नेपालमा ‘नातावाद-कृपावाद, मास्छौँ! मास्छौँ!’ भन्ने नारा धेरै पहिलेदेखि नै सुनिन थालेको र केही दशक अघिसम्म विभिन्न आन्दोलनहरूमा सुनिन्थ्यो पनि। तर हालका दिनहरूमा भने यो नाराले स्थान पाएको छैन जस्तो लाग्छ। नेपालमा आन्दोलन गरेर बुलन्द आवाज उठाउनेहरूमध्ये कतिपय विदेश पलायन भइसके र उनीहरूले उतैबाट सामाजिक सञ्जालमार्फत नेपालमा व्याप्त भ्रष्टाचार, विकृति र विसङ्गतिका विरुद्धमा आवाजहरू उठाइरहेका छन्।
भ्रष्टाचार, विकृति र विसङ्गतिका विरुद्धमा मैले पनि कुनै-कुनै पत्रिकामा नियमित रूपमा कलम चलाउँदै आएको छु। आफू ४२ वर्ष काठमाडौँमा बिताएको र त्यसमा पनि १२ वर्ष सिंहदरबारभित्र सेवा गरेको कारण नेपालको अवस्था झन् पछि झन् खस्किँदै जानुका कारण बारे मलाई धेरै कुरा थाहा छ। इमानदार भएकै कारण आफूले जागिरे जीवनमा बेलाबेलामा हन्डरहरू खाएका कारण पनि मलाई अहिले आएर कलम चलाउन सजिलो भएको छ।
कुनै कुनै श्रेणीविहीन कर्मचारीहरूले मासिक २८ हजारदेखि ३१ हजारसम्म निवृत्तिभरण बुझ्ने गरेको पाइएको छ भने म स्नातकोत्तरसम्म अध्ययन गरेको र दश वर्ष अधिकृत भएको पूर्व राष्ट्रसेवकले निवृत्तिभरण २५ हजार पनि नपाउनु चित्त बुझ्दो कुरा नभएकोले तलब-भत्ता निर्धारण आयोगमा गुनासो पनि गरेको थिएँ। आयोगमा अध्यक्ष र एकजना सदस्य चिनेकै र उहाँ दुवै जनाले कुनै बखत मेरो लगनशीलता र इमानदारिता देखेर मलाई मौखिक रूपमा उच्च मूल्याङ्कन पनि गर्नुभएको थियो।
यहाँ नातावाद र कृपावादको प्रसङ्ग भने सम्मान र पुरस्कार पाउने कुराको उठान हो। नेपालमा साहित्यिक क्षेत्रमा सम्मान र पुरस्कार प्रदान गरिने कार्यमा नातावाद र कृपावाद भइरहेको पाइन्छ। सोका लागि खोजी खोजी नातागोता तथा साथीभाइलाई छनोट गर्ने गरेको पाइन्छ। हाला कि सबैमा भने यो विषय लागू नहोला। कतिपय उच्च मूल्याङ्कनका आधारमा पनि सम्मानित र पुरस्कृत हुँदै आउनुभएको छ, जुन सकारात्मक कुरा हो।
आफ्नै कुरा
२०७९ असार २३ देखि मैले निजामती सेवाबाट अनिवार्य अवकाश लिएपश्चात् साहित्य तथा लेखन कार्यमा एकाएक सक्रियता अपनाएपछि वरिष्ठ प्राज्ञहरूको नजरमा पर्न थालेँ र साहित्यसँग सम्बन्धित धेरै कार्यक्रमहरूमा मलाई निम्तो आउन थाल्यो। साहित्यिक संस्थाहरू तथा विभिन्न सञ्चार माध्यमहरूबाट मसँग लेख-रचनाहरू माग्न थालिएपछि राति चार घण्टा मात्र सुत्नुपर्ने अवस्था आयो भने परिवारबाट ‘स्वास्थ्यको ख्याल गर्नुपर्छ’ भन्ने सुझाव पनि नआउने कुरा भएन। जुम्लादेखि दोलखासम्मका साहित्यिक संस्था तथा सञ्चार माध्यमहरूले लेख माग गरेपछि चौबिस घण्टाभित्रमा सो उपलब्ध गराउने र साहित्यिक रचनाहरू मागेमा सके मौज्दातमा रहेका छन् भने तत्कालै र नसके दुई/चार घण्टामा रचेर पठाउने गर्दै आएको छु।
