राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका नेताहरूले दुई दलबीच भएको भनिएको सहमतिको आफूखुसी व्याख्या गर्न थालेका छन्।
पहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर गरिसकेपछि राजनीतिक एजेन्डामा छलफल थालेका रास्वपा र उज्यालो पक्षले शनिबार नै सहमति टुंगिएको बताएका छन्।
यद्यपि सहमतिबारे उज्यालो र रास्वपा पक्षका नेताहरूले फरक फरक व्याख्या गरेका छन्।
एजेन्डाबारे छलफल गर्न बनेको कार्यदलमा उज्यालो नेपाल पार्टीका तर्फबाट सदस्यसमेत रहेका जीतराम लामाले दिएको जानकारी अनुसार शनिबार भएको सहमतिमा रास्वपा, उज्यालो र बालेन (बालेन्द्र) शाह पक्ष गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई मानेर अघि बढ्ने उल्लेख छ।
'यो सहमति दुई दल (रास्वपा र उज्यालो) बीचको पूरक सहमति जस्तो हो। तर बालेन्द्र शाह पक्ष पनि उपस्थित भएर सहमतिको साक्षी बसेर सहमति मान्ने निर्णय भएको छ,' लामाले भने, 'हामी नेपालको वर्तमान संविधानका आधारभूत स्तम्भहरूलाई स्वीकार गर्ने सहमतिमा पुगेका हौं।'
उनले थप भने, 'गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषयमा अब कुनै दुबिधा नराखी संविधानसम्मत रूपमा जाने सहमति भएको छ। समानुपातिक समावेशिताका सवालमा राज्यका निकायमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने कुरामा पनि सहमति जुटेको छ।'
विगतमा रास्वपा र बालेनले प्रदेश तहको निर्वाचन र संरचनाप्रति देखाएको उदासिनतामा 'अब परिवर्तन आउने' लामाले बताए।
२०७९ को प्रदेशसभा निर्वाचनमा रास्वपाले उम्मेदवारी नै दिएको थिएन। अहिलेको प्रदेश संरचनाबारे पनि रास्वपामा स्पष्टता थिएन।
एकतापछि रास्वपाको वरिष्ठ नेता बनेका काठमाडौं महानगरका मेयर बालेनले प्रतिनिधिसभाको मतपत्रमा मात्रै मत हालेर प्रदेशसभाको मतपत्र लिनै अस्वीकार गरेका थिए।
कार्यदल सदस्य लामाले अब रास्वपाले प्रदेशमा उम्मेदवारी पनि दिने र मतदान पनि गर्ने बताएका छन्।
'अब प्रदेशमा उम्मेदवारी पनि हुन्छ, प्रदेशमा मतदान पनि हुन्छ,' उनले भने।
अन्तरिम सरकारमा ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ संरक्षक रहेर खुलेको दल उज्यालो नेपाल पार्टीमा कोशीका पहिचानवादी नेताहरू पनि सहभागी थिए।
कुलमानले पहिचानका पक्षमा आफूलाई उभ्याउने र पार्टी विधानको प्रस्तावनामै पहिचानका पक्षमा स्पष्ट उल्लेख भएकै कारण डा. महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम, खगेन्द्र माखिम लगायत पहिचानवादी नेताहरू उज्यालो नेपालमा सहभागी भएका थिए।
यद्यपि आफूहरूसँग सल्लाह नै नगरी 'संघीयता, धर्म निरपेक्षता र पहिचानबारे अस्पष्ट दलमा पार्टी विलय गराएको' भन्दै पहिचानवादी नेताहरूले असन्तोष जनाएका थिए।
त्यस क्रममा डा. लावतीले आफ्नो नाम समानुपातिक सूचीमा राखिएको प्रति असहमति जनाएका थिए भने थेगिमले पार्टी विलय भएको भन्दै असन्तोष प्रकट गरेका थिए। उनले पहिचानको मुद्दा छोड्न नसकिने बताएका थिए।
यो मुद्दालाई पनि कार्यदलले टुंग्याएको कार्यदल सदस्य लामाले दाबी गरे।
'यसलाई बहुसांस्कृतिकतावाद र राष्ट्रिय एकताका रूपमा व्याख्या गरिएको छ,' उनले भने, 'यो सहमति गर्दा लावती सर आफै कार्यदलमा सहभागी हुनुहुन्थ्यो।'
लावती र थेगिमले छलफल भइनसकेको भन्दै रास्वपामै रहने कि अलग्गै अघि बढ्ने टुंगोमा पुगिनसकेको बताउँदै आएका छन्।
कार्यदलको छलफलमा रास्वपाका शिशिर खनाल र गणेश कार्की, उज्यालोको तर्फबाट लावती, लामा र राजु थापा सहभागी थिए।
लामाका अनुसार बालेन पक्ष साक्षीका रूपमा उपस्थित थियो।
उज्यालो पक्षका नेता लामाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता स्वीकार गरेर जाने सहमति भएको दाबी गरे पनि रास्वपा प्रवक्ता मनीष झाले भने उनको भन्दा फरक जानकारी दिएका छन्।
'हामी तीनै पक्ष (बालेन, कुलमान र रास्वपा) बीच आधारभूत राजनीतिक मुद्दाहरूमा पहिल्यै सहमति भइसकेको छ। अहिलेको छलफल चाहिँ प्राविधिक कुराका लागि हो। केन्द्रीय सदस्यको सूची, पदाधिकारीको चयन, सांगठनिक संरचना र समानुपातिक सूची सच्याउने विषयमा हो,' उनले भने।
नेता झाले रास्वपा गणतन्त्र र संघीयताको पक्षमा पहिल्यैदेखि प्रतिबद्ध रहेको बताउँदै थपे, 'संघीयता चाहिन्छ भन्नेमा विवाद छैन। तर यसको प्राविधिक प्रारूप कस्तो हुने भन्नेमा छलफल जारी छ। हालको प्रदेशसभा नै राख्ने कि त्यसलाई प्रदेश परिषदमा रूपान्तरण गर्ने भन्ने विकल्पमा छलफल भइरहेको छ।'
उज्यालो पक्षका नेता लामाले भने संविधानमा उल्लेखित व्यवस्था नै मानेर जाने सहमति भएको बताएका छन्।
रास्वपा नेता झाले धर्म निरपेक्षताबारे स्पष्ट भाषा प्रयोग गरेनन्।
'नेपालको सनातन परम्परागत र मौलिक सभ्यता सम्मान गर्ने र व्यक्तिको धर्म मान्न पाउने अधिकार सुनिश्चित गर्ने हाम्रो कुरा हो,' उनले भने।