कर्मकल्चर
बालेनलाई प्रश्न गर्न पाइएन भन्ने साथीहरू धेरै छन्। बालेनसँग प्रश्नोत्तर हेर्न चाहनेहरू त कति कति!
म एउटा निष्कर्षमा पुगेको छु — प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो।
बालेन को हुन् भन्ने भन्दा पनि हामीले आफैलाई सोध्नुपर्छ — हामी को हौं?
बालेनबाट हामी के खोजिरहेका छौं भन्ने भन्दा पनि हामीले आफैलाई नियाल्नुपर्छ — हामी के चाहन्छौं?
हामी आफैलाई सुनी हेरौं — हामी किन बालेन–बालेन भनिरहेका छौं?
बालेन राजनीति गरेर नेता भएका होइनन्। बालेनलाई हामीले नेता बनाएका हौं। हामीले बालेनलाई नेता किन बनायौं भन्ने बुझ्न खोज्यौं भने केही पहेली खुल्न सक्छ।
बालेन त इन्जिनियर थिए, र्याप गीत गाउँथे। गीत त अहिले पनि 'चमेली' भन्दै गाइरहेका छन्, तर त्यो उनको राजनीतिक उद्देश्यका लागि हो। अरूसँग पार्टी थिए, उनीसँग थिएन। त्यसैले गीतबाट उनले संगठन गरे। अहिले बल्ल उनी पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेशपछि उनको गीत आएको छैन!
पार्टी प्रवेश पनि अरूको जस्तो उनको होइन। अरूले साधारण सदस्यता, क्रियाशील सदस्यता के के लिन्छन्। किन लिन्छन् — लिनेले जानून्। मैले कहिल्यै नलिएको भएर कुरा थाहा भएन। बालेनले त सोझै प्रधानमन्त्री पद दिलाउने सर्तमा पार्टी सदस्यता स्वीकार गरे।
बालेनले वार्ता गरेनन्, अन्तर्वार्ता दिएनन्, बोलेनन् भन्ने धेरैको टिप्पणी छ।
मलाई कुतूहल के छ भने — त्यस्तो टिप्पणी गर्नेहरूले के जान्न खोजेका हुन्? के सुन्न खोजेका हुन्? के थाहा पाउन खोजेका हुन्?
बालेनले 'म बोल्न जान्दछु' भनेर राजनीति सुरू गरेकै होइनन्। जसले जे दाबी गरेकै छैन, उसले त्यसो किन गरेन भनेर सोध्नुको तात्पर्य छैन।
त्यसैले मैले भनेको — बालेनलाई बुझ्न खोज्नेहरूले पहिला आफूलाई बुझिहेर्ने प्रयत्न गरौं। यसो गर्यौं भने आफूलाई अलिकता भए पनि हलुका हुन्छ।
बालेनले के गर्छन् भनेर पनि धेरैको चासो म सुन्छु।
मैले हेर्दा त — च्व च्व….।
हेरेको होइन — देख्दा उनी एउटा हात अर्को पाखुरामा बाँधेर बस्छन्। ठ्याम्मै देउवाझैं। त्यो अवस्थामा म बालेन्द्र शाहमा शेरबहादुर देउवा देख्छु।
थप तादात्म्य के छ भने, मुस्किलले हाँस्छन्, सुनेझैं गर्छन्, झर्केको हो कि तर्केको जस्तो जबाफ दिन्छन्। बोल्न नपरे हुन्थ्यो भन्ने गर्छन्। पत्रकार छल्छन्, भीडको माझबाट हाइहाइ सुन्दै उत्साही सर्वसाधारणहरूको घुइँचो ठेल्ने सहयोगीहरूको साथ लागेर बल्लतल्ल एकान्त पुग्छन् र सुस्ताउँछन्।
हामीले बालेनलाई सुनेर होइन, देखेर मन पराएका हौं। हामीले उनलाई किन मन परायौं भन्ने आफैलाई सोधिहेरौं।
प्रश्न पनि कति गरेका!
बालेनले 'ल्यान्ड रोभर डिफेन्डर एसयुभी ४३४३' चढेर चुनाव प्रचार गरे — चढेर होइन, चढेर आफै चलाए। हात हल्लाउँदै गए।
हामीलाई मनपर्यो। त्यत्रो वाहवाही भयो।
तर फेरि हामी नै सोध्दैछौं — त्यो त एक कम्पनीका साहुजीको रहेछ।
किन सौदाबाजी गरेको, के सौदाबाजी हुने भयो— हामीले सोध्ने प्रश्न यस्तै छ।
मालपानी लिएर सबैभन्दा पहिला नेतासम्म पहुँच कसरी स्थापित हुन्छ भन्ने हामीले हिजोदेखिकै नित्य लीला नबुझेझैं गरिरहेका छौं।
हामीले हिजो चप्पल लगाएर संसदमा पुगेकालाई गाली गर्यौं — किन जुत्ता नलगाएको भनेर।
कोही त नांगा खुट्टा नै पुगेका थिए। जो नांगा खुट्टा पुगेका थिए, उनी नांगा खुट्टा नै फर्किए। राजनीतिबाट नांगै निवृत्त भए। हामी त्यो देख्दैनौं।
हामी देख्छौं — जो चप्पल लगाएर आएका थिए, तिनले आलिशान महल कसरी बनाए। जसले बनाए, तिनलाई र्याखर्याख पार्नुपर्ने निकाय किन स्वायत्त भएनन् भन्ने हामीले धेरै जान्न खोजेनौं।
जान्न खोजेका भए भोलि कसरी स्वायत्त हुन्छन् भनेर प्रश्न गर्ने थियौं। हामी त्यो प्रश्न गरिरहेका छैनौं। हामीलाई खास प्रश्नसँग सरोकार छ कि प्रतिक्रियासँग? हामी कसैको प्रतिक्रियाप्रति किन उत्तेजित हुन्छौं? हाम्रो समस्या के हो?