मेरा लेखका कारण भएका प्रभावहरू
चलेको एक दैनिक पत्रिकामा ‘सिंहदरबारको सुरक्षामाथि सधैँ प्रश्न’ शीर्षक दिएर प्रकाशित मेरो एक लेखले भोलिपल्ट सिंहदरबारमा सुरक्षा सम्बन्धी सुधार भइरहेको देख्दा म मक्ख पर्दै सिंहदरबार परिसरमा यताउता गर्दै सन्तोष लिँदै थिएँ। सिंहदरबारभित्र कस्ता खालका मान्छेहरूको समेत आवतजावत हुन्छ भन्ने कुरा मलाई पहिल्यैदेखि नै जानकारी छ। अमर्यादित पोसाकमा सिंहदरबारमा भित्रिनेहरू पनि नभएका होइनन्। म खेलकुद मन्त्रालयमा रहँदा र मन्त्रीकै सचिवालयमा खटिँदा स्वकीय सचिवले पन्ध्र जनाको पास पठाइदिएपछि ती पन्ध्रै जना सिंहदरबार प्रवेश गरेपश्चात् अर्कै मन्त्रालयमा प्रवेश गरेर मन्त्रीमाथि नै हातपात भएको थियो। कोहीलाई चिनेको भरमा उसको नाम लिएर कसैमार्फत प्रवेश पास माग गरेर सिंहदरबारभित्र छिर्ने गरेको पनि पाइन्छ।
कुनै बखत म निजी कामका लागि एक कन्सल्टेन्सीमा गएको थिएँ। त्यहाँका एमडीलाई कुरेर बसेको बेला मेरो कानमा एउटा वाक्य ठोक्कियो- ‘सिंहदरबारभित्र छिर्नका लागि किन चिन्ता? मसँग पन्ध्र-सोह्र वटा पास छन्।’ यो सुन्दा बित्तिकै मलाई नमिठो महसुस भयो। सोही पत्रिकामा ‘रक्सी र सुर्तीले घरबार तहसनहस’ शीर्षकको लेख प्रकाशन भएपछि भोलिपल्टै 'रक्सीले हाम्रो घरबार तहसनहस भयो’ भन्दै गृहिणीहरू एक महानगरका मेयरलाई घेर्न पुगेको कुरा समाचार आएको थियो।
‘नेपाल गुणस्तर विभागको सेरोफेरो नै गुणस्तरहीन’ शीर्षकको मेरो अर्को लेख पनि प्रभावकारी बनेको थियो। लेख प्रकाशन भएको लगत्तै विभागले नयाँ साइनबोर्ड बनाएको देखेपछि म दंग परेको थिएँ भने विभागको अगाडिको अव्यवस्थित र फोहोरै फोहोर देखिने बाटो धमाधम बन्दै गर्दा ‘कलम शक्तिशाली हुँदो रहेछ’ भन्ने महसुस गरेँ।
सामान्य प्रशासन मन्त्रालयको बरन्डाका बारेमा प्रकाशित मेरा लेखहरूको पनि प्रभाव परेकै थियो। सामान्य प्रशासन मन्त्रालयको ‘बरन्डा’ भनेर अतिरिक्त समूहलाई बुझिन्छ। लेखक तथा साहित्यकारहरू सामाजिक अभियन्ता हुन् भन्ने कुरा बुझ्नु जरुरी छ। सामाजिक अभियन्ताको परिभाषा समाजका लागि योगदान गर्ने र समाज परिवर्तनमा लागिरहने व्यक्ति भन्ने कुरा सम्झनुपर्दछ। साहित्यकार तथा लेखकहरूले आफ्ना विचार, आदर्श तथा दर्शन पस्किएर समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्दछन्।
‘सुपर राइटर’ को उपाधि र ‘तुफानी लेखक’ को संज्ञा
पोहोर साल मलाई सम्मान गर्ने कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो प्रा.डा. गोपिन्द्र पौडेल। उहाँको हातबाट ‘सुपर राइटर’ को उपाधि थापेपछि मन्तव्य दिने क्रममा उहाँले मलाई ‘तुफानी लेखक’ को संज्ञा दिनुभएको थियो। त्यस्तै सोही कार्यक्रममा ‘अमर अधिकारी: व्यक्तित्व र कृतित्व’ का लेखक तथा सम्पादक डा. घनश्याम पुडासैनीले मलाई ‘आँसु साहित्यकार’ को उपनाम दिनुभएको थियो।
लोकप्रिय बनेको त्यो मेरो लेख
खुबै चलेको एक सञ्चार माध्यममा ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको मेरो लेख धेरैभन्दा धेरै पाठकहरूले रुचाएर सेयर गरेका थिए। सो लेख उक्त सञ्चार माध्यमले आफ्नो वेब स्टोरीमा समेत राखेको छ भने पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरूले साभार गरेर प्रकाशन गरेको देख्दा मेरो खुसीको सीमा रहेन।
प्रज्ञा प्रतिष्ठानबाट लेखक/साहित्यकारको परिचयपत्र प्राप्त गरेपश्चात् मैले सोको फोटो फेसबुकमा अपलोड गरेपछि सत्तरी हजार भ्युज प्राप्त भएको थियो भने तमाम लेखक-साहित्यकारहरूले ‘परिचयपत्र पाउने प्रक्रिया के छ?’ भनेर सोधेपछि धेरैलाई मैले कपी-पेस्टको माध्यमबाट जवाफ दिएँ। किनकि सबैलाई टाइप गरेर मेसेज पठाउन सम्भव थिएन।
मेरो कविता चोरी प्रकाशन गर्ने बिचरा बालकवि
कान्तिपुरमा प्रकाशित ‘हाम्रा बाजे’ शीर्षकको मेरो कविता एकजना स्कुले विद्यार्थीले अन्नपूर्ण पोस्टमा प्रकाशन गराएपछि पहिले त म अचम्ममा परेँ। तर पछि मलाई यस कारण खुसी लाग्यो कि, कविता चोर्न योग्य रहेछ।
स्थानीय स्तरका सञ्चार माध्यमहरूलाई बेवास्ता गर्दिनँ
‘संघीय राजधानीमा रहेका स्थापित राष्ट्रिय स्तरका सञ्चारमाध्यममा स्थान पाएँ’ भन्दैमा मैले स्थानीय स्तरका सञ्चार माध्यमहरूलाई बेवास्ता गरेको छैन। बेलाबेलामा त्यतातिर लेख-रचनाहरू पठाउने गरेको छु। कतिपय लेख-रचनाहरू इमेल गरेर पठाएको दश मिनेटभित्रै प्रकाशन भएको इतिहास पनि छ। सम्पादनको आवश्यकता नपरेर त्यसो भएको हुनसक्छ।
काँठ क्षेत्रले माया गरेको म रोल्पाली
