एक दिन चिया गफ साटासाट गर्दै र खाना खाने क्रममा एक जना दिदीसँग कुराकानी भइरहेको थियो। त्यही सन्दर्भमा उहाँले मनको दुखेसो व्यक्त गर्नुभयो। उहाँको पीडा एउटै थियो— मानिसहरूले प्रायः उहाँलाई ‘केही गर्न नसकेको’ भनेर हेर्ने र बोल्ने गर्छन्।
जबकि उहाँले आफ्ना दुई सन्तानलाई उचित लालनपालनसहित शिक्षादीक्षा दिएर हुर्काउनु भएको छ। घरको सम्पूर्ण व्यवस्था उहाँले अत्यन्तै व्यवस्थित तरिकाले चलाइरहनु भएको छ। सामाजिक कार्यहरूमा पनि उहाँ सक्रिय हुनुहुन्छ। चाडपर्व र रीतिरिवाजहरू मनाउँदा हरेक ठाउँमा उहाँको उपस्थिति देखिन्छ। तर यति धेरै जिम्मेवारी र योगदान हुँदाहुँदै पनि धेरैले उहाँलाई ‘तिमी त फुर्सदिलो छौ’ वा ‘पढेर पनि केही गरिनौ’ जस्ता शब्दहरू सहजै प्रयोग गर्छन्।
सामान्य रूपमा भनिएका जस्ता लागे पनि, यस्ता अभिव्यक्तिहरूले उहाँको मनमा गहिरो असर पारिरहेको रहेछ। ती शब्दहरूले उहाँभित्र कता-कता हीनताको भावना जन्माउँदै, मनोवैज्ञानिक रूपमा ‘साँच्चै मैले केही गर्न सकिनँ कि’ भन्ने अनुभूति गराइरहेका रहेछन्। उहाँले निकै बेर आफ्ना गुनासाहरू सुनाउनुभयो।
उहाँका ती गुनासाहरू सुन्दै गर्दा मैले अरू धेरै यस्ता महिलाहरूको अनुभव सम्झिएँ— जो घरको सम्पूर्ण जिम्मेवारी सम्हालेर परिवारलाई व्यवस्थित रूपमा अगाडि बढाइरहेका छन्। त्यही क्षण मलाई लाग्यो, यो त लेखिनै पर्ने विषय रहेछ। महिलाहरू घर बस्दैमा असक्षम हुँदैनन्। प्रश्न त यो हो— किन महिलाहरूले आफूलाई घरको कुशल व्यवस्थापक हुँ भन्ने पहिचान आत्मसम्मान र साहसका साथ खुलाउन सक्दैनन्? किन अझै पनि हिचकिचाउनु पर्छ?
महिला र पुरुषलाई हामी प्रायः एकै रथका पाङ्ग्राहरूको रूपमा तुलना गर्छौँ। जीवन र समाज निर्माणमा दुवैको हात बराबर हुन्छ। आजको समयमा महिलाहरू हरेक क्षेत्रमा सक्रिय छन्—कार्यालय, संघ-संस्था, सामाजिक सेवा, शिक्षा र विभिन्न पेसागत क्षेत्रमा उनीहरूको उपस्थिति उत्साहजनक रूपमा बढ्दै छ।
तर कतिपय महिलाहरू विभिन्न बाध्यता, परिस्थिति वा व्यक्तिगत कारणले बाहिर सक्रिय हुन सक्दैनन्। यस्तो अवस्थामा उनीहरूलाई ‘केही गर्न नसकेको’ भनेर हेर्नु वा मूल्याङ्कन गर्नु गलत हो। घरमै रहेर बालबच्चा, परिवार र घरको व्यवस्थापन सम्हाल्ने महिलाहरूले पनि समाजको लागि अत्यन्त महत्त्वपूर्ण योगदान दिइरहेका हुन्छन्।
यसको मतलब यो होइन कि सबै महिलाले घरमै बस्नुपर्छ, बाहिर काम गर्न निस्किनु हुँदैन। पक्कै पनि महिलाहरू हरेक क्षेत्रमा अगाडि बढ्न सक्छन् तर परिवार र सामाजिक जिम्मेवारीले कतिपय अवस्थामा उनीहरूलाई पछि राख्छ। अवस्था नबुझी ‘तिमीले के गर्यौ?’ जस्ता टिप्पणीले उनीहरूलाई हतोत्साहित मात्र बनाउँछ। यस्ता मानसिकता र व्यवहारको अन्त्य हुनु आवश्यक छ।
