‘ल जाऊँ है साथी आज पनि, हामी आइपुग्यौँ।’
म मस्त निद्रामा सपना देखिरहेको अवस्थामा यो आवाज आउँछ। यो आवाजले म झसङ्ग हुन्छु र आँखा मिच्दै बिस्तराबाट ओर्लन्छु। एक्कासि बिउँझिएको र जुरुक्क उठेको हुनाले भाउन्न भएर झन्डै लरबराउन पुग्छु।
शौचालय नगई त निस्कन भएन नि भन्ने सोच्छु। हिजो पानी कम भयो कि के हो आज शौचालय पस्नु पर्ला जस्तो नि छैन। तर अहिले गइएन भने पछि दुःख पाइन्छ। बाटोमा भन्ने बित्तिकै कसको शौचालय भेटिने हो र फेरि? म यस्तै सोचेर शौचालय पस्छु। खै आज गाली खुवाउने जस्तो छ। ढिला भइसक्यो शौच नै भएन। बाहिर निस्किएँ र हतार हतार मुख खोकल्न थालेँ।
यति बेलासम्ममा तीन पटक बोलाहट आइसकेको थियो। बिहान हतार-हतार अघि नै तयार भएर आउने बानी परेका मित्रलाई मेरो यो हतारो के थाहा र? मैले खोजखाज गर्दै हल्का ज्याकेट लगाएर निस्किएँ। चार जना पर्खिरहेका रहेछन्। ‘ला मैले कुराएँ है’ भन्दै म समूहमा मिसिएँ।
हाम्रो दैनिक बिहानी यात्रा यसपछि निरन्तर चल्न थाल्यो। श्रीमतीजी छतमा लगाएको तरकारीमा हाल्न उपयोगी हुन्छ भन्दै किचेनको फोहरबाट मल बनाउन मेरो सहयोग माग्थिन्। म समय छैन है आज भन्दै पटक पटक तर्किँदै आएको हुन्छु।
आज किचेनमा चामल चौलिएको र तरकारी पखालेको पानी एक बाल्टी भइसकेको थियो। ‘त्यतिकै खेर फाल्न पनि लोभ लाग्छ, छतमा लैजान मलाई कठिन हुन्छ पुर्याइ दिनु न’ भन्थिन् उनी। मलाई भने यति सामान्य काम गर्न पनि कस्तो कठिन लाग्ने। तैपनि ‘ल, ल हुन्छ म लैजान्छु’ भनेँ तर कम्प्युटर चलाउन छोडेको थिइनँ।
एकछिनपछि म किचेनमा पुग्दा बाल्टीको पानी अघि नै छतमा पुर्याइसकेकी हुन्थिन्। कामको चापले व्यस्त भएको बेलामा यति सामान्य काम सघाउन भनेको पनि समयमा पूरा नभएपछि आफैँले गर्नु पर्ने अवस्था आएको हुन्थ्यो। यति बेलासम्ममा पक्कै पनि दिग्दार मानेकी थिइन् भन्ने उनको अनुहारले देखाउँथ्यो। म लाचार बन्दै पुलुक्क हेर्छु र मुसुक्क गर्छु। म यो लाचारीलाई मर्निङ वाकको हतारोसँग जोडेर हेर्न थाल्छु।
बिहान निद्रामा नै फोनको घण्टी बजाएर निस्कन लगाउने मर्निङ वाक मित्रको खबरदारी सम्झिन्छु। यसरी एकाबिहानै निद्रा बिग्रने गरी श्रीमतीजीले नै उठ्न कर गरेको भए के गर्छु होला भन्ने लाग्छ। हुन त उनले कुनै दिन कहीँ यात्रामा जानु छ भने बिहान चाँडै गर्नु पर्नेछ भनेर हतार लगाएको याद आउँछ। त्यति बेला म ‘एकछिन है’ भन्दै आँखा चिम्म गर्दै हुन्छु। उनी ‘ल ल घाम झुल्किसके है अब त’ भन्दै लगातार बिउँझाउन बल गर्छिन्। त्यति बेला मलाई हाम्रो प्यारो पलङबाट बाहिर निकाल्न सक्दा मात्र पनि उनलाई ठुलो विजयको अनुभूति हुने गरेको सम्झन पुग्छु।
त्यसपछि मैले बिस्तारै दुई हात तन्काउँदै आङ तानेर समय कटाउने गर्छु सधैँ। यसपछि एकछिन मोबाइल चलाएर ‘महत्त्वपूर्ण’ अपडेट लिने र कसैका केही न केही प्रस्तुतिमा आफ्नो पनि ‘प्रतिक्रिया’ थप्नुपर्ने कार्य त छुटाउनु हुन्न भन्ने लाग्छ। यो काम सक्दा नसक्दा कति थप समय लाग्छ भनेर सञ्जाल पारखीलाई थाहा हुन्न। त्यहाँ बसेपछि हतार गराएर यसमा खर्च गरिने समयको कटौती हुनु भनेको ‘सञ्जाल अधिकार’ हनन भएको जस्तो लाग्दो रहेछ सधैँ।
मलाई पलङबाट निकालेपछि उनी आफ्नो तयारीमा लाग्थिन्। म ढुक्कले बिस्तारै कोठाबाट बाहिर निस्कन्थेँ अनि समय लगाएरै भए पनि नित्यकर्म सकेर किचनमा पुग्थेँ। मलाई किचनमा देख्न पाउनु त झन् कति खुसीको विषय हुने उनका लागि। यस्तै ढिलढालका कर्म गर्न मर्निङ वाकको तयारीमा त नमिल्ने। अहिले भने मलाई आफ्नै व्यवहार असन्तुलित लाग्यो। तर भोलि बिहानको दिनचर्या त पुरानै ढर्रामा गइरहने।
घरका काममा सघाउ गर्दा मर्दपना कमजोर हुने बरु बाहिर घुमफिर गरेर समय बिताउँदा यसको संरक्षण हुने पुरानो सोच हो भन्ने मान्यता बढेको थियो। त्यसैले ‘म यस्तो अनमेल व्यवहारको हिमायती हुन सक्दिनँ’ भनेर विभिन्न समूहमा धेरै पटक बोल्दै आएको छु। तर यसरी गर्वका साथ बोल्दा जति मजा आउँछ नि, व्यवहारमा उतार्न चाहिँ त उति नै कठिन हुने। यो आम समस्याबाट प्रभावित हुनु स्वाभाविकै भएकाले पनि मलाई समेत यस्तो हुने गरेको हो भन्ने लाग्यो। अनि मलाई यस्तो वातावरण दिएर हुर्काउने पुरानो पुस्तासँग झोँक चल्न थाल्यो।
हजुरबुबाले मर्दले रुनु हुन्न भनेर सिकाउनु भयो। घरभित्रका काम दिदी बहिनीले गर्ने र घरबाहिरका काम हामी पुरुषले गर्ने संस्कार सिकाउनु भयो। टपरी गाँस्न प्रयास गर्दा यो केटो पछि जोइटिङ्ग्रे हुने भयो भनेर हियाउँदै मर्दपनको विकास गराइदिनु भएको थियो। यो उहाँले पनि आफूभन्दा अघिल्लो पुस्ताबाट पाएको विरासत न थियो। पुस्तान्तरणका नाममा आफूलाई फाइदा हुने कुराको अभ्यास मात्र अपनाउन मन लाग्ने हुँदो रहेछ। तर पुरानो प्रचलनबाट बेफाइदा भोगेका पीडितलाई चाहिँ त्यसबाट चाँडै छुटकारा पाउन मन लाग्ने। त्यसैले उहाँले छोडेर गएको विरासत सतहमा जे भने पनि अन्तर्हृदयले जोगाउनै पर्ने दायित्व पुरुषको हुने रहेछ। यस्तो पुर्ख्यौली प्रचलनमा समानताको महत्त्व कमजोर थियो भन्ने लाग्ने जो कोहीले उखेल्ने प्रयत्न गर्ने हरेछ। यसलाई कुप्रथा अन्धविश्वास वा यस्तै नाम राखेर भए पनि त्याग्दै जानुपर्ने।
युगसापेक्ष हुने र समानताको अभ्यासको सम्मान गर्ने सार्वजनिक प्रतिज्ञा मैले पनि गरिसकेको हुनाले यो खुसीसाथ नै गरेको हो सामाजिक आभास गराउन सक्नु मेरो दायित्व छँदै छ। तर घर पुग्दा सहधर्मिणीको दायित्व मेरोभन्दा बढी नभए त कहाँ चित्त बुझ्छ र? अनि म किचनबाट छतमा पानी लैजाने काममा पनि त्यति गम्भीर बन्न सक्दिन थिएँ। तरकारी केलाएर बस्न पनि खासै महत्त्वको काम नलाग्ने। तर मर्निङ वाकको बोलाहट टारेमा त नामर्दपना झल्किने डरले सताउने नै भयो। त्यसैले हतार हतार उठेर निस्कनु र अलिक ढिलो घर आउनु नित्य कर्म रहन थाल्यो। कुनै दिन त हामी जोडी नै सँगसँगै मर्निङ वाक जाऊँ भनेर जोडी नै हिँडेको सार्वजनिक गर्ने लालच पनि बढ्दै जाने। तर सधैँ दुवै जना सँगै हिँड्ने भए त घर कसले हेर्छ नि फेरि?
