केही दिन अगाडि एलन मस्कका यादगार यारका बारेमा जान्न मन लाग्यो र एआई टुल्स प्रयोग गरेँ।
१९९० मा क्यानडाको क्विन विश्वविद्यालयमा भेटिएका पाकिस्तानी मूलका नवेद फारुक उनका मनका कुरा साट्ने साथी रहेछन्।
उनीहरूको मित्रता लामो समयसम्म रह्यो। उनीहरू दुबै पढ्नका अब्बल थिए। फारुकले मस्कको पहिले कम्पनी जिप २ मा काम पनि गरे। तर उनी लामो समय त्यहा टिक्न सकेनन्। आफ्नो मनको यारसँग लामो समय टिक्न नसक्नुका बारेमा पनि उल्लेख गरिएको छ, ‘मलाई मस्कले व्यावसायिक काममा साथीको सम्बन्ध नहुने भएको हुँदा कर्मचारी मात्रै बन्नका लागि अनुरोध गरे। साथी र कामदार एकैपटक बन्न सकिँदैन भन्ने उनको भनाइ थियो। मलाई साथी मात्रै हुन रहर लाग्यो अनि काम छोडिदिएँ।’
बाटो एउटै हुन्छ तर कोही त्यही टेकेर दरबारमा जान्छ अनि कोही झुपडीमा। खोलाको आयातन उही हुन्छ कोही पौडिएर चाहेको ठाउँमा पुग्छ अनि कोही त्यसमै बगेर इहलिला समाप्त पार्छ।
स्कुल अनि शिक्षक त्यही हुन्छ अनि कोही त्यहीँ पढेर देशको सर्वोच्च निकायमा जान्छ अनि कोही जहाँको त्यहीँ रहिरहन्छ।
मुटु उही हुन्छ कसैको मुटुमा माया नै मायाले अटेस मटेस गरेको हुन्छ अनि कसैको मुटुमा चोटै चोटको नमेटिने खत हुन्छ। जिन्दगी आवरणमा हेर्दा सबैको एउटै हुन्छ। कोही जिन्दगीभन्दा पनि सुन्दर भएर बाँचेका हुन्छन् अनि कोही जिन्दगीको अर्थ बदनाम गरेर। माटो उही हुन्छ, पानी हावा अनि बतास पनि उही हुन्छ तर एउटै बोटमा एकातिर फूल मगमगाएको हुन्छ अनि अर्कातिर काँडा नै काँडा हुन्छ।
हुन त संसारमा सबै एकै कहाँ हुन्छ र? हरेक कुरामा विभाजन त छ नै। असमानता त छ नै। चाहे रङको कुरा गर्नुहोस् या फूल अनि ताराहरू नै किन नहुन्।
एक समान भएका कुरा संसारमा के नै छ र? असमान हुनु र नभेटिने गरी असमान हुनुका बीचमा केही केही फरक अवश्य छ।
एकै भएर पनि किन एकै हुन सक्दैनन् होला? उस्तै भएर पनि किन फरक फरक हुन्छन् होला? अठारौं शताब्दीको अन्त्यतिर प्राकृतिक अधिकारको सिद्धान्त भन्दै फ्रान्सेली क्रान्तिमा समानताको नारा बेस्मारी घन्काइएकै हो।
उन्नाइसौं शताब्दीको मध्यतिर कम्युनिस्ट घोषणा पत्र जारी गर्दै साम्यवादको उद्घोष पनि भएकै हो। तर न त समानताले पखेँटा फिजायो न त साम्यवादका लताहरू लहराए। हुनेहरू हुँदै गए, नहुनेहरू रित्तिँदै गए। फल्नेहरू अग्लिँदै गए, झर्नेहरू भुइँसम्मका पनि भएनन्।