परम्परागत रूपमा महिलाहरू घरमा बढी समय बिताउँथे, महिलाहरू बाहिर गएर काममा जानु धेरै कम मात्र पाइन्थ्यो। तर आज महिलाहरू घर बाहिर सक्रिय रूपमा निस्किरहेका छन् र विभिन्न क्षेत्रमा आफ्नो योगदान दिइरहेका छन्। तर अहिले घरमै रहेर पनि उनीहरूले परिवार, बालबच्चा र जीवनसाथीको प्रगतिको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यस कारण, घरमै बस्नु र योगदान नगर्नु एउटै कुरा होइन। महिलाहरूको क्षमता, समर्पण र योगदानलाई सधैँ सम्मान र मूल्याङ्कन गर्नुपर्छ।
एकजना दिदी हुनुहुन्छ जसले स्नातकोत्तर गर्नु भएको छ र पत्रकारितामा काम गर्दै हुनुहुन्थ्यो। पढाइ–लेखाइमा उहाँ सधैँ अब्बल व्यक्ति विवाहपछि, जुम्ल्याहा बच्चा जन्मिएपछि, स्वास्थ्य र परिवारको कारणले उहाँले पेसागत काम छोड्नु भएको थियो र पूर्ण रूपमा आफ्ना दुई सन्तान र परिवारको हेरचाहमा समय दिँदै आइरहनु भएको छ। उहाँका श्रीमान् आफ्नो पढाइ–लेखाइ र कार्यालयमा सक्रिय हुनुहुन्छ र धेरै सफलता हात पार्नु भएको छ। दिदीले श्रीमानको सफलता र बच्चाहरूको प्रगति नै आफ्नो सफलता ठान्नु भएको छ। घरको व्यवस्थापन, बालबच्चाको लालन–पालन, परिवारको समृद्धि यी सबैमा उहाँ पूर्ण रूपमा सक्षम हुनु भएको छ।
तर यति योगदान हुँदाहुँदै पनि समाज र आफन्तहरूले उहाँलाई मूल्याङ्कन नगरी अवमूल्यन कुनै न कुनै हिसाबले गरिरहेकै हुन्छ। ‘ओहो, यत्रो पढेर पनि तिमीले धेरै छलाङ मार्न सकिनौ, केही गर्न सकिनौ?’ जस्ता टिप्पणीहरू उहाँले प्रायः सुन्नु भएको छ। पढाइ–लेखाइ, जीवन बुझ्ने क्षमता, परिवार र समाजमा योगदान यी सबै अपरिहार्य तत्त्वहरू हुन्। महिला शिक्षित भएपछि घर, परिवार र समाजमा सशक्त योगदान अवश्य पनि दिन्छन्। आज पनि उहाँ कार्यालय जानुहुन्न, आफ्नै परिस्थितिका कारण। तर यसको मतलब यो होइन कि उहाँ असक्षम हुनु भएको छ वा केही गर्न सक्नु भएको छैन। उहाँका कारण श्रीमान् आज उच्च ओहोदामा हुनुहुन्छ, बच्चाहरू हरेक हिसाबले सक्षम भएका छन् र परिवार सुव्यवस्थित छ। तर समाजले यो योगदान प्रायः बिर्सन्छ।
यस्ता टिप्पणीहरू सामान्य बोलीचालीमा प्रकट हुन्छन्। सुन्दा सामान्य लागे पनि, यसले घरपरिवार सम्हालेकी, कुशल गृहिणी महिलाको मनोविज्ञानमा गहिरो असर पार्छ। त्यसैले, हामीले कुनै पनि व्यक्तिको भित्री कथा नबुझीकन अवमूल्यन वा तल पार्ने काम गर्नु हुँदैन। हाम्रो सोच, दृष्टिकोण र समाजको मूल्याङ्कन बदलिनै पर्छ।
एकजना महिला, जसले कुनै कार्यालयमा फारम भर्दा आफैँलाई ‘गृहिणी’ भनेर लेख्नु पर्ने अवस्थालाई अचम्म र नराम्रो लागेको अनुभव गर्नु भएको छ। कता-कता उहाँका आँसु पनि झारिरहनु भएको थियो। उहाँ आत्मसम्मानका साथ आफ्नो स्थिति खुलाउन सकिरहनु भएको थिएन। यो डर उहाँको व्यक्तिगत सोचाइ मात्र होइन, समाजले महिलालाई मूल्याङ्कन गर्ने तरिका र सोचले उत्पन्न भएको हो। हाम्रो समाजमा महिलालाई अझै पनि ‘केही गर्न सक्दैनन्’ भन्ने पूर्वधारणा छ, जसले महिलाको मनोविज्ञानमा गहिरो असर पुर्याउँछ।
