बेइजिङ डायरी
सन् २०२५ बिदा भएर नयाँ वर्ष सुरू भएको लगभग एक महिना हुन लागेको छ। यस अवधिमा गत वर्ष कस्तो रह्यो भनेर विभिन्न कोणबाट लेखाजोखा भइरहेका छन्।
अहिलेको विश्वलाई अर्थतन्त्रले नेतृत्व गरेको छ। प्रयोगमा 'भूराजनीति' भन्ने शब्द लोकप्रिय भए पनि 'भूअर्थतन्त्र' चाहिँ विश्व व्यवस्थामा सशक्त बनेको छ।
उदाहरणका रूपमा हेर्ने हो भने अमेरिकाले भेनेजुएलामाथि गरेको हस्तक्षेप राजनीतिक थिएन, आर्थिक थियो। तसर्थ, अहिले राजनीतिक मुद्दाभन्दा आर्थिक मुद्दा सशक्त बन्दै गएको छ।
विश्वको सबभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने दोस्रो ठूलो चीन हो। अबका केही वर्षमै अमेरिकालाई उछिनेर चीन सबभन्दा ठूलो अर्थतन्त्र बन्नेछ भनेर अर्थबेत्ताहरूले भविष्यवाणी गरिसकेका छन्।
विगत दुई दशकमै चिनियाँ अर्थतन्त्रको वृद्धि विश्वलाई आश्चर्य बनाउने खालको छ। कोभिड महामारीपछि देखिएका अड्चन र तगाराहरू पार गर्दै चिनियाँ अर्थतन्त्रले निकै ठूलो छलाङ मारेको छ।
गत वर्ष, सन् २०२५ मा चीनले ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्यो। सन् २०२६ जनवरी १९ मा चीन सरकारले उक्त घोषणा गरेको हो। चीनको उक्त घोषणापछि अन्तर्राष्ट्रिय समुदायले 'अपेक्षा गरेभन्दा राम्रो वृद्धि' र 'अत्यधिक लचक' भन्दै चिनियाँ अर्थतन्त्रको व्यापक प्रशंसा गरेका छन्।
सन् २०२५ मा चीनको कुल गार्हस्थ्य उत्पादन अर्थात् जिडिपी १४०.१९ ट्रिलियन युआन (२०.१२ ट्रिलियन डलर) पुगेको छ। यो सन् २०२४ कोभन्दा ५ प्रतिशतको वृद्धि हो।
अत्यन्त जटिल र गम्भीर घरेलु तथा अन्तर्राष्ट्रिय वातावरणको सामना गर्दै चीनले यस्तो महत्वपूर्ण आर्थिक वृद्धिदर हासिल गरेको हो।
चीनमा प्रतिव्यक्ति आम्दानी ४३,३७७ युआन छ। यो सन् २०२४ को तुलनामा ५ प्रतिशतले बढेको छ।
वार्षिक औसत सहरी बेरोजगारी दर ५.२ प्रतिशत छ र उपभोक्ता मूल्य सूचकांक स्थिर छ। चीनमा सन् २०२५ अन्त्यसम्मको जनसंख्या १ अर्ब ४० करोड ५ लाख पुगेको छ। सहरीकरण दर ६७.८९ प्रतिशत छ।
अहिलेको प्रतिकूल अवस्था र विश्वव्यापी आर्थिक ढाँचाभित्र ५ प्रतिशतको आर्थिक वृद्धि अविश्वसनीय छ। विशेषगरी कोभिड महामारीपछि विश्व अर्थतन्त्र अझै राम्ररी तंग्रिन सकेको छैन।
ठूला अर्थतन्त्र भएका मुलुकहरू अहिले पनि आर्थिक शिथिलताको चपेटामा गुज्रिरहेका बेला चीनले प्राप्त गरेको आर्थिक प्रगतिलाई धेरैले आश्चर्यजनक भनेर टिप्पणी गरेका छन्। तथ्यांकहरू विश्लेषण गर्दा चिनियाँ अर्थतन्त्रको वृद्धिदर कोभिड अगाडिकै अवस्थामा पुगेको पुष्टि हुन्छ।
सन् २०२५ चीनको १४ औं पञ्चवर्षीय योजनाको अन्तिम वर्ष थियो। त्यही वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन अर्थात् जिडिपी पहिलो पटक १४०० खर्ब युआन पार गरेको छ।
चीनले चौधौं पञ्चवर्षीय योजनाको अन्तमा आर्थिक र सामाजिक विकासका लागि मुख्य लक्ष्य र कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ। फलतः चौधौं पञ्चवर्षीय योजनाको सफल समापन र पन्ध्रौं पञ्चवर्षीय योजनाको सबल सुरूआत भएको भन्दै चीन सन्तुष्ट देखिन्छ।
चीनको आर्थिक वृद्धिदर विश्वका प्रमुख अर्थतन्त्रमध्ये उच्चतम स्थानमा छ। चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रको सबभन्दा स्थिर र भरपर्दो इन्जिन हो, जसले विश्व आर्थिक वृद्धिमा ३० प्रतिशत योगदान दिँदै आएको छ। अहिले प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूले चीनको आर्थिक वृद्धिका लागि आफ्नो पूर्वानुमान क्रमिक रूपमा सुधार गरेर बढाएका छन्।
चीनजस्तो ठूलो अर्थतन्त्रको मेरूदण्ड उत्पादन र व्यापार हो। सन् २०२५ मा चीनको कुल आयात र निर्यात वस्तु व्यापारको मूल्य ४५ ट्रिलियन युआन (लगभग ६.५२ ट्रिलियन अमेरिकी डलर) नाघेको छ।
अमेरिकी नेतृत्वले चलाएको आर्थिक संरक्षणवाद र अवरोधका बाबजुद पनि चीनले यस्तो उपलब्धि हासिल गरेको हो। चीनको वैदेशिक व्यापार मात्रा लगातार ९ वर्षदेखि वृद्धि हुँदै आएको छ।

गत वर्ष पाँच मध्य एसियाली देशहरूसँगको चीनको व्यापार पहिलो पटक १ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।
विश्वव्यापी आर्थिक वृद्धिदर सुस्त हुँदा र अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा गम्भीर अवरोधहरू रहिरहँदा पनि चीन–मध्य एसिया आर्थिक र व्यापारिक क्षेत्रमा आएको वृद्धिले अर्थतन्त्रको भविष्य एसियातिर केन्द्रित भएको पुष्टि हुन्छ।
चीन र मध्य एसियाली देशहरूबीचको सम्बन्ध द्रुत गतिमा विकास हुनु, चीन–मध्य एसिया संयन्त्रमा सुधार आउनु, (बेल्ट एन्ड रोड इनिसिएटिभ) बिआरआई अन्तर्गतको सहयोग निरन्तर अगाडि बढ्नु र जनस्तरको आदानप्रदान झन् नजिक हुनुले विश्व अर्थतन्त्रको केन्द्रबिन्दु एसिया बन्न थालेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरूलाई चीन छोड्न दबाब दिइरहेका छन्। अमेरिकी नीति विरूद्ध अमेरिकी कम्पनीहरूले चाहिँ चीनमा लगानी बढाउँदै आएको देखिन्छ।
चीनमा रहेको अमेरिकी चेम्बर अफ कमर्सले जारी गरेको हालैको एक सर्वेक्षणले चिनियाँ बजारको वृद्धिप्रति चीनमा रहेका अमेरिकी कम्पनीहरूको आशा उल्लेखनीय वृद्धि देखाएको छ। गत वर्ष आधाभन्दा बढी अमेरिकी कम्पनीले नाफा हासिल गर्ने अपेक्षा गरेको अथवा नाफा गरिसकेको बताएका थिए।
त्यसैगरी ७० प्रतिशतभन्दा बढी कम्पनीहरूले चीनबाट आफ्नो सञ्चालन स्थानान्तरण गर्ने विचार नगरेको र ६० प्रतिशतले चीनमा आफ्नो लगानी बढाउने योजना बनाएको उक्त प्रतिवेदनमा उल्लेख छ। धेरै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको विशाल बजार र नवीन उत्पादन क्षमताले विदेशी लगानी आकर्षित गरेको बताएका छन्।
विश्व प्रसिद्ध लेखा फर्म 'केपिएमजी' ले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार ७० प्रतिशत बहुराष्ट्रिय निगमहरू आगामी ३ देखि ५ वर्षमा चीनमा आफ्नो विकास सम्भावनाहरूप्रति विश्वस्त छन् र ९४ प्रतिशत बहुराष्ट्रिय निगमहरूले चिनियाँ बजारमा गरेको लगानी जारी राखेका छन्।
विश्वव्यापी अर्थतन्त्रका लागि उनीहरूको अपेक्षाको तुलनामा, बहुराष्ट्रिय निगमहरू चीनको आर्थिक सम्भावनाहरूप्रति बढी आशावादी छन्। चीनले ठोस कार्यद्वारा विदेशी लगानीकर्ताको विश्वास जितिरहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