बालेनलाई हामीले सोध्न खोजेको के हो?
बालेनले कोसँग उभिएर किन जबाफ दिँदैनन् भन्ने प्रतिक्रिया दिए।
बालेनले 'म प्रश्नहरूको जबाफ दिन्छु' भनेको मैले कहिल्यै सुनेकै छैन। काठमाडौंका वडाध्यक्षहरूसँग कहिलेकाहीँ नोकझोंक हामीले देखेका छौं। उनले काठमाडौं महानगरपालिकामा के गरे भन्दा पनि, उनीभन्दा उनका पक्षबाट उफ्रिने नगरप्रहरीहरू हामीले धेरै देख्यौं।
रूनेहरू रोए, रोइरहे। हामीले देखेको नदेख्यै गर्यौं।
तिनका पक्षमा बोल्नेलाई 'पार्टीका झोले' भनिदिँदा पनि हामी हेरिरह्यौं। झोला भिर्नेहरू सबै श्रापित भए।
बालेनलाई हामीले राजनीतिमा ल्यायौं। उनलाई हामीले अत्यधिक मतका साथ महानगरमा बसाउँदा के अपेक्षा गरेका थियौं — हामीले कहिल्यै आफूलाई सोधेनौं।
हामीलाई बालेन चाहिएको थियो। हामीले ल्यायौं।
अहिले हामीलाई फेरि बालेन चाहिएको छ। हामीलाई चाहिएकाले उनी आइदिएका छन्।
सोझै कताबाट आउँदा — पार्टी खोल कि पस — भन्यौं।
उनले खोल्न खोजेको जस्तो गरे, तर पस्न सजिलो हुने थियो, पसे।
राजनीतिक पार्टीमा लाग्ने भएपछि मेयर छाडे। प्रधानमन्त्री बनाइदिने तमसुक पाएपछि को किन पूरा कार्यकाल मेयर भइराखोस्?
तर त्यसरी कसैलाई हियाउन हुँदैन।
प्रधानमन्त्री त जेनजीले डिस्कर्डबाट मत हालेर पनि बनाउन खोजेका हुन्। उनलाई लाग्यो — असली प्रधानमन्त्री त मतपेटिकाबाट आउँछ। त्यो ६ महिनाको चुनावी प्रधानमन्त्रीले आफै चुनाव लड्न पनि पाउँदैन। लड्न पाउने भए अर्कै कुरा!
फरक यही हो — हिजोसम्म उनी एक्लै थिए, आज उनीसँग पार्टी छ। यो पार्टी पनि अघिल्लो चुनावसम्म कुनै पार्टी होइन, स्वतन्त्र व्यक्तिहरूको समूहजस्तो थियो। कताकति आजसम्म पनि त्यस्तै छ। तर अब त पार्टी भइसक्यो। प्रधानमन्त्रीको उम्मेदवार तोक्ने भइसक्यो। अब यो पार्टी अरू पार्टीभन्दा कसरी फरक चल्छ भन्ने हेर्ने हो। जान्न खोज्दा जबाफ नपाइन सक्छ।
बालेनलाई हामीले स्वतन्त्र भनेर राजनीतिमा ल्यायौं। अहिले उनी स्वतन्त्र रहेनन्।
'स्वतन्त्र' नाम गरेको पार्टी हुँदैमा त्यहाँ बस्नेहरू स्वतन्त्र हुन्छन् भन्ने होइन। पार्टीभित्र संगठन हुन्छ, स्वार्थ हुन्छ, संघर्ष हुन्छ, गुट–उपगुट हुन्छ। मालपानी, दानापानीको व्यवहार पार्टीभित्र र बाहिर दुवैतिर हुन्छ। त्यो कसरी पारदर्शी हुन्छ भनेर हामीले प्रश्न गर्न खोजिरहेका हुन्छौं। हिजोकाले छलेर बोल्थे, आजकाले बोल्नै छल्छन्।
त्यसैले मैले भनेको — प्रश्न पहिला हामी आफैलाई गरौं।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle