‘के हो यो पोष्टमार्टम भनेको?’ धेरै बेरको मौनता पछि आँसु पुछ्दै जून कुमारीले सोधी।
‘केही होइन, डाक्टरले सरसर्ती हेर्छन् अनि लास हाम्लाई दिन्छन्,’ जून कुमारीले सोधेको धेरै बेरपछि उनीतिर हेर्दै नहेरी सुब्बा सापले मसिनो स्वरमा छोटो उत्तर दिए।
‘लास...’ जून कुमारी पछ्यौरीले मुख छोपेर घ्वाँ-घ्वाँ रोइन्।
सुब्बा सापले एक हातले उनलाई अँगालोमा हाले। जून कुमारी सुब्बा सापको काँधमा टाउको राखेर रुन थालिन्। सुब्बा सापले नरोऊ, रुनु हुँदैन केही भनेनन्। उनका आँखाहरू भित्तातिर थिए। भित्तामा केही थिएन, सेतो सादा भीम अस्पताल भैरहवाको भित्ता। आँखाहरू आँसुले भरिएका थिए। थोपा-थोपा बनेर गालातिर आइरहेका थिए।
मान्छेहरू पोष्टमार्टम भवनको बाहिर बेन्चमा बसेका सुब्बा साप र जून कुमारीलाई हेर्दै हिँडिरहेका थिए। कसैले हेरेको नहेरेको, वास्ता गरेको नगरेको सुब्बा सापको जोडीलाई कुनै मतलब नै थिएन।
जून कुमारी अर्घाखाँचीको अर्घातोषबाट आज मात्रै आएकी थिइन्। एक मात्र छोरा आशिषको मृत्यु भएको खबरले एक/दुई पटक मात्र भैरहवा आएकी उनी एक्लै आएकी थिइन्। सुब्बा साप जून कुमारीको श्रीमान्, जो जिल्ला प्रशासन कार्यालय, रुपन्देही, भैरहवामा कार्यरत थिए। उनीहरूको दुई सन्तान, जेठो छोरा आशिष र त्यसपछिकी एउटी छोरी तारा। सानी छोरी गाउँमै, हजुरबुवा र हजुरआमासँगै थिइन्।
अन्दाजी ८ वर्षको हुँदा तत्कालीन खरदार साप हाल सुब्बा साप एकनारायण खनालले छोरालाई बोर्डिङ स्कुल पढाउनुपर्छ भनेर अर्घाखाँचीबाट भैरहवा ल्याई बर्मेली टोल स्थित बोर्डिङ स्कुलमा कक्षा १ मा भर्ना गरेका थिए।
आशिष ८ वर्षको भइसकेको हुनाले अन्य विद्यार्थीभन्दा उमेरले ठुलो थियो। उमेरले ठुलै भएकोले होला पढाइमा राम्रो निस्कियो, ६ महिनामै आशिषलाई कक्षा २ मा राखियो। फेरि कक्षा ३ मा गएर ६ महिनापछि कक्षा ४ मा राखियो। यसरी कक्षा चढाउँदै लगभग आशिषलाई सहरका अन्य बालबालिकाहरूको उमेर अनुसारको कक्षा मिल्ने बनाइयो।
जिल्ला प्रशासन कार्यालय नजिकै एउटा कोठा लिएका थिए सुब्बा सापले। एउटा किचन र एउटा सुत्ने कोठा। उनकी श्रीमती जून कुमारी गाउँमै भएकोले लगभग आशिषलाई तयार पार्ने, खाना बनाउने, भाँडा धुने, नुहाइदिने, कपडा धोइदिने सबै काम सुब्बा सापले नै गर्ने गर्दथे। घरको काम, अफिसको काम, कहिलेकाहीँ साथीभाइहरूसँग जमघटले गर्दा सधैँ नै व्यस्त रहन्थे, सुब्बा साप। सबैतिर लगभग भ्याई नै रहेका थिए। गर्दा गर्दै कहिले स्कुलमा आशिषले नङ नकाटेको, कहिले कपाल लामो भएको र कहिले जुत्ता पालिस नगरेको शीर्षकमा सजाय पाइराख्थे।
