ऊ अर्थात् मेरो साथी बोलेर थाक्दैन थियो। देश दुखेका कुरा गर्दथ्यो, आवेग पोख्थ्यो र जटिल समयको समाधान खोज्न कहिल्यै पछि पर्दैन थियो। हरपल देश, दुनियाँ, समाज, उसका यस्तै यस्तै कुरा सुनेर हाम्रो एउटा दशक पार भयो होला।
देशमा गणतन्त्र आयो, संविधान आयो। मुलुकले कम्तीमा दुई आवधिक निर्वाचनको सामना गर्यो। उसको जीवनले झन्डै एक दशकमा के के सामना गर्यो, त्यो राजधानीबाट बिरलै गाउँ जाने मलाई ज्ञान थिएन।
खोरियाको खेतमा फलेका एक मुरी धान बोकेर सजिलै हिँड्न सक्ने बलवान् भनेर गाउँभरि चिनिएका भीष्मे दाइ असामयिक रूपमा परलोक गएका बेला मलामी जाने संयोग मिल्दा ऊ त्यही भेटियो, नगन्ने मात्राका केही तन्नेरीहरूको प्रतिनिधि भएर।
सोधेँ, ‘के छ खबर? के हुँदै छ आजकल?’
करिब नौ वर्षपछि गाउँमा भेटिएको ऊ मलिन अनुहारले केही निराशा र दिक्दारी बोकेर बोल्यो, ‘भीष्मे दाइ कहिल्यै नफर्किने गरी गए। म पनि अब कहिले फर्किन्छु थाहा छैन।’
स्कुल हुँदा कहिल्यै दोस्रो नहुने ऊ आज जिन्दगीसँग हार्दै कहिल्यै नफर्किने कुरा सुनाइरहेको थियो, खोलाको किनारमा बसेर। सायद आफू जिन्दगीको परीक्षामा फेल भएको महसुस गरिरहेको थियो।
चितामाथि लास जल्दै गर्दा उसले आफ्ना जल्दै गरेका सपना सुनाइरहेको थियो; राम्रो पढ्ने, जागिर खाने, टन्न कमाउने, घर बनाउने, बिहे गर्ने, बा-आमा...। उसले पूरा सपनै जलाएको कथा सुनाउँदै थियो। ती सपना पूरा गर्न खोज्दा खोज्दै उसका आँखाहरू रोकिन पुगे केही थोपा जल सिँचाइ गरेर। सायद आँसुले सपनामाथि श्रद्धाञ्जली व्यक्त गर्दै थिए।
बगरको काँचो दाउराले निम्त्याएको धुवाँ आकाशतिर मडारिँदै जाँदा किनारको ढुङ्गामाथि बसेर बेसुरमा कुदिरहेको धुवाँजस्तै ऊ छरपस्ट कुरा सुनाइरहेको थियो। बटुलेर केही थान कुरा बुझेझैँ गर्दै म उसको बेहोसी गफमाथि प्रश्नको चाङ लगाइदिन्छु,
‘कहाँबाट नफर्किने?’
‘विदेश।’
‘कुन देश?’
‘उही खाडी त हो!’
‘ट्यालेन्ट छौ, बाठो छौ, यही केही गर्न सकिहाल्छौ नि!’
‘गरेको त हो नि।’
‘अनि के भयो?’
‘सकिन, हारेँ।’
‘यो खेल हो र हार्न–जित्न?’
‘हो, व्यापार–व्यवसाय त जुवा नै रहेछ।
बजारमा हार्डवेयरको पसल थापेको, गाउँ सहर पस्यो— कसले घर बनाउने र सामान किन्ने? ठुलो लगानी त्यहीँ डुब्यो। कृषिमै केही गरौँ भने न बजार मिल्छ, न कतैबाट सहयोग। नम्बरले भरिएको सर्टिफिकेट बोकेर कार्यालयहरूमा दरखास्त दिएँ, कैयौँ क्याम्पसहरूमा डबल डिग्रीका ओजिला डकुमेन्ट सहित आवेदन दिएँ, मेरा कोही थिएनन् त्यता। नम्बर आएर, क्षमता भएर मात्रै जागिर पाइँदैन रहेछ। उमेरले ३० पुग्न लाग्दा कसैलाई छोरी देऊ भन्न पनि सकिँदैन। बा’ले जिन्दगीभर कमाएको धन सकाएर ऋणको बोझ बोकेर बस्दा समाजमा मुख देखाउन पनि गाह्रो लाग्छ।
भीष्मे दाइ रक्सीले गर्दा मरे, म ऋणले गर्दा पल पल म मरिरहेको छु। बाहिर देखाउन नमिल्दो रहेछ। लोकले छोरो मान्छे भएर रोयो भन्छन्, त्यसैले बिरक्तिएर रुन पनि पाइँदैन, साथी।’
मलाई सधैँ नामले बोलाउने ग आज ‘साथी’ भनेर सम्बोधन गर्दै थियो, केही अनौठो लाग्यो।
‘एक मध्यम परिवारमा जन्मिएर राम्रै पढेँ, जागिर खाएर जीविका त चल्ला तर प्रगति नहुने रहेछ भनेर व्यवसायमा हात हालेँ। जागिर पनि खोजेँ तर केही चलेन। घर लिलाम गर्दैछ बैंकले। बुढेसकालको सहारा बन्नुपर्ने छोरा, बा-आमालाई वृद्धाश्रमसम्म पुर्याउँदा के भन्ला समाजले?’
ऊ आफैँ प्रश्न गर्थ्यो, आफैँ उत्तर दिन्थ्यो। लाग्थ्यो ऊ जिन्दगीको ठुलो संकटमा पुगेको छ, कहिल्यै नउठ्ने गरी। मेरो नजरमा सधैँको पहिलो ब्वाइ, स्मार्ट ब्वाइ, आज निरीह, जबरजस्ती मण्डपमा बसेकी दुलहीझैँ पिलपिल आँसु झार्न विवश थियो।
चितामा अस्तु मात्रै बाँकी हुँदै जाँदा उसका कुरा शिखरमै थिए। तर तत्कालै उसले कुरा बिट मार्दै धाप मारेर भन्यो, ‘आजको पाँच दिनमा दुबईको फ्लाइट छ। बाकसमा फर्किएँ भने यतै आइपुग्छु होला। तर यदि जीवित आएँ भने फेरि बाँकी गफ गरौँला है।’
कुराको चुरो मार्न उसले केही थान फिक्का मुस्कानका सदबिजहरू छर्यो। मैले जवाफी मुस्कान साट्न सकिनँ। चितामाथि खन्याइएको पानीले चिसिएको भीष्मे दाइको समाधि स्थल झैँ मेरो मन पनि चिसो भयो।
गाउँबाट घाट झर्दै गर्दा बाटोमा पर्ने टारी खेतमा बनाइएको पोखरी देखाउँदै उसले केही समयअघि भनेको कुरा मनमा तरङ्गित भइरह्यो- ‘माछा डुबाउन बनाएको पोखरीले आफैँलाई डुबायो यार।’
ओठ चलेनन्, मनले मात्र भन्यो- ऊ बिदेसिएको हैन, लखेटिएको हो।