बिहानदेखि बेलुका अबेरसम्म घरका काममा लखतरान हुन्जेल व्यस्त रहने मान्छेलाई मर्निङ वाक चाहिन्छ कि नाइँ? योग गुरुलाई सोध्न मन लाग्यो। खेतबारी वा करेसाबारीमा खन्ने खोस्रिने गरिरहनु पर्ने, भर्याङको तल र माथि गरिरहनु पर्नेले त्यति शारीरिक श्रम गरे त पुग्दैन र? हाम्रा हजुरबा पुस्ताले मर्निङ वाक के हो थाहै नपाइ लामो आयु बाँच्नु भयो। बिहानै खेताला खोज्न एक घण्टाको पैदल हिँडेर घर फर्किनु भयो। खेतमा कुलो फर्काउन यसै गरी रातीसम्म हिँडिरहनु भयो। मुरीको धोक्रो पिठ्युँमा हालेर गाउँबेसी गर्नु भयो। बारीमा फलेका फलफूल र तरकारी आफैँ टिप्न बल गर्नु भयो। रूख चढेर घाँस झार्नु भयो। हजुरआमा पानी लिन काखीमा माटोको गाग्रो बोकेर पँधेरा जानु भयो। कुवामा निहुरिएर पानी उघाउँदै भर्नु भयो। दुवै गोडा चलाएर ढिकीमा धान कुट्नु भयो। यसो गर्दा सबै अङ्ग प्रत्यङ्ग आफसे आफ चलाइए।
उहाँहरूले अङ्गप्रत्यङ्ग चल्ने गरी यसरी सधैँ उपलब्धिका लागि श्रम गर्नुभयो। कामका खातिर श्रम गरेर पसिना निकाल्नु भयो। भारी बोकेर लामो श्वास तान्नु भयो। थाहै नपाई शरीर मजबुत थियो। अहिले म र हाम्रो पुस्ताको ध्यान केमा छ? शरीर स्वास्थ्य राख्न बिहानै काम बिना नै सडक लखरलखर हिँड्नु परेको छ। उत्पादनमूलक क्षेत्रमा श्रम गर्न अल्छी लाग्छ तर यस्तै अनुत्पादक यात्रामा समय खर्चिनु परेको छ। अनि यो बेरोजगारीले नकारात्मक कुरा सोच्ने समय पाएको छ। जीउ मर्काएर नाच्न पनि बहाना खोज्नु परेको छ। अनि त मेरो अन्तर्मन छक्क परेको होला भन्ने लाग्यो।
म पछिल्ला दिनमा लोकप्रिय हुँदै आएको योग र एकान्तबासको अभ्यासतिर ध्यान दिन थाल्छु। उनीहरू बिहान सबेरै अनलाइनबाट जोडिएका र त्यहाँको भर्चुअल हल्लाखल्लामा अभिनयसहित आफूलाई समर्पित गरेका क्षणहरू स्मरण हुन्छ। योगको व्यापक आवश्यकता छ भनेर योग गुरुले भनेको सम्झिएँ। उहाँले पनि सबैलाई बिमारी देख्नुभयो। बिमारी नभए पनि बिमारी परिन्छ भनेर डर देखाइ दिनुभयो। असन्तुलित जीवनका अनेक विसंगतिबाट मानसिक असन्तुष्टि हुने, तीव्र उन्माद वा आक्रोशको सम्भावना रहने तथ्य बहुत मधुर वाणीमा सुनाउँदै मनभित्र डर बढाइ दिनुभयो। म मात्र होइन समूहमा रहेका सबैलाई दीर्घ जीवन जिउने र स्वस्थ जीवनको भोकले झसङ्ग बनाइदियो।
म सोच्न थाल्छु प्रकृतिले हामीलाई बाँच्नका लागि श्वास प्रश्वास गर्ने कला दिएको छ। खाने पिउने र विकार त्याग गर्ने स्वाभाविक पद्धति दिएको छ। अनि मानव जातिले सचेतनाको उपलब्धिमूलक प्रविधि र संस्कार हुर्काएको छ। तर पनि आफ्नो मान्यतालाई मात्र उत्तम देख्ने प्रवृत्ति बढेको जस्तो लाग्छ। आफ्नोभन्दा फरक स्वभाव र मान्यता भएका अरूलाई गलत नै देख्ने विचारलाई विकारयुक्त भन्न मन लाग्छ। यस्तो धारणा बोकेर र अरूलाई अज्ञानी वा असचेत भनेर ग्रहण गरिने उच्च विचारले शान्ति दिन सक्दैन भन्ने लाग्यो।