एकपटक सुब्बा साप छोरा आशिषलाई लिएर अफिसको पिकनिक गएका थिए। पिकनिकमा अन्य कर्मचारीहरूका श्रीमती र छोराछोरीहरू पनि आएका थिए। आशिष ११/१२ वर्षको हुँदो हो, एकजना कर्मचारीको श्रीमतीले आशिषले घाँटीमा लगाएको सुब्बा सापले काठमाडौँ जाँदा पशुपतिनाथबाट ल्याइदिएको कालो नाइलनको डोरी बाटेर बनाइएको माला हेरौँ त भनेर हेर्दा कालो रङको नाइलनको मालामा लिखा परेको रहेछ। ‘ओहो नि! लिखा परेछ बाबु तिम्रो मालामा त!’ भन्दै ती महिलाले हल्ला गर्दा सबैले थाहा पाएका थिए। सुब्बा साप अलि पर म्यारिजमा जमेको हुनाले सो कुरा थाहा पाएनन्। आशिषले उक्त माला नै फुकालेर फालिदिएको थियो। अन्य केटाकेटीहरूको अगाडि लज्जित, हिनताबोध सबै भएको थियो, आशिषलाई।
समय बित्न कति नै समय लाग्दोरहेछ र! हेर्दा हेर्दै आशिष कक्षा ९ मा पढ्ने भइसकेको थियो। ‘ल! धुवाँ एउटा पनि बाहिर ननिकालेर सबै भित्रै पचाइदिन्छु बे! मैले हेर्’ आशिषको साथी रबिनले आँखा अस्पताल पछाडिको फुटबल ग्राउण्डमा ४/५ जना केटाहरूको माझमा भन्दै चुरोट तानेर धुवाँ सबै भित्र निलेको थियो। एकछिनमा नमज्जाले खोकेको थियो। आशिष र उसका साथीहरूले चुरोट खान सिकेका थिए।
आँखा अस्पताल पछाडिको फुटबल ग्राउण्डमा केटाहरू फुटबल खेल्ने निहुँमा भेला भएर चुरोट तान्ने गर्थे। ‘पारि जाम् न बे एकदिन, अलिक पैसा भाको बेलामा’ आशिषको अर्को साथी निराकारले भन्यो।
‘किन जाने पारि?’ आशिषले सोधेकव थियो।
‘सिनियर दाइहरू किन जान्छ? फेन्सिडिल खान नि, कस्तो मजा आउँछ, उडाइदिन्छ बे! हावामा,’ निराकारले भनेको थियो।
‘शनिबार जाम बे, हुन्न?’ रबिनले भन्यो।
‘ल स्योर जाने’ निराकार बोल्यो।
सल्लाह बमोजिम शनिबार ११ बजे आशिष, रबिन र निराकार आँखा अस्पतालको गेट अगाडि भेट भएर सुनौली बोर्डर गए। निराकार पहिल्यै दुई पटक आइसकेको रहेछ। बोर्डर पारि गएर भित्र गल्लीको मेडिकल पसलमा लग्यो। त्यहाँ उसले २ बोतल नशालु दबाई माग्यो। तीन जनाले बोतलबाटै बराबर खाए। बोर्डर वारि आएर चिया पसलमा चिनी धेरै हाल्न लगाएर चुरोट र चिया खाए। जीवनको पहिलो नशा थियो, आशिषको।
महिन्द्रा जीपमा चढेर तीनै जना आँखा अस्पतालसम्म आइपुगेर दिनभर अस्पताल पछाडिको चौरमा बसेका थिए। दबाईले दिमाग सुस्त बनाएको थियो। तीनै जना ट्वाँ परेर दिनभर चुरोट तान्दै बसे। उनीहरूले त्यहाँ निराकारको सल्लाहमा गाँजा पनि ताने। तीनै जना झनै ट्वाँ परे। फेन्सिडिल र गाँजाको मिश्रणले तीनै जनाको दिमाग सुस्त बनाएकोले लगभग दिनभर टोलाएर बसे।
त्यो पहिलो दिन थियो जुन दिन आशिषले गाँजा र फेन्सिडिल खाएको थियो। साँझमा घर पुग्दा सुब्बा साप आफैँ पनि शनिबार मनाएर आएका रहेछन्। रक्सीले झिमझिम अवस्थामा थिए, आशिषको अवस्था ख्याल नै गरेनन्।
त्यो रुटिन अब हरेक शनिबार हुन थाल्यो। सिरानीमुनि राखेको सुब्बा सापको पैसा बिस्तारै हराउन थालेको थियो तर त्यसको खबर सुब्बा सापले कहिल्यै पाएनन्। कहिले पनि पैसा हराउला, छोराले चोर्ला भनेर सुब्बा सापको दिमागमा नआउने हुनाले पैसा हराएको नहराएको ख्याल नै गरेनन्। सुब्बा सापको पैसा गनेर राख्ने बानी पनि नभएको हुनाले पैसा हराएको ख्याल नै भएन।
‘आशुतोष दाइहरूले त ब्राउन तान्छ बे! रोयल हुन्छ रे! त्यसको ट्रिप,’ रबिनले एक दिन सुनायो।
‘त्यै भएर है! त्यो दाइहरू लास्ट कुल भएर हिँड्छ, ड्रेसअप पनि दामी,’ निराकारले भन्यो।
‘हामी पनि एक ट्राई हानम क्या बे!’ आशिष हौसियो।
उनीहरूले आउँदो शनिबार किन्ने योजना बनाएर सोही अनुरूप पैसा लिएर आउन निराकारले भन्यो। उनीहरूसँग नशालु दबाई किन्ने पैसा हुने कुरा भएन। त्यसैले बुटवलको सिद्धबाबा घुम्न जान भनेर पैसा माग्ने भए।
९ कक्षा पढ्दै गर्दा ब्राउन सुगर खाने योजना भयो केटाहरूको। पढाइमा ठिकै थियो आशिष। निराकार, आशिष र रबिन एउटै कक्षामा पढ्ने साथी। निराकार गुप्ता रैथाने गल्ला मण्डीमा घर भएको, रबिन थापा लाहुरेको छोरा, बर्मेलीटोलमा घर भएको र आशिष खनाल सुब्बा सापको छोरा। अन्य २ जनाको तुलनामा आशिष खनालको आर्थिक स्थिति कमजोर भएता पनि जिल्ला प्रशासन कार्यालयको सुब्बा सापको छोरा भएकोले आशिषको पनि साथीहरू बीचमा राम्रै प्रतिष्ठा थियो।
शनिबार योजना मुताबिक नै भयो। बुटवलको सिद्धबाबा जाने भनेर तीनै जनाले घरबाट २/२ सय रुपैयाँ लिई आई निराकारमार्फत ब्राउन सुगर खरिद गरे। गाँजा जस्तो खुला ठाउँमा सेवन गर्न नमिल्ने हुनाले गल्लामण्डीको पछाडि मन्दिरमा गएर ब्राउन सुगर सेवन गरे। तीन जनाको यात्रा यहाँसम्म आइपुगिसकेको थियो। घरमा भने अझै पनि उनीहरू बालक नै थिए। केही थाहा नभएको अबोध बालक जस्तै।
सुब्बा साप एकपटक कार्यालयमा भएको बेलामा जिल्ला प्रहरी कार्यालयबाट फोन आयो, ‘सुब्बा साप, म जिप्रकाबाट इन्सपेक्टर भुसाल हो, यो आशिष भन्ने तपाईँको छोरा हो?’
‘हजुर हो,’ अकमकिँदै सुब्बा साप बोले।
‘सुनौलीबाट समातेर यहाँ ल्याको छ, तपाईँको छोरा हो भन्छ, फेन्सिडिल खाएर आको रे पारिबाट! के गर्ने हो यसलाई!’