आज पनि धेरै महिलाहरू आफ्नो क्षमताबारे आत्मविश्वाससाथ भन्न सक्दैनन्। हामीले कहिल्यै तिनलाई ‘तिमी सक्षम छौ, जहाँ छौ, जे छौ, त्यसमा पनि तिमी योगदान दिइरहेकी छौ’ भनेर हौसला दिन हिचकिचाहट गर्छौँ। यही कारणले कतिपय महिलाहरूमा ‘मैले केही गर्न सकिनँ’ भन्ने भावना जन्मिन्छ। त्यसैले यस्तो सोचको अन्त्य हुनु अनिवार्य छ। महिलाको योगदानलाई सम्मान गर्ने, हौसला दिने र मूल्याङ्कन सही गर्ने समाज निर्माण गर्नु हाम्रो दायित्व हो।
केवल स्वास्थ्य वा अन्य व्यक्तिगत कारणले महिलाले आफ्नो चाहेको लक्ष्यमा तुरुन्त पुग्न नसक्दा समाजले यसलाई असक्षम ठान्नु हुँदैन। महिलाको जीवनमा कुनै पूर्णविराम आएको होइन। सही समयमा, महिलाले आफू अगाडि बढ्न सक्छन्— व्यापार, घरमै बसेर सानो व्यवसाय सञ्चालन गर्न सक्छन् वा जे चाहन्छन् र जेमा रुचि छ त्यसमा सक्रिय हुन सक्छन्।
महिलालाई हौसला दिनु महत्त्वपूर्ण छ। यो दृष्टिकोणले उनीहरूको आत्मविश्वास बढ्छ र हिचकिचाहट घट्छ। कतिपय महिलाहरू ४०–५० वर्षको उमेरपछि पनि नयाँ काम, व्यवसाय वा सामाजिक गतिविधिमा सक्रिय हुन्छन्। तर समाजमा कहिलेकाहीँ ‘तिम्रो समय सकियो, तिमी अब अगाडि बढ्न सक्दैनौ’ भन्ने दृष्टिकोण पाइन्छ। यसले महिलाको मनोविज्ञानमा गहिरो असर पार्छ।
घरमै बसेर पनि महिलाले आफ्नै सानो चिया पसल सञ्चालन गर्न सक्छन्, आफ्ना रुचि र क्षमताअनुसार योगदान दिन सक्छन्। यसका लागि महिला–पुरुष दुवै बराबर हुनुहुन्छ भन्ने बुझाइ आवश्यक छ। कुनै पनि व्यक्तिलाई अवस्था नबुझीकन बाध्यात्मक रूपमा मूल्याङ्कन गर्नुहुँदैन।
कतिपय दिदी–बहिनीहरूको अनुभव छ कि उनीहरू कहिलेकाहीँ बोलाइएको ठाउँमा समयमै नपुगेको वा हतारिनुपर्ने परिस्थितिमा परेका हुन्छन्। यस्तो देख्दा प्रायः ‘तिमी त फुर्सदिलो छौ’ वा ‘काम छैन’ भन्ने टिप्पणीहरू आइरहेका हुन्छन्। तर वास्तवमा महिलाहरू कार्यालय जानु वा घरमै बस्नु कुनै पनि काम नगर्ने संकेत होइन। उनीहरूका कामहरू घरमै भए पनि महत्त्वपूर्ण हुन्छन्।
आजको प्रविधि र सामाजिक सञ्जालको विकासले गर्दा महिलाहरू घरमै बसेर पनि व्यवसाय र व्यापार गर्न सक्षम भएका छन्। कतिपयले लुगाहरू बेच्ने, सिलाइ–बुनाइको काम गर्ने, अचार वा खानाका सामग्री उत्पादन गरी बिक्री गर्ने, तरकारी खेती गर्ने जस्ता व्यवसाय सञ्चालन गर्दै आइरहेको पाइन्छ। यस्ता सिप र व्यवसाय प्रदर्शन देख्दा महिलाहरूले सक्षम र आत्मनिर्भर बन्ने अवसर पाएका छन्।
तर समाजमा कहिलेकाहीँ, घरमै रहेर कुनै काम गर्ने महिलालाई पनि अवमूल्यन कता-कताबाट भइरहेकै हुन्छ। ‘केही गर्न सक्दिनौ’ वा ‘फुर्सदिलो छौ’ भन्ने टिप्पणीले महिलाको मनोविज्ञानमा नकारात्मक असर पार्छ। तर धेरै महिलाहरूले टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता प्लेटफर्ममा आफ्ना उत्पादन र व्यवसायको विज्ञापन गरेर आफ्नो क्षमता देखाइरहेका छन्। यस्ता क्रियाकलापहरूबाट भन्न सकिन्छ कि घरमै बसेर पनि महिलाहरू सक्रिय, सृजनशील र व्यवसायी बन्न सक्छन्।
