चराहरू कराइरहेका छन्, वरिपरि बाँसघारी भएकोले काग काका गरी आवाज गुन्जिरहेको छ। ती आवाजहरू कानमा ठोकिएर हृदयमा पुगेछ। म बसेको घर साढे तीन तले हो र म ग्राउन्ड फ्लोरमा। दुई ठुला सुत्ने कोठा, एक भान्सा र एक ठुलो लिभिङ रुम। घरभित्र सजावट केही नभएकाले अझै खाली खाली नै देखिन्छ।
घरबेटी बुहारीको कुरा गर्ने आवाज टाढैबाट सुनिन्छ। मेरी छोरी भने ‘ढोका लगाएर पढ्छु’ भनिरहेकी छ तर वास्तविकता के भने उनी ल्यापटपमा एनिमेसन हेरिरहेकी छिन्। केही बेरअघि मात्र आकाशमा उडेको जहाजको घु… घु… आवाज पनि सुनियो।
झ्यालबाट बाहिर हेर्दा सुनसान गल्ली र गेटभन्दा बाहिरको सडक देखिन्छ। बाइक, स्कुटीमा युवायुवतीहरू दगुर्दै छन्। नजिकैको किराना पसल आज पनि हल्लाखल्ला छ, ग्राहकहरूको घुइँचो यथावत्। म पनि त्यही टोलकै एक ग्राहक।
घरको फ्रिज निकै पुरानो र बिग्रिएको छ, आवाज यति ठुलो कि छिमेकीले पनि सुन्ने गर्दछन्।
छोरीको आज कम्प्युटर साइन्सको अन्तिम परीक्षा छ। खानामा के बनाउने, कसरी तयारी गर्ने त्यही सोचिरहेकी छु र छिटो तयारी नगरी हुँदैन। तर छोरीलाई पढ्न खासै मन लागेको देखिँदैन। आज कस्तो लेखेर आउँछिन् थाहा छैन।
मेरो मन भने एकदम अस्थिर छ जसरी यो संसारमा आफू एक्लिँदै गएको महसुस हुन्छ, त्यसरी नै नामविहीन, अर्थविहीन अस्तित्व जस्तो लागिरहेछ।
‘उडायो सपना सबै हुरीले…’ यो गीत म हिजोआज धेरै गाउन थालेकी छु। मेरा मनको अवस्था यो गीतका रचनाकारले खोतलेर शब्दमा लेखिदिएको जस्तो।
चौध वर्ष भएछ लगन गाँसिएको हाम्रो। यतिका वर्षसम्ममा पनि मेरा प्याराले मलाई हेर्ने दृष्टिकोण, मप्रति गर्ने व्यवहार परिवर्तन भएको नै पाउँदिनँ। माया, प्रेम, सम्मान सद्भावको त झन् के आसा राखौँ?
मलाई जहिले भन्ने गर्नु हुन्छ- तैँले मलाई बुझ्दिनस्, तैँले के तिलाञ्जली दिएकी छस् मेरो र छोरीको लागि? मैले घरभाडा तिर्देकै छु, खाना देकै छु, छोरीको 'स्कुल फी तिरैकै छु।
यस्तो भनिराख्नु हुन्छ।
म त गृहिणी। मैले पैसा कमाउने काम बाहेक घरको सबै काम गर्छु। मलाई लाग्छ, मैले आजसम्म नबुझेको भए देश-विदेशमा गएर उहाँ नै पढ्नु भएको छ, विभिन्न सङ्घ-संस्थामा उहाँ नै काम गर्नु भएको छ, साथीसङ्गी इष्टमित्रसँग उहाँ नै भेटघाट गर्न जानुहुन्छ। डुल्न, हिँड्न, खान, बस्न, रमाउन उहाँले जस्तो सायद अरूले कम नै गर्छन्।
प्यारासँग मेरो कहिले पनि दोहोरो संवाद भएन, एकोहोरो सुन्नुपर्छ। मेरो 'लेभल' उहाँसँग मिल्दैन भनिराख्नु हुन्छ।
मेरो काम छोरीलाई हेर्ने, म हाउसवाइफ।
'सेल्फ सेन्टर' मेरा प्यारालाई कति र कहाँसम्म बुझ्नुपर्छ पर्ने हो मलाई नै थाहा छैन! तैपनि कुनै दिन राम्रोसँग बुझ्ने हुन्छ कि भन्ने आस लागिरहन्छ।
यतिका वर्ष आफूले आफूलाई माया गर्नुपर्छ, आफ्नो व्यक्तित्व विकास गर्नुपर्छ, शैक्षिक स्तरलाई बढाउनुपर्छ भन्ने धारणा मनमनै आएता पनि अगाडि बढाउन सकिनँ, केही त पक्कै कारण थियो। आजसम्म पनि मलाई तैँले गर्दा यस्तो, त्यस्तो, उसो, केही भएन भनेर दोष दिनुहुन्छ।
मेरो हालत यस्तो छ, झन् साधारण महिलाको अवस्था कस्तो होला?
'सेल्फ सेन्टर ' श्रीमानले दिने मानसिक, शारीरिक, भावनात्मक, आर्थिक, सामाजिक पीडा, कस्तो हुन्छ?
मैले बयान गर्न सक्ने अवस्था छैन।
प्यारा (उहाँ) ले दिनदिनै भन्ने उपनाम, ती तिक्त शब्दहरू ममाथि बर्सिन सायद कहिले पनि थाक्दैनन्, न थाक्छ, न थाकिने छ। कहिलेकाहीँ लाग्छ, म मेरा राम्रो पक्षहरू नै बिर्सिसकेको छु। खाली सिसा जस्तै भित्र केही नभएको, मूल्यहीन।
उहाँका आँखामा म घृणित, अपमानित, डुङडुङ गनाउने कचरा जस्तै, स्वाभिमान खोसिएको, नामविहीन एउटा अस्तित्व! यसरी चिनाइदिएको परिचय कति समय बोकिरहन सक्छु थाहा छैन। दिन प्रतिदिन नयाँ-नयाँ ‘निकनेम’ अपमानका रूपमा थपिँदै छन्।
म आफैँ आफूसँग अपरिचित बन्दै छु।
म आफैँ आफूसँगै घृणित, त्रसित, बन्दै छु।
दयाविहीन, हृदय शून्य, आत्माविहीन, अनपढ, गँवार, निकम्मा, गुको छिटा, विश्लेषणात्मक केही कुरा गर्न नजान्ने महिला, मानवता हराएको… पागल्नी, बहुलाइनी, फुस्केट!
कस्तो बेस्वाद ज्यान बाँचिरहेको छु म।
धन्यवाद, प्यारा! मेरा प्याराकै शब्दले मेरो मनस्थितिको यो डायरी।