‘हजुर......’ बोली फुटेको थिएन सुब्बा सापको।
‘तपाईँ यहाँ आउनुस् न त।’
खाजा खाने निहुँ पारेर सुब्बा साप जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा पुगेका थिए।
‘नमस्कार हजुर, म सुब्बा एकनारायण खनाल।’
‘ए ए..सुब्बा साप! के हो छोरा त सुरु गरेछ नि!’ सुब्बा सापलाई तलदेखि माथिसम्म हेर्दै इन्सपेक्टरले भने, ‘ए बाबु! त्यो सुनौलीबाट ल्याको केटाहरूलाई ल्या त जा... हिरासतबाट।’
एकै छिनमा प्रहरी जवानले लुसुक्क परेका रबिन र आशिषलाई ल्याए।
‘अलिक राम्रो हेरचाह भएन कि सुब्बा साप, केटा त पारि जान लागेछ,’ इन्सपेक्टरले थपे।
सुब्बा साप केही बोलेनन्। हेरचाह भएन भन्ने शब्दले नै पुगिसकेको थियो उनलाई। बोल्न शब्द नै पाएनन्। कहाँबाट झल्यास्स आशिषको आमा जून कुमारीलाई सम्झिन पुगेछन्।
‘ओ सुब्बा साप...’ जोडले आएको आवाजले झल्यास्स भएका थिए उनी।
‘हजुर हजुर...’
‘ल लगेर जानुस्! अब तपाईँ सुब्बा साप भएकोले इज्जत राख्देको छम्, लगेर सम्झाउनुस् छोरालाई,’ इन्सपेक्टरले भने, ‘बाउको इज्जत माटोमा मिलाउने भइस् केटा तैँले, अब फेरि आइस् भने मुद्दा चलाइदिन्छु।’
रबिन थापाको अझै कोही आएको छैन रहेछ। आशिषलाई मात्रै बुझी लिई आएका थिए सुब्बा सापले।
रिक्सामा कोठातिर आउँदा बाटोमा केही बोलेनन्। स्कुल पठाएको आशिष सुनौलीपारि भारत गएर फर्किँदा सुनौलीको प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पठाइदिएको रहेछ।
‘काँ याँ राखेर हुन्छ छोरालाई, यसलाई त भैरहवा लगेर बोर्डिङ स्कुल पढाएर ठुलो मान्छे बनाउने हो,’ जून कुमारीलाई भनेको झलझली सम्झिए सुब्बा सापले।
‘क्यार्न लग्न परो, बरा यत्रो बालकलाई अरुका बालकहरू यहीँ पढेर पनि भाकै छ त, तैँ भइस् सबैभन्दा जान्ने’ भनी आमाले भनेको याद आयो।
‘आइगवा भैया जी, १० रुपैयाँ होइगवा,’ रिक्सावालाको आवाजले झसङ्ग भएका थिए सुब्बा साप।
दुवै जना नबोली नबोली नै कोठामा गए।
‘नुहा जा, नमिठो गन्ध आइरहेको छ, तेरो शरीरबाट।’
‘एकैछिन है बुवा! म आइहालेँ’ भन्दै आशिष बाहिर निस्केको थियो, साँझसम्म आएन। कहाँ खोज्ने? सुनौली बोर्डरतिर गई बसपार्क वरिपरि र दशगजा क्षेत्रतिर हेरे, कहीँ कतै भेटिएन, आशिष। राति नै भएकोले कोठामा आएर भोकै सुतेका थिए सुब्बा साप। भोलिपल्ट बिहानसम्म समेत आएन। खाना पकाउन पनि मन लागेन। अगाडि ठेलामा दुईवटा सुक्खा रोटी र तरकारी खाएर अफिस गएका थिए।
