साझा पार्टीको राष्ट्रिय भेला बिहीबारदेखि लुम्बिनीमा सुरू हुने भएको छ।
पार्टीले बिहीबार विज्ञप्ति जारी गरेर फागुन १७ गतेसम्म चल्ने भेलामा सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करिब पाँच सय अगुवा सदस्य सहभागी हुने जानकारी दिएको छ।
'साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार' भन्ने नारा दिइएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक वर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्नेछ,' प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुने र साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गरिनेछ।
दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुति र छलफल हुनेछ र अन्तिम दिन शनिबार समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन हुनेछ।