बेइजिङ डायरी
नेपाल र चीनलाई जोड्ने अनेक कडी छन्। नेपालबाट चीनमा पुगेका बुद्धभद्र, भृकुटी, पद्मसम्भव, अरनिको जस्ता व्यक्तिहरू मात्र होइन, चीनमा नेपाली मौलिक कला पनि पुगेको छ।
अहिले थाङ्का भनेर चिनिने चित्रकला नेपाली मौलिक पौभा चित्र हो। काठमाडौं उपत्यकामा नेवार समुदायले एक हजारदेखि १५ सय वर्ष अगाडि कोर्ने गरेको पौभा चित्र चीनको तिब्बत पुगेपछि थाङ्का भएको हो।
पौभाभन्दा थाङ्का लोकप्रिय बनेको सन्दर्भमा यसले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध कायम राखेको छ।
भृकुटीसँग तिब्बत पुगेका कालिगढले ल्हासामा बनाएका पौभा चित्र, अरनिकोले बेइजिङमै पुगेका बनाएका पौभा चित्रले नेपाली कलालाई चीनमा लोकप्रिय बनाएको थियो। पौभा चित्रलाई तिब्बती भाषामा थाङ्का भन्न थालियो।
नाम तिब्बती भएपछि यसको उदगम पनि तिब्बतबाट भएको ठानिन्छ। तर थाङ्काको थालनी नेपालबाट भएको हो। आधुनिक समयमा नेपाली कलाकारहरूले काठमाडौंमा बनाएका थाङ्का चित्रको मुख्य बजार नै चीन छ। नेपाल र चीनलाई साझा संस्कृतिमा जोड्ने थाङ्का एउटा कोशेढुंगाका रूपमा स्थापित छ।
चीनमा नेपाली थाङ्काको माग र लोकप्रियताका सन्दर्भमा सन् २०१५ को एउटा घटना स्मरणीय छ।
सन् २०१५ अगस्ट ३ मा बेइजिङस्थित नेपाली दूतावासका तत्कालीन मिनिस्टर निर्मल काफ्ले (हाल ब्राजिलका लागि राजदूत) ले फोन गरेर बेइजिङको मिन्चु होटलको पूर्वपट्टि एउटा प्रदर्शनी कक्षमा नेपाली थाङ्का प्रदर्शनी हुँदै गरेको सुनाए।
सो थाङ्का प्रदर्शनीमा नेपाली थाङ्का चित्रकार पनि सहभागी भएको र दर्शकहरूकै अगाडि थाङ्का चित्र बनाउने भएकाले चिनियाँले निकै रूचाएको सूचना पनि काफ्लेजीले दिए।
थाङ्का प्रदर्शनी हेर्नुभन्दा नेपाली थाङ्का चित्रकार नै आएर थाङ्का बनाउने दृश्य हेर्ने कौतुहल ममा चम्किन थाल्यो।
काजीमान तामाङले बनाएको थाङ्कामा तिब्बती धनका देउता जम्बाला। तस्बिरः चेतनाथ आचार्य
सन् २०१५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा बेइजिङमा विभिन्न कार्यक्रम भइरहेका थिए। सोही अवसर पारेर नेपाली थाङ्का चित्रकार नै बोलाएर बेइजिङमा दर्शकहरूकै अगाडि थाङ्का चित्र बनाउन लगाउँदा नेपाली थाङ्काको महत्त्व अझै बढ्ने भएकाले त्यस प्रकारको कार्यक्रम राखिएको रहेछ।
निर्मल काफ्लेले उक्त प्रदर्शनी दुई सातासम्म चल्ने बताएका थिए। मलाई चाहिँ चाँडै पुगेर हेर्ने हतारो थियो। कार्यालयको समय मिलाएर म अगस्ट ७ मै थाङ्का प्रदर्शनीमा पुगेँ।
चिनियाँ सांस्कृतिक संग्रहालयमा थाङ्का प्रदर्शनी रहेछ। धेरैजसो नेपाली थाङ्का र केही तिब्बती थाङ्का प्रदर्शनी गरिएको रहेछ। थाङ्का हेर्नेको भीड थियो। म पनि त्यही भीडमा पुगेँ।
नेपालबाट थाङ्का बनाउने व्यक्ति पक्कै पनि ६० वर्ष आसपासको हुनुपर्ने मेरो सोचाइ थियो। थाङ्का बनाउने कलामा सिपालु हुन लामो समय लाग्छ भन्ने मैले सुनेको थिएँ। यो पेसामा धैर्य, लगन, ध्यान र एकाग्र चाहिन्छ भनिएकाले थाङ्का बनाउने व्यक्ति पाको नै हुनुपर्छ भन्ने ठान्नु अनौठो पनि थिएन।
