विश्वभर एउटा अदृश्य त्रासले मानिसको मनमा घर गरिरहेको थियो, कोरोना। त्यो नाम सुन्ने बित्तिकै मानिसहरू आत्तिन्थे। दिनदिनै हजारौँले ज्यान गुमाएका खबर सुन्दा मन छियाछिया हुन्थ्यो। नेपालमा पनि अवस्था फरक थिएन। एकै दिनमा दर्जनौँको ज्यान गएको समाचारले गाउँदेखि सहरसम्म सन्नाटा छाएको थियो।
गाउँमा त झन् त्रास दोब्बर थियो किनकि रोजगारीका लागि भारत गएका छिमेकीहरू धमाधम घर फर्कँदै थिए र उनीहरूले सहरको रोग गाउँसम्म ल्याइदिएलान् भन्ने भय सबैमा थियो। सरकारले अत्यावश्यक कामबाहेक बाहिर निस्कन समेत दिएको थिएन। जीवन एउटा लामो, डरलाग्दो शून्यतातर्फ धकेलिएको महसुस हुन्थ्यो।
कुरा थियो २०७७ साल साउन महिनाको हो। शिवको महिना, जति बेला चारैतिर हरियाली हुनुपर्ने हो तर मेरो जीवनमा भने कालो बादल मडारिएको थियो।
त्यही बेला म बिरामी परेँ। ज्वरो, घाँटी दुख्ने, खाना खान समेत मुस्किल। यस्तो बेलामा अरू कुनै रोग लागे पनि सबैले ‘कोरोना’ हो भन्थे। यो शब्द आफैँमा एउटा मृत्युदण्डको फैसलाजस्तो लाग्थ्यो। सबै गाडीहरू पूर्ण रूपमा बन्द थिए। बजार सुनसान, मानिसहरू घरभित्रै कैद। ज्यानको डरले थरथर काँप्दै, घरबाट चार घण्टाको बाटो हिँडेर म बल्लतल्ल जिल्ला अस्पताल बैतडी पुगेँ।
डाक्टरलाई देखाएँ। चेकजाँचपछि थाहा भयो— टन्सिल। रोगको नाम सुनेर केही हदसम्म ढुक्क भएँ तर डाक्टरले जे भने त्यसले मेरो मनमा ठुलो चोट पुर्यायो। ‘औषधिले दुख्न कम गर्छ मात्रै, निको हुन गाह्रो छ,’ डाक्टरले भन्नुभयो।
जीवनमा कहिल्यै यसरी बिरामी नपरेको म आत्तिएँ। डरले मेरो शरीर शिथिल भयो। डाक्टरको मुखबाट यस्तो सुनेपछि भविष्य अन्धकार देखियो। अब के पो हुने हो भन्ने चिन्ताले मलाई त्यही जिल्ला अस्पतालको गेटनिर उभिएर रुवायो। म एक्लो थिएँ, हातमा खाली पानीको बोतल बोकेर घर फर्किएँ। बजारमा कुनै पसल खुला थिएन। घरदेखि अस्पतालसम्म र अस्पतालदेखि घरसम्म त्यही एक बोतल पानीले साथ दियो।
घरमा आमाबुबालाई डाक्टरले भनेको कुरा सुनाउँदा उहाँहरू पनि निकै आत्तिनुभयो। अब के गर्ने, कहाँ जाने? गाउँमा कोही सल्लाह दिने मानिस थिएनन्, सबै डरले घरभित्रै थिए। जसोतसो खर्चको जोहो भयो र अप्रेसन गर्ने निधो गरियो। तर कहाँ उपचार गराउने भन्ने अन्योलले आमाबुबालाई सतायो।
त्यही बेला भारतमा रहनुहुने मेरो दाइको याद आयो। दाइलाई यो खबर सुनाएपछि उहाँले तत्काल मलाई भारत ल्याउन सुझाव दिनुभयो। कोरोनाको महासंकटमा भारत जानु आफैँमा ठुलो खतरा थियो तर जीवनको सवाल थियो। आँखा चिम्लिएर हामी भारत जाने निर्णयमा पुग्यौँ।