अफिसको ल्याण्डलाइनमा फोन आयो- ‘सुब्बा साप! नमस्कार हजुर, म बेलहिया प्रहरी कार्यालयबाट हो, एकजना १४/१५ वर्षको केटाको लास फेला परेको छ, दशगजामा। एकजना भाइले तपाईँको छोरा हो भन्छ, आएर हेर्दिनु पर्यो हजुर।’
त्यसपछि केही सुनेनन् सुब्बा सापले। कति बेला अफिसबाट निस्किए, कति बेला सुनौली जाने जीप चढे केही होश पाएनन्। प्रहरी कार्यालयमा पुगेपछि एकजना प्रहरी जवानले सुनौली बोर्डरको उत्तर पूर्वतर्फ रहेको दशगजातिर लग्यो। दशगजा किनारै किनार रहेको बाटो हुँदै एउटा खेतमा पुर्यायो।
स्थानीय मानिसहरू र प्रहरीले घेरेर एउटा लास राखिएको थियो। भिड छिचोल्दै लास भनिएको शरीरलाई हेरे। आशिष नै थियो। पूर्व टाउको पश्चिम खुट्टा गरी उत्तानो अवस्थामा। आँखाहरू बन्द थिए। शान्त। दाहिने हातको कमिजको बाउला पाखुराभन्दा माथि सारिएको थियो। पाखुरामा बेल्ट कसेको थियो। नजिकै खाली सुई थियो। साथै फोडिएको लागुऔषध।
उनी थचक्क बसे। अनुहार हेरे, मान्छेहरूतिर हेरे, प्रहरीतिर हेरे, फेरि आशिषतिर हेरे। लासमाथि घोप्टो परेर घ्वाँ-घ्वाँ रोए।
‘हजुर, लासको अनुसन्धान हुन बाँकी नै छ’ भन्दै एकजना प्रहरीले समातेर छेउमा बसालेका थिए सुब्बा सापलाई।
‘ओहो, ह्याँ पो हुनुहुँदोरहेछ, पानी खानुस्’ भन्दै अफिसको पिएन जीवनारायण पोष्टमार्टम भवनको अगाडि आएर मिनरल वाटरको बोतल तेर्स्याएपछि झसङ्ग भए सुब्बा साप। बोतल लिएर जून कुमारीलाई दिए। जून कुमारीले इन्कार गरिन्। आधा बोतल पानी सुब्बा सापले घ्वाट घ्वाट पिए।
‘हजुरहरूको लास जिम्मा दिएको कागज छ होला नि! प्रहरी कार्यालयमा जाहेरी दिएपछि पाएको, त्यो दिनुस् त म फोटोकपी गरेर दिन्छु, पोष्टमार्टम भइसक्यो, दाहसंस्कारको लागि लास लैजान सक्नुहुन्छ है तपाईँहरूले,’ सेतो एप्रोन लगाएको मान्छे बोल्यो।
‘खास के भएको रहेछ हजुर, बाबुलाई?’ सुब्बा सापले सोधे।
‘ड्रग ओभरडोज भएको हो, त्यो सुईमार्फत ड्रग लिनेहरूको रगत सप्लाई राम्रो हुँदैन, रगत सप्लाई राम्रो नभएपछि दिमागमा पुग्नुपर्ने अक्सिजन पुग्दैन, दिमागले काम गर्न छोड्छ, श्वास प्रश्वासमा समस्या हुन्छ, जसको कारणले मृत्यु हुन्छ, त्यही भाको हो हजुर यो बालकको’ भनेर सेतो एप्रोन लगाएको मान्छे लास जिम्मा लगाएको कागज लिएर हिँड्यो।
सुब्बा सापले जून कुमारीतिर हेरे। जून कुमारी भित्तामा टाउको अडेस लगाई अर्कोतिरको भित्ता हेरी टोलाउँदै थिइन्। आँखाहरू सुन्निएका थिए। सुब्बा सापले पिएन जीवनारायणतिर हेरे।
‘लौ अब रोएर कराएर हुँदैन, दाहसंस्कार गर्दिनु पर्छ सर, आत्माको शान्तिको लागि पनि,’ जीवनारायण बोले।
हेर्दा हेर्दै ९/१० जना मानिसहरू जम्मा भए। जून कुमारीलाई जीवनारायणको श्रीमतीले सम्हालिन्। स्वर्गद्वारी शान्तिनगर घाट लगियो। सुब्बा साप केही गर्ने हालतमा थिएनन्। जून कुमारीको त झन् के पो कुरा गर्नु! जता-जता डोर्यायो उतै गई रहेकी थिइन्। अनुहार पुरै शून्य। सबै काम जीवनारायणले गरिरहेका थिए।
‘घरमा के भन्नी होला नि, बुवा-आमाले खोइ नाती भनेर सोधे भने?’ जून कुमारी बोली।
सुब्बा साप दाउरामाथि राखेको लास हेर्दै घोरिइरहेका थिए। जून कुमारीको प्रश्नले पनि खोइ केही असर गरेन। टोलाएरै लास तिरै हेरी बसिरहे।
‘अनि ओ... बोर्डिङ स्कुल पढाउने, ठुलो मान्छे बनाउने भनेर ल्याको हैन र हजुरले, मलाई ढाँट्नु भयो, यस्तो बनाउनु भयो छोरालाई,’ जून कुमारी विद्रोही बन्दै थिइन्।
सुब्बा साप भावविहीन पहिले जस्तै।
‘त्यत्रो सानो बालकलाई सहरमा यही गर्नलाई, यही देखाउनलाई ल्याको हजुरले? म अब कसरी बाँच्ने होला?’ भन्दै झ्याप्पै सुब्बा सापको कपाल समातेर जगल्टाउन पो थालिन्। सुब्बा सापले कुनै विरोध नै गरेनन्। टाउको जता-जता जून कुमारीले घुमाइदिइन् उतै। बल्ल आवाज निकालेर घ्वाँ-घ्वाँ रोए सुब्बा साप।
जून कुमारीलाई जीवनारायणको श्रीमतीले जोडले समातेर बसालिन्। सुब्बा सापले दाउरामाथि मिलाएर राखिएको १५ वर्षको छोरालाई दागबत्ती दिए, आगो लगाए। ह्वारह्वार्ती आगो सल्कियो। एकछिनमा सबै खरानी।
‘म यो कोठामा बस्दै बस्दिनँ, म भरखरै अर्घाखाँची जान्छु, मलाई बस चढाइदिनुस्,’ साँझको ९ बजे कोठामा झोला बोक्दै जून कुमारीले भनी।
‘त्यसो नभन जून, म पनि टुटिसकेको छु, मलाई अझै टुक्रा-टुक्रा नबनाऊ। अब म हेर खरदारबाट जागिर खाको, छोरा पढेर शाखा अधिकृत बनाउने मेरो धोको थियो। शाखा अधिकृतको शान देखेर मेरो छोरा पनि त्यस्तै बनोस् भनेर यहाँ पढाउन ल्याको हो। अहिले यति राति बस पाइँदैन जून, भोलि बिहानै जाउँला जाने नै हो भने,’ सुब्बा सापले सम्झाउने कोसिस गरे।
जून कुमारी थचक्क भुइँमै बसिन्। भित्तामा अडेस लगाएकी थिइन्, एकछिनमा निदाइछिन्। सुब्बा साप कुर्सीबाट झ्याल बाहिर हेर्दै टोलाउँदै थिए।
‘म... म हारेँ जून, मैले सकिनँ, तिम्लाई पनि सँगै ल्याको भए हेरचाह पुग्थ्यो बाबुलाई, मैले एक्लै सकिनँ। आमा र बाबा दुइटै बन्छु भन्दा भन्दै पनि पक्कै धेरै ठाउँमा चुकेँ, त्यही भएर त यस्तो भयो। म हारेँ नानी, म हारेँ, मैले सकिनँ,’ एक्लै बरबराउँदै थिए सुब्बा साप। एकछिनमा कुर्सीमै निदाएछन्।
‘बिहान भयो, म यहाँ बस्दै बस्दिनँ, मलाई गाडी चढाइदिनुस्।’