अझ घर परिवारबाट अलग्गिएर छुट्टै संसारमा जनसम्पर्कको डोरी समेत त्यागेर ध्यान केन्द्रमा बस्ने र शान्तिको प्राप्ति हुने कल्पना गर्ने सोच पनि सम्झिन थाल्छु। घरमै छोडिएका आफ्ना आश्रित पुस्ता वा समपुस्ताका मान्छेहरू आफ्नो अनुपस्थितिमा कसरी बस्दै होलान् भन्नेसम्म सोच्न नभ्याई गरिने ध्यानको प्रभाव पक्ष मेरो मनमा आउँछ। ध्यानका लागि सिर्जना गरिएको बनावटी परिवेशमा बसेर खोजिएको मानसिक शान्ति कति चिरस्थायी हुन्छ होला भनेर त्यहाँको अनुभव गरेर फर्किएका मान्छेहरूको फेरिएको जिन्दगी हेर्न मन लाग्छ।
मेरो एक मनले यो सब व्यवसाय गर्ने बहाना हो भन्ने ठान्यो। अर्को मनले मान्छेलाई खुसी राख्ने र सुखी बनाउने उपायका अवतारको रूपमा लिन खोज्यो। अनि मर्निङ वाक र यी शरीर विद्याहरू खासमा समय कटाउने राम्रो उपाय रहेछन् भन्ने लाग्यो। बिहानको कृत्रिम हाँसो, कृत्रिम ध्यान र भर्चुअल सदाचारको भ्रमबाट मुक्त हुँदै मलाई मर्निङ वाक समेत बन्द गर्न मन लाग्यो। योग र ध्यानका लागि बनेका कङ्क्रिटका नयाँ चार दिवारबाट बाहिर निस्कन मन लाग्यो। युट्युबको प्रशिक्षणबाट आफ्नै जीवनमा फर्किन मन लाग्यो।
भोलिदेखि मेरी अर्धाङ्गिनीले चुलामा जोगाएर राखेको पानी समय मै गमलामा पुर्याउन मन लाग्यो। श्रमको उपलब्धिमूलक उपाय खोज्न मन हुँडलिन थाल्यो। भएका पाखाबारी बाँझै छाडेर परदेशिएका परिचित सम्झिन पुगेँ। जागिर खाने सोचले भौँतारिँदै सहर पसेका सहपाठीहरूको याद आयो। थोरै आम्दानीमा खुसीले जीवन निर्वाह गर्न छाडेर टाढा पुगेका धेरै मान्छेहरू सम्झिन पुगेँ। मौका मिलाएर आफ्नै गाउँ फर्किन मन लाग्यो। भ्याए त बिहानै चिया पसल गर्नेहरू पनि पनि यसै गरी मर्निङ वाकमा निस्कन चाहन्थे होलान् नि। समयले नै त रहेछ हामीलाई वर र पर पारी दिने। अब मलाई बिहान सबेरै उठेर मर्निङ वाकमा जान मनै लागेन। सन्चो नभएको बहाना पारेर थप आधा घण्टा पलङमै पल्टिएँ।
त्यसपछि उठेर किचनतिर लागेँ। त्यहाँ एकछिन बसेपछि छतमा जान मन लाग्यो। अस्ति नै उनैले कर गरेपछि मैले बोकेर अलिकति माटो ल्याइदिएको थिएँ। पुराना बाल्टीहरूमा रायोको साग हरियो भइसकेछ। प्लास्टिकका दुई ओटा बोरामा पहेँलै भएर गोलभेँडा फुल्न थालेछन्। प्रकृतिको यो अनुपम सिर्जना देखेर मलाई गज्जबै लाग्यो। ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ भन्ने पद्य पङ्क्ति सम्झिन पुगेँ।
सायद म आज घरमै बसेको र यस्तो फरक व्यवहार देखेर हुनुपर्छ उनी पनि छतमा आइन्। मैले ‘आहा कति हरियो भएछ यो रायोको बोट?’ भन्दै मुसारेँ। ‘आज मर्निङ वाक नजाने? ’ उनले प्रश्न गरिन्। अबदेखि घरमै मेहनत गरेर समय बिताउने आफ्नो एकल निर्णय उनलाई सुनाएँ।