केही थाङ्का हेरेपछि थाङ्का बनाउने चित्रकारबारे सोधखोज गरेँ। उक्त चिनियाँ सांस्कृतिक संग्रहालयकी निर्देशक फ्लोराले मलाई अर्को कोठामा लिएर गइन्। उनको अंग्रेजी भाषा निकै राम्रो थियो। उनको चिनियाँ नाम थाहा भएन। धेरैजसो विदेशीसँग सञ्चार गर्नुपर्ने भएकाले उनले 'फ्लोरा' अंग्रेजी नाम राखेकी रहिछन्।
कोठामा एक जना हँसिला युवक ब्रसले क्यानभासमा थाङ्का बनाउँदै थिए। बीस/बाइस वर्षका जस्ता लाग्ने ती युवक झट्ट हेर्दा नेपाली होइन चिनियाँ जस्ता देखिए। केही चिनियाँ सञ्चार माध्यमहरू चुपचाप उनको भिडिओ खिच्दै थिए।
फ्लोराले हातको इसाराबाट थाङ्का बनाउने व्यक्ति उही हुन् भनेर चिनाइन्।
म एकातिर उभिएर उनले थाङ्का बनाएको हेरिरहेँ। लगभग डेढ घन्टापछि उनले विश्राम लिए। त्यसपछि केही कुराकानी गर्ने मौका मिल्यो।
परिचयका क्रममा उनले आफ्नाबारे बताए। काभ्रेपलान्चोक जिल्लाको तेमालमा जन्मिएका काजीमान तामाङ मेरो अनुमानभन्दा पाँच वर्ष जेठा रहेछन्। अर्थात् उनी त्यति बेला ३२ वर्षका थिए।
सन् २०१५ मा भएको थाङ्का प्रदर्शनीमा चिनियाँसँग कुराकानी गर्दै चित्रकार काजीमान तामाङ। तस्बिरः चेतनाथ आचार्य
केही नेपालीहरू विशेष गरी तामाङ, गुरूङ, मगर, राई, लिम्बूहरू र चिनियाँहरूको अनुहार उस्तै देखिन्छ। त्यसमा पनि काजीमानको वर्ण ठ्याक्कै चिनियाँ जस्तो थियो। कलिलो अनुहारका देखिए पनि उनले थाङ्का बनाउन थालेको १६ वर्ष भइसकेको रहेछ।
थाङ्का हेरेपछि उनैले बनाएका हुन् भनेर पत्याउन मुस्किल तर आँखैले देखेपछि चिनियाँ पनि दंगै पर्थे।
तीस वर्षकै उमेरमा उनी थाङ्का बनाउन सिपालु थिए। उनले बनाएका थाङ्का चिनियाँले निकै रूचाएका फ्लोराले मलाई बताइन्।
फ्लोराले बताएको अर्को कुराले मेरो मन कटक्क भयो।
उनले भनेकी थिइन्, 'तिब्बती थाङ्काभन्दा नेपाली थाङ्का उच्च गुणस्तरीय छन् तर नेपाली थाङ्का तिब्बतीभन्दा सस्तो पर्ने भएकाले चिनियाँ क्रेताले कम किन्छन्।'
यसको मतलब जुन महँगो त्यही राम्रो भन्ने छाप चिनियाँमा परेको रहेछ।
काजीमानले त्यसभन्दा पहिल्यै चीनका केही भागमा थाङ्का प्रदर्शनी गरेका रहेछन्। थाङ्का बनाउने सामग्री नै साथमा लिएर प्रदर्शनी कक्षमै थाङ्का बनाएको चाहिँ त्यो पहिलो पटक थियो।
बुबा मानबहादुर र आमा याङ्गुका छोरा काजीमानको जन्म २०४० वैशाख ६ गते काभ्रेको तेमाल (हालको तेमाल गाउँपालिका वडा नम्बर ५ गुप्ती) मा भएको हो।
स्कुल पढ्दादेखि नै उनले स्थानीय गुम्बातिर थाङ्का चित्र बनाएको देखेका थिए। माने अथवा छोर्तेनमा बनाइएका चित्रले उनलाई सधैं लोभ्याउँथ्यो।
गुम्बातिर जाँदा उनी थाङ्का बनाएको देखेपछि त्यतै घोत्लिन्थे। उनका आफन्त तथा अग्रज कोही पनि थाङ्का बनाउने काममा लागेका थिएनन्। तर गाउँघरमा थाङ्का बनाउने मान्छेहरू चाहिँ थिए।
स्कुल जाँदा र फर्किँदा उनी घुँडामा दुवै हात राखेर थाङ्का बनाएको हेर्थे। कहिलेकाहीँ त स्कुल जान अबेला भएको पनि पत्तो पाउँदैन थिए। घर फर्किँदा झमक्कै साँझ परेको हुन्थ्यो।
काजीमानले बनाएको थाङ्कामा श्वेततारा। तस्बिरः चेतनाथ आचार्य
२०५६ सालमा गाउँबाट एसएलसी दिएपछि उनी क्याम्पस पढ्न छोडेर थाङ्का सिक्न थाले। त्यसपछि उनी निरन्तर थाङ्का बनाउने काममै दत्तचित्तले लागे।
विगत २६ वर्षमा उनी थाङ्का चित्रकलामा आफू मात्र दक्ष भएका छैनन्, एक हजार जनाभन्दा बढीलाई थाङ्का चित्र बनाउन सिकाएका पनि छन्। उनले थाङ्का बनाउन सिकाएका व्यक्तिहरू पनि अहिले नेपालमा राम्रा थाङ्का चित्रकारमा स्थापित भएका छन्।
रूचि भएका व्यक्तिलाई थाङ्का सिकाउने र आफूले पनि थाङ्का बनाउन उनले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को पाण्डुबजारमा डोल्मा आर्ट ग्यालरी खोलेका छन्। त्यहाँ दर्जनभन्दा बढी व्यक्तिहरू थाङ्का बनाइरहेका भेटिन्छन्।
काजीमानको निगरानी र प्रशिक्षणमा डोल्मा आर्ट ग्यालरीमा बनाइएका थाङ्का शतप्रतिशत चिनियाँ बजारमा बिक्री हुन्छन्।
'यो क्षेत्रमा चञ्चले, अस्थिर र अधैर्य व्यक्ति टिक्न सक्दैन,' काजीमान भन्छन्, 'थाङ्का बनाउन ध्यान, लगन, तपस्या, निष्ठा र आस्था चाहिन्छ। कुनै देउताको चित्र बनाउँदा पहिले आफ्नो आत्मामा त्यो देउतालाई उतार्न सक्नुपर्छ। क्यानभास तयार गर्दा नै म यस्तो थाङ्का तयार बनाउँछु भन्ने कुरा दिमाग र मनमा तयार भएको हुनुपर्छ।'
मिठो र सुमधुर बोल्ने काजीमानका कुरा सुन्दा गुम्बामा पुगेर तामाको प्रवचन सुनेजस्तो लाग्छ।
बुद्ध दर्शनलाई उनी सहज भावमा व्यक्त गर्छन्।
थाङ्का र बुद्ध दर्शनबीचको मसिनो तानोलाई केलाउँदै उनी भन्छन्, 'शाक्यमुनि बुद्ध बनाउँदा उनको ध्यान मुद्रालाई आफूमा पहिले उतार्नुपर्छ। ताराको चित्र बनाउँदा छबी आँखामा नाच्नुपर्छ। जाम्बलाको चित्र कोर्दा उहीसँग कुरा गरेजस्तो महसुस हुनुपर्छ।'
काजीमानले बनाएको थाङ्कामा हरिततारा। तस्बिरः चेतनाथ आचार्य
काजीमानले अहिलेसम्म चीनका विभिन्न सहरमा १७ पटक थाङ्का प्रदर्शन गरेका छन्। चिनियाँहरूका बीचमा उनी निकै लोकप्रिय छन्। डोल्मा आर्ट ग्यालरीमै पुगेर चिनियाँ सञ्चार माध्यमले काजीमान र उनको थाङ्का कलाबारे डकुमेन्ट्री बनाएका छन्।
थाङ्का चित्रकलाबाट ख्याति कमाएका काजीमान यो पेसामा चुनौती र अवसर दुवै भएको बताउँछन्।
उनका अनुसार एउटा थाङ्का चित्र बनाउन महिनौं लाग्छ। सुनको जलप लगाउनुपर्ने भएकाले एउटै थाङ्काको मूल्य लाखौं रूपैयाँ पर्छ। त्यस कारण थाङ्का बनाउँदा तत्काल यसको मूल्य प्राप्त हुन्छ भन्ने कुरालाई बिर्सिनुपर्छ।
बजारमा सस्तो र कम गुणस्तरको थाङ्का बनाउनेको भिडले पनि यसलाई बदनाम गराउन थालेको छ। मानिसहरू छिट्टै धनी हुने सपनामा थाङ्काको महिमा बिगार्न उद्धत छन्। थाङ्कामा सिपालु हुन धेरै वर्ष लाग्न सक्छ। जति निरन्तर काम गरिन्छ त्यति सीप बढ्दै जान्छ।
थाङ्का बनाउन मूलभूत रूपमा तीन प्रकारका रङ प्रयोग गरिन्छ।
पहिलो प्राकृतिक रङ हुन्, जसमा माटो, ढुंगा, पथ्थर र वनस्पत्ति प्रयोग हुन्छ।
दोस्रोमा सुन र चाँदी प्रयोग गरिन्छ।
तेस्रोमा बजारमा प्राप्त रङहरूबाट पनि थाङ्का बनाउन सकिन्छ।
खासमा थाङ्का बनाउन पहिलो र दोस्रो प्रकारका रङ प्रयोग हुने प्रचलन सबभन्दा पुरानो हो। हिजोआज बजारबाट रङ ल्याएर थाङ्का बनाउँदा यसको गुणस्तरमा समस्या देखिएको हो।
त्यसो त थाङ्का चित्रकलामा चुनौती मात्र होइन अवसर पनि छन्।
काजीमानका अनुसार थाङ्का बनाएर नामसँगै दाम पनि कमाउन सकिन्छ। एक पटक स्थापित भएपछि उसको ख्याति देशदेखि विदेशसम्म प्रचारित हुन्छ। सबभन्दा ठूलो कुरा थाङ्का बनाउँदा मनमा शान्ति हुन्छ र मान्छेको आचरण नै परिवर्तन हुन्छ। तर गुणस्तरमा सम्झौता चाहिँ कहिल्यै गर्नु हुँदैन।
डोल्मा आर्ट ग्यालरीमा काजीमान तामाङ। तस्बिरः चेतनाथ आचार्य
चिनियाँहरूले नेपाली थाङ्का अत्यधिक मन पराउँछन्। थाङ्का चीनको सिचाङ (तिब्बत) र छिङहाई प्रान्तमा पनि बनाइन्छ। नेपालमा जस्तो त्यहाँ थाङ्का बनाउने व्यक्तिहरू धेरै छैनन्। थाङ्का बनाउने रङहरू पनि ती क्षेत्रमा महँगो पर्छ। त्यही भएर तिब्बती थाङ्का नेपाली थाङ्काभन्दा महँगो पर्ने भएकाले चिनियाँहरूले नेपाली थाङ्का रोजेका हुन्।
सन् २०१८ मा बेइजिङस्थित क्यापिटल संग्रहालयमा 'स्वर्ग जाने बाटो' (चिनियाँ भाषामा थिआनलू) शीर्षकमा तिब्बती कलाको प्रदर्शनी गरिएको थियो।
उक्त प्रदर्शनीमा एक हजार वर्षभन्दा पुराना केही थाङ्का राखिएका थिए। सम्भवत ती थाङ्का भृकुटीले ल्हासामा लगेका कालिगढले बनाएका हुन सक्छन्।
'एउटा थाङ्का कति समय टिक्न सक्छ? कीराले खाने, च्यातिने, खुइलिने अथवा रङ उक्किने हुन्छ कि हुँदैन,' काजीमानलाई अन्तिममा यही प्रश्न गरेँ।
थाङ्का जस्तै उज्यालो अनुहार बनाउँदै उनले भने, 'यस्तो थाङ्का युगौंयुगसम्म केही पनि हुँदैन। आगोले पोलेमा अथवा पानीमा राखेमा त के भन्न सकिन्छ र! तर संरक्षण गरेर राख्दा जस्ताको जस्तै रहन्छ।'
केहीबेरपछि उनले हँस्यौलो पारामा भने, 'अँ तपाईंले भने जस्तै रङ खुइलियो अथवा मक्कियो भने यसको मूल्य सयौं गुणाले बढ्छ। तपाईंले चीनमा देख्नुभएको होला नि हजारौं वर्ष पुराना थाङ्काहरू। तिनको मूल्य नै हुँदैन!'
उनको ग्यालरीबाट निस्किँदै गर्दा काजीमानले थपे, 'थाङ्काले नेपाल र चीनलाई जोडेको छ। दुई देशबीच रहेको सगरमाथाजस्तै उच्च र स्वच्छ छ थाङ्का। थाङ्का चित्र मात्र होइन आत्मा र आस्था पनि हो। त्यही भएर नै दुई देशबीचको सम्बन्धमा थाङ्का सधैं ताजा रहन्छ, कहिल्यै खुइलिँदैन।'
सन् २०१८ मा प्रदर्शनमा राखिएको हजार वर्षभन्दा पुरानो तिब्बती थाङ्का। तस्बिरः चेतनाथ आचार्य
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)