झसङ्ग भए सुब्बा साप, ब्युँझिए। घडी हेरे, बिहानको ४ बजेको रहेछ।
‘बल्ल ४ बज्यो अँध्यारै छ, ७ बजे मात्र बस छुट्छ नानी, एकछिन नआत्तिऊ न।’
‘हैन हैन! म त नभा एक्लै नि गएँ, पुर्याउन पर्दैन कसैले, मेरो छोरालाई खाइहाल्यौ’ भन्दै जून कुमारी ढोका खोलेर बसपार्क नदेखेता पनि सुइ-सुइ हिँडिन्। सुब्बा साप पछि-पछि गए। एकछिनमा बसपार्क पुगे।
शून्य थियो बसपार्क, अलिअलि मान्छेहरू थिए। मात्र ५ बजेको थियो। अँध्यारै थियो। एउटा बेन्चमा बसे। दुबै जना मौन।
‘भयो भो आबो, हजुर पनि जाऊँ, अब केको लागि बस्नुहुन्छ यहाँ? घरमै जाम भो, म एक्लैलाई गाह्रो हुन्छ घरमा, बुवा-आमाको हाल झन् के हुने होला?’ सम्हालिएर कुरा राखिन् जून कुमारीले।
धेरै बेरपछि बल्ल बोले सुब्बा साप– ‘म अफिसमा अहिले १० बजे गएर बिदा मिलाएर आउँछु, सँगै जाउँला भनेको तिमी आत्तियौ।’
‘अहँ! म यो सहरमा बस्न सक्दिनँ अब, हुन्छ म जाँदै गर्छु हजुर आउँदै गर्नुस्, मेरो सास जाला जस्तो भइसक्यो यो सहरमा, यो सहरले मान्छे खाँदोरहेछ, मेरो छोरा खायो,’ फेरि रुन लागिन्। सुब्बा साप केही बोलेनन्।
मौनतामै बिस्तारै उज्यालो भयो। मान्छेहरूको भिड बढ्न थाल्यो। सुब्बा सापले काउन्टरमा गएर एउटा टिकट लिए। जून कुमारी बस चढिन्। बस अर्घाखाँचीको लागि हिँड्यो। एकछिन उभिएर बस ओझेल नहुन्जेल हेरी रहे। ओझेल भइसकेपछि पनि उभिएर बस गएकै दिशातर्फ हेरी टोलाइरहे। एउटा बसको हर्न बज्यो। झसङ्ग भएर बल्ल हिँडे सुब्बा साप।
कोठामा पुगे, नेपाली कागज खोजेर लेख्न सुरु गरे। राजीनामा तयार भयो। १० बजे अफिस पुगेर सिडिओ सापको अफिसकोठामा गएर राजीनामा टेबलमा राखिदिए। सिडिओ सापले केही कुरा भनिरहेका थिए। केही बुझेनन् सुब्बा सापले। मुख मात्रै चले जस्तो मात्र पो देखे।
उनी सिधै मूलबाटोमा आएर बुटवल जाने बस चढे। बस हिँडेपछि बिस्तारै पाल्पा नवलपरासी तिरका पहाडहरू देखिन थाल्यो। लामो सास फेरे। पहिलो पटक आशिषलाई भैरहवा ल्याउँदा ३/४ पटक बान्ता गरेको थियो, बसको झ्यालबाट। सडक, घरहरू देखेर दङ्ग परेको थियो।
‘भाडा पाऊँ हजुर,’ सुब्बा साप फेरि झस्किए। हर्न बजाउँदै अञ्चलपुर, ठुटिपिपल हुँदै बस बुटवलतिर हुँइकिँदै थियो। बसको झ्यालबाट हेर्दा सम्म परेका खेतहरू, बाटो छेउका घरहरू पछाडि छुट्दै गइरहेका थिए, आशिषका यादहरू बाहेक।
जून कुमारीले भनेको कुरा पटक-पटक सुब्बा सापको दिमागमा आइरहेको थियो-
‘यो सहरले मान्छे खाँदोरहेछ, मेरो छोरालाई खायो!’
‘यो सहरले मान्छे खाँदोरहेछ!’
उत्तरतिर पहाडहरू अझै नजिक हुँदै गइरहेका थिए।