कोही चितुवा जसरी दौडिएका छन् अनि कोही कछुवा जसरी। के यी भेटिन्छन्? नभेटिने गरी यो यात्रालाई असमान कसले बनायो? नभेटिनु, नदेखिनु हो। नदेखिनु जतिसुकै छटपटाए पनि नलेखिनु हो। नलेखिनु यो संसारमा कहिल्यै नरहनु हो। दुनियाँका ९० प्रतिशतभन्दा बढी मान्छेहरू देखिँदैनन् अनि लेखिँदैनन्। छन् भन्ने महसुस पनि दिलाउँदैनन्।
जीवन भन्नु ज्यामिति शास्त्रको समानान्तर रेखा जस्तो कहाँ हुन्छ र? पटक पटक सम्पादन गरिएको पुस्तक जस्तो कहाँ हुन्छ र? वसन्त भेटेको रूख जस्तो कहाँ हुन्छ र? ब्युटीपार्लरबाट निस्किएकी युवती जस्तो कहाँ हुन्छ र? भर्खरै रङरोगन गरिएको घर जस्तो कहाँ हुन्छ र? जिन्दगी यस्तो होस् अनि उस्तो होस् सबैले अपेक्षा गरेकै हुन्छन्। सुन्दरता र सुख नै त होला यो संसारका सबै मान्छेको साझा आवश्यकता। तर अपेक्षा र यथार्थ फरक फरक ध्रुव हुन्।
तारादेवीले विरक्तिएर भनेकी हुन् 'सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन' गन्तव्य नै गुमनाम भएर थाकेका बेला यो गीतले केही शितलता त देला तर जीवनको वास्तविक अर्थलाई बिम्बित भने गर्दैन।
आफ्नो जिन्दगी कुरूप बनाउनका लागि मान्छेलाई कसले बनायो होला गतिहीन अनि दिशाहीन? सोचे र सम्झे जस्तो जिन्दगी बनाउन नसक्नु मान्छेको आफ्नै लाचारीपन होइन र?
आफ्नै कमजोरी होइन र? संसार त खेलको मैदान जस्तो हो जसले अनेक अवरोध छिचोलेर गोल गर्छ त्यही त हो मेस्सी बन्ने। यहाँ मैदानमा बल दौडाउने अवसर सबैलाई छ। आज आफूले गरेको कमजोरी लुकाउन मानिसले भाग्यलाई अभियुक्त बनाएको छ। मेरै कमजोरीले मेरा अपेक्षा र सपनाहरूलाई मैले भेट्न सकिनँ भनेर किन मानिसले आत्मालोचना गर्दैन?
जसरी कमिला आफ्नो घर आफै बनाउँछ उसैगरी मान्छेले पनि आफ्नो जिन्दगी आफै बनाउने होइन र? आफ्नो संसारको मालिक मान्छे आफै होइन र? हामी समय चिन्दैनौं। हामी परिश्रम र मेहनतलाई प्रेम गर्दैनौं अनि हामी कहाँ पुग्ने हिँड्ने बेला गन्तव्य तय गर्दैनौं। र त सँगै हिँडेर पनि कोही कहाँ कहाँ पुग्छ अनि कोही कहीँ पनि पुग्दैन।
भर्खरै शाखा अधिकृतको परीक्षामा सफल हुने हाम्रो साथी हामीसँग पढेको होइन र? हाम्रो जस्तै झोला, कापी कलम अनि किताब बोकेको होइन र?
समय सबै उमेरका लागि एकनाश हुँदैन। १६ वर्षको युवकका लागि १ घण्टा जति संवेदनशील हुन्छ ६१ वर्षको मान्छेका लागि नहुन पनि सक्छ। भर्खरै जीवनको बाटो पहिल्याउँदै गरेको युवकका लागि समय भनेको भविष्य बनाउने आधार हो अनि डाँडापारि पुगेको मान्छेका लागि बिताउने पल मात्रै हो। जसरी फलाम तातिएको बेला मात्रै घनले आफ्नो सामर्थ्य गज्जबसँग देखाउँछ उसैगरी हुने खाने उमेरमा जीवनको बाटो सही तरिकाले पहिल्याउनु पर्ने होइन र?
आधा बाटो हिँडिसकेपछि बाटो फरक पर्यो भनेर फेरि नयाँ बाटो खोज्न थालियो भने उज्यालैमा घर पुग्न सकिँदैन अनि अँधेरोमा अलमल परेर झनै पुग्न सकिँदैन। बाटोको नक्सा त हिँड्ने बेलामा नै बनाउनु पर्दछ।
एलन मस्क पढेको स्कुलका उनका सहपाठीहरू केके गर्दै होलान्? कहिलेकाहीँ पैसा नहुँदा खाजा खुवाउने उनको साथी कुन उचाइमा होला? मार्क जुकरवर्गको मन मिल्ने साथीको फेसबुक पेजमा कति साथीहरू होलान्? युसुफ मलाला जस्तै हिंसाको सिकार भएका पाकिस्तानी बालबालिकाहरू यतिबेला कति बच्चाका आमा भएका होलान्? छुदेन काविमोले कक्षा छुट्दा नोट माग्ने साथीको जीवन डायरी कसैले पढेको होला त? यी प्रश्नहरू आफैमा कस्ता कस्ता छन्।
अन्टसन्ट जस्तो पनि लाग्न सक्छन्। यस्ता प्रश्न गरेकाले तपाईं मलाई मष्तिस्क विचलित हुँदै गरेको मान्छे पनि भन्न सक्नुहुन्छ। यसै पनि यो प्रविधिको उच्च प्रयोगले विचलित हुने मानिसहरूकै बहुमत पुग्ने सम्भावना छ। तर बहुमत पुग्छ भन्दैमा मैले निर्वाचनका लागि खुट्टा उठाएको छैन है। यो नयाँ पार्टी खोल्ने याममा पनि मलाई पार्टी खोल्ने जाँगर नै छैन। यस्तो मान्छे त चेतनाहीन हुनु नि। तर मलाई यो समयका हरेक कुरा पुरापुर थाहा छ। डाक्टर नवराज केसी का स्वस्पर्श दुई पटक पढेपछि मेरो बोझिलो दिमागले नुहाउन पाएको अनुभूति गरेको थियो।
सँगै हिँड्ने सबैको गति एकै कहाँ हुन्छ र? एउटै लाइनबाट सगरमाथा चढे पनि सुरूमा पुग्ने त कुनै एक पाइताला त हो नि। सबै एकै हुँदा पनि किन पुग्ने गन्तव्यहरू फरक फरक हुन्छन् होला? यो प्रश्न मात्रै होइन रहस्यमय प्रश्न हो।
जीवनको सर्वमान्य परिभाषा छ 'यो संघर्षको मैदान हो।' जीवनमा संघर्ष नगर्ने मान्छे पनि हुन्छ र? तर किन सबै संघर्षहरू मखमली बन्दैनन्? गोरेटोले होइन यात्राले हो गन्तव्यमा पुर्याउने। एकै कोखका सन्तान त कोही डक्टर अनि कोही कन्डक्टर भएको पनि देखिएकै हो।
समान अवसरले पनि त समानताको रेखा कोर्दो रहेनछ। देख्दा उस्तै उस्तै लागे पनि धरातल एकै हुँदो रहेनछ।
जीवनमा अवसर छ। अवसरभित्र सफलता। अनि सफलता कसैको पेवा होइन। तर जसले समय चिन्यो। जसले संघर्ष र मेहनतको अर्थ बुझ्यो। जिन्दगीमा हिँड्नुपर्ने बाटो र पुग्नुपर्ने ठाउँ पहिल्यायो। त्यसका लागि पेवा जस्तै बनिदिन्छ सफलता। त्यसका लागि हातैले टिप्न सकिने कलमी आँपको बोटजस्तै बनिदिन्छ सफलता।