नेकपा एमालेले भक्तपुरको सल्लाघारीबाट जेनजी आन्दोलनपछि पनि आफ्नो जनाधार खासै नखस्किएको सन्देश दिएको छ।
जेनजी आन्दोलनपछि महाधिवेशन गर्ने पहिलो दल बनेको नेकपा एमालेले राजनीतिक दलहरूको जनतामा पकड कायमै रहेको देखाउन सफल भएको हो।
सल्लाघारीस्थित तीनकुने मैदानमा भएको उद्घाटन समारोह भव्य बनाउन एमालेले हजारौं कार्यकर्ता उतारेको थियो। उद्घाटनमा दुई लाख कार्यकर्ता उतार्ने घोषणा गरेको भए पनि झन्डै ४० देखि ५० हजार मानिस भएको उद्घाटन स्थलका सहभागी बताउँछन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुगेका थिए। आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली हेलिकप्टर चढेर बालुवाटारबाट ज्यान जोगाउन बाहिरिनुपरेको दृश्यले कार्यकर्तालाई सार्वजनिक स्थलमा समेत नेताहरूको पक्षमा वकालत गर्न नसक्ने अवस्थामा पुर्याएको थियो।
तर महाधिवेशनमार्फत् एमालेले पार्टी कार्यकर्तामा उत्साहको सञ्चार गराएको छ। एमाले महाधिवेशनले मुख्यगरी चार वटा सन्देश दिएको छ —
पहिलो, नेकपा एमालेले जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको घटना केन्द्रित भएर अबको राजनीति अघि बढाउने सन्देश दिएको छ।
उद्घाटन समारोहमा एमालेले एउटा भिडिओ देखाएको थियो। भिडिओमा सिंहदरबार जलाइएको, संसद भवन जलाइएको र सर्वोच्च अदालत जलाइएको दृश्य थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन क्रममा पनि उक्त घटनालाई 'राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र र योजना' भएको दाबी गरे।
'कुनै भ्रममा पर्नु हुँदैन। स्थिरताको वाहक बनिरहेको संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्ने थिएन। संसदबाटै त्यो काम गर्न सकिन्थ्यो वा अर्को निर्वाचन कुर्न सकिन्थ्यो,' ओलीले भने, 'तर त्यो संवैधानिक प्रक्रिया र सात दशक लामो कठिन संघर्षका रूपमा प्राप्त लोकतन्त्र ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्य विहीनताको अवस्थामा पुर्याउने अराजक दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो।'
दोस्रो, एमालेले आफ्नो जनाधार कमजोर नभएको सन्देश दिएको छ।
ओलीले भदौ २३ र २४ गते मारिएकाहरूलाई हजारौं उपस्थित उद्घाटनबाटै श्रद्धाञ्जलि व्यक्त गरे। सँगै, आफ्नो पार्टीसँग भिड्न नआउन पनि जेनजी समूहरूलाई घुमाउरो भाषामा चेतावनी दिए।
सिमरामा एमालेका महासचिव शंकर पोखरेलसहित नेताहरू कार्यक्रममा जान नपाएको र पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी भएको गाडीमा रंग छ्यापिएको थियो।
'एमालेललाई होच्याउने र जिस्क्याउने काम कसैले नगरोस्। समाप्त पार्ने इच्छा त मनबाट सधैंका लागि हटाइदिए हुन्छ,' ओलीले भने, 'देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ। संसद पुनर्स्थापना गराएर छाडिन्छ। संविधान मिचिएको छ, ट्र्याकमा ल्याएर छाडिन्छ। यो एमालेको संकल्प हो। एघारौं महाधिवेशनको संकल्प हो।'
ओलीले नेकपा एमालेलाई जेनजी विरोधीका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै कार्यकर्तालाई विगतमा पनि यस्ता आरोप लाग्ने गरेको स्मरण गराए।
'३० वर्षअघि वृद्धवृद्धा विरोधी भनेर आरोपित गरियो। सशस्त्र युद्धताका क्रान्ति विरोधी भनियो। मधेस विरोधी, पहिचान विरोधी भन्न खोजियो। हामीले त्यसलाई चिर्यौं। मधेसमा अहिले पहिलो पार्टी भएका छौँ। अहिले जेनजी विरोधीको आरोप लगाएका छन्,' उनले भने, 'यसलाई पनि चिरेर छाडिन्छ।'
तेस्रो, एमालेले पार्टीभित्र एकताको सन्देश पनि दिएको छ।
अध्यक्ष ओलीले एघार अंकमा दुईवटा एक हुने उल्लेख गर्दै दुवै एक सँगै उभिए मात्र एघार हुने बताए। उनले सम्मेलनबाट कुनै पनि राजनीतिक दललाई होच्याउने वा कुनै नेताको बद्ख्वाँइ गरेनन्।
'सुरक्षित नेपालको पहिलो सर्त के हो? हामी–हामीबीचको एकता,' भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहमा ओलीले भने, 'एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु।'
चौथो, एमालेले आफ्नो पार्टी चुनावका लागि तयार रहेको सन्देश पनि दिएको छ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राखेका शंकर पोखरेलले संसद पुर्नस्थापनाको विषय उप्काएनन्। ओलीले पनि आफ्नो सम्बोधनमा निर्वाचनका लागि एमाले तयार रहेको तर फागुन २१ गते चुनाव नहुने बताए। बरू संसद पुनर्स्थापनाको संकल्प गर्नुपर्ने धारणा राखे।
निर्वाचनका लागि दल दर्ता र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्ध एकै दिन मुद्दा दर्ता गरेको एमालेले महाधिवेशनबाट पनि पुनर्स्थापना र चुनावको विषय एकसाथ उठाएको छ।