आर्थिक वर्ष २०८२–८३ को ६ महिना (साउनदेखि पुस) मा वाणिज्य बैंकहरूको नाफा १२ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नाफा ३० अर्ब ५२ करोड रूपैयाँ पुगेको छ।
अहिले वाणिज्य बैंकहरूको औसत नाफा एक अर्ब ५५ करोड रूपैयाँ छ।
बीसमध्ये नबिल बैंक नाफा रकमका आधारमा सबभन्दा अग्रस्थानमा छ। बैंकको नाफा ४७ प्रतिशतले बढेर चार अर्ब ७५ करोड रूपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी र प्रति सेयर आम्दानी जस्ता सूचकमा पनि नबिल बैंक अग्रस्थानमा छ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब आठ करोड रूपैयाँ छ।
त्यस्तै, प्रति सेयर आम्दानी ३५.०४ रूपैयाँ छ। बैंकहरूको औसत ब्याज आम्दानी चार अर्ब ७९ करोड रूपैयाँ र औसत प्रति सेयर आम्दानी १६.३ प्रतिशत छ।
अहिले बैंकहरूलाई सबभन्दा धेरै समस्या कर्जा असुलीमा छ। कर्जा असुली प्रभावित भएकाले बैंकहरूको निस्क्रिय कर्जा समेत बढेको छ।
अहिले बैंकहरूको औसत निस्क्रिय कर्जा ५.०९ प्रतिशत छ। चार वाणिज्य बैंकहरूको यस्तो निस्क्रिय कर्जा ७ प्रतिशतभन्दा धेरै छ। नबिल बैंकको यस्तो कर्जा ४.२५ प्रतिशतसम्म छ।
बैंकले हालै पाँच अर्ब रूपैयाँ बराबरको ८ प्रतिशत ब्याजदरको अग्राधिकार सेयर जारी गरेकाले चुक्ता पुँजीमा वृद्धि भएको छ।
यसको चुक्ता पुँजी २७ अर्बबाट बढेर ३२ अर्ब रूपैयाँ पुगेको छ।
यस्तो अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै समय सेयरमा परिणत गर्न समेत सकिने व्यवस्था छ।
यसमा कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुने भन्ने हुन्छ।
यस्तो अग्राधिकार सेयर हुनेलाई अन्य सेयरधनीभन्दा पहिलो प्राथमिकता राखिनुपर्छ। अर्थात् बैंकहरूले सबभन्दा पहिले यस्तो अग्राधिकार सेयरधनीका लागि लाभांश छुट्ट्याउँछन्। त्यसपछि मात्रै अन्य सेयरधनीले पाउँछन्।
चुक्ता पुँजीमा वृद्धि भएसँगै यसको कुल पुँजी कोष अनुपात पनि सुधार भएर १२.७७ प्रतिशत पुगेको छ। यसअघि यो ११.७८ प्रतिशत थियो।
जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात कम्तीमा ८.५ प्रतिशत र कुल पुँजी अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ। अग्राधिकार सेयर जारी सँगै बैंकलाई सयमा सहज अवस्था छ। बैंकसँग केही समयदेखि ३० प्रतिशत हाराहारी तरलता रहेकाले दायित्व भुक्तानीमा सहज अवस्था छ।
अब कुरा गरौं बैंकको सेयर संरचनाबारे।
बैंकको ५८.४४ प्रतिशत सेयर संस्थापक र ४१.५६ प्रतिशत सेयर सर्वसाधारणमा छ। बैंकमा एनबी इन्टरनेसनलको ३९.४४ प्रतिशत, बैंगलादेशी बैंक आइएफएलसीको ७.७७ प्रतिशत, राष्ट्रिय बीमा कमपनीको ७.६३ प्रतिशत र निर्वाण चौधरीको ०.७० प्रतिशत, वरूण चौधरीको ०.६७ प्रतिशत सेयर स्वामित्व छ। यी मुख्य लगानीकर्ता हुन्।
हालै बैंकको अध्यक्ष निर्वाण चौधरी भएका छन्। बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली छन्। हालै बैंकको सञ्चालकमा यसै बैंकका पूर्वप्रमूख कार्यकारी अधिकृत अनिल केशरी शाहसमेत नियुक्त भएका छन्।
नयाँ नेतृत्वसँगै बैंक सञ्चालनमा नयाँ 'सिनर्जी' पाएको बैंकले उल्लेख गरेको छ।
त्यस्तै, बैंकले दोस्रो त्रैमाससम्म कमाएको नाफाको आधारमा वार्षिकीकरण गरिएको लाभांश क्षमता २२ प्रतिशत छ।
बैंकले आर्थिक वर्ष २०८१–८२ को नाफापछि लगानीकर्तालाई १२ प्रतिशत नगद लाभांश दिएको थियो। बैंकको पाँच वर्षको औसत लाभांश दर २०.३ प्रतिशत छ।
बैंकको सेयर २०७८ कात्तिकमा १६६० रूपैयाँसम्म कारोबार भइरहेको थियो।
बिहीबार यसको सेयर भाउ १.०२ प्रतिशतले बढेर ४९७ रूपैयाँमा कारोबार भएको थियो।
गत मंसिरबाट सेयर मूल्य बियरिस प्रवृत्तिमा देखिएको ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाले देखाएको छ। यी दुई रेखाले मूल्यको दीर्घकालीन प्रक्षेपणमा सहयोग गर्छ।
अल्पकालीन पाँच दिने र २० दिने मुभिङ एभरेज रेखाले भने अहिले सेयर केही समय बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ।
केही वर्षदेखि नबिल बैंकको सेयर मूल्यले ४७६ रूपैयाँ आसपासबाट टेवा पाएर बढ्ने गरेको देखिन्छ। अहिले पनि ४८८ रूपैयाँसम्म पुगेर बढ्न थालेको हो।
बिहीबार मूल्य बढे पनि सेयरमा दुवै तर्फ लामो धागो र सानो शरीर भएको मैनबत्ती आकृति बनाएको छ।
यसले लगानीकर्ताहरू मूल्यलाई लिएर अनिर्णयकै अवस्थामा रहेको देखाउँछ। त्यसैले आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ।