परेको भए कति जना जान्थे जेलमा।’
उनले माथिको डाँडा देखाउँदै भने, ‘यो माटो माटो भएको डाँडामा सिधा कटिङ गरेको छ अनि बर्खामा त्यो डाँडो नझरेर के झर्छ त।’
गुरुजीको कुरा मलाई पनि ठिकै लाग्यो।
मैले कुरा अन्त मोडेँ। घर परिवारको बोरेमा सोधेँ। गरिबीले गर्दा धेरै पढ्न नपाएको, सानैमा भागेर काठमाडौँ आई गाडीमा खलासी काम गरेको। पछि ८ वर्ष साउदीमा बसेर कमाएको पैसाले यो गाडी किनेका रहेछन्। पूर्वी पहाडबाट छोराछोरी च्यापेर अहिले सपरिवार काठमाडौँमा बसेका। छोराछोरी पढिरहेका। कमाइ त राम्रो भए पनि बाटोको कारण गाडी बिग्रिएर हैरान। यही आक्रोश ओकलिरहेका रहेछन्।
गाडी सुरुङ मार्गको पश्चिमको सँगैको पुलनेरि पुगेको थियो, फेरि गुरुजी कराए।
‘हेर्नुस् त यिनीहरूको संगतले गर्दा जापनिज पनि बिग्रिएको,’ सँगै पुलको छेउमा रहेको ठुला-ठुला खाल्टो देखाउँदै उनी भन्दै थिए, ‘यिनीहरूको देशमा भएको भए यी खाल्टाहरू यत्तिकै छोड्थे होला त! एक टिपर माटो हाल्दा के बिग्रिन्थ्यो यिनीहरूको? दुई वर्षसम्म टनेलको मुखमा यस्तै बिजोग बनाए। अहिले फेरि यहाँ बिजोग बनाएका छन्।’
हेरेँ अगाडि पुरै खाल्टै खाल्टा छ सडकभरि, एक/दुई टिप गिटीले काम हुन्थ्यो। तर कसलाई हेर्ने फुर्सद।
गाडी नौबिसे पुग्यो। फेरि गुरुजी बाटो देखाउँदै भन्न थाले, ‘हेर्नुस् २ वर्ष अगाडि कति राम्रो थियो यो बाटो। हत्तपत्त बाटो डोजर लगाएर खोतल्यो। त्यतिकै छोड्यो अनि जनताको छोराछोरीलाई सास्ती। यी हेर्नुस् यो पुल विगत ६ महिनादेखि जस्ताको तस्तै छ।’
गाडी धार्के बजारको पुछारमा रहेको पुल कटेपछि खाल्टोमा नराम्ररी बजारियो। गुरुजीको रिसको पारो चढिसकेको भान हुन्थ्यो। यो पुल बनाउन थालेको २ वर्ष भयो।
‘चार गाडा गिटी सिमेन्ट घोलेर हाल्दिँदा के बिग्रन्थ्यो यिनीहरूको! ल सिमेन्ट त पैसा धेरै पर्ने भयो रे तर गिटी त हाल्न सकिन्थ्यो नि।’
‘के गर्ने? यस्तै देशमा जन्मियो,’ सँगैको भाइले भने।
‘होइन, हेर्नुस् यिनीहरूले हामीलाई भेडा बाख्रा सम्झेका हुन् क्या.’
‘अब त सुध्रेला नि।’
‘सुध्रियो यिनीहरू चोरहरू! मन्त्री आएर गर्ने होइन। गर्ने यिनै चोरहरूले हो। मन्त्रीले भनेको हुने भए त हामी अहिले टनेलबाट आउँथ्यौँ होइन र? कुलमानलाई त झुक्काउन सक्ने यिनीहरूले हाम्रा औँठाछाप मन्त्रीले भनेको के टेर्नु!’