चिनियाँ अर्थतन्त्र बुझ्न वर्तमान अवस्था र दीर्घकालीन प्रवृत्ति दुवैलाई विश्लेषण गर्नुपर्छ। अहिले विश्वव्यापी भूराजनीतिक तनाव र बढ्दो व्यापार संरक्षणवाद एकआपसमा जोडिएका छन्। जसले जटिल र चुनौतीपूर्ण बाह्य वातावरण सिर्जना गर्छ। यता चीनको दीर्घकालीन आर्थिक वृद्धिका लागि सहज अवस्था र आधारभूत प्रवृत्तिहरू परिवर्तन भएका छैनन्।
चीनको वाणिज्य मन्त्रालयले जनवरी २२ तारिख (माघ ८ गते) बेइजिङमा गरेको पत्रकार सम्मेलनमा जनाए अनुसार सन् २०२५ मा चीनले १९० वटा देश तथा क्षेत्रहरूमा ५० हजार वटाभन्दा धेरै उद्यमहरू स्थापना गरेको छ।

त्यसैगरी सन् २०२५ मा चीनमा भित्रिएको वैदेशिक लगानी लगातार ९ वर्षदेखि विश्वको शीर्ष तेस्रो स्थानमा छ। गत वर्ष चिनियाँ व्यवसायीले चीन बाहिर गरेको प्रत्यक्ष लगानी १ खर्ब ७४ अर्ब ३८ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको तुलनामा यस्तो लगानी ७.१ प्रतिशतले वृद्धि भएको छ।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता ह योङछ्यानले बताए अनुसार सन् २०२५ मा बिआरआई मार्फत भएको चिनियाँ उद्यमको विदेशी लगानीले स्वस्थ, स्थिर र व्यवस्थित विकास कायम राखेको छ।
विदेशमा लगानी गर्ने चिनियाँ उद्यमहरूले सक्रिय रूपमा आफ्नो सामाजिक जिम्मेवारी बहन गर्दै प्रतिवर्ष औसतमा २० लाख चिनियाँ युआनभन्दा बढी लगानी गरेर कारखाना स्थापना गरेका छन्।
त्यस्ता चिनियाँ उद्यमहरूले ठूलो संख्यामा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र जनजीविकोपार्जन सुविधा निर्माणमा लगानी गरेका छन्। यसले आतिथ्य देशका सबै क्षेत्रबाट व्यापक प्रशंसा पाएको छ।
आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपणसँगै सन् २०२६ मा चीनले अझ सक्रिय वित्तीय नीतिहरू लागू गर्ने घोषणा गरेको छ। अर्थतन्त्रको कुल मात्रा बढाउने, अधिक उत्कृष्ट संरचना बनाउने, प्रभावकारिता सुधार गर्ने र अर्थतन्त्रमा प्रेरक शक्ति बलियो बनाउने नीतिले चिनियाँ अर्थतन्त्रलाई अझै सक्रिय र विस्तारित गर्ने कुरा नयाँ नीतिमा उल्लेख छ।
चीनको अर्थ मन्त्रालयका उपमन्त्री लियाओ मिनले केही दिन अगाडि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
उनका अनुसार सन् २०२६ मा चीनमा वित्तीय घाटा, कर्जाको कुल आकार र खर्चको कुल मात्रा आवश्यक स्तरमा स्थिर राखेर कुल खर्चको वृद्धि सुनिश्चित गर्नेछ। चीनले केही समय अगाडिदेखि दोहोरो सर्कुलेसन नीति अगाडि ल्याएको छ।
चीनलाई विश्वको कारखाना मानिन्छ। चीनमा उत्पादित वस्तु संसारको हरेक कुनामा पुगेकै हुन्छन्। निर्यातमुखी चिनियाँ अर्थतन्त्र हुँदा कहिलेकाहीँ नोक्सान पनि हुने रहेछ भन्ने कुरा चीनले अमेरिकामा डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति भएपछि थाहा पाएको हो।
जब ट्रम्पले चीनका विरूद्धमा भन्सार कर बढाउने नीति लिए तब चीनले आफ्ना महँगा उत्पादन बेच्न बजारको अभाव महसुस गर्यो। त्यसपछि चीन सरकारले आफ्ना नागरिकलाई महँगा उत्पादनहरू स्वदेशमा उपभोग गरेर अर्थतन्त्र चलायमान राख्ने नीति अगाडि सार्यो।

यसो गर्दा कलकारखानाहरू नियमित चल्ने, बेरोजगारीदर कम हुने, अत्यधिक बचत गर्ने नागरिकको पैसा बजारमा आउने, चीनमै उत्पादित महँगा वस्तु बाहिर पठाउन नपर्ने आदि कारणले चिनियाँ अर्थतन्त्र बाहिर प्रभावबाट मुक्त रहने भयो। त्यसैले उत्पादित वस्तु निर्यात गर्ने र आन्तरिक बजारमा बढी खपत गर्ने नीति नै दोहोरो सर्कुलेसन नीति हो।
