नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को घटना असन्तुष्ट समूहको प्रदर्शन नभएको बताएका छन्।
पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाट समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ गतेको घटनामा राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र र योजना लुकेको दाबी गरेका हुन्।
‘कुनै भ्रममा पर्नु हुदैँन। स्थिरताको वाहक बनिरहेको संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्ने थिएन। संसदबाटै त्यो काम गर्न सकिन्थ्यो। या अर्को निर्वाचन कुर्न सकिन्थ्यो’, ओलीले भने, ‘तर यो संविधान संवैधानिक पक्रिया र ७ दशक लामो कठिन संघर्षका रुपमा प्राप्त लोकत्नत्र ध्वस्त पारेर शुन्यता सिर्जना गर्ने र अस्थिरता बढाउने र राज्य विहीनताको अवस्थामा पुर्याउने अराजक दीर्घ तयारी सहितको गम्भीर षड्यन्त्र त्यो थियो,’ उनले भने।
ओलीले नवयुवाहरुले संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएको भए पनि घुसपैठ भएको बताए।
‘स्वार्थ्य समूह प्रवेश गरे। अनि हिंसा र तोडफोड त के फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भनेका युवाहरुलाई संसद भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैको आडमा नीहित स्वार्थ्य पूरा गर्ने युवा विद्यार्थीको ज्यान जाने अकल्पिनिय अवस्था सृजना भयो’, ओलीले भने, ‘भदौ २३ गते गोली लागेका र भदौ २४ गते आक्रमणमा परि मारिएका प्रहरी र नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।’