गाडी तल्लो मोडमा आएपछि जाममा पर्यो।
‘केको जाम होला?’ मेरो जिज्ञासा थियो।
‘केको हुनु नि, चोरले दुख दिएको। म देखाइदिउँला कसरी हामीलाई बेकुफ बनाउँदै छन् भन्ने।’
गाडी बिस्तारै अगाडि बढ्यो। ५०० मिटर छिचोल्न झन्डै आधा घण्टा लाग्यो। पेट्रोल पम्प भएको ठाउँमा १०० मिटर जति सडक नराम्ररी बिग्रिएको रहेछ। बाटोको अवस्थाको कारण जाम भएको रहेछ। पम्पको छेउको डोजर देखाउँदै गुरुजी भन्न थाले, ‘ल हेर्नुस् हाम्रो गाउँमा भैँसी मर्दा गाड्ने जत्रा खाल्टाहरू छन् बाटैभरि। दुख जिलो गरी जोडेको सम्पत्ति घिसार्दै हिँड्नु पर्ने छ। सम्पत्तिको माया सबैलाई हुन्छ। अनि यहाँ जाम नभएर कहाँ हुन्छ। बरु पिच पछि गरे भइगो, हामी धुलै आउँला। धुलैमा जन्मेको हुर्केको हो। कमसेकम त्यही डोजर छ, यो बाटो यसो सम्माए भने गरिब जनताको छोराछोरीले पीडा त भोग्न पर्दैन नि। ऊ त्यो भित्तो कोपर्छ डोजरले, टिपरले माटो ढुंगा अन्त लगेर फाल्छ, तैपनि यहाँ हाल्दैन। अहिले भित्ता ठाडो गरी ताछेको छ अनि बर्खामा सबै सडकमा आउँछ त्यो डाँडो नै। अनि जहिले पनि बिजोग।’
गाडी गल्छीको मोडबाट बैरेनी तर्फ जाँदै थियो। नजिकै रहेको ढलान बाटो देखाउँदै गुरुजी फेरि कराए, ‘हेर्नुस् ३ वर्ष अगाडि यहाँ सडक सद्दे थियो। सडकमा बनेको सानो डोबिल्को समयमा नै नटाल्दा आज यत्रो ढलान गर्नु पर्यो। समयमा नै मर्मत गरेको भए केही हजारमा हुने काम आज कति करोड गयो होला।’
बैरेनी बजार पुग्नै लाग्दा गाडी जाममा फस्यो।
‘केको जाम होला गुरुजी?’
‘केको हुनु नि, यिनीहरूलाई पुर्नको लागि खाल्टै खाल्टो खनेको छ, बैरेनी बजार सकिएपछि तलको पुलसम्म ती मुर्दा कुरेर बसेका खाल्टोमा कुन गाडी फस्यो होला अनि भएको जाम। फेरि यहाँको लोकल गाडी मेरो नै बाटो झैँ गरेर तेर्सिएर ओभरटेक गर्छ। कोही त ड्राइभर पनि असती नै छन् क्या। हुन त म पनि ड्राइभर नै हुँ। सबैलाई हतारो हुन्छ। एक मूर्खले गर्दा सबैले दुख बेहोर्नु पर्छ। हेर्नुस् मेरो छोरा अहिले इन्जिनियरिङ पढ्ने भन्छ। तर मैले त भनेको छु, यो घुस्याहा पेसामा लाग्ने भए पढ्न पर्दैन भनेर। कम सास्ती बोकेका छन् मानिसहरूले। कति मन रोएको छ। हामी दोष नेतालाई दिन्छौँ तर नेताले गर्ने होइन गर्ने, यिनीहरूले नै हो। आखिर नेता फेरिए पनि यिनीहरू फेरिएका छैनन् क्या रे। उही ठेकेदार उही कर्मचारी।’
लामो सुस्केरा हालेर फेरि बोले, ‘गर्नेले काम नगर्दिएपछि मनमा पीडा पर्ने त भयो नि होइन र?’ उनी मुसुक्क हाँसे, हामीले समर्थनमा टाउको हल्लायौँ।
‘तपाईं त गीत पनि गाउनु हुँदो रहेछ। अनि यति विधि किन रिस उठेको नि?’