यो दोहोरो सर्कुलेसन नीति चीनले अझै सशक्त बनाउने प्रयास गरिरहेको छ। चीनमा अझै पनि मागभन्दा आपूर्ति बढी देखिन्छ। यस्तो भएमा आर्थिक मन्दीको सम्भावना रहन्छ।
यही विषयमा चीनको राष्ट्रिय विकास सुधार समितिका उपप्रमुख वाङ छाङलिनले चीनको आर्थिक सञ्चालन अवस्था सम्बन्धमा विश्लेषण सहित व्याख्या गरेका छन्।
उनका अनुसार हाल चीनको आर्थिक सञ्चालनमा आपूर्ति बलियो र माग कमजोर देखिएकाले भविष्यमा चीनको आन्तरिक आवश्यकतालाई विस्तृत पार्न विशेष गरी आवश्यक संरचना सुधार पार्नुपर्ने छ।
चीनमा नयाँ चरणको प्राविधिक क्रान्ति र उद्यम सुधारको आवश्यकता अनुसार यस वर्ष चीनको राष्ट्रिय विकास सुधार समितिले सन् २०२६ देखि सन् २०३० सम्म आन्तरिक आवश्यकता विस्तृत पार्ने योजना तय गरेको छ।
चिनियाँ अर्थतन्त्र वृद्धिको अर्को तत्व चिनियाँ कृषि प्रणाली पनि हो।
कुनै बेला चीनमा भोकमरीको व्यापक समस्या थियो। अहिले चीनले आफ्ना नागरिकलाई पुग्ने अन्न उत्पादन गरिरहेको छ। त्यति मात्र होइन, चीनले अफ्रिकी र एसियाली मुलुकहरूलाई पनि खाद्यान्न सहयोग गरिरहेको छ।
माघ ८ गते चिनियाँ राज्य परिषद प्रेस कार्यालयले गरेको पत्रकार सम्मेलनमा चीनमा खाद्यान्न उत्पादनबारे विस्तृत जानकारी दिइयो। बताइए अनुसार सन् २०२५ मा चीनको खाद्यान्न उत्पादन ७ खर्ब १४ अर्ब ४५ करोड किलोग्राम पुगेको छ। अघिल्लो वर्षको तुलनामा ८ अर्ब ४० करोड किलोग्रामले अन्न वृद्धि भएको हो। सन् २०२४ मा पनि ७ खर्ब किलोग्रामभन्दा बढीले वृद्धि भएको थियो।
चिनियाँ अर्थतन्त्रसँग घनिष्ठ जोडिएको अर्को महत्वपूर्ण उद्योग हो मनोरञ्जन क्षेत्र। मनोरञ्जन क्षेत्र विशेषगरी चलचित्र उद्योगले चिनियाँ अर्थतन्त्र दरिलो टेवा दिएको मात्र होइन, चिनियाँ संस्कृति र चिनियाँ चालचलनलाई विश्वव्यापी बनाउने काम पनि गरेको छ।
चीनको चलचित्र प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार, सन् २०२५ मा चिनियाँ चलचित्र उद्योगको मात्रा ८ खर्ब १७ अर्ब २५ करोड ९० लाख चिनियाँ युआन पुगेको छ। यो मात्राले विश्व चलचित्र उद्योगमा सबभन्दा शीर्ष स्थान लिएको छ।
कुनै पनि देशको आर्थिक र सामाजिक विकास सशक्त बनाउने माध्यमका रूपमा चलचित्रलाई लिइन्छ। चिनियाँ चलचित्रले पनि चीनको आर्थिक तथा सामाजिक विकासलाई सशक्त बनाउँदै मनोरञ्जन उद्योगको अर्थतन्त्र मार्फत चिनियाँ सेवा खपत बढाएर विदेशमा चिनियाँ संस्कृति प्रवर्द्धन गर्ने शक्तिशाली इन्जिनको काम गरेको छ।
उल्लिखित तथ्य–तथ्यांकबाट के पुष्टि हुन्छ भने, चिनियाँ अर्थतन्त्रको जादुमयी छलाङका पछाडि चीनमा भएको राजनीतिक स्थिरता, उद्योगधन्दाका लागि अनुकूल वातावरण, व्यापक बजार, ठूलो संख्यामा (४० करोडभन्दा बढी) रहेका उच्च धनाढ्य उपभोक्ता, सहज यातायात व्यवस्था, पूर्वाधारको राम्रो प्रबन्ध, सस्तो श्रमबजार, पूर्ण रूपमा गरिबी निवारण, जनता केन्द्रित शासन व्यवस्था आदि हुन्।
त्यसैले त चिनियाँ अर्थतन्त्रले विश्वलाई चकित बनाउँदैछ।

**
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)