काठमाडौँको काँठ क्षेत्रबाट धेरै माया पाउने रोल्पाली म नै हुँ जस्तो लाग्छ। काँठ क्षेत्रका बासिन्दाहरूले राजधानी बाहिरका मान्छेहरूलाई नराम्रो व्यवहार गरेको पाइन्छ तर मेरा लागि भने त्यो लागू भएन। ‘अमर अधिकारी: व्यक्तित्व र कृतित्व’ काँठ क्षेत्रकै डा. घनश्याम पुडासैनीले नै लेख्नुभएको छ भने मेरो आत्म कथासङ्ग्रह ‘ओगिल्जा’ मा काँठ क्षेत्रकै प्राज्ञ वियोगी बुढाथोकीले भूमिका लेखिदिनुभएको छ। काँठ क्षेत्रकै र हाल अमेरिकाको ओरेगनमा बसोबास गर्नुहुने भरत बाँसकोटाले लेखन कार्यमा प्रोत्साहन मिलोस् भनेर मलाई ‘स्वर्णाभ कलम’ प्रदान गर्नुभएको छ। ‘अमर अधिकारी: एक जादुगर सर्जक’ भनेर पाँच पृष्ठको मेरो जीवनी काँठ क्षेत्रकै गंगा खतिवडाले लेख्नुभएको छ। मेरो पुस्तक विमोचन र सम्मान कार्यक्रम दुई फरक फरक काँठ क्षेत्रमै भएको थियो।
मेरो जीवनी लेख्ने र अन्तर्वार्ता लिएर प्रकाशन/प्रसारण गर्ने कामहरू पनि भए विगत दुई वर्षयता। मेरो जीवनी शिवपुरी सन्देशमा गंगा खतिवडाको नामबाट पाँच पृष्ठको प्रकाशित छ भने संसाक पत्रिकामा कल्पना मरासिनीको नामबाट तीन पृष्ठमा प्रकाशित छ, त्यस्तै नेपाली सरोकार पत्रिकामा दुई पृष्ठको जीवनी प्रकाशित छ। रेडियो नेपाल, केही टेलिभिजनहरू तथा अनलाइन तथा छापा पत्रिकाहरूमा समेत मेरा अन्तर्वार्ताहरू प्रकाशित/प्रसारित छन्।
मलाई अब सम्मान र पुरस्कार पुग्यो
पहिलो पटक सम्मान पत्र पाउँदा वा पुरस्कार पाउँदा ज्यादै खुसी लाग्नु स्वाभाविकै हो। दोस्रो-तेस्रो हुँदै धेरै पटक सम्मान र पुरस्कार पाउँदा पहिलो पटकको जत्तिकै महत्त्व हुँदैन। दाम होस् कि नाम कतिपय मान्छेहरूलाई कहिल्यै पुग्दैन। अपवादको रूपमा ‘मलाई सम्मान र पुरस्कार पुग्यो’ भन्ने अरू को-को हुनुहुन्छ थाहा छैन, तर मैले केही समय यता कतिपयलाई भन्ने गरेको छु- ‘मलाई अब सम्मान र पुरस्कार पुग्यो, नव प्रतिभाहरूलाई प्रोत्साहनका लागि कदर पत्र वा पुरस्कार दिइनुपर्छ।’
साढे तीन वर्ष यता साहित्य-लेखनमा सक्रियता अपनाए तापनि मैले सम्मान र पुरस्कार पाउन थालेको भने दुई वर्ष मात्र हुन लाग्यो। हुन त मैले साहित्य यात्रामा लागेको २०५३ सालमा गोरखापत्रका प्रकाशित ‘भाग्य र कर्म’ शीर्षकको कथाबाट सुरु भएको थियो भने त्यसपछि गोरखापत्र र त्यसका सहप्रकाशन तथा कान्तिपुरमा नियमित रूपमा लेख-रचनाहरू प्रकाशन हुँदै गएर २०६१ सालमा मेरो पहिलो कृतिको रूपमा बाल-कविता सङ्ग्रह ‘इन्द्रेणी’ प्रकाशन भयो।
पुस्तकालय स्थापना गर्ने धोको पूरा नहुने शंका
आफ्नो जन्मथलो रोल्पाको खुंग्री छोडेको बयालिस वर्ष नाघे तापनि मलाई जन्मथलोको ज्यादै माया लाग्छ। त्रिपुरा पुस्तकालय तथा वाचनालय स्थापना गर्ने सम्बन्धमा स्थानीय निकायसँग आग्रह गर्दा खासै चासो नदेखाइँदा आफ्नो अभियानले सफलता नपाउला कि भन्ने शंका छ। तर कोसिस चाहिँ जारी नै रहने छ, यदि स्थान पाइएन भने अरू विकल्प छन्।