उनले बेली बिस्तार लगाए, ‘मेरो ठाउँमा तपाईंहरू भएको भए पनि यस्तै कराउनु हुन्थ्यो। आखिर यो बाटो हिँडेपछि नकराउने त को नै छ र? हाम्रो ठाउँबाट सोच्नुस् न।
हामीले कर सबै तिरेका छौँ। ठुला व्यापारीले विभिन्न बहानामा बैँकको ब्याज मिनाहा पाउँछ, हामीले पाउँदैनौँ। चाइनामा २० लाखमा आउने गाडी हामीले ५० लाखमा किन्नु पर्छ। सरकारलाई आउने त कति हो र त्यही ५, ६ लाख त होला नि, अरू सबै यिनै घुस्याहाहरूले खाने त हो नि। राम्रो मोटरसाइकल इन्डियामा ८० हजारमा पाइन्छ, हामीले किन्नु पर्दा ४ लाख पर्छ। आफै किनेर ल्याउँछु, सरकारलाई राजश्व तिर्छु भन्दा नपाउने। महँगोमा किन्नु पर्ने। बाटो यस्तो छ। यस्तो बाटोले गर्दा एकातिर गाडी बिग्रिन्छ। सामान उस्तै महँगो। हाम्रो ज्यान कति बिरामी हुन्छ होला। फलाम त यस्तो बिग्रन्छ। धनीमानी त हवाईजहाजमा सरर हिँड्छन्। तपाईं हामी गरिब त हो नि यो सास्ती खप्नु पर्ने। समयमा पुर्याएन भने प्यासेन्जरले मार्ला झैँ गर्छन्। बाटो यस्तो छ। अलि बढी हाकुँ भने कहाँ गएर जाकिने हो ठेगान हुँदैन। नकुदूँ भने परिवार भोक भोकै मर्छन्। त्यही त हो नि हाम्रो समाज छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी।’
एक घण्टा भयो, जाम फिटिक्कै चलेको छैन। बल्ल एक पुलिसको गाडी नौबिसेतिर बाट हुइँकिँदै साइरन बजाएर आयो र जाम भएको तिर गयो। थप आधा घण्टा पछाडि बल्लबल्ल जाम खुल्यो। १ किलोमिटर छिचोल्न हामीलाई २ घण्टा समय लाग्यो।
सँगैको भाइले समर्थन जनाए, हो त नि। म आज ५ बजे सम्ममा पोखरा पुग्नु पर्ने जरुरी काम छ। हवाईजहाजमा जाऊँ भने ८ हजार भाडा। माइक्रोमा लागेको के गर्ने बाटोको हालत यस्तो।’
उनले आफ्नो अनुभव सुनाए। २ हप्ता अगाडि उनी इलामसम्म गएका रहेछन्।
‘सबै तिर यस्तै हो बाटो, पूर्व तिरको बाटो पनि यस्तै हो। ५०० मिटर राम्रो छ फेरि ५० मिटर खाल्टै खाल्टो। फेरि उही। यो बाटो हिँडेपछि त मलाई यति रिस उठ्यो नि। विकासै नभएको चाहिँ होइन है नेपालमा। तर के गर्ने, ५०० मिटरको विकासभन्दा ५० मिटरको दुख धेरै। एक डोजर, एक रोलर र एक डम्फर लिएर पूर्व-पश्चिम बाटो १ हप्ता खाल्टा पुर्दै हिँड्यो भने सबै बाटो राम्रो हुन्छ। तर के गर्ने, कसले गर्ने? देशको सबैभन्दा पढेलेखेका मध्ये पर्छन् इन्जिनियरहरू, यो अवस्थाको बारेमा सबै थाहा छ। मानिस पढेर मात्र हुँदैन रहेछ। सिस्टम पुरानो भएपछि के लाग्दो रहेछ र। यिनीहरूलाई कसले परिवर्तन गर्ने? तपाईं हाम्रो कुरा बेल बोल मछडी मुखभरि पानी जस्तै हो। हुनेहरूको लागि हवाईजहाज छँदै छ। नहुनेको लागि बाटोलाई सराप्यो, नेतालाई सराप्यो अनि यही बाटो हिँड्यो। यस्तै हो दैनिकी।’
उनको कुरा समर्थन गर्दै गुरुजीले अर्को रमाइलो अनुभव सुनाए।
‘हेर्नुस् यो बाटो हिँडेपछि अहिले मेरो रक्सी खाने बानी चाहिँ छुटेको छ। पहिला पहिला बेलुका अलि अलि पिइन्थ्यो साथीभाइको जमघट गरेर। आजकाल त एक टिप गरेपछि बेलुका यस्तो लखतरान परिन्छ कि साथीभाइसँगको जमघट नै हुँदैन। दिनभर गाडीले हल्लाएपछि ज्यान यस्तो दुखेको हुन्छ कि पहिला पहिला दिनभर कोदालो खन्दा पनि यति सारो ज्यान दुख्दैन थियो। यो चाहिँ राम्रो भएको छ तर यो पैँतालिस कटेको शरीरको कति वटा हड्डी खिइयो होला, कुन दिन थला पार्ने होला ठेगानै छैन।’
हामी सबै हाँस्यौ।
म धादिङ जानको लागि अर्को बस समात्न मलेखुमा १ बजे ओर्लिएँ। अरू सामान्य बेलामा भएको भए ९ बजे नै आइपुग्थेँ। ४ घण्टा ढिलो भयो। अर्को बसमा चढेँ। ५५ सालमा बनाएको यो बाटो साँघुरो भए पनि बिग्रिएको छैन। बसको खाली सिटमा बसेर ती आक्रोशित गुरुजीको आक्रोशित र गम्भीर कुरा सम्झिएँ। अनि पोखरा जान हिँडेका सँगैको भाइको कुरा पनि।
हो, साँच्चै त हो नि हो कोही त भने जहाजमा हरर कोही त भने मुर्दा कुरिरहेका राजमार्गको खाल्टाहरूमा परिन् तरर हाम्रो नेपालमा।