विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबिच एकता भएको छ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता गर्न लागेको जानकारी दिएका हुन्। पार्टीको केन्द्रीय समितिको बैठकका दुई-तिहाइले एकताको सहमति पत्रलाई अनुमोदन गरेको पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन्।
पार्टीको नाम भने विवेकशील साझा पार्टी नै रहनेछ। त्यसको कार्यकारी अध्यक्ष रवीन्द्र मिश्र रहनेछन्।
प्रवक्ता पाठकका अनुसार सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।
'राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान' का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।
सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्।
यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए।
उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक संवृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन्।
एकता घोषणा कार्यक्रम छिटै एक सार्वजनिक समारोहका माझ गरिनेछ।