जसोतसो हामी भारत पुग्यौँ। दाइले चिनजानका एक जना डाक्टरकहाँ पुर्याउनु भयो। उहाँले घरमै चेकजाँच गरेर एक हप्ताको औषधि दिनुभयो र भन्नुभयो, ‘अब एक हप्तापछि दीप अस्पताल आउनुहोला, अप्रेसन त्यहीँ हुन्छ।’
एक हप्ताको समय निकै भारी भयो। हरेक पल मृत्युको नजिक पुगेको महसुस हुन्थ्यो। अप्रेसनको अघिल्लो दिन मैले फेसबुकमा एउटा स्ट्याटस लेखेँ, जुन मेरो मनको अन्तिम पुकार थियो- ‘भगवान् भरोसा।’
अर्को दिन म र दाइ अस्पताल पुग्यौँ। अस्पतालमा मानिसहरूको त्यस्तो भिड थियो कि खुट्टा टेक्ने ठाउँ समेत थिएन। कोरोनाको समयमा अस्पतालको त्यो भिड, त्यहाँको त्रासले मेरो मुटुको धड्कन बढायो। बिरामीका आफन्तहरू कोही रोइरहेका थिए, कोही यताउता दौडिरहेका। त्यहाँको वातावरण मृत्युको घरजस्तो लाग्यो।
बिहान १० बजे डाक्टर आउनुभयो र नर्सहरूलाई भन्नुभयो— ‘रामजीलाई पाँचौँ तल्लाको बेड नम्बर ०६ मा ल्याउनुहोस्।’
दाइले मलाई बेड ०६ मा लिएर जानुभयो। त्यो कोठामा ३० जनाभन्दा बढी बिरामी थिए। कोही बेडमा सुतेर ’ऐया! ऐया!’ गरिरहेका थिए, कोही भुइँमै पल्टिएका। नर्स र डाक्टरहरू हतारमा थिए, सबैको अनुहारमा गहिरो चिन्ता थियो। म चारैतिरबाट बिरामीहरू रोएको र चिच्याएको आवाज मात्रै सुन्न सक्थेँ।
अरू बिरामीहरूको त्यो हालत देखेर म झन् आत्तिएँ। ’यस्तै हालत हुने हो कि?’ भन्ने चिन्ताले मलाई भित्रभित्रै खायो। एकछिन त लाग्यो— बरु यसरी तड्पिएर मर्नुभन्दा घर फर्कन्छु!
मैले दाइलाई भित्र बोलाएर भनेँ, ‘दाइ, मलाई त लास्टै डर लाग्यो। बरु औषधि खान्छु, अप्रेसन नगरौँ।’
त्यो बेलासम्म मेरो हातमा कम्तीमा १० वटा सुई लागिसकेका थिए। दाइले मलाई हिम्मत दिँदै भन्नुभयो, ‘त्यस्तो केही हुँदैन, म छु यहाँ, चिन्ता नगर।’
मेरो डर देखेर दाइले नर्सहरूलाई भन्नुभयो— ‘भाइले वरपरका बिरामीलाई देखेर डराउनु भएको छ।’
दाइको कुरा सुन्ने बित्तिकै नर्सले मेरो पुरै बेडलाई एउटा पर्दाले छोपिदिनुभयो। मेरो आँखामा कालो पट्टी बाँधिदिनुभयो र हौसला दिँदै भन्नुभयो— ‘तिमी ठिक हुन्छौ, चिन्ता नगर।’ त्यो कालो पट्टीले बाहिरी संसारबाट मलाई अलग गरिदियो तर मनभित्रको डरको पर्दा भने झनै बाक्लो भयो।
बिहान ११ बजे डाक्टर फेरि आउनुभयो। उहाँले नर्सहरूलाई मलाई अर्को कोठामा लैजान सुझाव दिनुभयो। नर्सहरूले म सुतेको खाटलाई नै धकेल्दै अर्को कोठासम्म पुर्याए।
त्यो कोठामा १५–२० जना नर्स र डाक्टरहरू हुनुहुन्थ्यो। त्यहाँ धेरै शल्यक्रियाका सामानहरू राखिएका थिए। ती सामानहरू देखेर मेरो मुटु झनै चिसो भयो। डरले मेरो शरीर काँप्न थाल्यो।
मलाई त्यहाँ पुर्याउने बित्तिकै अर्को बेडमा सारेर हात, खुट्टा र कम्मर पूरै बाँधियो। त्यसपछि एउटा सुई लगाइयो। नर्सले सोध्नुभयो— ‘केही महसुस भयो?’