हरेक कामको आफ्नो महत्त्व हुन्छ र आफ्नो तरिका हुन्छ। त्यसैले कुनै महिलालाई कमजोर ठान्नु, अवमूल्यन गर्नु वा आलोचना गर्नु सही होइन। महिलाहरूले आफ्नो क्षमताअनुसार काम गर्दा हौसला दिनु हाम्रो जिम्मेवारी हो। हामी सबैले हाम्रो सोच बदल्न आवश्यक छ। महिलाले घरमै बसेर केही गर्न सकिन्छ भन्ने हौसला पाउनु पर्छ र उनीहरूको योगदानलाई उचित मूल्याङ्कन गर्नुपर्छ।
कतिपय चर्चित र सार्वजनिक छवि भएका व्यक्तिहरूले पनि बताएका छन्— श्रीमतीका कारण उनीहरूले सफलता हात पारेको, श्रीमतीले आफ्नो लागि धेरै कुराहरू त्यागेको अनुभवले प्रेरणा दिएको। यो सुन्दा महिलाहरू प्रायः प्रफुल्लित हुन्छन् र उत्प्रेरणा प्राप्त गर्छन्। त्यसैले घर, परिवार व्यवस्थापनमा लागेका महिलाहरूले आफ्नो योगदान नकारात्मक रूपमा।
कतिपय महिलाहरू आफ्नो इच्छाले कार्यालयमा काम गर्न जानुहुन्न भने कतिपय बाध्यात्मक परिस्थितिका कारण बाहिर जानु हुँदैन। यसको अर्थ यो होइन कि सबै महिलाले घरमै बस्नुपर्छ वा बाहिर गएर काम गर्नु हुँदैन। महिलाको स्वेच्छा, स्वास्थ्य, परिस्थिति र प्राथमिकताअनुसार उनीहरूको योगदानलाई सम्मान गर्नु पर्दछ।
हरेक महिलाको जीवनमा निर्णयात्मक भूमिका हुनु पर्छ। उनीहरूले आफूलाई सक्षम बनाउनुपर्छ— पढाइ–लेखाइदेखि लिएर सामाजिक, व्यावसायिक वा प्रशासनिक क्षेत्रमा अगाडि बढ्नुपर्छ। कार्यालयमा महिलाको सशक्त उपस्थितिले राज्य र समाजको सञ्चालनमा पनि योगदान पुर्याउँछ। हाम्रो देशमा महिलाहरू अहिले उच्च ओहोदामा पुग्दैछन्। राजनीतिक, प्रशासनिक, व्यावसायिक क्षेत्रमा महिलाहरू बिस्तारै अगाडि बढिरहेका छन्। प्रधानमन्त्री नै महिला हुनु एक ऐतिहासिक उदाहरण हो।
त्यसैले घरपरिवार सम्हालेर बाहिर निस्कन सक्ने महिलालाई प्रोत्साहन गर्नु पर्छ र बाध्यात्मक अवस्थामा रहेकी महिलालाई हतोत्साहित बनाउनु हुँदैन। ‘तिमीले के गर्न सक्यौ?’ वा ‘तिमी असक्षम छौ’ भन्ने टिप्पणीहरूले महिलाको मनोविज्ञानमा नकारात्मक असर पुर्याउँछ।
महिलाले घरमै बसेर, परिवार व्यवस्थित गरेर, व्यवसाय सञ्चालन गरेर वा आफूलाई आनन्दित महसुस गरेर जीवन बिताउन सक्छन्। समाजले यो बुझ्नुपर्छ र कुनै पनि महिलालाई कमजोर वा अवमूल्यन गर्नु हुँदैन। यो लेखको उद्देश्य यो होइन कि महिलाले घरमै बस्नुपर्छ वा घर बाहिर निस्केर काम नगर्दा नि हुन्छ। अवश्य पनि काम गर्नुपर्छ। हरेक महिलाको आफ्नै परिस्थितिहरू, बाध्यता र प्राथमिकता हुन्छ। उनीहरूले स्वास्थ्य, आत्मविश्वास र स्वाभिमानका साथ आफ्नो जीवन अगाडि बढाउन पाउनुपर्छ।