काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित उनको टिमका २६ जना आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य मनोनीत भएका छन्।
मनोनीत भएकामध्ये २५ जनाले आजै शपथ लिएका थिए। केन्द्रीय सदस्यसहित वरिष्ठ नेता नियुक्त बालेनको भने शपथ बाँकी छ।
बालेनलाई सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता नियुक्त गरिएको रास्वपा स्रोतले जानकारी दियो।
उनी शपथ ग्रहण समारोहमा उपस्थित नभएकाले लिनुपर्छ कि पर्दैन भनेर हामीले रास्वपाका एक नेतालाई सोधेका थियौं। उनका अनुसार रास्वपामा वडा तहदेखि माथिल्लो तहसम्म सबैले शपथ लिनुपर्ने व्यवस्था छ।
यस आधारमा केन्द्रीय सदस्यमा मनोनीत भई पार्टीमा दोस्रो वरीयताको वरिष्ठ नेता नियुक्त बालेनले पनि शपथ लिनुपर्ने उनले बताए।
'उहाँको पनि छिट्टै शपथ हुन्छ,' उनले भने।
रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले बालेनसहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।
बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन् भने भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य भएका छन्।
अन्य केन्द्रीय सदस्यमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद छन्।