मैले अलिअलि चक्कर लागिरहेको कुरा बताएको मात्र थिएँ, त्यसपछि म बेहोस भएछु।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म के भयो, मलाई केही पनि थाहा भएन। मेरो घाँटीबाट मासुका दुई ठुला डल्ला (टन्सिल) कहिले निकालियो, पत्तै पाइएन। ती दुई घण्टा मेरो जीवनको ’शून्य समय’ थियो।
१ बजे मलाई त्यो कोठाबाट निकालेर फेरि सुरुको कोठामा लगिएको रहेछ। मेरो शरीरमा एक बोतल रगत चढाइएको थियो। मेरो अप्रेसन सफल भइसकेको थियो तर म होसमा आएको थिइनँ।
त्यसपछि नर्सहरूले मेरो छातीमा धेरै पटक धक्का लगाए। ‘रामजी! राम!’ भन्दै उहाँहरू चिच्याउनुभयो। मैले सुन्न त सुनेँ तर बोल्न सकिनँ। मेरो शरीरले मेरो मनको आज्ञा मानिरहेको थिएन।
ठिक त्यही बेला नर्सहरूले एकआपसमा निराशा पोख्दै थिए— ‘रामजी होसमा आउन मुस्किल छ!’
त्यो वाक्यले मेरो बेहोस मनमा गहिरो चोट पुर्यायो, सायद मर्नुभन्दा ठुलो पीडा भयो। मेरो जीवनको धागो चुँडिन लाग्यो भन्ने लागेको थियो। तर जीवनको त्यो अन्तिम झट्काले मलाई ब्युँझायो। अचानक मेरो आँखा खुल्यो।
मेरो आँखा खुल्ने बित्तिकै नर्सहरूले खुसीले ताली बजाए। मेरो शरीर पूरै शिथिल थियो तर मैले वरपर हेरेँ। मेरो आँखाबाट आँसुका धारा बगे। म रोएँ। नर्सले मेरो आँसु टिस्यु पेपरले पुछिदिनुभयो।
नर्सहरूले दाइलाई भित्र बोलाएर ‘तपाईंको भाइलाई ठिक भइसक्यो’ भन्नुभयो। म सबै कुरा सुनिरहेको थिएँ तर आँखा भने खोल्न सकिरहेको थिइनँ।
दिउँसो २ बजे डाक्टर मलाई भेट्न आउनुभयो। उहाँले मेरो छेउमा आएर भन्नुभयो— ‘भाइ, अब चिन्ता नगर्नुहोस्, सब ठिक भइसक्यो।’ मैले डाक्टरको यो वाक्य मात्रै सुनेँ र मलाई पूरै संसार जितेको महसुस भयो।
डाक्टरले साँझ ५ बजेसम्म घर फर्कन सकिने बताउनुभयो। हामी त्यहीअनुसार घरतिर लाग्यौँ। बाटोभरि दाइको मोबाइलमा घरबाट आमाबुबाको निरन्तर फोन आइरहेको थियो। दाइले ‘हामी कोठामा जाँदै छौँ, रामको अप्रेसन सफल भइसक्यो’ भनेपछि उहाँहरू ढुक्क हुनुभयो।
जीवनको त्यो महासंकटबाट पार पाएर पूर्ण रूपमा निको भएपछि म ठिक दुई महिनापछि घर फर्किएँ। ‘राम त अब बाँच्दैन’ भन्ने गाउँलेहरू पनि मलाई देखेर चकित परे। त्यो दिन मैले मात्रै नयाँ जीवन पाएको थिइनँ, मेरो परिवारले पनि नयाँ सास पाएको थियो।
आज म पूर्ण रूपमा स्वस्थ छु तर त्यो दिनको डर, त्यो अस्पतालको सन्नाटा र नर्सहरूको मुखबाट निस्केको त्यो वाक्य— ‘रामजी होसमा आउन मुस्किल छ!’ मेरो कानमा अझै गुन्जिरहन्छ। त्यो मेरो जीवनको सबैभन्दा भावुक र डरलाग्दो क्षण थियो, जसले मलाई जीवनको महत्त्व सिकाएर गयो।